कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ काकासँगका ती दिन

टीकाप्रसाद न्यौपाने

साना नानीहरूदेखि वृद्ध, बौद्धिक, समग्र नेपालीले चिन्ने कवि एवं समालोचक अनि राष्ट्रभरि ख्याति कमाउने प्राध्यापक दैवज्ञराज न्यौपाने मेरा बालसखा हुनुहुन्थ्यो । आदरपूर्वक मनका उच्चासनमा राखेका उहाँ र म जम्दार बलभद्रका वंशज भएकाले हाम्रो नाता काकाभतिजाको हो । धाइपा र सुर्के गोगनेका नजिकका ठाउँ र विद्येश्वर संस्कृत पाठशालाको प्राथमिक शिक्षा ग्रहणको स्थलका कारणले हाम्रो श्रद्धा, प्रेम र सख्यभाव संस्कार भएर विकसित भएछ । जीवनभर नै अन्यथा नभई यो संस्कार रूप प्रेम श्रद्धामै विकसित र पल्लवित भएको छ ।

एक दिन प्रिय भाइ कविराजले – काका दैवज्ञको नाममा प्रतिष्ठान गठन गरिएको छ । त्यसैबाट उहाँको अक्षर कीर्ति संझनामा राख्न स्मृतिग्रन्थ प्रकाशित हुने निर्णय भएको छ । तपाईं उहाँको उचाइ छुन हिँड्न,े संघर्षका पाइलामा पसिना साटासाट गर्ने अनि उहाँका चरित्रमा व्यँुझन खोज्ने, स्वतन्त्र चेतनाका कोपिला अनुभूत गर्ने वा देख्ने व्यक्ति पनि भएकाले तिनै दिनहरूलाई श्रद्धा, शब्दावलीमा नियमित गरिदिनुहोस्, भनेकाले म चाहिँ उहाँ र मेरा पनि ती दिन सुख वा दुःखका के हुन् तिनैलाई सम्भँफने प्रयास गर्दैछु । उहाँको विशाल भव्य आकर्षक व्यक्तित्वका बारेमा धेरै विद्वान्, समीक्षकहरूले लेख्नु नै हुने छ ।

तर के गर्नु मेरो लेख्ने बानी नभएकाले सम्झनाका लहरहरू तँछाड मछाड गर्दै मडारिए पनि कलमले यो मनलाई यथार्थ रूपमा प्रस्तुत गरिरहेको छैन । काकासँगको सहयात्राको लामो समय आँखाको वरिपरि आइरहन्छ । गोगने पाठशालामा अध्ययन गर्दा हरिगुडु खेल्दा कुदेको, उप्रिफएको कुरालाई प्राथमिकता दिने कि दिङ्ला, दाङ, बनारसमा रहँदाबस्ताका क्रियाकलापलाई प्राथमिकता दिने भन्ने ठेगान लाउनै गाह्रो परिरहेछ । त्यसैले ती दिनका तिता मिठा, पिरा टर्रा जेजस्ता सम्झनाहरू छन् तिनलाई क्रमबद्ध रूपले रेखाङ्कित गर्ने कोसिस गरिरहेको छु । दिङ्ला, बनारस, दाङमा मन कुदाउँदा कुदाउँदै तन पुर्‍याउँदाका गति, यति, आशा, निराशा, उत्साह, अनुत्साहहरूलाई टिपोट गर्ने प्रयास गरिरहेको छु ।

त्यस समयको कुरा हो पढ्ने जिम्मेवारी बालकहरूमै रहन्थ्यो । अभिभावकले गोगने पाठशालामा पढ्न समय निकालिदिएको काम नै ठुलो मानिन्थ्यो । त्यसैले बालकहरूले नै आफ्नो भविष्य दुःख गरेर सुखमा परिणत गर्छन् भन्ने धारणाको समाजका दृष्टिका कारणले गोगने पाठशालामा पढ्ने हामी पनि शिक्षालय आफ्नो प्रगतिको आधार खोज्दै कोही बनारस, कोही धरान, कोही काठमाडौँ जाने उपक्रममै किशोर वयमै काका दैवज्ञ समेत दिङ्ला पाठशाला पुग्यौँ । दिङ्ला छात्रावासमा बसी अध्ययनको गति बढाउन लागियो यहाँ खाने, बस्ने, पढ्ने सामान्य सुविधा थियो । छात्रावासमा बसेर आ–आफ्नो सातु सामल आफँैले बनाएर खाने चलन थियो । काका दैवज्ञकै पहलमा छात्रवासमा बस्ने सबै छात्रहरूले एउटै भान्सामा खाने व्यवस्था मिलाइयो । एउटा पकाउने ठुलो भाडो छात्रहरूकै अनुरोधमा सरकारी कार्यलयबाट प्राप्त भएको थियो । सबै छात्रहरूले पकाउने वेलामा नियमित रूपमा एक ट्याङ्ग्रो चामल दिने चलन थियो । आलोपालो गरी भात पकाउथ्यौँ । भात पाकेपछि आ–आफ्नो थालमा एकैचोटि भाग लाएर दिएपछि थप्ने चलन थिएन । भकाभक खायो । आफ्नो थाल माझयो हिँड्यो । यस्तै स्थिति त्यहाँ बसाइएको थियो । काका दैवज्ञ छात्रावासमा भोजनको नियमित सामूहिक व्यवस्था गर्ने चाँजो मिलाउने, सामूहिक रूपमा सबैको व्यक्तित्वको विकास गर्ने खालका कला, साहित्यमा सबैलाई अभिप्रेरित गर्ने जस्ता कार्य गर्नुहुन्थ्यो । साथीभाइको व्यक्तिगत हितका बारेमा पनि चासो राख्नुहुन्थ्यो । यस कुराको प्रमाण मैले आफँैलाई ठान्ने गरेको छु । परीक्षा दिने समयमा छात्रहरूको फारममा जन्ममिति अङ्कित गर्नु पर्दथ्यो । अर्थात् जन्ममितिको के महत्त्व हुन्छ भन्ने पनि हामी जस्ता धेरै विद्यार्थीलाई थाहा थिएन । तर उहाँले त्यो लिखित जन्ममितिको महत्त्व थाहा पाएरै होला भविष्यमा उमेरले कुनै कार्यमा धोका नदियोस् भन्ने हेक्का फारम भर्दा नै राखेको देखिन्छ । वर्तमानले भविष्यलाई उजिल्याउनु पर्छ भन्ने सोच काका दैवज्ञमा थियो ।

