कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ दाइ : सम्झनाका तरेलीमा

तीर्थराज भट्टराई

दैवज्ञ दाइ शालीन तथा हँसमुख व्यक्ति हुनुहुन्थ्यो । उहाँमा रिस तथा आवेग कत्ति पनि थिएन । बालकदेखि वृद्धसम्म पनि मिल्ने स्वभाव थियो । निःस्वार्थी तथा मितव्ययिताको हिमायती हुनुहुन्थ्यो । एकपटक चिनेको मानिसलाई नबिर्सने, कसैको अकल्याण नसोच्ने, सबैको भलो चिताउने, असमर्थ तथा निमुखा व्यक्तिले गरी खाओस् भन्ने कुरामा सचेत भई सहयोग गर्न रुचाउनुहुन्थ्यो ।

दैवज्ञ दाइसँग २०१२ साल फागुनदेखि मेरो सम्पर्क भयो । त्यस समयमा भोजपुर जिल्लाको पश्चिमी भेगमा गोगनेमा रहेको विद्येश्वर संस्कृत पाठशाला बाहेक, अन्य शिक्षण संस्था थिएनन् । म गोगनेमा पढ्न जाँदा भान्जीदिदीको घर (धाइपा) मा बसेको थिएँ । भिनाजु पुरुषोत्तमले पाठशाला जान उहाँकै साथ लगाइदिनु भयो । पाठशालाका गुरु पं.जयदेव अधिकारीसँग उहाँले चिनजान गराइदिनु भयो र गुरुले मेरो नाउँ लेखिदिनु भयो ।

गोगनेको शिवमन्दिरसँगै पाठशाला थियो । एउटा ठुलो पाटी (धर्मशाला) मा, तल पाठशाला र माथि छात्रहरूको बसोबास थियो । भाषा पाठशाला स्वीकृत भए पनि जयदेव गुरुले संस्कृतका विषयहरू व्याकरण, रघुवंश, हितोपदेश, अनुवाद आदि र वासुदेव न्यौपानेले हिसाब पठाउनुहुन्थ्यो । दैवज्ञ दाइ र म सधँै सँगै जान्थ्यौँ र आउथ्यौँ । राती पनि हामी सँगै पढ्थ्यौँ । पढाइका अतिरिक्त वहाँमा खेलकुदप्रति सोख थियो । कबड्डी खेल निकै राम्रो खेल्नुहुन्थ्यो । पाठशालाको खेल मैदान सानु भिरालो टाईपको थियो । एक दिन कबड्डी खेल्दा दौडँने क्रममा उहाँ जङ्गल साइडतिर उप्रफेर जाँदा लडेर खुट्टा मर्कियो । मैले हातमा समातेँ, मेरा साथ लागेर खोच्याङ्, खोच्याङ् गर्दै घर पुग्नुभयो । उहाँले– “घरमा कबड्डी खेल्दा लडेको नभन्नू, हिँड्दा हिँड्दै जुत्ता चिप्लिएर लडेको भन्नू” भनेर सिकाउनु भयो । घरमा मैले त्यसै भनिदिएँ । किनभने त्यस समयमा त्यसरी खेलेको घरका परिवारले मन पराउँदैनथे ।

अर्को एक दिनको कुरो हो – वहाँको घरमाथि एकजना तामाङ थियो जसलाई काले भन्थे । उसँग बारीमा गोल खेल्दा कालेले हानेको भकुन्डो (काठको सानु डल्लो) ले दाइको निधारमा लागेर निकै ठुलो टुटुल्को उठ्यो । अब यो कुरा घरमा थाहा पाए भने परिबार रिसाउँछन् । के भनेर छल्ने ? छलछाम गर्ने बहानाको शब्द खोज्याँै, पाइएन । अनि वहाँको घर धाइपा गाउँको सिरानमा गोठ थियो । त्यही गयौँ । जीतलाल भन्ने गोठालो थियो, उसले आलु पोलेर दियो, खाएर बस्याँै । बेलुका साँझ परेपछि घरमा झर्‍यौँ, लडेर ठोक्कियो भनेर ढाँट्यौँ । किनभने त्यस समयमा आपूफभन्दा तल्लो जातको मान्छेलाई साथी बनाएर खेलेको मन नपराउने समाज थियो ।

