स्मृतिमा दैवज्ञ दाइ
मैले प्रा. दैवज्ञराज न्यौपानेलाई २०३८ सालमा चिन्ने अवसर पाएको हुँ । राष्ट्रिय सभागृहमा भानुभतफीय रामायण खुला रूपमा वाचन गराइएको भानु–जयन्तीका अवसरमा उहँासँग पहिलो भेट भएको थियो । संस्कृत छात्रावासमा हामी बस्ने गर्थ्यौं । प्रजातान्त्रिक विचारमा सक्रिय भएका अग्रजहरूले अगाडि बढाएको ंजयतु संस्कृतम् संस्थामा संलग्न भई हरेक कार्यक्रममा सरिक हुने गर्नुहुन्थ्यो दैवज्ञ दाइ । नयाँ पुस्तालाई माया र हौसला दिने दैवज्ञ दाइ आज हाम्रा बीच रहनु भएन । उहाँको रूपको आकर्षण, बोलीको मिठास, अपनत्वभाव, हँसिलो मुद्रा, तार्किक वाक्शैली स्नेहपूर्वक बोलाउने र कार्यक्रमहरूमा सँगै हुँदा खानपान, बस, उठ, सबै विषयमा ध्यान दिने उहाँको स्वभावका कारण जो कोही पनि आकर्षित हुन्थे । त्यसै वेलादेखि म पनि प्रभावित भएको हुँ उहाँसँग ।
वि.सं. २०३८ को भानु–जयन्तीमा रामायण वाचन गरेर पहिलो पटक रामायणको किताब प्राप्त गरेको थिएँ मैले । प्रा.डा.व्रतराज आचार्य एवं सह प्रा.डा.हरिकृष्ण पौडेलले मलाई तात्कालीन भानु सेवा समितिमा रहेर काम गर्ने वातावरण बनाइदिनुभयो । प्रा.डा.व्रतराज आचार्यको सिट रितफ भएपछि त्यही नं.मा संस्कृत छात्रावासमा भर्ना भई अध्ययन गर्न थालेँ मैले । बिस्तारै– बिस्तारै मलाई उहाँहरूसँग सान्निध्य भएर काम गर्ने अवसर मिल्यो । मैले भानु सेवा समितिमा दैवज्ञ दाइ सदस्य हुँदादेखि र पछि उपाध्यक्ष र अध्यक्ष हुँदा समेत काम गर्ने अवसर पाएँ । त्यति मात्र हैन लामो समयसम्म दैवज्ञ दाइ भानु सेवा समितिको अध्यक्ष हँुदा मैले महासचिव भएर काम गर्ने अवसर प्राप्त गरेँ । उहाँले मलाई संस्थागत मात्र नभएर आफ्नो परिवारको सदस्यको व्यवहार गर्नुहुन्थ्यो । दैवज्ञ दाइको बानेश्वरको घरमा धेरै साँझ बिहान बिताएको थिएँ मैले । निराश हताश हुने उहाँको स्वभाव नै थिएन । साहित्यमा र प्राध्यापनमा उहाँ अब्वल दर्जामा हुनुहुन्थ्यो । त्यसको अतिरितफ उहाँको सामाजिक पहिचान अझ उच्च भएको मैले पाएको थिएँ ।
दैवज्ञ दाइ जहाँ जहाँ संलग्न रहनु भयो त्यहाँ सबैको श्रद्धाको केन्द्र विन्दु भएर रहनु भयो । राष्ट्रकै संम्मानित पात्र बन्नुभयो । त्यसैले उहाँले आम नागरिकको तर्फबाट नेपालका प्रथम राष्ट्रपतिबाट सम्मानित हुने अबसर पनि प्राप्त गर्नुभयो । नेपाली पाठकहरूलाई दर्जनौँ कृतिहरू पस्कनु मात्र भएन सामाजिक संघ संस्थामा रहेर कसरी काम गर्नुपर्छ भन्ने एउटा प्रेरणाको स्रोत पनि बन्नुभयो दैवज्ञ दाइ । भोजपुरको गोगनेमा एउटा किसान परिवारमा जन्मेका दैवज्ञले मृत्यु शयामा आर्यघाट पुग्दा सिङ्घो शैक्षिक एबं साहित्यिक जगत्लाई रुवाइ दिनुभयो । देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जातिका बीच सम्मानित पात्र बन्नुभयो । कहिल्यै नमर्ने व्यतिफत्व बनाएर जानुभयो । दैवज्ञ दाइको ठुलो विषेशता भनेको सरल स्वभाव हो आफ्नो मूल्याङ्कन खोज्नुभएन तर अरूको यथोचित मूल्याङ्कन गर्न कहिल्यै चुक्नु भएन । कसैलाई पनि बिझाउने, अप्रिय लाग्ने वचन उहाँबाट निस्केन आवेगमा आउने स्वभाव उहाँमा थिएन । धैर्य उहाँको विशेषता नै हो । सबैप्रति सम्मानभाव देखाउनुहुन्थ्यो । नकरात्मक सोच र चिन्तन उहाँमा कतै कहिल्यै पाइएन । वरिष्ठ साहित्यकार र प्राध्यापक भई सकेको व्यतिफत्वमा आत्मरति कहिल्यै देखिएन । पदीय महत्त्वाकाङ्क्षा पनि थिएन ।
उहाँको व्यतिफत्वको समग्रताले होला उच्चपदस्थ राजनेतादेखि आफूलाई लब्धप्रतिष्ठित ठान्ने सबैले उहाँलाई श्रद्धाले सम्मान गर्थे । सामाजिक संघ संस्थाका सिलसिलामा कुनै पनि निकायमा जाँदा उहाँले पाएको आदर र सहज भेटबाट म धेरै पटक प्रभावित भएको छु । सुन्दर कद, उच्च साहित्यिक व्यतिफत्व, प्राध्यापक एवं सामाजिक संघ संस्थाका विशिष्ट अगुवा जसले राष्ट्रलाई केही दिन्थ्यो, समयले अल्पायुमै लग्यो । परिवारजन त दुखित भए नै तर समग्र नेपाली वाङ्मय एवं सामाजिक क्षेत्रको विशिष्ठ अगुवाको निधनबाट सिङ्घो नेपाली समुदाय अझ बढी दुखित भएको मैले महसुस गरेको छु । दैवज्ञराज न्यौपाने एउटा प्रेरणाको स्रोत हो, सहृदयी भावनाको प्रतिबिम्ब हो, मृदुभाषी, मिलनसार, सकारात्मक सोच र चिन्तनको प्रतिमूर्ति हो । उहाँको विचार, चिन्तन र स्वभाव नजिकबाट जान्ने र चिन्नेहरुले उहाँको समग्र भावनालाई वर्तमान तथा आउने पुस्ताहरूका बीच पुर्याउन सके वास्तवमा उहाँप्रति सच्चा श्रद्धाञ्जली गरेको ठहरिनेछ । अस्तु ।
२०६९ कार्तिक, काठमाडौँ,