सबै मानिसमा केही न केही विशेषता हुन्छ । कोही पनि शून्य हँुदैन । कसैको ज्ञान वैज्ञानिक, साहित्यिक, सामाजिक, धार्मिक कुनै न कुनै दृष्टिकोणले लोकोपकारी नै हुन्छ । देख्ने दृष्टि, सोच्ने ज्ञान पनि फरक नै हुन्छ, केही गरे केही हुन्छ भन्ने सोचले सबै साथीभाइका साथ नै रम्ने दैवज्ञ पाठशाला सुधार्ने चिन्तामा लाग्नुहुन्छ । तर दिङला बजारको साप्ताहिक रूपमा लाग्ने हटियामा चामल आउन छाड्यो । घर छोडेर किनेर निर्वाह गर्ने विद्यार्थीहरूको चिहिलबिहिल भयो । छाक टार्ने चामल सहित पाइँदैन । दुई तीन हप्ता चामलको हाहाकार भयो । एक दिनको कुरा हो । चामल लिन वा किन्न पाकशाला सञ्चालकहरू हाटमा घुम्दै थियौँ । एक बोरा चामक चिलाउनेका फेदनेर पाइयो । झोला बोकेका दैवज्ञको साथमा हामी विद्यार्थी निकै थियौँ । त्यहीँनेर भुफम्मियौं । चामल पाउने आशामा हामी निकै उत्साहित भयौँ । तर चामल खोज्ने हामी विद्यार्थी बबुराभन्दा पनि त्यहाँका जोसिला, हट्टाकट्टा त्यस ठाउँका मुलीहरू, मालिक हौँ भन्नेहरू पनि घुम्दै रहेछन् । चामल म लिने र हामी लिने बारेमा विवाद भयो । हामी खानलाई आवश्यक चामलको खोजीमा थियौँ । व्यारेकलाई ठेक्का लिएको टोली रहेछ, त्यो अर्को । त्यो टोलीसँग चामल लिने विषयमा विवाद भयो । छात्रहरू छाक टार्ने हेतु लिन खोज्ने अर्को टोली ठेक्काका लागि छात्रहरूले हामीलाई लिन दिनुहोस् भनेर राम्रै भाषामा आफ्नो आवश्यकता देखाउँदा देखाउँदै अर्को टोलीको समूहबाट एक अपशब्द फुत्कियो र कानमा सन्सनाउन लाग्यो । तिमीहरूसँग कति पैसा छ र चामल लिन्छौ ? यस चोटले घायल छात्रहरू त्यसै अपमानित ज्वालामा सल्किन लाग्यौँ । भोजनालय चलाउने उद्देश्यले दैवज्ञले यसरी गरेको आग्रहमा आघात पुर्‍याउने चामल लिने टोलीका नेता लेखनाथ चापागाईँ थिए । घर–बास आमा–बाबु पर भएका निरीह छात्रमाथि आफ्नै घरबासका मस्त युवाले अत्याचार गर्न नसक्ने त कुरै थिएन । अनि लछारपछार गर्दै भन्ज्याङ्माथिको ढिस्कोबाट तल झार्ने उद्देश्यले घोक्र्याउँदै, धकेल्दै थिए । तल झार्नै लाग्दा दैवज्ञको छरितो शरीरको कारण फुत्त उप्रफेर बच्नुभयो । तत्कालीन समाजका ठालुहरूको अभद्र, मिचाहा प्रदर्शनी देख्दै, अनुभव गर्दै डेरामा आयौँ । शक्तिशाली ठालुहरूसँग बिचरा छात्रहरूको के जोर ! एक दुई दिन बस्यौँ । गुरुहरूले मलिन मुख, अनगिन्ती भाव बोकेका छात्रहरूलाई देखी गुरु फणीन्द्र घिमिरेले बाटो फराकिलो छ, अगाडि प्रशस्त फूल फुलेका छन् टिप्न सकिन्छ भन्ने संकेत गर्नुभयो । अनि राति नै उठेर बालागुरुलाई संस्मरण गर्दै त्यहाँबाट हिँड्यौँ ।

काका दैवज्ञको नेतृत्वमा एकै साथ २१ जनाको टोली हिँडेको थियो । विद्यार्थी नेताका रूपमा दैवज्ञको स्वाभिमान र नेतृत्वको गुण पनि प्रदर्शित भयो । धेरै टाढा टाढाबाट भविष्यका सुन्दर सपना बोकेर आएका सबै विद्यार्थी कहाँ जाने ? के गर्ने ? भन्ने अठोटबिना दैवज्ञको श्रद्धा र नयाँ पुस्तामा उदाउँदै गरेको स्वाभिमान बोकेर दिङ्ला छोडयौं । गुरुमहाराज षडानन्द बालागुरुको आशीर्वाद लिएर अन्यायको विरोधमा विद्रोह प्रदर्शित भयो । सायद दैवज्ञको ईश्वरले लिएको परीक्षा थियो क्या र ! त्यसमा दैवज्ञ उत्तीर्ण भएर दिङ्लालाई बाइबाइ गर्न समर्थ हुनुभयो ।