२०१४ सालको अन्त्यमा पढ्नकै लागि वहाँ दिङ्ला जानुभयो । त्यसको एक महिनापछि म पनि दिङ्ला गएँ । हामी छात्रावासमा बलले वल्लो पल्लो कोठामा बसे पनि हरहमेसा सँगै हुन्थ्यौँ । पढाइमा मभन्दा दाइ सिनियर हुनुहुन्थ्यो र उमेरमा पनि । म दाइ भन्थेँ । दाजुभाइमा हुने आत्मीयता हामीमा बसिसकेको थियो । दिङ्ला पाठशालामा वार्षिक परीक्षा भैराखेकाले कक्षामा नाउँ लेखाउन अलिक ढिला भयो । त्यहाँ हिसाब र माथिल्लो तहको कुनै कुनै विषयको मात्र लिखित परीक्षा हुने त्यस बाहेक सबै परीक्षा मौखिक नै हुँदो रहेछ । सम्बन्धित विषयका गुरुहरू बसेर मौखिक जाँच लिने र तुरुन्त परिणाम निकाल्ने नियम रहेछ । कतिपय विद्यार्थीहरू आफूले पढेको विषयमा कमजोर हुने र कतिपय आफूले जानेको कुरा पनि गुरूको धक मानेर उत्तर दिन नसकेर असफल हँुदा रहेछन् । प्रवेश परीक्षा पनि मौखिक नै लिएर नाउँ लेख्ने गरिँदो रहेछ । यस प्रसङ्गमा पाठशालामा क्लर्क (कार्यालय सचिव) को काम हरिहर चापागाईँले गर्नुहुन्थ्यो । नाम दर्ता गर्दा उहाँले दैवज्ञराज भनेर लेखिदिनु भएछ । कक्षा सुरुभएपछि हाजिरी फारममा “ज्ञ” थपिएको नाउँ पाइएकाले हरिहर गुरुलाई सोध्दा तिम्रो नाउँ मैले नै लेखिदिएको हुँ, त्यो राम्रै हुन्छ भन्नु भएकाले त्यहाँदेखि वहाँको नाउँ दैवज्ञ रह्यो । यसअघि दैवराज थियो । गाउँघरमा सबैले माया गरेर दैवु भन्थे । गोगनेका जयदेव गुरु पनि दैवु नै भन्नुहुन्थ्यो र वहाँलाई धेरै माया गर्नुहुन्थ्यो । कक्षामा वहाँका सहपाठीहरूले पाठ बुझाउन नसक्ता निकै कडाइ गरे पनि दैवुप्रति नरम नै व्यवहार हुन्थ्यो । जयदेव गुरुलाई लघुकौमुदी (व्याकरण) कण्ठै थियो । जहाँसुकैको पाठ पढाउनु परे पनि किताब हेर्नु पर्दैन थियो । गुरुले साहित्यिक तथा दार्शनिक ग्रन्थहरू पनि पढाउनु हुन्थ्यो । यद्यपि गोगने भाषा पाठशाला मात्र स्वीकृत भए पनि गुरुले पढाउन सक्ने संस्कृतका ग्रन्थहरू सबै पढाउनु हुन्थ्यो । जयदेव गुरु गायत्रीमाता र शिवको भक्त हुनुहुन्थ्यो । बिहान प्रातः कालमा सधैँ विधिपूर्वक गायत्री जप्नु हुन्थ्यो । त्यसैले होला वृद्धावस्थामा पनि वहाँको चेहरा हराभरा देखिन्थ्यो ।

अब फेरि दिङ्लातिरै फर्कौँ । दिङ्लामा बसुन्जेल दैवज्ञ दाइ र म कक्षामा पढ्न जाँदा र राति सुत्ताबाहेक प्रायः सँगै हुन्थ्यौं । जति पनि कामहरू गर्नुपर्थ्यो हाम्रो संयुक्त सहभागिता नै रह्यो । त्यस समयका २/३ वटा घटनाहरू म सम्झिरहन्छु ः–

