कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

बहुआयामिक व्यक्तित्व : प्रा. दैवज्ञराज न्यौपाने

प्रा.डा. गोविन्दप्रसाद आचार्य

प्राध्यापक दैवज्ञराज न्यौपानेसँगको मेरो चिनजान २०३० सालपछि प्रारम्भ भएको हो । पेशागत हिसाबले हामी दुवै प्राध्यापन क्षेत्रमा भएकोले पनि होला २०४३ सालपछि मेरो बसाइ नयाँ बानेश्वरमा भएपश्चात् हाम्रो आत्मीयताको गाँठो अझ कस्सिएको हो ।

नेपाली समाजमा दैवज्ञराज न्यौपानेलाई नचिन्ने सायदै होलान् । फरक यति मात्र हो कोही प्राध्यापकका रूपमा, कोही साहित्यिक सर्जक या स्रष्टाका रूपमा र कोही प्रशासक वा समाजसेवीका रूपमा उहाँको व्यक्तित्वप्रति विभोर भएका पाइन्छन् । व्यक्तिगत रूपमा भन्नुपर्दा म चाहिँ उहाँको बहुआयामिक व्यक्तित्वका विविध पाटाहरू सम्झन्छु । उहाँबाट नेपाली समाजले पाएका कालजयी साहित्यिक सृजनाका पोकाहरू अनेकौँ छन् । उहाँको जीवन दर्शन, मानवता र समाजप्रतिको दृष्टिकोण, कठिनाइलाई सरल र सरस ढंगबाट चिन्न सक्ने सिल्पी व्यक्तित्व पनि महत्वपूर्ण छ । उहाँ आफ्नो कर्तव्यप्रति अगाध निष्ठा राख्नुहुन्थ्यो । यस्तै यस्तै अनेकन अनुकरणीय कार्यलाई नै जीवनको सार बुझी आत्मसात् गर्ने आदरणीय श्रद्धेय दैबज्ञराज न्यौपानेको खै कुन विधा र क्षेत्रको छनौट गरौं, सबैले उत्तिकै महत्त्व ओगटेको पाउँछु । ती सबै क्षेत्रहरूमा उहाँबाट भएका योगदानहरूको स्मरण गर्दै म सम्पूर्ण रूपमै अभिप्रेरित छु । मलाई लाग्छ प्रा.न्यौपानेले नेपाली समाजलाई विभिन्न हैसियतमा पुर्‍याउनु भएको गुनका कोसेलीहरूको अध्ययन, मनन, चिन्त्तन र कार्यान्वयन हामी सम्पूर्णका लागि पे्ररणा हुनुको साथै मानव जीवनको सार्थकता बुझने र खरो उत्रनेतर्फ मनग्गे आधार दिएको छ र दिँदै रहने छ ।

हँसमुख, आकर्षक शारीरिक बनोट, प्रसन्नचित्त, अत्यन्त भद्र, मिलनसार, सुसंस्कृत, सरल र कर्मयोगी प्रा.न्यौपाने नेपाली साहित्यका एक स्थापित व्यक्तित्व हुनुहुन्थ्यो । साहित्य सृजनाको यात्रामा उहाँ कलिलै उमेरबाट प्रवेश गरी जीवनका अंन्तिम घडीसम्म विभिन्न कष्ट र अवरोधका बाबजुद यात्रालाई निरन्तरता दिई साहित्यका विविध विधामा लेखनी चलाउदैं थुप्रै प्रकाशनबाट उहाँले नेपाली र नेपाली समाजको साहित्यिक भण्डारलाई धन्य तुल्याउनु भएको छ । सुनिएको छ, उहाँका अन्य कृतिहरू पनि अप्रकाशित रूपमा छन् ।