अब दिङ्ला छोडेपछि सबै आ–आफ्नै घर गयौँ । दिङला छाड्ने २१ जनामध्ये वासुदेव भट्टराई, देवमणि न्यौपाने, थानेश्वर खतिवडा आदि थियौँ । अरू साथीहरू को को थियौँ नाम बिर्सियो । टाढा टाढाका साथी हुँदा भेटघाट भएन हामीचाहिँ एकै गाउँका हुँदा र काका भतिजको नाता पनि भएकाले भेटघाट भइरहन्थ्यो । शिक्षार्जन गर्नुपर्दथ्यो तर कहाँ र कसरी ? चिन्ताले पिरोल्थ्यो । सँगै भएकाले बेला बेलामा कुराकानी सरसल्लाह हुँदै गर्थे । काका दैवज्ञको बनारस जाने सोच बनेछ । अनि थानेश्वर खतिवडा र मलाई साथ लिई २०१९ साल हरिशयनी एकादशीको २ दिनअघि घरबाट हिँड्यौँ । थानेश्वर र म वहाँको छाया भएर खुरुखुरु पछि लाग्यौँ । हामीलाई कहाँ जाने ? के गर्ने ? भन्ने चिन्ता पनि थिएन, गन्तव्यको बोध पनि थिएन । यात्राका क्रममा हतुवा हृषीकेश पण्डितका घरमा आई बास बस्यौँ । भोलिपल्टको दिन एकादशी थियो । हामी खाना खाएर हिँड्ने आशय देखाउँदै थियौँ पण्डितजीले एक कूट श्लोक भनी काका दैवज्ञसँग अर्थ सोध्नुभयो । श्लोक यस्तो थियो ः–

एकादश्यां निराहारं द्वावेव भोजनं कृतम्

रात्रौ जागरणं कृत्वा दिवा च हरिचिन्तनम् ।

यस श्लोकको अर्थ हामीबाट नआएपछि आपैँफले अर्थ भनी एकादशीमा खानु हुँदैन भन्ने आशय बताउनु भयो । त्यहाँबाट हिँड्यौँ । भारतको बनारसमा बसी पढाइको गति अघि बढाउने लक्ष्य बोकेर हिँडेकाले त्यसै गर्‍यौँ । बनारस पुग्यौँ । विश्वनाथ बाबाको दर्शन गर्‍यौँ । छात्रावास, विद्यालय, त्यहाँको पढाइ विचार गर्‍यौँ । चार पाँचवटा विद्यालयको पढाइको ढाँचा हेर्‍यौँ । त्यहाँका छात्रहरू हामीलाई देखाउँदै पूडी कौमुदी खतम किया है ? भन्दै मुखामुख गर्थे । यिनीहरू धेरै जान्दछन् जस्तो गर्थे । यस्तै वातावरणमा सात दिनजति बस्यौँ । यहीँ बसी पढाइको गति बढाउने निधो गर्न सकिरहेका थिएनौँ । यसरी बसाइ र पढाइको टुङ्गो नलाग्नुको कारण अर्कै रहेछ । दैवज्ञ काकाको दूरदृष्टि र चतुरो ज्ञानशक्तिले यहाँ बसेर शैक्षिक, सामाजिक, साहित्यिक, राजनैतिक कुनै विषयमा पनि प्रगति गरी भविष्य उज्ज्वल हुँदैन भन्ने टुगो लागेछ । धार्मिक स्थल भनी धर्मका विषयमा विशेष चर्चित स्थल बनारसमा धार्मिक विषयमा पो केही प्रगति गरिन्छ कि भनी गहिरिँदा पनि मन्दिरैपिच्छेका पुजारी हुन् कि ठग हुन् जान्न सकिएन । हामी धार्मिक आस्था बोकेका मान्छे मन्दिरमा पस्यो, हात जोर्‍यो, शिर भुफकायो– ईश्वरप्रति भक्तिभाव देखाएर । ईश्वरमा भक्तिपूर्वक शिर झुकाउँदा तिनै मूर्तिका आसपासमा बसेकाले ढाडमा ढाप मार्दै फलाक्दै जान्छन्–बालकको विद्या दो, बुद्धि दो अनि मूर्तिका वरिपरि छरिएको पैसा हातमा लिएर सङ्कल्प गर्दै लु यति पैसा दे भन्छन् । पैसा छैन भन्दा “ऐसा मत कहो” “आप के पास पैसा है” भनेर हाम्रै जेबतर्फ औँलो तेर्स्याउँछन् । अनि धार्मिक आस्थाको छिटा पनि यस्तै पुजारीको क्रियाकलापले कम हुँदै आएको अनुभव भयो ।

अतः कुनै विषयमा पनि जीवनोपयोगी ज्ञान आर्जन गर्न नसकिने देखी, आफ्नै मातृभूमिको काखमा बसी शैक्षिक प्रगति गर्नुपर्छ भन्ने भाव बोकेर दैवज्ञको विचार दाङको जनता मा.वि.बाट शिक्षार्जन गर्ने टुङ्गोमा पुगेछ । अनि बनारस छोडी दाङतर्फ लाग्यौं । दाङ जाँदा टे्रनबाट हो या गाडीबाट हामी कोइलाबास पुग्यौं । यहाँबाट पैदलै जानु पर्दो रहेछ । हामी हिड्यौँ, हिड्या,ैँ हिडिँरह्यौ । ज्यादै गलेर हो कि भोकले हो वा अन्य विषयमा भाव उडेर हो, मलाई भक्कानो फुटेर रुन आयो । थचक्क बसेर रुन लागेँ । काकाले के के भनेर सम्झाउनु भयो । मलाई अहिले याद छैन । सम्झाएको चाहिँ याद छ ।