१) वहाँ खेलकुदमध्ये कबड्डी, हरिगुडु, फुटबल खेल्न खुब मन पराउनुहुन्थ्यो । वहाँको शरीर त्यतिखेर मोटोघाटो थिएन तर अग्लो हुनुहुन्थ्यो । त्यहाँ विद्यार्थीहरू बगैंचामा फलेका भोगटेका काँचा दाना टिपेर ल्याएर भकुन्डो बनाएर खेल्थे । यस्तै हुँदैहँुदै हामी धेरै जना मिलेर प्रतिव्यक्ति ५० पैसा उठाएर फुटबल किन्ने भयौँ । दिङ्ला बजारमा त्यो पाइँदैनथ्यो । एकराज अधिकारी (तात्कालिक शिक्षक) ले धरानबाट मगाइदिनुभयो र हामी टँुडिखेलमा खेल्न जान थाल्यौँ । एकदिनको कुरा हो दाइ मसँग निकै रिसाउनु भयो । कुरा के हो भने टुडिखेलमा भकुन्डो खेल्दा ठुलठुला उमेरका सिनियरहरू बिच भागमा खेल्थे हामी सानालाई त्यति धेरै खेल्न दिँदैनथिए, दिइहाले पनि गोल्की अथवा छेउतिर दिन्थे । बल छुन पाउनै मुस्किल हुन्थ्यो । धेरै बेरसम्म खेल्न पाए हुन्थ्यो भन्ने चाहना सबैको हुन्थ्यो । म पनि त्यो गुनासो गर्ने गर्थेँ । एकदिन खेल मैदानमा मेरो गुनासो सुनेर “तिमी आएर मेरो ठाउँमा खेल म खेल्दिन भनेर झवाँकिनुभयो । खास गरेर पुण्यप्रसाद बाँस्तोला, चक्रप्रसाद दाहालहरूले हामीलाई मध्यभागमा खेल्न दिँदैनथे । यसरी दाइ झवाँकिएपछि म अक्क न बक्क भएँ । त्यसपछि के के गरेर अरूले हामीलाई छेउतिरै राखे । दाइलाई साबिककै ठाउँमा राखेर खेलाए । त्यो सानु कुराको पश्चात्ताप अहिले पनि लगिरहन्छ । दाइ मसँग रिसाएको पहिलो पटक त्यही घटना हो ।

२) एक पटक हामी चन्दनपुर घुम्न गयौँ । अरुण नदीको कात्तिकेघाट तरेर जानुपर्थ्यो । हामी नाउमा बस्यौं । हामीले नचिनेका अरू मान्छे पनि नाउमा थिए । घटवारेले किनारको नाउलाई लात्तीले पानीमा घचेड्यो, नाउ ह्वात्त जब पानीमा गएथ्यो नाउ ढलपल ढलपल हुँदा दाइले आत्तिएर ममाथि छाँद हाल्नुभयो । के भो के भो भनेर सबैले चनाखो भएर सोध्न थाले । दाइ पहिलो पटक नाउमा चढ्नु भएको रहेछ, नाउ चल्दा डर लागेर आत्तिनु भएको रहेछ । कसैले डर नमान केही हुदैन भनेर सम्झाए, कोही हाँसे पनि । डुङ्गा पार नहुन्जेल दाइको मुटुको धड्कन बढेको बढ्यै थियो । पारिपट्टि गएर ठुलो ढुङ्गामा बसेर निकै बेर रमिता हेरेपछि हामी मरीमरी हास्यौँ ।

