कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मैले चिनेका दैवज्ञराज न्यौपाने

प्रा.डा. तीर्थप्रसाद मिश्र

सरल जीवन, उच्च व्यक्तित्व, गहन भाषिक एवं वाड्मयिक चेतना, सफल प्राध्यापक, कुशल प्रशासक, सुपरिचित बालकवि एवं गीतकार दैवज्ञराज न्यौपाने बहुमुखी व्यक्तित्वका धनी थिए । भोजपुरको गोगनेमा जन्मेर नेपालभित्र मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूका माझ आफ्नो सुनाम फैलाउन सफल दैवज्ञराज न्यौपाने नेपाली भाषा र साहित्यका साधक मात्र थिएनन् एक सच्चा राष्ट्रप्रेमी पनि थिए । सानै उमेरदेखि नै कविता पढ्न र लेख्नमा अधिक रुचि राख्ने न्यौपानेले बि.सं. २०२० सालदेखि कविता र गीतबाट आफ्नो लेखन कार्यको प्रकाशन आरम्भ गरेका थिए । खासगरी बालकविता र गीतका सिद्धहस्त शिल्पकार न्यौपाने त्यत्तिकै कुशल समालोचक, नाटककार, जीवनी लेखक तथा खण्डकाव्यकार पनि थिए । बालसाहित्यको क्षेत्रमा त उनलाई नेपालकै मूर्धन्य कवि मानिन्छ । उनका बालकविताहरू सरल र सरस भाषामा लेखिएका पाइन्छन् । चालीसको दशकमा कवि न्यौपानेले लेखेको किसान शीर्षकको कविता त्यस बेलाको पाठ्यपुस्तकमा समेत समावेश गरिएको थियो । छन्दोबद्ध कविताका पारखी न्यौपानेका कवितामा राष्ट्रकवि माधव घिमिरेका कविताको गहिरो छाप परेको पाइन्छ ।

संस्कृत साहित्यमा आचार्यसम्मको अध्ययन एवं नेपाली विषयमा स्नातकोत्तर गरेका दैवज्ञराज न्यौपानेले चार दशकसम्म त्रिभुवन विश्वविद्यालय अर्न्तगतका विभिन्न क्याम्पसमा संलग्न रहेर नेपाली भाषा साहित्यको सेवा गरेका थिए । भक्तपुर क्याम्पसबाट प्राध्यापन पेसा आरम्भ गरी नेपाली केन्द्रीय विभागको प्राध्यापक भएर अवकाश प्राप्त प्राध्यापक न्यौपानको सम्पूर्ण जीवनको अधिकांश समय प्राध्यापन पेसामा नै बितेको थियो । त्रिभुवन विश्वविद्यालयमा उनी एक सुयोग्य प्राध्यापकका रूपमा सुपरिचित थिए । केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्दा विद्यार्थीहरूले उनको खुलेर नै प्रशंसा गर्दथे । उनको व्यक्तित्व तथा कृतित्वमाथि स्नातकोत्तर तहका विद्यार्थीहरूले शोधप्रबन्ध समेत लेखिसकेका छन् ।

मेरो दैवज्ञराज न्यौपानेसँगको घनिष्टता, पारिवारिक एवं अध्यापन दुबैको माध्यमबाट भएको थियो । विश्वविद्यालयको सेवामा रही अध्यापन तथा साहित्यको साधनामा जीवन समर्पण गरेका दैवज्ञराज न्यौपानेसँगको मेरो सम्बन्धको एउटा प्रमुख पक्ष एउटै विश्वविद्यालयमा हामी दुवै संलग्न रहनु थियो । विश्वविद्यालय सेवाका क्रममा बराबर उनीसँगको सम्पर्क, सम्बन्ध र सहकार्यले सम्बन्धलाई निकटतामा बदलेको थियो । प्रा.न्यौपानेको धनकुटासँगको सम्बन्ध–सूत्रले हामीबीचको यस सम्बन्धलाई अझ निकट र गाढा तुल्याएको थियो । अर्कातिर प्राध्यापक न्यौपानेको आदर्श जीवन, प्रभावकारी व्यक्तित्व र विषयप्रतिको गहिरो दख्खल सदैव मेरा लागि प्रेरणाको स्रोत रहिआएको थियो । मैले प्राध्यापक न्यौपानेलाई सदैव एक बौद्धिक तथा तार्किक क्षमताका धनी तर कोमल हृदयका सरल व्यक्तिका रूपमा चिनेको हुँ ।