एक जना भारती साथी साथमा थिए । ती को हुन् ? कता जाँदै थिए ? यस विषयमा केही याद छैन । उनले खाने कुरा बोकेका रहेछन् । हामीलाई पनि अलिअलि दिएर आफूले पनि अलिकति खाए । तर पानी भने प्रशस्त खाएर जलखाइ भने । म चिन्ता लिने, पछिपछि लाग्ने एउटा अभिभावकको साथमा हिँडेको बालकजस्तो भएको अनुभव गर्छु । दाङमा भविष्य के छ, कस्तो हुन्छको कुनै कल्पना पनि छैन । त्यहाँ पाठशाला छ । संस्कृत पढाइ हुन्छ । बाँच्ने उपाय, पढ्न पाइने, कल्पनाभन्दा बढी मसँग केही छैन । उहाँमा एउटा दृढता भविष्यप्रतिको विश्वास, संस्था सञ्चालकहरूको अभिभावक बन्ने क्षमता पनि प्रदर्शित भइरहेको अनुभवको सम्झना अहिलेसम्म पनि ताजै छ ।

जनता मा.वि.तर्फ जाँदाजाँदै, हाम्रा अगाडि राप्ती नदीको वेग उर्लिरहेको देख्यौँ । असार साउनको भेल, उर्लँदो बाढी तरेर जानु छ पारि, राप्तीको प्रवाहसँग मनको भयले मितेरी लाउँछ । मन जेजति भयभीत भए पनि राप्ती पार भयौं । लाग्यौँ गाउँतर्फ । कोइलाबासबाट पैदल हिँडेर राप्ती आइपुग्दा बास बस्यौं कि एकै दिनमा आइपुग्यौँ, कति समय लाग्या,े कोइलाबास र राप्तीको दूरी कति हो ? यसका बारेमा अहिले केही हेक्का छैन । तर पनि त्यसबखत राप्तीको बाढीमा आत्तिएको मेरो मनले काका दैवज्ञको नडराउने हिम्मतलाई डर भगाउने साहसको आधार बनाएको चाहिँ सम्झिरहेको छु ।

हाम्रो गाउँ भोजपुर गोगनेको संस्कृत पाठशालामा पढ्न आएका श्रीदेव र शुकदेव दाङका हुन् भन्ने कुरा हामीलाई थाहा थियो । उनीहरूको आकृति तिनका क्रियाकलापको झल्याकझुलुक संझना र त्यस पाठशालाका परमादरणीथ गुरु पं.जयदेव अधिकारीले तिनको स्वभावको प्रशंसा गरेको, दाङ गोगनेबाट धेरै टाढा छ, भनेको कुराले पनि दाङ पुगेपछि सहयोग पाइने आशामा हामी थियौँ । उनीहरूको गाउँ र नाम सोद्धै जाँदा संयोगबस श्रीदेवका घरमा ट्याकै पुगेछौँ । यो समय बिहानको थियो ।

हामी (दैवज्ञराज न्यौपाने, थानेश्वर खतिवडा, टीका न्यौपाने) दलानमा बसेका थियौं । आँगनको पल्लो छेउमा पाली घर, घरको दैलो आम्नेसाम्ने थियो । एउटी नारी अर्धनग्न अवस्थामा कुद्धै त्यतै पसिन् । लुगाले नढाकेको शरीरमा भरर उठेका फोका प्रस्टै देखिन्थे । सिरकले छोपिएर सुत्नुपर्छ, भन्दै अर्की महिला पनि त्यतै पसिन् । अचम्मित हँुदै जिज्ञासा प्रकट गर्‍यौं । श्रीदेवकी भाइ बुहारी रहिछन् । उनलाई पानीमा काम गर्दा वा नुहाउँदा यस्तो हँुदो रहेछ । काकाहरूलाई कस्तो लाग्यो । भाव बुझन सकिन । म भने छक्क परेँ । के के रोग लाग्दो रहेछ भन्ने, जिज्ञासामिश्रित भय अनि आश्चर्य बोकेका मेरा आँखाले दश, बाह्र वर्षपछि पुनः यस्तै घटना देख्न पुगेका थिए — म भोजपुरको अन्नपूर्णमा थिएँ, एक छात्रले निम्ता दिए । उनका घरपरिवारसँग पनि मेरो राम्रै सम्बन्ध थियो । उनी बालजित राईका नाति थिए । उनले गाईघाटतिर विवाह गरेर नयाँ दुलही भित्र्याएका रहेछन् । म उनको निम्ता स्विकारेर मेस्माङस्थित उनको घर दलानमा बसेको थिएँ । श्रीदेवको घर दाङमा देखेजस्तै उस्तै उही प्रकृति आँखामा झल्क्यो । उस्तै युवती भित्र पसिन् । सिरक ओड्ने उही आवाज, छक्क परेँ । उनले विवाह गरेर ल्याएकी नवबधू तिनै रहिछन् । राम्रैसँग बुझने प्रयास गरेँ । पानीको एलर्जी सामान्य हो भन्ने बुझेर, दश, वाह्र वर्ष तर्सिएको मेरो मन ढुक्क भयो ।

हामीले श्रीदेवका घरमा नै खाना खायौँ र जनता मा.वि. को खोजी गर्दै अघि बढ्यौँ । विद्यालय पुगेर नाम लेखाएका दिन बिजौरीका भद्र भलाद्मीको ठुलो जमघट भएजस्तो लाग्छ । किनभने हामी तिनै जनाका अभिभावकका रूपमा म यसको र उसको भन्दै उनीहरू अघि सरेको याद छ । सबैको नाम अहिले सम्झना छैन । काकाको अभिभावक बन्नेको भने याद छ । उनी बिजौरीका डिल्लीराम मजगँैया थिए । प्र.अ.रामेश्वर मजगँैया हुनुहुन्थ्यो । यसरी दाङ ज.मा.वि.मा पढाइको प्रारम्भ गर्‍यौँ । काका दैवज्ञको कुशाग्र बुद्धि, छरितो शरीर, प्रशन्न मुद्रा, विविध क्रियाकलापमा अग्रस्थानमा रहने हुनाले उहाँको व्यक्तित्वले पनि अग्रता नै लियो । अतः हामीलाई त्यहाँ कुनै कुराको कमी भएन । साहित्य गोष्ठीमा दैवज्ञ नै पहिलो हुनुहुन्थ्यो । यो देखेर उहाँका अभिभावक बनेका डिल्लीराम देख्यौ मेरो विद्यार्थी कस्तो छ, भनेर फुर्किएको मैले सम्झिरहेको छु ।