३) एकचोटि हामी कुलुङ्को बुङ्लिङ् भन्ने ठाउँमा एक साधुनी माताको दर्शन गर्न गयौँ । वहाँ दिङ्ला उदयपुरका बस्नेतकी छोरी हुनुहुन्थ्यो । सीताराम काफ्ल,े नन्दराज नेपाल, दैवज्ञ दाइ र म थियौँ । म अरूभन्दा सानो थिएँ । सीताराम त्यही कुलुङ्को हुनुहुन्थ्यो । माताजीको आश्रममा पुग्यौँ । बेलुका माताजी पैला कीर्तन गर्नुहँुदो रहेछ । त्यसपछि विभिन्न देवी देवताका पुकारा गरी काम्नुहुँदो रहेछ । अनि जोखाना हेर्ने, प्रवचन गर्ने गर्नु हुँदो रहेछ । हामी खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहान संखुवा खोलो अरुण नदीमा मिसिएको संगममा नुहाउन गयौँ । त्यहाँ पुगेपछि संखुवा खोलो तरेर पारिपट्टि गएर नुहाउने भनेर साथीहरू हौसिन थाले । खोलो ठुलो थियो पानी एकदम चिसो थियो । नीलो पनि गहिरो ताल जस्तो ठाउँ भएकाले तर्न सकिने अवस्था थिएन । पौडी खेल्दै तर्नुपर्छ भनेर कपडा फुकाल्न थाले । साथीहरूको सोचाइ मलाई चित्त बुझेन । पौडिने कला कसैसँग पनि थिएन, केही गरी अलिकति असावधानी भए अरुणमा मिसाइहाल्थ्यो । दाइ हौसिएर लुगाफाटा फुकालेर पानीमा हेलिन मात्र के लाग्नुभएको थियो, मैले च्याप्प समातेर तानेँ र खोलो तर्न सकिँदैन, हँुदैन भनेर रोकँे, किनकि चिसो पानी, काउली परेका ढुङ्गा, गहिरो तालजस्तो थियो । सकिँदै सकिँदैन, जानै हुँदैन भनेर मैले जिद्दी गरेपछि सबै जना रोकिए । हामी त्यहीँ स्नान गरेर फर्क्यौँ । साथीहरू मसँग खुव रिसाए । कुटीमा आएर हामीले यो कुरा सुनाउँदा कुटी (आश्रम) का मानिसले भने त्यहाँ त्यो खोलो तर्न असम्भव थियो । दुर्घटनाबाट जोगिनु भएछ भने । त्यसपछि मात्र दुर्घटनाबाट जोगिएको सबैले महसुस गरे ।

२०१७ सालमा म धरान गएँ । केही समयपछि दाइ दाङतिर लाग्नुभयो । दाङबाटै वहाँले पूर्वमध्यमा पास गरेर काठमाण्डू आउनुभयो । २०२४ सालमा म काठमाडौँ आएँ । छात्रावासमा वहाँको कोठामा सिट खाली (पीताम्बर अधिकारीले छोडेर) रहेछ । हामी सँगै बस्यौँ । छात्रावास छाडेपछि पनि बाहिर डेरामा सँगै बस्यौँ । वाल्मीकि क्याम्पसबाट दाइले मीमांसा दर्शनमा आचार्यसम्म अध्ययन गर्नुभयो । वहाँको गुरु जुनानाथ पण्डित हुनुहुन्थ्यो । दाइले एम.ए. पास गरेर कलेजमा पढाउन थाल्नुभयो (भक्तपुर र ठिमीमा) म सरकारी जागिरे भएर जिल्लातिर लागेँ ।

दाइ दाङ छाडेर काठमाण्डू आएपछि साहित्यिक रचनातर्फ लाग्नुभयो । विशेष गरेर छन्दमा कविता लेखेर बहाँले थुप्रै पुरस्कार पाइसक्नु भएको थियो । पछि गद्यपद्य दुवैमा लाग्नुभयो । गीति कविता, बालकविताको क्षेत्रमा लागेर नेपालको सुप्रसिद्ध साहित्यकारको स्थान लिन सफल हुनुभयो ।

वहाँमा सहनशीलता र धैर्य बेजोड थियो । छात्रावासमा बस्दाको एउटा प्रसङ्ग मेरो मनमा सधैं याद आइरहन्छ त्यो के थियो भने – मैले विद्यार्थी जीवनमा कोट लगाएको थिइन । काठमाडौँमा जाडो “बेजोड हुने हुँदा कोट हाल्ने भन्नुभयो । बेलुकीखेर डुल्न निस्कँदा कोटको कपडा किन्यौँ । वहाँले नै कपडा रोजिदिनुभयो । क्षेत्रपाटीमा सिलाउन दियौँ । ३ दिनपछि बेलुका कोट लिन गयौं । कोट सिइसकेको रहेछ, आइरन लगाउन थाल्यो । आइरन लगाउनुपूर्व पनि छम्कँदा कोटमा फोकाफोका जस्तो उठेर पुफल्यो । आइरन लगाई सके पनि उठेको फोका उडेन । के भयो कोटमा उठेको फोका गएन, कपडाको रूपै अर्कै भया,े भन्दा टेलरले यो कपडा यस्तै हो यो फोका अब जाँदैन भन्यो । मलाई रिस उठ्यो किन जाँदैन ? यस्तै हुने हो भने म कोट लान्न र तेरो ज्याला पनि दिन्न भनेँ । उसले कपडाको बारेमा मलाई सम्झाउने प्रयास गर्‍यो तर म एकोहोरो भएँ । पछि दाइले कोट उठाएर बोक्नु भयो र पैसा पनि वहाँले तिर्नुभयो । हामी कोठामा आयौँ । कोट झुन्ड्याइदिनुभयो । ४/५ दिनपछि मलाई सम्झाउनु भयो । मेरो रिस मरिसकेको थियो अनि मैले कोट लाएँ र पैसा पनि दिएँ । वहाँ कति सहनशील हुनुहुँदो रहेछ भनेर अहिले पनि सम्झन्छु ।

