कवि दैवज्ञराज न्यौपानेसँगका केही संस्मरण
कवि दैवज्ञराज न्योपानेले करिब पच्चीस वर्षअघि साहित्यका बारेमा यसो भनेका थिएः– साहित्य शाश्वत सत्यका लागि लेखिनुपर्छ र यसको निरन्तर उन्नति हुँदै जानुपर्छ, साहित्यकारले आफ्नो साधना हेरी मूल्य खोज्नुपर्छ, आफ्नो मूल्याङ्कन अरूले गर्नुभन्दा पहिले आफूले के कति गर्न सकेको छु र समय सन्दर्भमा मेरो के कति महत्त्व छ भन्ने कुरा बुझेर मात्र आफूले आफ्नो मूल्य खोज्नुपर्दछ । मूल्य खोज्नुभन्दा बढी काम गर्नुपर्छ । काम गर्नु अघि नै मूल्य खोज्नु राम्रो होइन ।....आफ्नो प्रशंसाका लागि गुट खोजी गरेर होहल्ला गर्दै हिँडनु पनि राम्रो होइन ।
कवि तथा गीतकार दैवज्ञराज न्यौपानेको नेपाली साहित्य क्षितिजमा महत्त्वपूर्ण स्थान छ । २०२० मा पहिलोपल्ट “उनीमा निम्तो” शीर्षक कविता प्रकाशित भएपछि यता करिब चारदशक सक्रिय साहित्यिक जीवन बिताएका दैवज्ञले गीत र छन्द कवितामा प्रसिद्धि पाएका हुन् । राष्ट्र र प्रकृतिप्रति समर्पित रहेर उनी रचना गर्दथे । उनका रचनामा राष्ट्रियभाव, मानवता, प्रकृतिप्रेम र विश्वभ्रातृत्वको अभिव्यक्ति पाइन्छ । मैले यहाँ दैवज्ञ–साहित्यको समीक्षा गर्न लागेको होइन । संक्षेपमा दैवज्ञराज न्यौपानेको प्रजातन्त्रप्रतिको प्रतिबद्धता, जति मैले बुझेको छु, त्यसबारे उल्लेख गर्दैछु ।
दैवज्ञसँग मेरो भेट २०२६ फागुनमा बनारसमा भएको हो । गते बिर्सिएँ । एका बिहानै केही विद्यार्थीहरू वी.पी. कोइराला निवास महमुरगंज पुगेका थियौं । नेपालको जेलबाट छुटेर निर्वासनमा केही महिना अघिदेखि वी.पी. बनारस बस्न थाल्नुभएको थियो । वी.पी.को बनारस बसाइपछि निकै चहलपहल बढेको थियो । आठ वर्षसम्म जेल र निर्वासनमा बसेर नेताहरू फेरि संगठनमा जुटेका थिए । त्यतिबेला बनारस निकै ठुलो राजनीतिक केन्द्र बनेको थियो । वी.पी.लाई सुनेका तर देख्न भेट्न नपाएकाहरूका निम्ति राम्रो अवसर थियो । प्रत्येक दिन बिहान दुई तीन घण्टा वी.पी.कहाँ पुगेर राजनीतिक घटनाक्रमसँगसँगै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बारेका व्याख्या र विश्लेषण गरेर सम्झाउनुहुन्थ्यो वी.पी.ले ।
त्यस बिहान हामी पुग्दा बैठकमा केही नयाँ व्यक्तिहरू बसेका थिए । ती नयाँ व्यक्तिमध्ये जुहार जोशी, अर्जुन नरसिंह के सी, पीताम्बर दाहाल र दैवज्ञराज न्यौपानेको नाम सम्झना छ । वी.पी.सँग जुहार जोशीले केही प्रश्नहरू राख्नुभयो । पीताम्बर दाहाललाई पहिलेदेखि नै वी.पी.ले राम्ररी चिन्नुभएको रहेछ । त्यहाँ गएका व्यक्तिहरूका बारेमा पीताम्बरसँग सोद्धै हुनुहुन्थ्यो । पीताम्बरकै भनाइमा भर्खरै एम.ए.को परीक्षा सकेर गएका थिए— दैवज्ञराज र पीताम्बर दुवैजना ।
