कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : मेरो स्मृति पटलमा

चेतोनाथ शर्मा आचार्य

स जातो येन जातेन याति वंशः समुन्नतिम् ।

परिवर्तिनि संसारे मृतः को वा नजायते ।।

— हितोपदेश

(यो संसारमा त्यो नै व्यक्ति सही रूपमा जन्मेको ठहर्छ जसको जन्मले उसको वंश, कुलपरम्परा (ख्याति र सुयशले) समुन्नतितर्फ लम्कन्छ । होइन भने यो परिवर्तनशील संसारमा को जन्मदैन ? को मर्दैन ?)

१. प्रारम्भिक चिनारी र भेटघाट :

दैवज्ञराज स्मृति प्रतिष्ठानले केही समयअघि दिवङ्गत हुनुभएका श्रद्धेय प्राध्यापक तथा कवि “दैवज्ञराज न्यौपाने”को व्यक्तित्व र कृतित्वलाई चिरकालिक बनाउने उद्देश्यले उहाँका समकालिक इष्टमित्र, सहकर्मी साथीभाइहरू र जीवनकालमा विभिन्न रूपले उहाँको सान्निध्यमा आएका व्यक्तिहरूको सम्झनालाई समेटी एउटा स्मृतिग्रन्थ प्रकाशन गर्न लागेकोमा मलाई पनि सो स्मृतिग्रन्थमा समावेश गर्नको लागि एउटा सम्झनाचित्र कोरेर पठाइदिन एक पत्र प्राप्त भएको थियो । प्रतिष्ठानको पत्र दिवङ्गत कवि दैवज्ञजीकी सहधर्मिणी सुधा न्यौपानेले आफ्नै हातले उहाँका छिमेकी भाइ एवं मेरा पुत्रका मित्र श्री सुरेन्द्र थापाजीमार्फत पठाउनुभएको रहेछ । पत्र प्राप्त भएपछि जीवनको एउटा कालखण्डमा सनातन धर्म र राष्ट्रभाषा नेपालीको संरक्षण र प्रवर्द्धनका लागि सँगै काम गरेको समहृदयी र अत्यन्त हितैषी मित्रका बारेमा निजी उद्गार व्यक्त गर्ने मौका पाउनुलाई सौभाग्य ठान्दै मैले प्रतिष्ठानको आग्रहमा यो सानो संस्मरण उतारेको छु ।

उमेरमा मभन्दा निकै कान्छा, कवि दैवज्ञराजसित मेरो जानपहिचान पहिलो पटक कहाँ कसरी भयो त्यसको ठ्याक्कै तिथिमिति किटेर त म भन्न सक्दिन । सायद वि.सं. २०२५/२६ सालतिरको कुरा हुनुपर्छ निकट रूपले मेरो पहिलो चिनजान कवि दैवज्ञजीसित त्यस बखत नै भएको जस्तो लाग्छ । त्यस बखत कवि दैवज्ञजीको निवास सिंहदरबारको दक्षिण पश्चिम, राष्ट्रिय अभिलेखालय नगिचको यौटा मास्टर घर भनिने पुरानो राणाकालीन घरमा थियो । त्यो घरसँगै अर्को एक घर पनि समान आकृति र उचाइको थियो । वस्तुतः ती दुवै घर स्वयंमा ऐतिहासिक महत्त्वका थिए । अहिलेको बबरमहल रिभिजिटेडको ठिक पश्चिमपट्टि उत्तर–दक्षिण फर्काएर तयार गरिएका समान डिजाइन र उचाइका एकनासे ती घरहरू बबरशमसेरका धाई सुसारेका निम्ति तयार गरिएको भन्ने भनाइ थियो । यद्यपि अहिले त्यो स्थानमा नयाँ घरहरू निर्माण भई उक्त ऐतिहासिक भवन विस्थापित भइसकेको स्थिति छ । एकनासका ती दुई घरहरूमध्ये एउटा घर पूर्वमन्त्री भुवनलाल प्रधानले खरिद गरेका थिए भने सँगैको अर्को घरमा चाहिँ दैवज्ञजी र उहाँका भाइ केदार न्यौपानेजीको डेरा थियो । म तिनताका रानीपोखरी प्रधान पाठशाला र पछि राजकीय संस्कृत महाविद्यालय (अहिलेको वाल्मीकि विद्यापीठ) मा पढाउँथे । मेरो बसाइ पनि बबरमहल कुरियागाउँ भएकाले पाठशाला र महाविद्यालय आउँदाजाँदा म अक्सर माइतीघरको त्यही बाटो प्रयोग गर्थेँ । घर र पाठशाला नियमित आवत–जावत गर्ने क्रममा एक दिन दैवज्ञजीसित उहाँ बस्ने गर्नुभएको घर आँगन नगिच परिचय र भलाकुसारी भयो । भलाकुसारीकै क्रममा भोजपुर, गोगने गाउँ पैत्रिक थलो भई काठमाडौ आई तीनधारा संस्कृत छात्रावासमा शास्त्रीसम्मको अध्ययन पूरा गरेको र अध्ययन अध्यापनमा संलग्न रहेको कुरा थाहा भयो । अग्लो कद, सौम्य र हँसिलो अनुहार, खँदिलो जीउडाल र मसिनो स्वरका धनी दैवज्ञजीसितको पहिलो भेटमै म उहाँसित प्रभावित बन्न पुगेँ । न्यौपाने र आचार्यको गोत्र एउटै हो– कौण्डिन्य । समगोत्री भएकाले पनि होला उहाँको व्यक्तित्वसित म नगिचिएँ । यसरी दैवज्ञजीसित मेरो पहिलो भेट माइतीघर बबरमहलबीचको त्यही बाटोमा भएको थियो ।