यसरी हाम्रो शैक्षिक गति अघि बड्दै गयो । समय समयमा गाउँको गतिविधि बुझन अलि परपरसम्म पनि जान्थ्यौँ । त्यहाँ पर्दाप्रथाको मान्यता थियो जस्तो लाग्छ, किनभने महिलाहरू र पुरुष बस्ने बैठक अलगअलग थिए । महिलाहरू अन्य पुरुषलाई मुख देखाउन सङ्कोच मान्थे । दङाली अति धनाड्य थिए । पुरुष घोडा चडेर हिँड्थे । पुराण सुन्न जाँदा पनि खट्यौलीमा चढेर जान्थे । पैदल हिँडेका अति कम देखिन्थे । हामी वरपर जाँदा केही लिने दिने इच्छा हुँदा पुर्‍याइदिने मान्छे छैन भन्थे । दिनुहोस् हामी आफँै लान्छौ भन्दा छक्क पर्थे । अनि हाम्रो बस्ने ठेगाना लिएर आवश्यक सामान घोडामा लादेर पठाइदिन्थे । प्रथम चरणका दिन यसरी नै बित्तै गए । छात्रावासको बसाइ, खानपिन, पठनपाठन सबै सुविधै सुविधा थियो । पछिपछि कहाँबाट के चाँजो मिलाइदिन्थे । दाल, चामलको त के कुरा एक टिन त तिलै थियो । पुराणबाट पठाइदिएका भन्ने अलिअलि सम्झना छ । यो सबै हुनुको कारण दैवज्ञ काकाकै जनसम्पर्क हो ।

केही समयपछि एक दिन काका दैवज्ञ र म पश्चिम दाङतर्फका गाउँ हेर्ने मनसायले छात्रावासबाट निस्कियौँ । थानेश्वर चाहिँ त्यही बसेको याद छ । केही कारण थियो होला । हामी एक गाउँबाट अर्को गाउँको अवलोकन गर्दै जाँदै थियौँ । केही पर पुगेपछि दङाली थारुले लुगा, कपडा, ओड्ने ओछ्याउनेको भार बोकेर हाम्रा अघिपछि जाँदै थिए । पछि छोडिन्थे । अघि भेटिन्थे । के हो ? कहाँ जाने हुन् भन्ने जिज्ञासा हुन्थ्यो । तर सोद्धैनथ्यौँ । जाँदाजाँदै निकै पर पुग्यौं । रात पर्न लाग्यो । एउटा घरमा मानिसको निकै जमघट देख्यौँ । हामी त्यतै लाग्यौँ । लुगाको भार बोक्ने पनि त्यहीँ बिसाँउदा रहेछन् । हामीलाई नयाँ मानिस देखेर उनीहरूले मुखामुख गरे । बस्नलाई आग्रह गरे । हामी पनि त्यहीँ बसेर हेर्न बुझ्न लाग्यौँ । सत्यनारायणको पूजा लाउने तयारीमा रहेछन् । आँगनमा मण्डप सिँगारिएको थियो ।

ठाउँठाउँमा चुला, विविध पक्वान्नहरू पकाइँदै रहेका, ठुला ठुला कराइका चारतिरबाट मस्त जवानले कुराउनी घोटिरहेका । एक टोली तातामा त्यसरी बसेर कुराउनी घोट्ता, घोट्ता गल्दा रहेछन् । अर्को टोली आउँछ पालो दिन, जा ढेलमा खरानी घसेर भन्दै पालो दिन्छ । यस्तै मस्तै ठाउठाउँमा अरू अरू पनि के के गरिरहेका छन् । सत्यनारायणको पूजा यत्रो धुमधामसँग लाएको देखेकै थिएन । चकित हुँदै बस्यौँ । अघि देखेका लुगाका भार पनि त्यहीँ पाहुनाका स्वागतार्थ ल्याएका रहेछन् । रात पर्‍यो । पूजा लाए । प्रसाद बाँडे । जाग्रम बस्ने बसे । पूजा लाउँदा वादीलाई ल्याई नाचगान गराउने चलन रहेछ । यस्तै नयाँ नौला कुरा हेर्दै बुझदै हिँड्दै थियौँ । यहाँबाट हिँडेको भोलिपल्ट हो कि, अर्को दिनको बिहान हो । गाउँ निकै पर छोडिएछन् । आउने गाउँ पनि टाढै रहेछन् । खाने समय घर्किसकेछ । बल्लबल्ल गाउँ भेट्यौं । थकाइ मार्ने, खाने आशय प्रकट गर्‍यौँ । नेपाले बाहुनको घर देखाइदिए । त्यो घर खोज्यौँ । पुग्यौँ, बस्यौ, खायौं । त्यही घरको दर्दनाक, कहालीलाग्दो मर्ममा प्रवाहित छ काका दैवज्ञको सम्झनाको धरातलबाट भन्ने खण्ड काव्यभित्रको ती रोइन् त्यसरी किन ?