कसरी संगठन विस्तार गर्ने ! नेपालभित्र अत्यन्तै भयावह स्थिति छ । भित्र र बाहिरको संयोजन कसरी गर्ने । भावी रणनीति कस्तो हुने जस्ता थुप्रै प्रश्नहरू गरेका थिए साथीहरूले । तर वी.पी.ले समय आएपछि बिस्तारै हुँदै जान्छ— भनेर अरू विषयतिर ध्यान तान्नुभएको थियो । सम्भवतः यस्ता कुरा खुला रूपमा गर्नुहुँदैन थियो । त्यतिबेला स्नातकोत्तर सकेका उच्च शिक्षितहरूले प्रायः अब के गर्ने, पंचायती शासनभित्र पसेर जागीर खाने वा अन्य काम गर्ने भन्ने द्विविधा हुने गर्थ्यो । जागीरतिर प्रवेश गर्नेहरूलाई बाहिर बसेकाहरूले शंकाको दृष्टिले हेर्ने गर्थे । सक्रिय युवाहरू जागीरमा लाग्दैनथे । त्यसैकारण एउटा समूह वी.पी. कोइरालासँग भेटेर समाधान खोज्न पुगेको कुरा उनीहरूकै भनाइबाट थाहा भयो ।
वी.पी. ले भनेका कुरा आज पनि गुन्जिरहेका छन् ः– तिमीहरू जो जहाँ छौ, जस्तो काम गर्दैछौं अथवा गर्ने चाहना गर्दैछौ त्यसैभित्र आफूलाई केन्द्रित राख । आफूले काम गर्ने ठाउँमा केही शर्तहरू पालना गर्नुपर्छ । जुन पेसामा भए पनि इमान्दार र योग्य भएर काम गर्नुपर्ने हुन्छ ।
प्राध्यापक बन्नेले असल विद्यार्थी उत्पादन गर्ने । वकालत गर्नेले विश्वका नयाँ नयाँ कुरा बुझेर बहस गर्ने, नजीर तयार पान,े डाक्टर, इन्जिनियर.... सबैले इमान्दार भएर आफ्नो पेसाप्रति समर्पित हुने हो भने मुलुकको प्रगति छिटै हुन्छ । यस्तै प्रसंग चलेका बेला दैवज्ञ न्यौपानेले प्रश्न गरेका थिए— तर हामीलाई काम गर्न गाह्रो छ । कुनै पनि काममा प्रवेश गर्नुअघि पुलिस रिपोर्ट, सि.आइ.डी.हरूका सिफारिस खोज्ने गरेको छ । काम थालेपछि पनि स–साना कुरामा दुःख दिइरहन्छन्, प्रजातन्त्रवादीहरूलाई धेरै गाह्रो छ ।
दैवज्ञले निकै राम्रोसँग आफ्ना विचारहरू राखेका थिए । त्यतिबेला उनको कवि परिचय पनि पाइएको थियो । वी.पी.ले कविता सुनाउन भन्नुभएपछि दैवज्ञले बडो राम्रो गायकीका साथ दुइटा कविता सुनाएका थिए । हामी बनारसी विद्यार्थीहरू दैवज्ञको प्रतिभाबाट मुग्ध भएका थियौं । अग्ला, गोरा अनि बाटुलो अनुहारमा राता ओठहरू र मुस्कानसाथ बोल्ने दैवज्ञ हामीलाई निकै आकर्षक लागेका थिए । सबैले पुडी, तरकारी र चिया खाएर दस बजेतिर निस्किन लाग्दा वी.पी.ले मलाई अह्राउनुभएको थियो— यिनीहरूलाई घुमाइदिनू । नयाँ छन् यिनीहरू । तर दुधविनायकतिर चाहिँ नलैजानू । त्यता धेरै सी.आइ.डी.हरू हुन्छन् ।