यद्यपि कवि दैवज्ञजीसित यसरी औपचारिक तवरमा भेटघाट भई चिनजान हुनुभन्दा पहिले नै उहाँका बारेमा केही कुरा सुन्ने मौका मलाई मिलिसकेको थियो । तिनताका बबरमहल कुरियागाउँस्थित मेरो सानो टाईले घरको एउटा कोठामा मेरा आदरणीय मामा स्वर्गीय पण्डित विष्णुप्रसाद घिमिरेका पुत्र र भतिजा अध्ययनका लागि बसेका थिए । उनीहरू राजकीय संस्कृत महाविद्यालयका विद्यार्थी थिए र शायद त्यतिबेला शास्त्री सक्ने तर्खरमा थिए क्यार ! एक दिन कुराकानीका क्रममा ती दुईमध्ये एक भाइले “हाम्रो महाविद्यालयमा एकजना पूर्वतिरका दैवज्ञराज न्यौपाने नाम गरेका मित्र पनि छन् । ती नेपालीमा यति राम्रो र रसिलो कविता लेख्छन् कि महाविद्यालयका गुरुहरूसमेत उनको कवितामा मुग्ध बन्छन्” भने । यो कुरा सुनेर छन्दमा रसिलो कविता लेख्ने ती पुर्वेली ठिटा कस्ता होलान् भन्ने उत्सुकता मेरो भित्री मनमा उठिरहेको थियो । संयोग नै भन्नुपर्छ मेरो भित्री मनमा उत्सुकता जागिरहेको त्यो पुर्वेली युवा कविलाई भेट्ने मौका महाविद्यालय र घर ओहोर दोहोर गर्ने क्रममा अनायास माइतीघर नगिचको त्यो ऐतिहासिक घरका आँगनपेटीमा हुन पुग्यो । जसको उल्लेख मैले माथि नै गरिसकेको छु ।

२. मित्रता र सहकार्य

यसरी प्रारम्भिक चिनापर्ची र भेटघाट भएका युवा कवि दैवज्ञराज न्यौपाने पछिल्ला दिनमा उन्नत वटवृक्षझैँ नेपाली भाषासाहित्यको उद्यानमा लटरम्म झाँगिदै गए । उनका सुललित नेपाली पद्यावलीहरू त्यसबेलाका गोरखापत्र, रूपरेखा, प्रज्ञा, गरिमा लगायतका पत्रपत्रिकाहरूमा नियमित जस्तै प्रकाशित हुँदै जान थाले । विभिन्न साहित्यिक जमघट र सम्मेलनमा उनको संलग्नता र सहभागिता बाक्लिँदै गयो । विभिन्न कविगोष्ठी र साहित्यकारहरूको सम्झनामा गरिने स्मृतिसभामा उनका मनोहर कविताको रसास्वादन गर्ने अवसर क्रमशः मिल्दै गयो । प्राध्यापन र साहित्य सेवासँगसँगै उनी केही वर्षपछि सनातन धर्मको संवर्द्धन र समाज सेवाको पुनीत कार्यमा सहभागी हुने मनसुवाले सनातनधर्म सेवा समिति नामको संस्थामा पनि आबद्ध हुन आइपुगे । नेपाली भाषासाहित्यका विशिष्ट साधक एवं त्यागमूर्ति पं.धरणीधर कोइराला, कर्मवीर स्वर्गीय दीर्घराज कोइराला, पं.श्री खेमराज केशवशरण, सरदार सोमप्रसाद, देवीप्रसाद रिमाल, तारामानसिंह स्वाँर, खड्गमान मल्ल, चन्द्रमान मानन्धरलगायतका आध्यात्मिक क्षेत्रमा गहिरो रुचि राख्ने विशिष्ट व्यक्तित्वहरूको सक्रियतामा हिन्दू धर्म–संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि वि.सं.२०२३ कार्तिकमा स्थापित सो संस्थामा म सुरुदेखि नै सदस्यको रूपमा रही पछि उपाध्यक्षसमेत भई कार्य गरेको थिएँ । सो समितिको कार्यालय सुरुमा काठमाडौँको भद्रकालीमा र पछि पशुपति वनकालीस्थित वेद विद्याश्रम परिसरमा रहेको थियो । वस्तुतः भन्नुपर्दा कवि दैवज्ञजीसितको मेरो विशेष उठबस, सान्निध्य, घनिष्टता र सहकार्य पनि सोही संस्थामार्फत नै भएको हो । सो संस्थाले धर्मसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउन “धर्मसन्देश” नामको एउटा गहकिलो पत्रिका पनि नियमित रूपमा प्रकाशन गर्दथ्यो । त्यस पत्रिकाको सम्पादक मण्डलमा म सुरुदेखि नै सदस्य रहेको थिएँ । पछि दैवज्ञजी संस्थामा आबद्ध हुनुभएपछि उहाँलाई पनि त्यस पत्रिकाको सम्पादक मण्डलमा समावेश गरियो । हाम्रो संयुक्त संपादकत्वमा धर्मसन्देशका थुप्रै गहकिला अङ्कहरू प्रकाशित भएका थिए । यसरी हामी दुईबीच सहकार्य र सहधर्मिता बढ्न पुग्यो । हामी दुवै प्राध्यापन पेसामा संलग्न भएको र दुवै पूर्वीय दर्शन र संस्कृतिबाट शिक्षित र अनुप्रेरित व्यक्ति भएकाले धेरै विषयमा हामीबीच समान दृष्टिकोण रहेको थियो । यसरी दैवज्ञजीसँग मित्रताको गाँठो क्रमशः कसिलो बन्दै गयो ।