भन्ने काव्य । यसको अभिव्यक्तिमा कवि दैवज्ञले

पारी फुर्सदको बेला घुम्न जान्थ्यौंँ कतैतिर

देख्न नौला कुनै ठाउँ बुझन नौला कुनै कुरा

यस्तै दिन थियो यौटा टीका र म सँगै थियौं

पश्चिमी दाङको निम्ति यात्रा खातिर निस्कियौँ

भनी ती दिनलाई सम्झनु भएको छ । अनि विधवाले भरिएको घरको अश्रुवर्षामा, ती रुँदाका समयको हाम्रो स्थितिलाई यसरी प्रकट गर्नु भएको छ ः–

त्यसैले म रुझेँ आफू टीका रुझथ्यो त्यसै गरी

जेठानी विधवा रुझथे, आँसुका भेलमा परी

यस्तै यस्तै काका दैवज्ञसँग रहँदा वस्ताका स्मृतिहरू अनेक अझ छन् भने कति त विस्मृतिमा परिणत भैसके ।

सबै मानिसका भावना अनगिन्ती हुन्छन् । प्रकट गर्ने शैली पनि त्यस्तै । कोही कविता, कोही कथा, कोही प्रखर वक्ता, भाषणका रूपमा आफ्नो भावना प्रकट गर्छन् भने कसैका मनभित्र नै गुम्सिएर बिताउँछन् ? मेरा मनमा पनि अनगिन्ती भाव मडारिन्छन्, प्रकट गर्न सक्तिन । कहिले कहिले कवितामा उछिट्टिएका अप्रकाशित भावना हेर्दै जाँदा २०१९ साल आश्विन १२ गते लेखेको कविता काकाले हेरेर तत्कालीन समाजको अव्यवस्थाबाट उत्पन्न हुने स्थितिको वास्तविकतालाई प्रकट गर्नै पर्ने सुधार गरी मिलाइदिनु भयो । जो यसप्रकार छ :

शिष्टताको धाक दिँदै धृष्टताको चाल गर्ने

मानवता नाद फुकी दानवता काख लिने

काम के हो जान्नु छैन बोक्रे लिई धाक ठुलो

तेरो मेरो मात्र भन्छन् भुत्रो होला तेरो मेरो

दाङमा वस्ता हामी दुवै जना पूर्वमध्यमा (१०) कक्षामा पढ्दथ्यौं । काकाले प्रथमा परीक्षा उत्तीर्ण गरिसक्नु भएको हुनाले, वहाँले पूर्वमध्यमा प्रथम खण्ड जाँच दिनुभयो र घर आउनु भयो । म चाहिँ दुवै खण्ड एकै चोटि पढ्दै थिएँ । एक वर्ष नबिसाई दिएको जाँच अवैधानिक हुन्थ्यो र जाँच दिएर मात्र घर फर्कँने हुँदा दाङमा नै बसें । त्यहाँ औलो लाग्दो रहेछ । त्यस्तो कडा औलो खानपिन र अन्य कुराको पनि विचार पुर्‍याएर परहेजमा नबसे असमयमा नै परमधाम हुने । मलाई गएकै सालदेखि औलो लागिसकेको रहेछ । काकाहरू हिँडेपछि म पनि छात्रावासमा एक्लै बसिन । नजिकै कृष्णप्रसाद मजगैँयाको घर थियो । उहाँले नै छोराछोरीलाई पढाइ दिनू भनेर लानुभयो । उहाँका तीन छोराछोरी थिए । कपिल, देवका, सानाको नाम याद भएन तिनैलाई पढाउँदै, त्यहीँ बस्न लागँे । बस्नखानको सुविधा र घरपरिवारको आत्मीयताले टाढा घर भएको, एक्लो भएको अनुभव भएन । काकाबिना नै दाङ बस्ने आँट पलायो । औलाले गाँज्दा पढाइको गति धिमा भयो । खाने बस्ने सबै सुविधा थियो । दङाली सौखिन धनाढ्य, बस्ने भए दश, बाह्र, विद्या जग्गा पनि दिन्छौँ भन्थे । भूमिसुधारको हल्ला थियो । दिन्थे पनि । एकदिन बिहान कृष्णप्रसादका घरमा झक्कनप्रसादकी बुहारी आउने भनेर उत्सुकताको सनसनाहट मच्चिन लाग्यो । घोराहीबाट मैतालु तुलसीपुर जाने । यो उत्सुकताको तुफान बिजौरीमा चल्दैछ । दुवैतर्फ तीन, चार, माइल दूरीको बीचमा पर्छ बिजौरी । मैले नजिकको कुरा हैन । यति टाढाको दुवैतर्फ केही नाता पनि छैन, किन ? यस्तो झक्कनकी बुहारीको चर्चा ? भनेर कृष्णजीसँग सोधेँ । भरे हेर्नुहोला नि भन्नु भयो । नभन्दै दिनको उत्तरार्ध टिफिनपछिको कुन घण्टी हो? पढाइ हुँदै थियो । सारा छात्रहरू झक्कनकी बुहारी झक्कनकी बुहारी भन्दै ग्वारग्वारती निस्किए । आँगन भरियो । गुरुहरू पनि निस्कनुभयो । म पनि कक्षाबाट बाहिर आएर बाटातिर आँखाको ज्योति दगुराएँ । विद्यालय अगाडिबाटै बाटो थियो । यहीँदेखि गुहार खोलाका वारपार केही न केही बोकेका मानिस ग्वारग्वारती कति हो कति सलहजस्तै देखेर छक्क परेँ । ल मानिस त आए यत्रा मनिसलाई ख्वाउने व्यवस्था कत्रो होला भन्ने कुराले मन पिरोलियो र कृष्णजीसँग यहाँको चालचलन बुझने प्रयास गरेँ । सर्वसाधरणको मैतालु पठाउँदा पनि चालीस जनासम्म हुन्छन् रे, सक्नेका जति पनि लान,े बोक्ने कुराको हकमा ससाना कुराको पनि भार । सकी नसकी बोक्नुपर्दो रहेनछ । अचारका हन्डी दुइटा, एक एकतिर लायो भार । अनि खाने पिने आ–आफ्नो व्यवस्था आफैँले गर्नु पर्दोरहेछ । कुनैतर्फका कसैले पनि खान दिँदा रहेनछन् । सम्पूर्ण काम गरेबापत उनीहरूलाई जग्गा गरिखान दिइएको हुन्छ रे, उनीहरू घुइयाको तरकारी र राता चामलको भात आफैँ पकाएर खान्छन् रे झ्