प्राध्यापक न्यौपानेमा केही विशिष्ट गुणहरू विद्यमान थिए । खासगरी विचारमा स्पष्टता र गूढता, बौद्धिकता एवं तार्किकता, मिलनसार, मृदुभाषी, आफ्ना सबै सहकर्मीहरू आफूभन्दा जतिसुकै कनिष्ठ भए पनि समभाव र समव्यवहार न्यौपानेका विशिष्ट गुणहरू थिए । यसैले एकपटक उनको सम्पर्कमा आएको व्यक्ति सदैव उनको नजिक हुन चाहन्थ्यो ।

न्यौपानेसँगको निकटतालाई अझ गाढा बनाउने कार्यमा केही समयसम्मको हाम्रो सहकार्यले पनि योगदान दिएको थियो । खासगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बानेश्वर क्याम्पसमा स्थापनाकालदेखि निकै लामो समयसम्म प्राध्यापक न्यौपाने र मैले सँगै प्राध्यापन गर्ने तथा क्याम्पस व्यवस्थापनका विभिन्न जिम्मेवारीमा रही सहकार्य गर्ने अवसर पाएका थियौँ । प्राध्यापक न्यौपानेलाई मैले जिम्मेवारीप्रति इमान्दार, कक्षामा सदैव नियमित, अध्यापन कार्यमा कहिल्यै पछि नपर्ने, विद्यार्थीका सदैव प्रिय शिक्षकका रूपमा पाएको थिएँ ।

उनी एक कुशल प्रशासक पनि थिए । पाटन क्याम्पसको क्याम्पस प्रमुखका हैसियतले प्रा. न्यौपानेले क्याम्पसको समग्र व्यवस्थापनलाई कुशलतापूर्वक सम्पादन गरेका थिए । उनी क्याम्पसमा अनुशासन कायम गराउन पनि उत्तिकै सक्षम हुनुका साथै यस कार्यमा निरन्तर प्रयत्नशील रहन्थे । आपूफ अनुशासित भए मात्र विद्यार्थीहरू अनुशासित हुन्छन् भन्ने मान्यता राख्ने न्यौपाने स्वयं पनि नियमको पालनामा खरा थिए ।

बानेश्वर क्याम्पसको सञ्चालक समितिमा रहेर प्रा.न्यौपानेले अहोरात्र क्याम्पसको विकास र उन्नतिमा आफ्नो योगदान, ज्ञान, अनुभव र सुझाउलाई उपयोग गरिरहे । उनी सधैँ गुणस्तरीय शिक्षामाथि जोड दिन्थे । समुदायको सहयोगबाट निर्मित र सञ्चालित बानेश्वर क्याम्पसलाई एक नमुना क्याम्पसका रूपमा स्थापित गराउने चाहना राख्ने न्यौपाने कहिल्यै समस्याबाट भाग्दैनथे । समस्यासँग जुधेर नै लक्ष्यमा पुग्न सकिन्छ भन्ने मान्यता राख्ने न्यौपाने क्याम्पसको भवन निर्माण कार्यमा आएका अनेक बाधा तथा अवरोध हटाउने कार्यमा होस् या क्याम्पसको आन्तरिक प्रशासनिक समस्यालाई हल गर्ने कार्यमा होस् सदैव अग्रपङ्तिफमा उभिन्थे । वास्तवमा भन्ने हो भने प्रा.न्यौपाने बानेश्वर क्याम्पसलाई आर्थिक एवं भौतिक रूपमा सबल बनाउने कार्यमा क्रियाशील जीवनका पछिल्ला दिनहरूसम्म पनि निरन्तर लागिरहे । बानेश्वर क्याम्पसलाई विश्वविद्यालय नै बनाउन पाए हुन्थ्यो भन्ने उनको सपना थियो ।