सनातनधर्म सेवा समितिले श्रीकृष्णजन्माष्टमी, रामनवमी, शङ्कराचार्यजयन्ती, शिवरात्रिजस्ता पावन पर्वहरूमा सम्बद्ध क्षेत्रका विशिष्ट विद्वान् तथा अतिथिहरूलाई आमन्त्रण गरी विभिन्न कार्यक्रमहरूसाथ समारोहको आयोजना गर्दथ्यो । साथै, समय समयमा सनातनधर्म संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि विभिन्न संगोष्ठी तथा धर्मसभाहरू पनि आयोजना गर्दथ्यो । हिन्दुस्थानबाट समय–समयमा आउनुहुने सन्त, महन्तको सम्मानमा विभिन्न कार्यक्रम पनि आयोजना हुन्थे । यस्ता कार्यक्रमहरूमा दैवज्ञजी र मबीच बारम्बार भेटघाट भइरहन्थ्यो । कार्यक्रममा कहिले उहाँले कहिले मैले उद्घोषकको काम गर्दथ्यौँ भने कहिले स्वागतकर्ता र कहिले मुख्य वक्ताको भूमिका समेत निर्वाह गर्दथ्यौ । उहाँ अत्यन्त मृदुभाषी र कोमल हृदयको हुनुहुन्थ्यो । आफ्ना अग्रजहरूलाई सम्मान र सहकर्मीहरूलाई स्नेह व्यक्त गर्ने कुरामा सदैव अग्रणी हुनुहुन्थ्यो । हिन्दूधर्मको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रमहरूमा हामी समितिको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी पनि हुन्थ्यौँ । यसरी दैवज्ञजीले साहित्यको क्षेत्रमा मात्र होइन वैदिक सनातन धर्मको संवर्द्धन र उन्नयनका क्षेत्रमा समेत गहकिलो योगदान पुर्‍याउनुभएको थियो । त्यस हिसाबले आजका युवा पिँढीका साहित्यकारहरूका निम्ति उहाँ आदर्शकै प्रतिमूर्ति हुनुहुन्छ । उहाँको साहित्यप्रतिको समर्पण र आफ्नो धर्मसंस्कृतिप्रतिको लगाव र निष्ठा उत्तरकालिक सबै प्रबुद्ध युवावर्गका लागि प्रेरक र उदाहरणीय रहेको छ ।

वि.सं.२०३८ सालको कुरा हो । गुठी संस्थानले माघे औँसीको पर्व पारेर त्यसबेलाका नाम चलेका विद्वान् र साहित्यकारहरूका निम्ति नवलपरासीस्थित त्रिवेणी तीर्थस्थलको भ्रमणको बन्दोबस्त मिलाएको थियो । इतिहास र संस्कृतिका विशिष्ट विद्वान् योगी नरहरिनाथदेखि प्रसिद्ध साहित्यकार केदारमान व्यथित, भरतराज मन्थलीय, ईश्वर बल्लभ, जनकवि केसरी धर्मराज थापा र युवाकवि दैवज्ञजी लगायत थुप्रै साहित्यसाधकहरू समेत उक्त भ्रमण दलमा संलग्न हुनुहुन्थ्यो । म पनि तत्कालीन गुठी संस्थानका अध्यक्ष बद्रीविक्रम थापाको अनुरोधमा त्रिवेणी स्नानको अभिलाषाले भ्रमण दलमा सरिक भएको थिएँ । भ्रमण दलका सदस्यहरू त्रिवेणी पुगेपछि त्यहाँ एउटा सानो साहित्यिक समारोह नै पनि आयोजन भयो । जसमा वरिष्ठ साहित्यकारका तर्फबाट कवि ईश्वर वल्लभदेखि धर्मराज थापासम्म र युवा साहित्यकारका तर्फबाट कवि दैवज्ञजीले मञ्चमा आ–आफ्नो कविता/रचना प्रस्तुत गर्नुभएको थियो । भ्रमण दलले त्रिवेणी स्नानपछि गण्डकीपारि वाल्मीकि आश्रम र त्यस वरपरको क्षेत्रको समेत भ्रमण गरेको थियो । भ्रमण अवधिभर म र दैवज्ञजी सँगै जस्तो रह्यौँ । यसरी कवि दैवज्ञसँग रमाइला कुराकानी गर्दै मेरो दुई दिने त्रिवेणी यात्रा सम्पन्न भएको थियो ।

वि.सं. २०४४ सालतिरको कुरा हो । सनातन धर्मसेवा समितिले संस्थासित आबद्ध केही विद्वान्हरूले तयार गरेका आध्यात्मिक, धार्मिक ग्रन्थहरू प्रकाशन गर्ने निर्णय गर्‍यो । त्यसेबला मैले रेडियो नेपालको धार्मिक कार्यक्रममा निरन्तरजसो विभिन्न धार्मिक व्रतपर्वहरूका बारेमा व्याख्यान तथा लेख रचना प्रसारण गर्दै आएको थिएँ । यसरी व्याख्यान गर्दै जाने क्रममा वर्षदिनभित्र पर्ने अधिकांश प्रमुख व्रतपर्वबारेमा लेख तयार भइसकेका थिए । रेडियोमा प्रसारण भएका लेखहरूलाई एकत्रित गरी छपाउन सके हाम्रो धर्मसंस्कृतिको बारेमा जानकारी लिन चाहने जोकोहीका निम्ति उपयोगी हुने कुरा थियो र कतिपयले यस विषयमा मौखिक अनुरोध समेत गरेका थिए । तर त्यसलाई छपाउने सामर्थ्य मेरो थिएन । त्यति बेला समितिको कार्यकारी समितिको बैठकमा कुनकुन विद्वान्ले लेखेका कुनकुन पुस्तक छाप्ने भन्ने छलफल चलिरहेको थियो । मलाई आफ्नो कुरा आपैँफ व्यक्त गर्न असजिलो लागिरहेको थियो । सो छलफलको क्रममा आफ्नो बोल्ने पालो आएको बेला दैवज्ञजीले मेरो मनको आशय बुझेजस्तो गरी फ्याट्ट मेरो नाम लिँदै भन्नुभयो कि “चेतोनाथ गुरुजस्तो स्थापनाकालदेखि नै संस्थामा आबद्ध तथा धर्मसंस्कृतिको क्षेत्रमा लामो समयदेखि गहकिला लेखरचना लेख्दै आउनुभएका व्यक्तिको पनि ग्रन्थ प्रकाशन गर्न समितिले सघाउनुपर्दछ ।” उहाँजस्तो प्रभावशाली व्यक्तिले त्यति बोल्नेबित्तिकै कार्यसमितिले सो कुरालाई एकमतले समर्थन गर्‍यो । त्यसको केही समयपछि मेरो पहिलो पुस्तक “हाम्रा धार्मिक चाडपर्व : केही प्रासङ्गिक विवेचन” समितिबाट प्रकाशित भयो । सो पुस्तक सनातनधर्मावलम्बी समाजमा निकै रुचिकर बन्नपुग्यो र त्यसले गुणराज पुरस्कारसमेत प्राप्त गर्‍यो । यसरी सनातनधर्म सेवा समितिमार्फत गठिलो बनेको कवि दैवज्ञजीसितको मित्रता पछिल्ला वर्षहरूमा झन् झाङ्गिदै गयो ।