काठमाण्डूमा हामी सँगै बस्याँै, सँगै खायौं, हिसाब किताब हाम्रो कहिल्यै भएन । जोसँग पैसा छ उसैले खर्च गर्‍यौँ । एउटै घरको दाजुभाइको जस्तो व्यवहार गर्‍यौं । छात्रावासमा, डेरामा सँगै बस्यौँ । म बाहिर जिल्लाबाट आउँदा पनि वहाँकै डेरा तथा घरमा बसेँ । अन्त बसेको मन पराउनुहुन्नथ्यो । वहाँको घरलाई मैले आफ्नै घरजस्तो ठान्थेँ । वहाँका परिवारका सदस्यहरूसँगै नै मेरो पारिवारिक आत्मीयता बन्न पुग्यो । भाइहरू केदारजी, महेश्वरजीसँग दाजुभाइको जस्तो आत्मीयता छ । वहाँहरूले मप्रति दर्साएको स्नेह तथा सद्भावले म प्रफुल्लित छु ।

छात्रावासमा बस्दा बेलुकाको खाना चाँडै खाइन्थ्यो । क्लासबाट आएर खाना खाएपछि मात्र बाहिर डुल्न निस्कन्थ्यौँ । धेरै कवि साहित्यकारसँग वहाँको परिचय थियो । धेरै पटक पूर्णप्रसाद ब्राह्मणको वासस्थानमा कविता सुनाउन गइयो । पूर्णप्रसादजी खुव चाख मानेर सुन्नुहुन्थ्यो र स्याबासी तथा सल्लाह दिनुहुन्थ्यो । एक दिन ज्ञानेश्वरको डेरामा कविताहरू सुनाउनु भयो तीमध्ये “शोभा” भन्ने कविता सुनेपछि पूर्णप्रसादजीले खुशीले छाँद हालेर स्याबासी दिएको झल्झली सम्झिराखेको छु । त्यो कविता केमा प्रकाशित भयो मलाई जानकारी छैन ।

बिदाको दिनमा वहाँ घुम्न डुल्न मन पराउनुहुन्थ्यो । हामी कहिले वनकाली, कहिले गुहेश्वरी, गोकर्ण, बालाजु, आदिका जङ्गलमा घुम्थ्यौँ । काठमाडौँका अधिकांश मठ मन्दिर पनि घुमिसकेका छौँ । घुमेर आएपछि वहाँ कविता लेख्नुहुन्थ्यो । छात्रावासमा बस्दा राममणि आ.दी.का घरमा गएर वहाँले संकलन गरेको शब्दकोषको साफी गर्नुहुन्थ्यो । त्यो शब्दकोश प्रकाशित भैसक्यो कि भएन मलाई जानकारी छैन तर दाइले त्यसमा धेरै काम गर्नु भएको छ ।

