कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि दैवज्ञसँगका केही सन्दर्भहरू

प्रा.डा. चूडामणि 'बन्धु'

दैवज्ञराज न्यौपानेसँग मेरो पहिलो परिचय कविकै रूपमा भएको हुनु पर्छ।युगकवि सिद्धिचरण श्रेष्ठका सम्पादनमा त्यस समयको रायल नेपाल ऐकेडेमीले कविता पत्रिका निकाल्ने गर्थ्यो, त्यसमा मैले यिनका कविता पढ्न पाएको थिएँ।यिनको एउटा मलाई मन परेको कविताको शीर्षक पनि सम्झना छ- ए बैनी हो ! रिबन चुँडिद्यौ स्यूर लाली गुराँस।यो हो २०२३-२४ सालतिरको कुरो।

२०२४ सालको साउन महिनामा म त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा लेक्चररका रूपमा काम गर्न पुगेँ। त्यस समय दैवज्ञराज न्यौपाने नेपालीमा एम ए कक्षामा पढ्दै थिए।मीन पचासको बिदाको समय थियो।एक दिन उनी आफ्ना सहपाठी रामप्रसाद भट्टराईका साथ मेरा डेरामा आइ पुगे र त्यस वर्षको बिदाका समयमा भाषा सर्वेक्षणमा जानका निम्ति अनुरोध गरे।केही महिना अगि मात्र त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेको मान्छे भाषा सर्वेक्षणको कामको जिम्मा लिन अलि अपठ्यारो लागेको थियो।अघिल्ला वर्षमा मेरा गुरु प्राध्यापक बालकृष्ण पोखरेल आफ्ना विद्यार्थीलाई लिएर भाषा सर्वेक्षणमा गएका थिए।त्यसै कार्यक्रमलाई निरन्तरता दिन चाहन्थे ती विद्यार्थीहरू।न्यौपाने र भट्टराईले एकै स्वरमा मलाई भने- सरले कुनै अपठ्यारो मान्नु पर्दैन, काम हामी गर्छौँ, तपाईं टोलीको नेतृत्व मात्र गर्नोस्।उनीहरूले उपकुलपति रुद्रराज पाण्डेलाई भेटी कुरा पनि गरि सकेका रहेछन् र मलाई भेट्नू भन्ने उपकुपतिको सन्देश समेत लिएर उनीहरू आएका रहेछन्।म अलि अपठ्यारोमा थिएँ।मेरी श्रीमती हाम्रो पहिलो सन्तान जन्माउने तयारीमा थिइन् तापनि आफ्नो संकोची स्वभावले गर्दा मैले नकार्न सकिन।उपकुलपति रुद्रराज पाण्डेले विद्यार्थीहरूको चाहना बुझी भाषा सर्वेक्षणको सानो परियोजना स्वीकृत गरिदिएका थिए। आवश्यक प्रबन्ध मिलाई म, मेरा मित्रवत् छात्रहरू दैवज्ञराज न्यौपाने र रामप्रसाद भट्टराईका साथ त्यस वेलाको त्रिभुवन विश्वविद्यालय कलेजको पियन मानबहादुरलाई लिई वागमती र जनकपुर अञ्चलका केही जिल्लाहरूको भाषा सर्वेक्षणका निम्ति प्रस्थान गर्‍यौं ।

भाषा सर्वेक्षणका निम्ति केही सामग्री तयार गरिएका थिए- शब्दावली र केही वाक्य प्रकारहरू नेपालीमा थिए।तिनैको अनुवाद स्थानीय भाषाहरूमा लिने गरिन्थ्यो।लोक साहित्यका थप सामग्रीको पनि सङ्कलन हुन्थ्यो।हामी पाँचखाल, दोलालघाट, बलेफी, चौतारा हुँदै बाह्रबिसे पुग्यौँ।बलेफीबाट दैवज्ञ र म पहरी भाषाको अध्ययनका निम्ति ठोकर्पा गयौँ र त्यहाँ मुस्किलसँग साँगुरो खाटमा जाडाको रात काट्यौँ।हामी बाह्रबिसेतिर लाग्दा लामो साँगुको पावर हाउसमा काम गरि रहेका मेरा भाइ कृष्णप्रसाद रेग्मीसँग भेट भयो।उनैबाट काठमाडौँमा मेरो छोरो जन्मेको थाहा पाएँ।आमाछोरा सकुशल छन्; कुनै चिन्ता लिनु पर्दैन भन्ने कुरा पनि उनले बताए।दैवज्ञ र रामप्रसादले म त्यस्ता स्थितिमा उनीहरूका अनुरोधमा आएको कुरा थाहा पाए।उनीहरू मलाई छोराको मुख हेर्न र श्रीमतीको स्वास्थ्यबारे थाहा पाउन काठमाडौँ पठाउन चाहन्थे।तर मानबहादुरले प्रिन्सिपललाई भनिदेला कि भन्ने डर पनि थियो।बाह्रबिसे नजिकैको गाउँमा बोलिने भाषाको अध्ययन गर्ने निहुँ बनाएर म एक रातका निम्ति काठमाडौँ आई नवजात पुत्रको मुख हेर्न सकेँ।त्यसपछि हामी चरीकोट, दोलखा, जिरीसम्म पुगी एक महिना जतिमा काठमाडौँ फर्क्यौँ।सर्वेक्षणको अवधिभरि नै मेरा यी दुई छात्र मित्रहरूले मलाई साह्रै राम्रो किसिमले सघाए।हामीले ११ भाषाको सर्वेक्षण गर्यौँ।