पछि सायद २०४५–४६ सालतिरको कुरा हुनुपर्छ उहाँ नेपाल बाल संगठनले निकाल्ने “बालक” नामक पत्रिकाको प्रमुख सम्पादक हुनपुग्नुभयो । त्यतिबेला उहाँले बालकहरूलाई उपयोगी हुने सरल धार्मिक कथा, कविता तथा निबन्धहरू लेखी पठाउन मलाई बारम्बार अनुरोध गर्नुभएको अहिले पनि सम्झना छ । उहाँको अनुरोध बमोजिम मैले तिनताकाका बालक पत्रिकाका २–४ अङ्कमा बालोपयोगी विभिन्न कथा तथा निबन्धहरू लेखी पठाएको थिएँ । रचना प्रकाशित भइसकेपछि प्रकाशित अङ्कका साथ जे जस्तो पारिश्रमिकको व्यवस्था छ सो अनुसार पारिश्रमिक दिन उहाँ मेरो घरमै आउनुहुन्थ्यो । यसरी उहाँको सरलता र मप्रतिको स्नेहलाई म कहिल्यै बिर्सन सक्दिन । सदैव कर्तव्यमा रम्ने, अर्काको परिश्रमको कदर गर्ने र विद्वान् र स्रष्टा साधकहरूलाई सदैव आदर गर्ने उहाँको स्वभाव देखिन्थ्यो । पछि उमेर तथा अन्य कारणले सनातनधर्म सेवा समितिप्रतिको मेरो लगाव टुट्यो । तर पनि नेपाली शिक्षा परिषद् लगायतका संस्थाले आयोजना गर्ने विभिन्न साहित्यिक कार्यक्रममा उहाँसित फाट्टफुट्ट भेटघाट भने भई नै रहन्थ्यो । भेट हुँदा मलाई आदर र स्नेहपूर्वक कुशलक्षेम सोध्नुहुन्थ्यो । पछिल्लो पटक उहाँसितको मेरो अलिक लामो भेटघाट शायद मेरो ज्येष्ठपुत्र मनोजको विवाहको प्रीतिभोजमा २०५५ सालको वैशाखमा भएको जस्तो लाग्छ । त्यतिखेर कवि दैवज्ञ र उहाँकी कनिष्ठ पत्नी सुधा सँगै निम्तो मान्न आउनुभएको थियो । पुत्र मनोजले पर्यटन मन्त्रालयमा काम गर्दा सुधाजी अन्तर्गत रही केही समय काम पनि गरेका रहेछन् । त्यसै नाताले उनको विवाहमा स्नेहवश दैवज्ञदम्पतीको न्यानो उपस्थिति रहेको थियो । यसको २–३ वर्षपछि जस्तो लाग्छ एक दिन कुरियागाउँस्थित मेरो घरमा दैवज्ञजी सनातनधर्म सेवा समितिको स्थापनाकालीन व्यक्तिहरू को को थिए भन्ने जिज्ञासा लिएर मसँग बुझन आउनुभएको थियो । मैले थाहा भएसम्म र सम्झेसम्मको व्यक्तिहरूको नाम उहाँलाई सुझाएको थिएँ । त्यतिबेला उहाँ समितिको स्थापनाकालीन व्यक्तिहरूका बारेमा केही संस्मरण लेख्दै हुनुहुन्थ्यो होला जस्तो लाग्छ । छोटो भेटपछि नै उहाँ छुट्टिनु भयो । सायद यही नै मेरो दैवज्ञजीसितको अन्तिम साक्षात्कार हुनुपर्छ ।

यसरी कवि दैवज्ञजीसित बाक्लिएको मेरो सम्बन्ध अनायास एक दशकजस्तो पूर्वदेखि भने अप्रत्याशित रूपमा टुट्न पुगेको थियो । यसको पछाडि एकातिर दुर्दैवले गर्दा कवि दैवज्ञजीको शरीर पक्षाघातले आक्रान्त बन्नपुग्नु र अर्कोतिर चाहिँ आपूफ स्वयं पनि वृद्ध भई सीमित कार्यक्रमहरूमा मात्र सहभागी हुने स्थितिमा पुग्नुले मुख्य भूमिका खेलेको थियो । दैवज्ञजी पक्षाघातले थलिनु भएको खबर मैले निकै समयपछि मात्र थाहा पाएँ । उहाँलाई भेटेर दुईचार सान्त्वनाका शब्द प्रकट गर्ने मेरो उत्कट लालसा थियो । त्यतिखेर उहाँ गैह्रीगाउँस्थित घरमा रहनुभएको जानकारी पाए पनि घरको यकिन ठेगाना नपाउँदा उहाँलाई भेट्ने मेरो मनसुवा पूरा हुन सकेन । तर उहाँकी धर्मपत्नी सुधासित पुत्र मनोजको विभिन्न कार्यक्रममा बेलामौकामा भेटघाट हुँदा उनले दैवज्ञ सरको सञ्चो बिसञ्चो बारेमा सोध्ने गरेका र सुधाजीले बताएको कुरा मलाई घरमा आई बताउने गरेबाट मैले अप्रत्यक्ष रूपमा कवि दैवज्ञजीको बारेमा हल्कापुफल्का जानकारी चाहिँ पाइरहेको थिएँ । यसैबीच पुत्र मनोजले आफ्ना मित्र तथा दैवज्ञजीका छिमेकी उपसचिव श्री सुरेन्द्र थापासित एक दिन दैवज्ञजीलाई भेट्न जाने कार्यक्रम मिलाउँछु भनी भनिरहेका पनि थिए । तर दुःखको कुरा यसैबीच अप्रत्याशित रूपमा काठमाडौँको मीनभवनस्थित निजामती अस्पतालमा दैवज्ञजीको निधन भयो । यो दुःखद खबर एकाबिहानै उनै सुरेन्द्र थापाजीले पुत्र मनोजलाई गरेछन् । उनले अत्तालिँदै मलाई यो कुरा भनेँ । यसबाट मलाई असाध्यै दुःखका साथ ग्लानि पनि भयो । यति लामो बिरामी पर्दा पनि दैवज्ञजीलाई एकपटकसम्म भेट्न नसकेकोमा पश्चात्ताप पनि लाग्यो । सो पश्चात्तापलाई मेट्न म दैवज्ञजीको निधन भएपछि पुत्र मनोजलाई लिएर उनकी सहधर्मिणी सुधा र उनका आत्मज सन्तानलाई समवेदना प्रकट गर्न कोरा बसेकै बेला गैरीगाउँस्थित निवासमा पुगेको थिएँ । बढे हुर्केका तीन पुत्रका छेउमा सुधाजीलाई सुहाग रित्तिएको अवस्थामा भेट्दा हृदय उद्वेलित भयो । सान्त्वनापरक छोटो कुराकानीपछि हामी बाबुछोरा फर्कियौँ । सायद पहिल्यै घर देख्न सकेको भए दैवज्ञजीलाई जीवितै भेट्न पाउँथे कि भन्ने मनमा लाग्यो । त्यो दिन दैवज्ञजीको निवाससम्म पुर्‍याउने कामचाहिँ उनै सुरेन्द्रजीबाट भएको थियो ।