हामी गोदौलियासम्म आएपछि बाँडियौं । पीताम्बर र दैवज्ञ वी.एच.यु. तिर जाने भनेर मसँग लागे । दैवज्ञले प्रा.डिल्लीराम तिम्सिनाकहाँ जाने इच्छा राखेकाले हामी पहिले त्यहाँ गयौं । नेपाली साहित्य, त्रि.वि.को पठनपाठन र यस्तै कुराकानीपछि तिम्सिनाजीसँग दैवज्ञले केही गोप्य कुराकानी गरेका थिए । दुई दिन हामी सँगसँगै बनारसका विभिन्न ठाउँ घुम्यौं । दैवज्ञको इच्छा थियो— त्यतैतिर कुनै काम पाए गर्ने र राजनीतिमा सक्रिय हुने । तर पछि वी.पी.ले नेपालभित्रै बसेर काम गर्ने निर्देशन दिनुभएपछि फर्किएका थिए— उनीहरू ।
२०३६ मा जनमत संग्रह घोषणापछिको केही खुकुलो परिवेशमा राजनीतिकर्मीहरू एकजुट हुन थाले । साहित्यकारहरूले सडक कविता व्रफान्ति नाम दिएर सहरका चोक चोकमा भेला भएर गीत, कविता सुनाउन थाले । अर्थात् बहुदलको पक्षमा जनमत जुटाउने अभियानमा लागे । हो, यस्तै बेला दैवज्ञराज न्यौपानेसँग भेट हुने गर्थ्यो । उनी बहुदलको पक्षमा खुलेर लागेका थिए ।
यो देश हाम्रै चिर भोग्यमान
माग्दैछ नौलो युगको बिहान
प्रत्येक टुक्रा जब पूर्ण हुन्छ
नेपाल सिङ्गै अघि बढ्छ बढ्छ ।
तिमी लेक– लेकहरूबाट नदी बनेर झर
म बेसीँदेखि लहर जस्तै उठेर आउनेछु
मेची– महाकालीका दुई किनारहरूलाई
हामी इन्द्रधनुका दुई छेउ बनेर छोइदिऔँ
तिमी नेपालको मूर्ती कुँद ........
दैवज्ञका यस्ता कविताहरू गोष्ठीमा फैलिन्थे । सौम्य सुन्दर आकृतिसँगै गहकिलो वाचनकला भएका कवि दैवज्ञको आकर्षक छवि फैलिने गर्थ्यो कवि गोष्ठीहरूमा । २०३९ साउन ६ गते जननेता वी.पी.कोइरालाको निधन भयो । २०३९ कात्तिकमा गणेशमान सिंहको घर— चाक्सीबारी — परिसरमा वी.पी. को स्मृति गर्दै पार्टी सम्मेलन भएको थियो । दैवज्ञले प्राध्यापकहरूको समूहसँगै प्रतिनिधित्व गरेका थिए ।
त्यसपछि भने हाम्रो भेट भइरहन थाल्यो । पाटन क्याम्पसमा सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रमुख हुँदै त्रि.वि. कीर्तिपुर नेपाली विभागमा प्राध्यापन गरुन्जेल हामी सँधै भेट हुन्थ्यौं । यसबीच गोर्खा, चितवन, विराटनगर, पोखरा, नेपालगंज आदि एक दर्जनभन्दा बढी ठाउँमा साहित्यिक कार्यक्रमका बेला सहयात्रा गर्यौं ।
अत्यन्त सरल, नम्र, मुदुभाषी दैवज्ञजी वी.पी. कोइरालाको परिभाषाका असल मानिस हुन् । उनी मुलुकप्रति, समाजप्रति र अझ भन्नुपर्दा प्रजातन्त्रप्रति सधँै जागरुक र चिन्तित रहन्थे, वी.पी कोइरालालाई आफ्नो आदर्शपुरुष मानेर त्यही अनुरूप जीवनपर्यन्त प्रजातन्त्रप्रति आबद्ध रहिरहे ।