हामी सम्पूर्णले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवारी लिई ती कृतिहरू प्रकाशन गरी नेपाली साहित्यिक भण्डार अझ भरिलो बनाउनु आवश्यक देखिन्छ । यो नै प्रा.न्यौपानेप्रति हार्दिक श्रद्धान्जली ठहर्ने मेरो अन्तस्करणको ध्वनि रहेको छ । अन्तर्निहित साहित्यिक व्यक्तित्व जति प्रबल थियो त्यति नै प्रा.न्यौपानेको बाह्य व्यक्तित्व पनि आकर्षक थियो । शारीरिक सुगठन, सर्लक्क परेको उज्यालो गोरो चटक्क अनुहार साथै उपयुक्त कद, सुसंस्कृत व्यवहार, पोशाक पहिरनमा सुकिलो र खुल्ने, सधँै प्रसन्न मुद्रामा प्रस्तुत हुने प्रा.न्यौपानेको शैली जो कोहीका लागि पनि आकर्षक र मर्मस्पर्शी रहन्थ्यो । उहाँको व्यक्तित्वको सम्बन्धमा उहाँकै आफन्त जनबाट व्यक्त भएको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । एक पटक प्रा.न्यौपानेका जायापिता डा.शिवप्रसाद पोख्रेलले आफ्ना ज्वाइँलाई काठमाडौँमा आवश्यक सहयोग मिल्छ भेट्नू भनी कुनै व्यक्तिलाई पठाउनु भएको रहेछ । पहाडबाट काठमाडौँमा आई नचिनेको र नदेखेको व्यक्तिलाई भेट्न कठिन हुने सम्झी ती व्यक्तिले मैले ज्वाइँलाई कसरी चिन्ने ? भनी सोद्धा प्रा.न्यौपानेका जायापिताले ज्वाइँको परिचय यसरी दिनु भएको थिायो रे झ् अग्लो, गोरो, अति राम्रो, मिलेको अनुहार भएको, मिठो बोल्ने र सहयोगी भावना भएको, देख्दै आर्कषक र सधैँ आँखामै राखूँजस्तो व्यक्ति नै मेरा ज्वाइँ हुनुहुन्छ । ल यसरी नै चिन्नू ।

प्राध्यापन पेशातर्फ समेत प्रा.न्यौपाने निष्ठाका साथ कर्मक्षेत्रमा आपूफलाई खरो उतार्न सफल हुनुभएको थियो । उहाँलाई आफ्नो आदरणीय गुरु भन्न पाउँदा गर्वले शिर उचो गर्ने विद्यार्थीहरूको जमातको अड्कल गर्दा एउटा असल प्राध्यापकका वैयक्तिक गुणग्रन्थिलाई प्रयोग गर्दै प्रभावशाली प्राध्यापकीय व्यक्तित्वको परिचयात्मक रूपमा समेत स्थापित हुन उहाँ सफल हुनुहुन्थ्यो ।

विश्वविद्यालयको प्राध्यापकका रूपमा परिचित प्रा.न्यौपानेका सहृदयी, सदाचार, निष्पक्ष व्यवहार र परिस्थितिजन्य समस्यालाई सरल ढंगबाट समायोजन गरी आत्मसात् गर्दै कार्य सम्पादन गर्ने गुणले उहाँलाई एक सफल प्रशासकको रूपमा उभ्याएको थियो । क्याम्पस प्रमुखको रूपमा उहाँले देखाउनु भएको प्रशासकीय व्यक्तित्व उत्तिकै सफल रहेको थियो । त्यस अतिरिक्त सामाजिक हितका कार्यहरूमा विभिन्न संघ–संस्थाहरूमा आबद्ध रही आपूफलाई त्यत्तिकै जागरुक राख्न सफल हुनुहुन्थ्यो । सामाजिक कार्यको फाँटमा असल छिमेकी कार्यकर्ता, सल्लाहकार वा यस्तै हैसियतमा विशेष पहिचान प्रा.न्यौपानेले स्थापित गर्नुभएको थियो ।

संक्षेपमा भन्नुपर्दा प्रा. दैवज्ञराज न्यौपानेको जीवन दर्शनको चुरो मानवतावाद हो । आफ्ना सृजनाहरूबाट उहाँले सधैँ सबैका लागि मानव जीवनलाई कसरी आर्दशमय बनाउने र सत्पक्षका लागि सन्मार्गमा हिँड्न क्रियाशील रहने ? भन्नेतर्फ नै इङ्गित गर्दै सरल र सरस रूपमा व्यावहारिक सन्देशहरूको प्रक्षेपण गर्नुभएको छ । अन्त्यमा अनुकरणीय व्यक्तित्वका धनी प्रा.न्यौपानेप्रति श्रद्धासुमन अर्पण गर्दै हृदयदेखि नै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।

नेपाल कमर्स क्याम्पस, नयाँ बानेश्वर

तराइ मेरै काख हो हाम्रो पहाडी छाती छ

शिरको शोभा झल्काइराख्‍ने हिमाल माथि छ

अजस्र धारा छन् सधैँ बग्ने अमृत खसाली

म जहाँ जाऊँ बस्तैन माया अन्यत्र बसाली।

दैवज्ञराज न्यौपाने

'नेपाल मेरो मैजस्तो लाग्छ'

(प्रकाशोन्मुख गीतिकविताबाट)

मनको वेदनाभित्र जब बर्साद आउँछ

पीर रोकेर रोकिन्न यस्तै भेल बनाउँछ

जवानी, जिन्दगी, यात्रा सधैँ बन्दैन सुस्थिर

जानैपर्छ सबैलाई कुनै गन्तव्य खातिर

दैवज्ञराज न्यौपाने

'ती रोइन् त्यसरी किन ?'