३. कवि दैवज्ञजीका व्यक्तित्वका विभिन्न पाटाहरू :

इतिहासको एउटा कालखण्डमा एउटै मञ्चमा अत्यन्त प्रगाढ सम्बन्ध राखेर काम गरेका मित्र दैवज्ञजीको बारेमा लेख्न बस्दा मलाई उहाँका व्यक्तित्वका विभिन्न पाटाहरू एकैसाथ टेलिभिजनका दृश्यझैँ आँखा अगाडि नाच्न थाल्छन् । यद्यपि उहाँको प्रारम्भिक जीवन र उत्तरार्द्धमा पक्षाघातले शरीर आक्रान्त पारेपछिका विषयमा मलाई उतिसारो जानकारी छैन । मैले दैवज्ञजीलाई उहाँको जीवनको सबैभन्दा झर्भफराउँदो, जल्दोबल्दो कालखण्डमा भेटेको र देखेको थिएँ । तसर्थ यो मेरो सम्झनाचित्र पनि विशेषतः उहाँको त्यही कालखण्डसित केन्द्रित भएर कोरिएको छ । मेरो अनुभवको आधारमा कवि तथा प्राध्यापक दैवज्ञराज न्यौपानेको व्यक्तित्वलाई मुख्यतः तीनवटा पाटामा बाँडेर हेर्न सकिन्छ । ती हुन् — प्राध्यापन, साहित्य सेवा र धार्मिक, सामाजिक सेवा ।

क. प्राध्यापक व्यक्तित्व :

यो दैवज्ञराजजीको जीवनीको पहिलो पाटो हो । कवि दैवज्ञजीले सुरुमा आचार्यसम्म संस्कृत अध्ययन गरी नेपालीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनाले उहाँले नेपाली भाषा साहित्यको अध्ययन, अध्यापन र अनुसन्धानलाई नै मुख्य पेसा बनाउनुभयो । उहाँभित्रको साहित्यिक व्यक्तित्वले पनि प्राध्यापन क्षेत्र उहाँलाई सहज र विशेष रुचिकर लागेको हुनुपर्छ । वि.सं.२०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भई नेपाली विषयमा स्नातकोत्तर तहको पढाइ सञ्चालनमा आउनुपूर्व अधिकांश सरकारी कलेजहरूमा नेपाली विषयको प्राध्यापन गर्ने काम संस्कृतमा आचार्य उत्तीर्ण गर्ने विद्वान्हरूले गर्ने गर्थे । यसको उदाहरणका रूपमा पं.बदरीनाथ भट्टराई, श्री यदुनाथ आचार्य, श्री हरिश्चन्द्र न्यौपाने, प्राध्यापक श्री अम्बिकाप्रसाद अधिकारी, पं.रोहिणी भट्टराई आदिलाई लिन सकिन्छ । तर विश्वविद्यालयको स्थापनासँगै नेपालीमा स्नातकोत्तर गर्ने व्यवस्था भएपछि भने क्रमशः नेपालीमै एम्.एम उत्तीर्ण गर्नेहरूले विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा प्राध्यापनको काम सम्हाल्दै जान थाले । दैवज्ञजीले नेपालीमा स्नातकोत्तर सकेपछि साधिकार शिक्षकका रूपमा सरकारी कलेजहरूमा पढाउन थाल्नुभयो । पछि उहाँको मुख्य पेसा नै प्राध्यापन बन्नपुग्यो । यसक्रममा उहाँले पाटन बहुमुखी क्याम्पसमा धेरै वर्ष नेपाली विषय प्राध्यापन गर्नुभएको थियो । पछि उहाँ उक्त क्याम्पसको प्राचार्य समेत हुनुभयो । प्राध्यापन पेसामा क्रमशः माथि उक्लिँदै उहाँ जीवनको उत्तरार्द्धमा चाहिँ त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय शिक्षण विभागमा प्राध्यापक बन्न पुग्नुभयो । कुनै पनि विषयमा उच्च शिक्षा आर्जन गरी परीक्षा उत्तीर्ण गर्नेले सो विषयमा अध्यापन गर्नु स्वाभाविक कुरा हो । तर प्राकृत रूपमै कवित्वकौशल भएका दैवज्ञजीको नेपाली भाषासाहित्यको प्राध्यापन पक्कै पनि अरूको भन्दा विशिष्ट रहेको हुनुपर्छ । किनकि स्वयं साहित्य साधकले साहित्य पढाउँदा अरू सामान्य शिक्षकले जस्तो लेखकले लेखेको सामान्य पदपदार्थको मात्र अर्थ खुलाउने नभई सत्साहित्यमा प्रयोग भएका गुण, रीति, अलङ्ककार र रससमेतको विशेष विवेचन गरी पढाउने कौशल र क्षमता हुन्छ । यसबाट विद्यार्थीलाई गहिराइमा पुगेर साहित्यमा प्रयोग भएका रस, शैली, भावलगायतका विभिन्न साहित्यिक तत्त्वको अन्तर्बोध समेत गर्न मद्दत पुग्दछ । संस्कृत र नेपाली भाषा साहित्यमा उच्च योग्यता आर्जन गरेका साहित्य साधक कवि दैवज्ञजीको प्राध्यापन पक्कै पनि अरूको भन्दा विशिष्ट र बहुमुखी थियो । उहाँले त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका क्याम्पसहरूमा कार्यरत रहँदा दर्जनौँ शोधग्रन्थको निर्देशक भएर काम पनि गर्नुभयो भने मूर्धन्य केही अग्रज कविहरूको कवितालाई सम्पादन, विश्लेषण तथा समालोचना गरी प्रकाशन गर्ने कार्यमा समेत योगदान पुर्‍याउनुभएको थियो ।