वहाँलाई देश दर्शन गर्ने ठुलो शोख थियो । विश्वविद्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको काम लिएर देशको कुनाकुनासम्म पनि जानु भएको छ । २०२९ सालमा बझाङमा एस.एल.सी.को परीक्षा संचालन गर्न खटिनु भएको रहेछ । म त्यस बखत डोटीमा सरकारी सेवामा थिएँ । वहाँ अचानक आइपुग्नु भयो । म छक्क परेँ । किनकि कुनै खबर थिएन । आजकालको जस्तो टेलिफोनको सुविधा थिएन । एउटा आ.वा. थियो त्यो पनि नियमित चल्दैनथ्या,े सुविधा थिएन । परीक्षाको प्रश्नपत्र र संचालन खर्च समेत लिएर भरियाको साथ आउनु भएको रहेछ । धनगढीदेखि ५/६ दिन लाग्थ्यो बझाङमा पुग्न । पैदल बाटो विकट र जङ्गलको भएकाले डराएको भान पर्दथ्यो । २ रात त्यहीँ बस्नुभयो । मेरो अफिसमा प्रशिक्षण (तालिम) को कार्यक्रम संचालित भइराखेकाले वहाँलाई बझाङ्को यात्रामा मैले साथ दिन सकिन । वहाँले भन्नुभयो “तिम्रो जान सक्ने अवस्था छैन भने एक जना मान्छे देऊ” मैले मेरो कर्मचारी कर्णबहादुर साउद भन्नेलाई साथै पठाइदिएँ । दार्चुला हुँदै इण्डिया भएर फर्कने वहाँको कार्यक्रम रहेकाले नपुग हुने खर्च रकमको व्यवस्था गरिदिएँ । मेरो स्टाफलाई वहाँले राति पनि आफैँसँग सुताउनु भएछ । खप्तड हेर्ने वहाँको ठुलो इच्छा थियो । त्यो पनि पूरा गर्नुभयो । ८/९ दिनसम्म मेरो स्टाफलाई सँगै राखेर फिर्ता पठाउनु भयो । मैले पठाएको मान्छे चाहिँ वहाँलाई आफ्नो मान्छे जस्तो लाग्यो अरे झ्

मैले सरकारी सेवा गरेको ३/४ वर्षपछि एउटा सानु पुलिस रिपोट परेछ । विद्यार्थी अवस्थामा राजनीतिमा लागेका व्यक्तिहरूसँग सम्पर्क गरो भनेर । ती आफ्नै नातेदार थिए । नातागोतासँग भएको सम्पर्कमा पनि यस्तो हुने । सरकारले कार्वाही गर्ने भएछ, त्यो कुराको सुइँको परशु प्रधानजीले थाहा पाउनु भएपछि दयाकृष्णजी मार्फत दाइले थाहा पाउनु भएछ । मलाई लिन अच्युत भन्ने भाइलाई पठाउनु भया,े म आएँ । विषय मोटामोटी थाहा भयो । त्यस सम्बन्धमा निकै परिश्रम गरेर कार्वाही स्थगित गराई सफाइ लिएँ । सो कुरा वहाँलाई सुनाउँदा बहुत खुशी हुनुभयो । अहिलेका कर्मचारीहरू राजनैतिक पाटीका भातृ संगठन खोलेर संचालन गरिराखेका छन् । उल्टै सरकारलाई धम्क्याउँछन् । त्यस समयमा अलिकति छिसिक्क दाँयाँबाँयाँ गर्नु हुँदैनथ्यो । समीक्षा पत्रिका पढ्दा समेत मैले कार्वाही भोगेको छु । ज्यादै कडा शासन थियो ।

वहाँ बिरामी पर्नु भयो, कडा रोग लाग्या,े औषधोपचार पर्याप्त मात्रामा भए पनि प्यारालाइसिसले जकड्यो । बोली प्रस्ट नभएकाले वहाँलाई भेट्न जाँदा वहाँले बोलेको कुरा नबुभिँफदा उत्तर दिन सकिँदो रहेनछ । वहाँ बोल्न बात मार्न खोज्नु हुन्थ्यो होला । वहाँले बोलको कुरा एक, हाम्रो बुझाइ अर्को भई जवाफ अर्कै हँुदा वहाँको मनमा कति पीडा हुन्थ्यो होला ? मन कति कुडिँदो हो ? जस्तो लागेर आफैँमा दुःखित हुनुपर्थ्यो ।

अन्तिम अवस्थामा हस्पिटल लगेको मैले थाहा पाइन र इहलीला समाप्त भएको खबर पनि ढिला पाएकाले हतारहतार आर्यघाटमा जाँदा फुलै फूलको चितामा वहाँको आधा जलिसकेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिई नमस्कार गरँे । मेरा बालसखा, जीवनभरका अभिन्न मित्र, पथप्रदर्शक र अभिभावक दैवज्ञ दाइमा यिनै शब्दपुष्पबाट हार्दिक श्रद्धाञ्जलि ।

२०६९ असार

हाम्रो युगका सबभन्दा सुन्दर शरीर पाएका कवि, तेलको घैँटाबाट निकाले जस्ता स्निग्ध दैवज्ञराज न्यौपाने अब शारीरिक रूपले यस धर्तीमा छैनन् भन्दा पत्यारै लाग्दैन।

राष्ट्रकवि माधव घिमिरे