काका दैवज्ञको पढाइका साथ स्थान, भूगोल र त्यहाँका चालचलन संस्कृति सभ्यता बुझनुपर्छ, पढनु भनेको कितावी रटान मात्र होइन भन्ने व्यवहार र भनाइबाट प्रवाहित भएकाले त्यहाँ वसुन्जेल यी र यस्ता घटनामा चासो राख्ने र बुझने कोसिस गर्न थालेँ । अब काकाहरूले छाडेर गएपछि दङालीका यस्तैयस्तै चालचलन बुझदै रुग्ण शरीरलाई घिसार्दै रहेँ । औलाको ज्वरोले झन्डै यमपुरीको बास भएको, अनि के शैक्षिक प्रगति हुन्थ्यो ? सकी नसकी एक साल पुर्‍याएर जाँचमा बसँे । परीक्षामा सफल हुन सकिन । कोइलाबास तर्फबाट हिँडेर आउने सामर्थ्य थिएन । अनि प्लेनबाट नेपालगन्ज हँुदै विराटनगर आएर मामा झम्किलालको आश्रयमा बसँे ।

यता काका दैवज्ञराज गोगने पाठशालाबाटै गाउँघरमा युवाशक्ति सङ्कलन गरी आर्थिक, राजनैतिक, शैक्षिक, साहित्यिक विविध क्षेत्रमा युवाशक्तिको सामर्थ्यको विकास गर्दै राष्ट्रिय राजनैतिक चेतनाको विकास गर्ने हेतुले आफ्ना विविध क्रियाकलाप इच्छुक साथीभाइसम्म पुर्‍याउन लाग्नु भएछ । देशको राजनीति २०१७ सालदेखि नै बिगँ्रदै गएको थियो । प्रजातान्त्रिक चेतना भएका युवाहरू संगठित हुने नयाँनयाँ बाटा अपनाउँथे । सरकारका समर्थकहरू नयाँ विचारधारा बोकेका युवाहरूको चियोचर्चो गरी बसी बसी निरुत्साही गराउँदै दबाउन खोज्थे । यस्तैको सिकार भएछ, दैवज्ञको समूह । म त गोगने पुगेकै थिइन । सुनेको मात्र हुँ । साहित्य गोष्ठी, पुस्तकालय स्थापना गरी राजनैतिक चेतना प्रदान गर्ने नै लक्ष्य भए पनि त्यसलाई ठुलो राष्ट्रद्रोहको विषय बनाउने छुल्याहाहरूले पोल पुर्‍याएछन् । व्यवस्था विरोधीको आरोप लगाएछन् । दैवज्ञ र थानेश्वर खतिवडालाई भोजपुर जेल चलान गरेछन् । गोगने पाठशालामा पढ्दै गरेका १३,१४ वर्षका केटाहरू परमेश, कविराज आदि समेतलाई पनि ५,७ दिन ठानामा कुच्याएछन् । काका दैवज्ञ र थानेश्वरलाई ७५ दिन भोजपुर जेलमा उडुसलाई टोकाए भन्ने सुनेको हुँ । पछि जेलबाट निस्किएर आएपछि सुनाएको कविता ः–

खेपी आयौँ कठिन दिनका दुक्ख संकष्ट नाना

मेरा दाह्री अधरमुनिका जेलका हुन् निसाना

यी पंक्ति अहिले पनि सम्झिरहेको छु । यसले दाह्री आएर भुफसुक्क हुन्जेल जेल बसेका,े दुःख दिएको भन्ने बुझिन्छ । यसपछि काका भतिजको आक्कलझुक्कलको भेटघाट हुन्थ्यो ।

२०२८ सालको कुरा हो त्यस बेला म भोजपुर दिल्पाको अन्नपूर्णमा पढाउँथेँ । त्यस बेला एस्.एल.सी. को जाँचका लागि एक जिल्लामा एक केन्द्रध्यक्ष खटाउने चलन थियो । यही क्रममा काका दिक्तेल, विष्णु कुसम भोजपुर खटिएर आउनु भएको रहेछ । परीक्षा सकेपछि केटा ! विष्णु कुसम पनि सँगै छन् । यहाँ यसरी भेला भयौं भन्ने कुराको हेक्का नभए पनि मेरी आमा नर्मदाले भुटेका चिनियाँ मकै र नेपाले भटमास मर्काउँदै र ट्याम्केका फेदीमा थकाइ मार्दै चुचुरातर्फ उक्लेको भने झल्झल्ती सम्झिरहेको छु ।

अब काठमाण्डू र भोजपुरको बसाइ, जीवनले धेरै वसन्त पार गरिसक्यो । यत्रो जीवनको अन्तरालमा आर्थिक, बौद्धिक, शैक्षिक, शारीरिक। मानसिक सम्पूर्ण विषयमा कति हो कति परिवर्तन भयो । लेखाजोखा गरी साद्धे छैन । भेटघाटै हुन छोडे पनि, स्नेह श्रद्धाभाव चाँहि यथावत् नै थियो । त्यसैले, छोराहरूको ब्रतबन्ध देवघाटमा सँगै गर्ने भनेर मेरा छोरो रोशन र उहाँको छोरो उज्ज्वलको सँगै ब्रतबन्ध गर्‍यौं । जीवन संघर्षका उकालीमा उहाँ काठमाण्डूमा रहेर अझै उक्लने प्रयत्न गरी सर्वाङ्गीण विकासमा लाग्नु भयो । मचाहिँ सुदूर पूर्वको भोजपुरको दिल्पामा बसेर आफ्नो कुटे धन्दा नियमित गर्न लागँे । अध्यापन र प्राध्यापन एउटै काम भए पनि उहाँ कर्णालीको गहिराइमा र म धाइपा खोलाको तिरतिरे बगाइमै हिँडिरहेको छु । लाग्छ सबै कुरा दैवाधीन रहेछन् ।