२०६० वैशाखमा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध प्रज्ञा प्रतिष्ठानमा वसन्त काव्यगोष्ठी भएको थियो । त्यस गोष्ठीबाट हातमा कालोपट्टी बाँधेर जुलुसमा सहभागी हुने कार्यक्रम थियो । यसमा दैवज्ञले सहभागिता जनाएका थिए । सँगसँगै जुलुसमा हिँडेका थियौं । त्यसपछि भने उनलाई रोगले च्याप्यो र छ वर्षजति थला परेर उनी स्मृति पटलमा रहन पुगे ।
२०२६ मा बनारस गएका बेला वी.पी. कोइरालाकै छत्रछायामा बसेर राजनीतिक, सक्रियता बढाउने इच्छा राखेका थिए दैवज्ञले । वी.पी. कै निर्देशनमा प्राध्यापनमा लाग्दा दैवज्ञले प्रजातन्त्रप्रतिको आस्थाको दियो बालिराखे । कुनै न कुनै रूपमा उनले यस आस्थालाई अगाडि बढाइराखे ।
२०४६ को भानुजयन्तीमा चितवन साहित्यपरिषद्को निमन्त्रणा मान्न दैवज्ञराज न्यौपाने र केही अन्य साहित्यकारहरू चितवन पुगेका थियौं । भानुजयन्तीका दिन हामीले संयुक्त रूपमा भानुभक्तको शालिक निर्माण स्थलमा शिलान्यास गरेका थियौं । आयोजकका तर्फबाट साहित्यकार केदार खनालको सौजन्य अविस्मरणीय छ । बाजगाजा सहित नगर परिव्रफमा गरेर भानु–जयन्तीस्थल पुगेका थियौं । त्यसरी नै बाजागाजा र पूजा सहित शिलान्यास भएको थियो । दैवज्ञजीले स्वास्तिवाचन गरी शिलान्यासस्थल पूजा गरेर इँटा राखेका थिए ।
आदिकवि भानुभक्त माध्यमिक विद्यालय नामबाट एउटा विद्यालयको नामकरण पनि भएको थियो । त्यही विद्यालय परिसरमा भानुभक्तको सालिक पनि विराजमान छ— यतिखेर । यस प्रसंगको केदार खनालबाट चर्चा भइरहन्छ । पंचायती भूत निकै जागेको त्यस समयमा पनि हामी दुईजनाले चितवनका केही प्रजातन्त्रपादीसँग भेटघाट गरेर राजनीतिक चर्चा परिचर्चा गरेका थियौं । दैवज्ञजीमा प्रजातन्त्र भित्रसम्म भिजेर–भरिएर बसेको थियो ।
कवि गीतकार, समालोचक, नियात्राकार जस्ता विविध विधामा बाँडिएका दैवज्ञराज न्यौपाने बहुआयामिक व्यक्तित्व हुन् । प्रजातान्त्रिक मूल्यमान्यता प्रतिको आबद्धता उनको अर्को थप आयाम हो । आज हामी कवि, प्राध्यापक र प्रजातान्त्रिक व्यक्तित्व दैवज्ञराज न्यौपानेलाई सम्झना गर्दै स्मृतिग्रन्थभित्र समेट्तै छौं । दैवज्ञजी जस्ता व्यापक व्यक्तित्वलाई जति समेट्न खोजे पनि अपूर्ण नै रहनेछ । दैवज्ञजीसँगको एउटा सानो पक्ष मात्र यहाँ चर्चा गरिएको छ । उहाँको अपार्थिव स्वरूपप्रति शतश : स्वधा नमः ।
उहाँको आकार र मुद्रामा देखिने प्रसन्नता, रसिक, शृङ्गारिक र मनोविनोदी अभिव्यक्ति र त्यसमा मिश्रित अभिनयात्मकता विद्यार्थीलाई सम्प्रेषण र आकर्षण दिने महत्त्वपूर्ण कला थिए ।
उर्मिला शर्मा पराजुली