दैवज्ञराजजीले प्राध्यापन क्षेत्रमा संलग्नता र दक्षता बढाउँदै गएपछि आर्थिक रूपमा पनि उहाँ विस्तारै आत्मनिर्भर बन्दै जानुभयो । त्यसको प्रतिफल माइतीघरको त्यो पुरानो घरको डेराबाट उहाँले नयाँ बानेश्वर अन्ताराष्ट्रिय सभा केन्द्र पछाडि सानो घरघडेरी जोड्न सफल हुनुभयो । उहाँका मिहिनेती भाइ तथा कवि केदार न्यौपानजीले पनि दाजुकै आसपासमा घरजम बसाउनुभयो । नयाँ बानेश्वरमा उहाँहरूले बसाल्नुभएको नयाँ बस्ती नेपाली भाषासाहित्यका हस्ती प्राध्यापक डा. वासुदेव त्रिपाठी र अर्का प्राध्यापक ठाकुरप्रसाद पराजुली तथा प्राध्यापक शिवप्रसाद सत्यालको निकट भएकाले त्यो क्षेत्र साहित्यसेवी र बुद्धिजीवीहरूको गडजस्तो बन्नपुग्यो ।

ख. कवि व्यक्तित्व :

यो दैवज्ञराजजीको जीवनीको प्रकृतिप्रदत्त मूर्धन्य पाटो हो भन्ने मलाई लाग्छ । उहाँलाई राष्ट्रिय रूपमा चिनाउने र सजाउने काम यही व्यक्तित्वबाट सम्भव भएको हो । बालसाहित्यदेखि युवा र प्रौढसाहित्यसम्मका विविध क्षेत्रमा कलम चलाउने भए पनि दैवज्ञजीको रुचि र सक्रियता चाहिँ विशेषतः कविता त्यसमा पनि छन्दोबद्ध कविता विधामा बढी थियो । उहाँ आफ्नो समयका सबैभन्दा लोकप्रिय र नाम चलेका युवाकवि हुनुहुन्थ्यो । उहाँका कविता सरल, सरस र सन्देशमूलक थिए, छन् । उहाँका कवितामा राष्ट्रको माटाको सुवास पाइन्छ । संस्कृतका शास्त्रीय र छन्दीय अनुशासनमा रही नेपाली मनका भावना र चाहनालाई विभिन्न विम्ब र अलङ्कारले सजाएर मुटु नै छुने गरी अभिव्यक्ति दिनसक्ने उहाँको कवित्वकौशल साँच्चिकै अनुपम थियो । एकपटक उहाँको कवित्व कौशललाई लिएर तीसको दशकमा मेरा अग्रज तथा साहित्य–वेदान्त आचार्य पं. विष्णुप्रसाद न्यौपाने दाइले भन्नुभएको कुरा यतिखेर मेरा कानमा अझै गुञ्जिरहेको छ । उहाँले भन्नुभएको थियो “दैवज्ञराज ठिटो भएर के गर्नु ! कविताचाहिँ माधव घिमिरेसँग टक्कर लिने गरी लेख्छन् ।” यसबाट पनि दैवज्ञको कलमको निखार अनुमान गर्न सकिन्छ । प्रौढ साहित्यको फाँटमा लेखिएका “सिर्जनाका लहर”देखि “जोर मुरली” “सम्झनाको धरातलबाट”सम्म र बालसाहित्यका क्षेत्रमा लेखिएका “तोतेबोली’देखि “घामले ढोका खोल्यो” सम्मका उहाँका काव्यकृतिहरूमा उत्कृष्ट कवित्वशैली प्रतिविम्बित भएको पाइन्छ । जीवनकालमा झन्डै एक दर्जन जति कृतिहरू लेखी प्रकाशन गर्नुभएका उहाँका कृतिहरू आकारमा साना भए पनि तिनले गहकिला भाव र मर्म बोकेका छन् । विचार र सन्देश प्रवाहको दृष्टिले कवि दैवज्ञजीका कृतिहरू असाध्यै श्लाघनीय र पठनीय छन् । उहाँको कवित्वशैलीमा राष्ट्रकवि माधव घिमिरे र कवि शिरोमणि लेखनाथ पौड्यालको मिश्रित छाप देख्न पाइन्छ ।

संस्कृतका काव्य विवेचक विद्वान्ले कवि एवं काव्यबारे बडो गहिरो विवेचन गर्दै रससिद्ध कविहरूलाई उत्कृष्ट प्रशंसाका पात्र मानेका छन्, जसको यशरूपी शरीरमा बुढ्याइँ र मरणको भय हुँदैन ।

