त्यो सुकर्मको ज्योति
जेठ महिनाको मध्याह्नमा तीन चार जना नेपाली साहित्यका विद्वान्हरूको अप्रत्याशित, नाटकीय शैलीमा मेरो घरको प्राङ्गणमा प्रवेश हुन्छ । म केही हतारिन्छु, केही विस्मित हुन्छु ती विद्वान्हरूको प्रवेशबाट । सबै साहित्यप्रेमी मित्रहरू रहेछन् अन्तिम निर्णयात्मक हेराइमा । परिचयको अवधि हामी सबैको लामो भइसकेको थियो । केही कालको लागि म विस्मित हुनु स्वाभाविक थियो । मेरा प्राचीन स्पष्टवादी मित्र कोषराज न्यौपाने र अरू तीन चार न्यौपाने थर भएका मित्रहरूको प्रवेशपश्चात् मभित्र विस्मयको उदय हुनु स्वाभाविक थियो ।
तर कथा दुखान्तक बोकेर आएका रहेछन्, नेपाली साहित्यका एक मूधर्न्य विद्वान् दैवज्ञराज न्यौपानेको परलोक प्रस्थानको । केही पलको लागि म आफैँ स्तम्भित भएँ र अतीततिर कल्पना उड्न थाल्यो । उहाँसित मेरो सम्बन्ध त्यति निकटको नभए पनि सावधिक अवसरहरूमा संवादका पलहरू स्मृतिप्रवाहमा शृ्रङ्खलाबद्ध भएर अवतरित हुन थाले । निसर्गतः म भावुक र संवेदनशील हुन थालेँ । नैसर्गिक स्वभावको कारण ! स्वभावतः उदास खबरको उदास पर्यावरणको सीमाभित्र हामी सीमित रह्यौँ । निश्चित समयखण्ड व्यतीत भएपछि विदाइका पलहरू आए तर त्यो घटनाको प्रभाव चलायमान रह्यो, सायद ती न्यौपाने परिवारका मित्रहरूभित्र पनि ।
सरलता, इमान्दारी, दायित्वचेतना, गत्यात्मक जीवनमाथिको आस्थाको कारण होला म तुलनात्मक रूपले अरू नेपाली गुरुभन्दा बढी स्वर्गीय दैवज्ञराज न्यौपानेतिर तानिएको । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको बारेमा थाहा पाएपछि म बढी प्रभावित भएको छु उहाँको उदारता, कल्पना, साहित्य, संस्कृति र सुसंस्कारबारे । प्रतिष्ठान खोल्ने विचार र त्यसपछि त्यो पवित्र कार्यमा हृदयपूर्वक लगनशीलता देखाउने आफन्त र आफन्तका निकट मित्रहरूमा । दैवज्ञराज स्मृति प्रतिष्ठान खोल्न पवित्र उद्देश्य बोकेका मित्रहरूलाई मेरो अग्रिम बधाई र शुभकामना ।
दैवज्ञराजको प्रस्थानमा दुःखी छु, उहाँको स्मृतिमा निर्मित हुने प्रतिष्ठानको सूचनाबाट म अति हर्षित छु । प्रतिष्ठानको पूर्णता नेपाली साहित्यिक गौरवको स्वस्थ र सुन्दर उदाहरणीय नमुनाका रूपमा अवतरित होस् भन्ने मेरो शुभकामना । एक वैचित्र्यपूर्ण घटना । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको उत्तरोत्तर प्रतिष्ठा, साँस्कृतिक सौरभ र सुधामय सुषमामा वृद्धि हुँदै जाओस् । अवनी र अम्बरबीचको विराट् साँस्कृतिक सौरभको एक प्रबल कारक भइरहोस् । उहाँको जीवन बाँच्ने शैली र सौन्दर्यको कारण अवश्य पनि दैवज्ञराज न्यौपाने असली अर्थमा एक अमरत्वमा रमण गरिरहनु हुनेछ । कोषराज न्यौपाने र म भूगोलको सीमानाभित्र त्यो सुकर्मको ज्योति हेरिहने छौँ । नेपाली साहित्यमा दैवज्ञराज जस्तै अरू विभूतिहरूको उत्पादन भइरहोस् अर्को प्रचलित पाटोबाट हेर्दा । अन्त्यमा भन्नु पर्ने कथ्य हुन सक्छ उहाँको जीवन दृष्टि र जीवन बचाइको शैली अरू नेपालीहरू पनि अनुकरण गर्न सफल होऊन् । पुन : मेरो हार्दिक श्रद्धाञ्जली दैवज्ञराज न्यौपनेलाई ।
२०६९ असार,
काठमाडौँ