कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मामा दैवज्ञराज न्यौपानेप्रति

तोषल दाहाल

म सानै छँदा आमाले मामाघरबाट फर्कँदा केही रोचक पुस्तकहरू लिएर आउनुहुन्थ्यो । बाल सन्दर्भ सामग्रीहरू नपाइने त्यो विकट पहाडी गाउँको (भोजपुर, दावाँ) पीडा मामालाई स्पष्ट थाहा थियो । त्यसैले होला मामाले वेला–वेलामा केही उपयोगी पुस्तकहरू पठाइदिनुहुन्थ्यो । धेरै जसो पुस्तकहरू उहाँका आफ्नै रचनाहरू हुन्थे । म, दिदी र दाइहरू ती पुस्तक रमाई रमाई पढ्ने गर्‍थ्यौँ । हुन त “जोर मुरलीे” का मधुर ध्वनिभित्रको गहन भाव त्यो मेरो बाल मस्तिष्कले बुझ्न सकेन होला तर “गाउँ खाने कविता” र “तोते बोली” ले पढ्दा प्राप्त हुने आनन्दानुभूतिसँग परिचित गराए । “गाउँ खाने कविता” पढ्न पाएकाले म त्यो बेला साथीहरूमाझ सामान्य ज्ञानको ज्ञाताजस्तो बनेको थिएँ । हाजिरी जवाफमा म टोली नेता छानिन्थेँ । मेरो आफ्नै बोली धेरैपछिसम्म पनि तोते नै थियो । अनि कता–कता मामाले त्यो रचना मेरै लागि पो लेख्नु भा को हो कि झँै लाग्थ्यो ।

मामासँगको मेरो विशेष सामीप्य चाहिँ उहाँको स्वास्थ्य अलि कमजोर भएको अवस्थामा हुन पुग्यो । त्यो वेला म अध्ययनको क्रममा कीर्तिपुरमा बस्थेँ । अनि प्रायजसो मामाघर आइरहन्थँे । मामाले जब मलाई आफ्नो सामुमा देख्नु हुन्थ्यो, उहाँको शरीरमा बेग्लै ऊर्जाको सुरुवात हुन्थ्यो अनि बाहिरतिर घुम्न जानलाई हौसिहाल्नु हुन्थ्यो किनकि मेरो शारीरिक उचाइ बढी भएकाले मेरो हात समाएर हिँड्दा अलि सहज महसुस गर्नुहुन्थ्यो । प्रत्येक भेटमा सम्बन्धित सबै व्यक्तिहरूको स्वास्थ्यका बारेमा र अन्य खबरहरू स्पष्टसँग बुझ्ने चाहना उहाँमा अत्यधिक भएको पाउथेँ । आफू जस्तोसुकै अस्वस्थ अवस्थामा रहँदा पनि मामाले यसरी आफन्त जनहरूप्रति राखेको चासो अनि चिन्ता देख्दा म मामाको व्यक्तित्व कस्तो रहेछ भनी छक्क पर्थेँ । मलाई पनि मामासँग हिँड्दा, बस्दा ज्यादै रमाइलो लाग्थ्यो । मामासँगको सामीप्यमा धेरै उत्साहप्रद कुराहरू सिक्न पाउथँे । दर्शन, साहित्य, व्यावहारिक लगायत धेरै कुराहरूमा मामा प्रेरणास्रोत हुनुहुन्थ्यो । अनि म आफू हिँड्ने बेलामा “अब म जान्छु ।” भन्थेँ । मामा सोध्नुहुन्थ्यो– “किन ?” म कुनै एउटा जवाफ दिन्थँ,े अनि बिदा भएर हिँड्थँे । मामाले पछि मेरी आमासँग पनि यसै विषयमा गुनासो पोख्नुभएको थाहा पाएको थिएँ, भान्जाले धेरै समय दिँदैनन् भनेर । यसबाट मलाई मामाले साँच्चै मेरो सामीप्य चाहनुहुन्छ भन्ने लाग्यो अनि त झन् बिदा पर्‍यो वा फुर्सद मिल्यो भने मामासँग आइहाल्थँे ।

जुनसुकै कुरा गर्दा पनि मामा स्पष्ट र प्रभावकारी ढङ्गले गर्नुहुन्थ्यो । उहाँसँगका हरेक पलहरू अविस्मरणीय लाग्छन् । म पहिलो पटक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कीर्तिपुर मामासँगै पुगेको हुँ । त्यो वेला म +२ मा पढिरहेको थिएँ । मामाले मलाई विभिन्न ठाउँहरू घुमाउने क्रममा एकदिन कीर्तिपुर लानुभयो । उहाँले बाटाका परिवेशहरू बताउँदै मलाई डोहोर्‍याएर विश्वविद्यालयभित्र पुर्‍याउनु भयो । अनि मेरो काँधमा आफ्नो हात राख्दै “कलेज आफ एजुकेशन’को पहिचान गराउन यसो भन्नु भो ः– “हेर त ती परालका थुप्रा थुपारेका जस्ता भवनहरू शिक्षा सङ्कायका केन्द्रीय भवनहरू हुन् ।”

हुन त त्यस बेला पछि तिनै भवनमा आएर पढ्छु होला भन्ने कल्पना पनि गरिन तर कालान्तरमा त्यहीँ आएर पढ्न पुगेँ । त्यहाँ अध्ययनरत हुँदा पनि मलाई ती भवनहरू त्यति महत्त्वका लागेनन् । कहिले काहीँ अरूहरूलाई चिनाउनु पर्दा चाहिँ मामाकै शैली प्रयोग गरी ती परालका थुप्रा–थुप्रा जस्ता भवनहरू शिक्षा सङ्कायका हुन् भन्ने गर्थेँ । तर आजकल मामाको अनुपस्थितिमा ती भवनहरू मलाई विशेष महत्त्वका लाग्न थालेका छन् । जब म विश्वविद्यालयतर्फ पुग्छु फेरि मलाई त्यही याद आउँछ, मामाले मेरो काँधमा आफ्नो हात राखेर भनेको — हेर त ती परालका थुप्रा थुपारेका जस्ता भवनहरू, ती चाहिँ तिमीले पढिरहेका शिक्षा सङ्कायका केन्द्रीय भवनहरू हुन् । अनि टोलाएर ती भवनहरूलाई नियालिरहन मन लाग्छ ।

तेजगंगा बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक

२०६९ असार ५