जयन्ति ते सुकृतिनः रससिद्धाः कवीश्वराः ।

नास्ति येषां यशः काये जरामरणजं भयम् ।।

प्राचीन कालमा कविताको प्रारम्भिक रचना संस्कृत भाषामा हुन्थ्यो, भएको थियो । महर्षि वाल्मीकिलाई आदिकवि र उनको ग्रन्थ वाल्मीकि रामायणलाई आर्ष वाड्मयको प्रथम साहित्यका रूपमा चिनिन्छ । नेपाली भाषा साहित्यमा भानुभक्त आचार्यलाई रामायणको रचना (जो अध्यात्म–रामायणको भावानुवाद हो) गरेबापत आदिकविको सम्मान प्राप्त छ । भानुभक्तले हालेको शास्त्रीय कविताको जगलाई थप मजबुत बनाउने काम परवर्ती समयमा गएर लेखनाथ पौड्याल, सोमनाथ सिग्देल, लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, हरिहर शास्त्री, भरतराज पन्तजस्ता कविहरूले गरे । नयाँ पुस्ताका कविका रूपमा दैवज्ञराजजीले त्यही शास्त्रीय कविवंश परम्परालाई बदलिँदो समाज र परिवेशमा उभिएर सशक्त रूपमा अगाडि बढाउनुभयो । दैवज्ञजीले छन्दोबद्ध, परिष्कृत र हृदयस्पर्शी कविता रचना गरेर नेपाली साहित्यको श्रीवृद्धिमा गहकिलो योगदान दिनुभयो । राजर्षि भर्तृहरिले ‘सुकविता यद्यस्ति राज्येन किम्” अर्थात् हृदयस्पर्शी सरस कविताको अगाडि राज्यको के मूल्य भनेर भनेको कुरालाई मनन गर्दा कवि दैवज्ञजीको सिर्जनशील मस्तिष्कबाट निस्किएका कविताका प्रत्येक पद मोतीझैँ चम्किला र मूल्यवान् छन् भन्दा अत्युक्ति हुँदैन ।

नेपाली शिक्षा परिषद्ले नेपाली भाषा साहित्यका विभिन्न स्रष्टाहरूको सम्मान र स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । दैवज्ञजी शारीरिक रूपमा सक्षम हुँदासम्म ती कार्यक्रमहरूमा उत्साहका साथ सरिक हुनुहुन्थ्यो । यसैगरी विभिन्न साहित्यकारका नाममा स्थापित संघ, संस्था र प्रतिष्ठानका विभिन्न महत्त्वपूर्ण पदमा रहेर उहाँले अग्रज स्रष्टाहरूका कृति र व्यक्तित्वलाई संरक्षण र संवर्द्धन गर्न उल्लेख्य योगदान पुर्‍याउनुभएको थियो । उहाँले भानुसेवा समितिको अध्यक्षका रूपमा समेत काम गर्नुभएको मलाई सम्झना छ । खासगरी प्रत्येक वर्ष असार २९ गते नेपाली भाषा साहित्यका आदिकवि भानुभक्तको जन्मजयन्तीका दिन रानीपोखरीस्थित भानुभक्तको प्रतिमामा माल्यार्पण गरी भानुको चित्रलाई ठुलो बग्गीमा राखेर बाजागाजा सहित प्रभातफेरी गर्ने क्रममा अग्लो कद र अग्रदस्तामा रहने दैवज्ञजी सबैका निम्ति आकर्षणको केन्द्रबिन्दु बन्नुहुन्थ्यो । अहिले पनि त्यो क्रम निरन्तर छ । तर दैवज्ञजीजस्ता भानुका साँच्चिकै अनुयायी, भाषा–धर्म र संस्कृतिप्रति समर्पित शास्त्रीय कविहरूको साथ अहिलेको प्रभातफेरीले गुमाएको छ ।

नेपाली कविता क्षेत्रमा दैवज्ञजीको विशिष्ट योगदानलाई कदर गर्दै उहाँलाई बयालीस सालतिर युवावर्ष मोती पुरस्कार प्रदान गरिएको थियो । नेपाली साहित्यका अमर स्रष्टा मोतीराम भट्टको सम्झनामा स्थापित पुरस्कार पहिलो पल्ट उहाँलाई अर्पण गर्ने दिन म पनि राष्ट्रिय सभागृहको हलमा अन्य साहित्यकारसँगै उपस्थित थिएँ । नेपाली भाषासाहित्यको यौटा उदीयमान कविलाई सम्मान अर्पण गरिएको सो क्षण सम्झँदा म अहिले पनि खुशीले गद्गद् हुन्छु । हाम्रो शास्त्रमा कुनै पनि मान, सम्मान वा दान भनौँ सत्पात्रमा पर्ने गरी दिन सकिए मात्र त्यसको सार्थकता सिद्ध हुन्छ भनिएको छ । दैवज्ञजीजस्तो सुयोग्य नेपाली युवा कविलाई सो पुरस्कार दिँदा मलाई मोतीराम भट्टको नाममा स्थापित सो पुरस्कारको सार्थकता सिद्ध भएको अनुभव भएको थियो । प्रायः सफारी र नेपाली टोपीमा टलक्क टल्किने दैवज्ञजीको व्यक्तित्व त्यो दिन भने राष्ट्रिय पोसाकमा पूफलमाला र अबिरले झनै निखारिएको थियो । मैले कार्यक्रमस्थलमै उहाँलाई भेटी बधाई व्यक्त गरेको थिएँ । त्यसपछिका वर्षहरूमा उहाँको साहित्यिक योगदानलाई लिएर विभिन्न संस्था तथा प्रतिष्ठानबाट उहाँलाई सम्मान गर्ने क्रम चलि नै रह्यो । यसैबीच पक्षाघातले नथिल्थिलिएका भए कवि दैवज्ञजीका थप दुई चार कृति नेपाली साहित्याकाशमा चम्किला तारा बनेर उदाउने थिए र उहाँको सम्मानमा अरू थुप्रै संघसंस्था अभिनन्दनको तयारीमा जुटेका हुन्थे । तर विधिको त्रूफर विधान, यस्ता उत्तम शिल्पीलाई जीवनको उत्तरार्द्धमा नेपाली साहित्यमा थप योगदान गर्ने अवसरबाट हठात् पन्छिन बाध्य हुनुपर्‍यो । दैवज्ञजीको उर्वर मस्तिष्कबाट नेपाली साहित्योद्यानले थप सिञ्चित र पल्लवित हुने मौका गुमाउन पुग्यो । जीवनको उत्तरार्द्धमा पक्षाघातले थलिएपछि उहाँको चिरायुष्य र सुस्वास्थ्यको कामना गर्दै कवि प्रह्लाद पोखरेलेको सम्पादकत्वमा विभिन्न कवि तथा विद्वान्हरूले मिलेर “दैवज्ञ पद्यध्वनि” नामक आरोग्यकामनापरक कृति पनि प्रकाशनमा ल्याउनुभएको छ । दैवज्ञजीको निधन हुनु एकाधवर्ष जस्तो पहिले विभिन्न साहित्यिक व्यक्ति र संघसंस्थाको तत्परतामा उहाँको अभिनन्दन गर्ने कार्यक्रम सम्पन्न भएको थियो । उहाँको सम्मानमा स्वयं राष्ट्रपति समेत सरिक थिए । यसबाट शारीरिक रूपमा विधिले ठगे पनि नेपाली साहित्य समाजले उहाँलाई जीवनकालमै विभिन्न सम्मान अर्पण गरी उहाँले नेपाली समाजलाई लगाएको गुनको ऋण केही हदसम्म तिर्न सक्यो भन्ने मलाई लागेको छ । जीवित कालमै यसरी अभिनन्दित र सम्मानित हुनेहरूमा कवि शिरोमणि लेखनाथ पौड्याल र माधव घिमिरेजस्ता थोरै भाग्यशाली स्रष्टा मात्र छन् जस्तो मलाई लाग्छ ।