शिक्षा तथा साहित्यका क्षेत्रमा प्रा.न्यौपानेले पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न साहित्यिक संघसंस्थाहरूले उनलाई स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारसमेत प्रदान गरेका छन् । दैवज्ञराज न्यौपाने नै युवावर्ष मोती पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति थिए । छिन्नलता गीत पुरस्कार, भारती खरेल पुरस्कार, बाल साहित्य पुरस्कार, लेखनाथ काव्य सम्मान आदि अनेक सम्मान तथा पुरस्कारबाट पुरस्कृत प्रा.न्यौपाने वास्तवमै सम्मानका हकदार थिए । उनी राष्ट्रपतिबाट समेत सम्मानित भएका थिए । “सिर्जनाको लहर”, “जोर मुरली”, “बालसंसार”, “घामले ढोका खोल्या”े जस्ता सुललित तथा चर्चित कविता तथा बालकविता सङ्ग्रहका साथै “सम्झनाको धरातलबाट” खण्डकाव्य सङ्ग्रह, “हुने बिरुवाका चिल्ला पात” जीवनी सङ्ग्रह र “गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन” र “नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू” समालोचनात्मक ग्रन्थहरूका धनी प्रा.न्यौपाने स्वयं नै हुने बिरुवाका चिल्ला पात थिए ।

आजीवन नेपाली साहित्य, शिक्षा र समाज सेवामा समर्पित दैवज्ञराज न्यौपाने विगत छ वर्षदेखि पक्षाघात रोगबाट पीडित भई सार्वजनिक जीवनबाट छायामा परेका थिए । वि.सं.२०६२ सालमा अकस्मात् मुखमा पक्षाघातले आघात पारेपछि उनी राम्रोसँग बोल्न नसक्ने भए पनि उनले भाषासाहित्यको सेवालाई भने निरन्तरता दिइरहे ।

रोग लागेपछि मानिसको शक्ति र सामर्थ्य क्रमशः क्षीण हुँदै जाने रहेछ । प्रा.न्यौपानेको रोगग्रस्त शरीर पनि क्रमशः कमजोर हुँदै गएकाले उनको सक्रिय जीवन एक प्रकारले समाप्तप्रायः भैसकेको थियो । नेपाल र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गर्दा पनि पक्षाघातको रोग निको हुन नसक्दा हामी सबैमा चिन्ता बढ्दै जानु स्वाभाविक थियो । यद्यपि उनमा आत्मबल यति धेरै थियो कि रोगग्रस्त भई सहारा लिएर हिँडनुपर्ने अवस्थामा पुग्दा पनि पछिसम्म क्याम्पसमा विभिन्न कार्यक्रम वा सञ्चालक समितिका बैठकहरूमा उपस्थित हुने गर्दथे । तर जीवन सदैव मृत्युसँग हार्ने रहेछ । वि.सं. २०६८ साल पुस २ गते ६९ वर्षको उमेरमा प्रा.दैवज्ञराज न्यौपानेले हामीबाट सदाका लागि बिदा लिए । उनको यस असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ । मुलुकले एक सशक्त कवि, लेखक, साहित्यकार र शिक्षाप्रेमी व्यक्तित्व गुमाएको छ ।

भौतिक रूपमा प्रा.न्यौपाने हामीमाझ नरहे पनि आफ्ना कृति र योगदानबाट उनी अमर रहेका छन् । उनका कृतिले युगयुगान्तरसम्म बालबालिकालाई नेपाली सभ्यता, संस्कृति, नेपालीपन, नैतिक शिक्षा, बौद्धिक ज्ञान र सच्चरित्रताको शिक्षा दिइरहने छन् । साहित्यकार र विद्वान्हरूले नेपाली भाषा र साहित्यका क्षेत्रमा गहकिला खुराक पाइरहने छन् । आजीवन फूल बनेर सुवास फैलाइरहने प्रा.न्यौपानेकै निम्न दुई पङ्तिफ उद्धरण गर्दै उनीप्रति शब्दश्रद्धा सुमन अर्पण गर्दछु ः–

काँडा हैन फूल बन सिर्जनाको मूल बन

इमान्दार मानिसको तिमी सच्चा भूफल बन ।