उच्च रक्तचापको बिमारीले उहाँलाई लडायो । उहाँको पुफर्तिलो शरीर, मीठो बोली, सधँै स्वच्छ, सुन्दर चम्किलो अनुहार खोसियो । हिँडाइमा धरमराहट, बोलीमा अस्पष्टता, शरीरले रुग्णता जनायो । प्रारब्धको यस्तै लेखाइ रहेछ, भन्ने सोचले चित्त मनाउनु पर्‍यो । बिमारले गाँजेपछि, चार पाँच खेप भेट भयो होला । दुःखका वेदना, सुखका मिठासपूर्ण कुरा कत्ति कुनै कुराको पनि आदानप्रदान हुन सकेन । आँखाले हेरो/काका नसकी नसकी बोल्न खोज्नुहुन्छ । भित्रभित्रै भक्कानिया,े हिँड्यो । ती पछिल्ला भेट कति दर्दनाक, कसैको पनि जिन्दगी, देखेकाले हँुदो रहेनछ, लेखेकै चाहिँदो रहेछ । यो सूक्तिमय उक्ति जीवनमा कति चारितार्थ छ । सबै मानिसको लेखेको के के छ । देखेका छैनौँं । यसले होसियार है होसियार, भन्छ होइन झ् मन भरङ्ग हुन्छ ।

म टंकीसिनवारीमा बस्ने काकाको स्थायी बसाइ काठमाडौँको गैरीगाँउ भएकाले बिमारी भएपछि फोनबाट वार्ता हुने कुरा पनि हरायो । न्यौपाने कुलको भूषण मात्र होइन नेपालकै उज्यालो नक्षत्र भएकाले सबैले सहानुभूति दिने, कस्तो छ, दैवज्ञलाई ? भन्ने विषाद सुनाउने काम नै भइरहन्थ्यो । अहिले त लेख्न थाल्नुभयो । गोगनेबारे लेख्नु भयो, भन्ने सुन्दा सन्तोषको उज्यालो पिलिक्क देखिन्थ्यो । परसम्म ठम्याउने आँट हुदैनथ्यो । यस्तैमा काठमाडौँ गएको बेला भेटघाट गर्‍यौं । ती दिन, आजका दिन एकले अर्काको अनुहारमा पढ्यौँ, स्नेहश्रद्धा हृदय भरिभरिबाट आदानप्रदान गर्‍यौं । यस्तै भेटको एक दिन २०६८ साल भाद्र १६ गते जो काकासँगको अन्तिम भेट रहेछ । मेरी श्रीमती सीतासमेत काठमाडौँ गएको बेला न्यौपाने भेला जरीबुटीमा घर बनाएका देवराज न्यौपानेका घरमा रहेछ । त्यहाँ हामी पनि गयौं । यो भेलाको आयोजनका प्रारम्भकर्ता मात्र होइन हरेक भेलामा उपस्थित हुने दैवज्ञ काका त्यहाँ हुनुहुन्नथ्यो । यस्ता भेलामा नआएको बर्सौँ बितिसकेको थियो । भेलामा काकी सुधा हुनुहुन्थ्यो । काकीकै साथ काकाको दर्शनार्थ गैरीगाउँको घरमा जाने निधो गर्‍यौं । काकीसँगै आयौं । म काकाको प्रिय भतिज साथीजस्तै भएझैं मेरी श्रीमती उहाँका मामा खलककी चेली, मामाकी छोरी बहिनी भएकाले एकदमै निकटतम पारिवारिक हार्दिकता बोकेर पुग्यौं । सबैलाई समान रूपले प्रेम गर्ने मेरा आदरणीय काका घरमा निश्चलजस्तै भएर बसिरहनु भएको थियो । मनले चढाउन सक्ने जति श्रद्धा प्रेम अर्पण गरेँ, स्नेह प्रेमको अगणित घडा प्राप्त गरेँ भन्ने अनुभव गरिसकेपछि, मेरो काँधको सहारामा बैठक कोठामा जानुभयो । कहिले आयौ, सोध पुछ, पहिले जस्तै बिस्तारी शब्दाभावमा प्रकट गर्नु भयो । उहाँका भन्ने, सोध्ने, दिने, अनेक भाका भावहरू छन्, नभनी भएको छ्रैन, उहाँ भनिरहनु हुन्छ । हामी बुझन सक्तैनौँ । मनले हेर्, टीका ती दिन, तँ पनि बुढो भइस् । औलोबाट वँचिस्, दिङ्ला, “दाङ” खेपिस् । परिवार राम्रो बन्यो । रोग छैन, ठीक छ, होइन भन्छ वा मैले त्यसै दुःख पाएँ, कसैको कुनै बिगार नगरे पनि किन यस्तो ? भन्दै दैवलाई दोष पो दिँदै हुनुहुन्छ, वा दैवाधीन, जन्म रोग हो । यसमा कुनै पीर गर्नु पर्दैन भनी सम्झाउँदै हुनुहुन्छ, बुभिँफदैन, अप्ठायारो अनुभव हुन्छ । त्यो दैवज्ञ जो सबैका लागि तयार भयो । जो सबैको सहारा भयो । प्रेरणा भयो त्यो दैवज्ञ अरूको सहारामा बाँच्नु पर्ने पार्ने त्यस दैव भनाउनेसँग तँ पनि अन्यायी रहिछस् भन्दै छोराको डेरा बानेश्वरमा आई बसँे । त्यस दिनपछि मैले उहाँलाई देख्नु रहेनछ । २०६८ पौष २ गते बिहानै कविराजले भने – दैवज्ञ काका अस्ताउनु भयो । श्रद्धाभाव प्रेम र उहाँको कीर्तिजीवन चिरन्तन छ, चिरन्तन भइरहोस् । अस्तु

खाँदैनन् धानको भात चिया खान्छन् चिनीबिनै

लेख्‍दछन् बैँसका गीत चिनीभन्दा मिठा उनै

अग्लो शिखरिणी होओस् या शार्दूल चढेपछि

मन्त्रमुग्ध सबै हुन्छौँ मन्दाक्रान्ता पढेपछि।

प्रह्लाद पोख्रेल, अननुकरणीय,२०६३