ग. धार्मिक, सामाजिक व्यक्तित्व :

कवि दैवज्ञराजजीको जीवनीको तेस्रो महत्त्वपूर्ण पाटो धार्मिक, सामाजिक व्यक्तित्व हो । वस्तुतः उहाँको जीवनका प्रमुख तीन पाटाहरूमध्ये मैले चिनेको र जानेको सबैभन्दा बढी नगिचको पाटो यही हो । प्राध्यापन पेसामा रहेका कवि दैवज्ञलाई हिन्दूधर्मसंस्कृतिको संरक्षण र संवर्द्धनका साथै समाजसेवाका क्षेत्रमा पनि संलग्न हुने इच्छा जागेअनुसार उहाँ यो क्षेत्रमा लाग्नुभएको थियो । खास गरेर सनातनधर्म सेवा समिति अन्तर्गत रहेर उहाँले यो इच्छालाई व्यवहारमा उतार्नुभएको थियो । म पनि तिनताका समितिको एक सक्रिय सदस्यका रूपमा हिन्दूधर्म संस्कृतिको जागरण र प्रवर्द्धनका क्षेत्रमा तन्मयताका साथ लागिपरेको थिएँ । पछि दैवज्ञजी पनि सोही संस्थामा आबद्ध हुन आउनुभएपछि हामीबीच मित्रता र सहकार्य दिन परदिन प्रगाढ बन्दै गयो । जसको केही उल्लेख माथि नै गरिसकेको छु । हिन्दू धर्मसंस्कृतिका आधारभूत पक्षको राम्रो जानिफकार भए पनि उहाँले धार्मिक प्रवचन नै दिएको भने मलाई त्यति याद छैन । तर समितिका विभिन्न कार्यक्रममा उद्घोषणदेखि लिएर विभिन्न कार्यक्रमको समन्वय गर्ने जस्ता भूमिका भने उहाँले कुशलतासाथ निर्वाह गर्नुभएको थियो । शिष्ट र शालीन व्यक्तित्वका धनी एवं मृदुभाषी दैवज्ञजी समितिका सबै पदाधिकारी तथा सदस्यहरूबीच लोकप्रिय व्यक्तित्व हुनुहुन्थ्यो ।

कवि दैवज्ञराजजीलाई प्रकृतिले जस्तो सुन्दर आकृति र सिर्जनशीलता दिएको थियो विधिलाई त्यो कुरा लामो समय टिकाइराख्न चाहिँ सह्य भएन । कवि दैवज्ञको प्रकृतिप्रदत्त स्वाभाविक सौन्दर्यप्रति ईर्ष्या भएर नै होला नियतिले उहाँमाथि असमयमै पक्षाघातरूपी रोगको दारुण बज्रपात गर्‍यो । त्यतिले नपुगेर उहाँको मधुजिह्व वाणीलाई असमयमै खोसेर मुखभित्रै अन्तर्लीन हुन बाध्य बनायो । विधिको यो त्रूफरतालाई चुपचाप सहने बाहेक उहाँसँग अर्को विकल्प थिएन । तर त्यसबेलासम्म उहाँले आफ्नो सिर्जनशील कलम र उद्यमी हातहरूले नेपाली साहित्यमा थुप्रै कृति र काव्य रचना गरेर गहकिलो योगदान पुर्‍याइसक्नुभएको थियो । कवि दैवज्ञको पार्थिव शरीर आज हामीबीच छैन तर पनि उहाँका अमर कृति र काव्यरचनाहरूले उहाँभित्रको जीवन्तता र व्यक्तित्वलाई हामीबीच अमर र अविस्मरणीय बनाइरहेका छन् । नेपाली साहित्यका चम्किला तारा दैवज्ञजीजस्ता सरस्वतीपुत्र नेपाली आमाको कोखबाट विरलै जन्मन्छन् । अन्त्यमा, कवि दैवज्ञजीले लेखी छाड्नु भएका अप्रकाशित कृतिहरूलाई खोजी गरी प्रकाशन गर्नेतर्फ प्रतिष्ठानले तत्परता देखाओस् भन्दै कवि तथा मित्र दैवज्ञजीको आत्माको चिरशान्तिको कामना गर्दछु ।

स जीवति यशो यस्य कीर्तिर्यस्य स जीवति ।

अयशोऽकीर्तिसंयुक्तो जीवन्नपि मृतोऽपमः ।।

५ श्रावण, २०६९

थापाथली कुरियागाउँ

तिमी छौ र उज्यालो छ गाउँको रनबन

उठाऊ कलम कस मुठ्ठी अझै लेख्‍छु भन।

कालीप्रसाद रिजाल (दैवज्ञ : पद्यध्वनि, २०६६)