हामी दोलखामा थामी भाषाको शब्द सङ्कलन गर्दै थियौँ।दैवज्ञले भने- यस भाषामा त तलबाट आउनु, माथिबाट आउनु र सोझै आउनुका लागि फरक फरक शब्द छन्।किराती भाषाको यस विशेषताबारे उनले नै सर्वप्रथम मेरो ध्यानाकर्षण गरेका थिए।अहिले भाषाशास्त्रीहरू यस्ता विषयका चर्चा गर्छन्।उनी भाषाको अध्ययन गर्नतिर लागेका भए भाषाशास्त्री हुन्थे होलान्, उनी कवि थिए र आजन्म कवि नै रहे।

नेपालीमा एम ए गरेपछि दैवज्ञराज न्यौपानेले त्रिभुवन विश्वविद्यालयमा पढाउने काम पाए। उनी फेरि नेपाली विभागमै आए जहाँ मैले प्राध्यापकीय जीवनलाई निरन्तरता दिई रहेको थिएँ। उनका कविता र गीतजस्तै उनको जीवन संवेदनायुक्त अनि लयपूर्ण थियो।समय समयमा उनका प्रतिभाले नयाँ नयाँ सिर्जना समाजलाई दिँदै गयो।महाकवि देवकोटाकै विषयमा विद्यावारिधि गर्ने उद्देश्यले उनी केही समय मेरा नजिकमा आए।मैले उनलाई पटक पटक स्मरण गराएँ, शोध प्रबन्ध लेख्‍नका लागि।तर उनको स्रष्टा मनले शोधभन्दा सिर्जनालाई नै बढी महत्त्व दियो।विद्यावारिधि नगरिकनै पनि कविकै रूपमा प्रभावकारी शिक्षण गरेकाले उनी नेपालीका प्राध्यापक भए।

नेपालमा बाल साहित्यको संवर्धन गर्नका लागि २०४४ सालमा स्थापित नेपाल बालसाहित्य समाजमा पनि उनी स्थापनाकालदेखि नै सक्रिय सहयोगी रहे।स्रष्टाका रूपमा मात्र होइन, बाल साहित्यको संवर्धनका निम्ति सञ्चालित अन्य विविध गतिविधिहरूमा पनि उनको योगदान अत्यन्त मूल्यवान् रहेको छ।

जीवनका पछिल्ला वर्षहरूमा उनी रोगले थलिए।स्वस्थ जीवन बाँच्न पाएको भए समाजले उनीबाट अझ धेरै पाउँथ्यो।प्राध्यापकीय जीवनका व्यस्तताका बिच बसेर उनले जे जति लेखे त्यो नै नेपाली समाजका निम्ति र विशेष गरी बालबालिकाका निम्ति उनका तर्फबाट अमूल्य उपहार भएको छ।

भूलमा नपरोस् मान्छे पीर अन्यायको नहोस्

अकालैमा कसैलाई मर्ने त्रास कतै नहोस्

कुण्ठाले बाँधिने हाम्रो जिन्दगानी कुनै नहोस्

कुनै प्राकृत वस्तुमा अप्राकृत कुरा नहोस्

दैवज्ञराज न्यौपाने

'ती रोइन् त्यसरी किन ?'

आमा हुन् सिर्जना-शक्ति आमा गौरवकी धन

आमाको ममताजस्तो हुन्न अर्को कुनै धन।

दैवज्ञराज न्यौपाने

'ती रोइन् त्यसरी किन ?'