कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

न्यौपाने कुल-शिरोमणि : दैवज्ञराज

दयाकृष्ण न्यौपाने

मेरा दाजु दैवज्ञराज न्यौपाने (१९९९–२०६८) हाम्रा ठुलाबा पण्डित गणेशप्रसाद र ठुलीआमा उमादेवीका सुपुत्र हुनुहुन्थ्यो । हाम्रो पारिवारिक संरचनामा पं.छविलाल र मन्दोदराका जेठा छोरा पं.गणेशप्रसाद, उहाँका धर्मपत्नीहरू विष्णुमाया र उमादेवी, माहिला कृष्णप्रसाद, उहाँका धर्मपत्नीहरू कमला र धनकुमारी, साहिँला षडानन्द, उहाँकी धर्मपत्नी सावित्रा, काहिँला चिन्तामणि, उहाँकी धर्मपत्नी वदना, कान्छा चव्रफप्रसाद उहाँकी धर्मपत्नी धर्मशीला, कान्छी बहिनी मदनकुमारी हुनुहुन्थ्यो । जेठाका छोराहरू जयप्रसाद, केशवानन्द, दैवज्ञराज, केदार, महेश्वर र बहिनी इन्द्रछाया (मैयाँ) भए । माहिलाका छोरा लोमश, रमेश र छोरीहरू मायादेवी, शेषकुमारी, पितृकुमारी र नर्वदा हुन् । साहिँलाका छोराहरू रामेश्वर, गोपी, दुर्गाप्रसाद, छोरीहरू रुद्रादेवी र रुक्मिणीदेवी (आफूदिदी) हुन् । कान्छाका सन्तानमा भगवतीदेवी, पवित्रादेवी (मिठ्ठुदिदी), दयाकृष्ण, होमकुमारी (पुरुदिदी) र शारदादेवी हौँ । यसप्रकार न्यौपाने कुल घरानामा हामी भोजपुरको गोगने धाइपामा बसोवास गरेका थियौं ।

नौ भाइहरू

जयप्रसाद, केशवानन्द, दैवज्ञराज, दुर्गाप्रसाद, दयाकृष्ण, केदार, लोमश, महेश्वर, रमेश

उल्लिखित परिवारहरूमा ब्राह्मणको परम्परा अनुरूप हिन्दु धर्म, वेद र पुराणले निर्देशित धार्मिक सिद्धान्तहरूलाई उच्च मान्यता दिई हाम्रा बाजे र बुबाहरूले राम्रो संस्कारको शिक्षा दिनुभएको थियो । त्यसैले गर्दा हाम्रो परिवार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षा हासिल गर्न सक्षम भएको हो भन्नु अत्युक्ति नहोला । त्यसमा पनि दाजु दैवज्ञराज न्यौपाने हामीभन्दा अग्रज हुनुहुन्थ्यो । उहाँले सुरुदेखि नै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र नेपालीहरूका लागि योगदान दिँदै हामीलाई शिक्षा दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– “मानवताको सभ्यतामा चार खम्बा हुन्छन् – धरम, सरम, लाज, घिन यी सबैबाट माथि उठ्नुपर्छ । राज्य सञ्चालन गर्दा पनि यो सिद्धान्तभन्दा माथि उठी राजनेताले शानस गर्नुपर्दछ ।” उहाँ २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दा असन्तुष्ट हुनुहुन्थ्यो । हाम्रो गाउँमा पुस्तकालय स्थापना लगायतका काम गर्ने सिलसिलामा प्रजातन्त्रको ज्योति पैफलाउँदै जाँदा २०२१ सालको विद्यार्थी आन्दोलनका सिलसिलामा उहाँलाई पक्राउ गरी भोजपुर कारागारमा ७४ दिन थुनामा राखियो । अध्ययनको क्रममा उहाँले गोगनेबाट दिङ्ला हुँदै पश्चिम नेपाल दाङको संस्कृत महाविद्यालय तथा काठमाडौंको तीनधारा पाठशाला हुँदै त्रि.वि.बाट २०२६ सालमा एम.ए. उत्तीर्ण गर्नुभएको हो । भक्तपुर क्याम्पसबाट २०२७ सालदेखि प्राध्यापन कार्य सुरु गर्नु भै कीर्तिपुर क्याम्पसको प्राध्यापकबाट उहाँ सेवानिवृत्त हुनुभएको थियो ।

कवि एवं प्राध्यापक दैवज्ञराज हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार शिष्ट भाषामा बोल्ने, अरूको सम्मान गर्ने, कसैलाई प्रतिशोध नगर्ने, सम्पूर्ण नेपालीहरू हामी बराबर हौं भन्ने विचार राख्नुहुन्थ्यो र आफ्ना लेख रचनामा समेत त्यस्तै सुन्दर विचार प्रकट गर्नुहुन्थ्यो । न्यौपाने वंशका परिवारहरू कहाँ कहाँ छन्, के कसरी उनीहरूको जीवनस्तर उठाउने आदि कुराको इतिहास कायम गर्नु पर्दछ भन्ने सोचका साथ २०४० सालदेखि न्यौपानेहरूको भेला सुरु गर्नु भयो । यस संस्थाले २०६३ सालदेखि न्यौपाने बन्धु समाजका रूपमा काठमाडौं जिल्ला प्रशासनबाट संस्थागत कानुनी मान्यता समेत पाएको छ ।

यस प्रसङ्गमा मैले आजसम्म हामीभन्दा माथिका अग्रजहरूको स्वर्गवास कठिन रोगबाट भएको महसुस गरी अब कसैको पनि दुःखदायी मृत्यु नहोस् भनी धार्मिक इतिहासमा नै पहिलो पटक महाषष्टिका देवीसहित अष्ट चिरन्जीवीको तस्विर दाजु दैवज्ञराजको आत्माको चिरशान्तिका लागि प्रकाशित गरेको छु । सबै नेपालीहरूले आफ्नो जन्मदिनमा पूजा आराधना गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । सबै धर्मभन्दा मानवधर्म नै श्रेष्ठ हो । यही भनाइलाई हृदयङ्गम गर्दै मानवधर्म र सभ्यतालाई सदैव आदर्श मान्नुहुने न्यौपाने कुल–शिरोमणि दाजु दैवज्ञप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

२०६९ साउन, का.म.न.पा.–३४, नयाँ बानेश्वर

दैवज्ञ न्यौपाने आफ्ना कविता, काव्य, बाल साहित्य समालोचना, शैक्षणिक, सामाजिक, धार्मिक कार्य र प्रजातन्त्रप्रतिका अजर निष्ठाका कारणले आफ्नो उत्प्रेरणाबाट, सहयोगबाट उठेका बन्धुबान्धव, सम्बन्धी, शिष्य–शिष्या, साहित्य सर्जकहरूका कृतज्ञ मनहरू लिएर जुगजुगसम्म अमर हुनुभएको छ ।

– कविराज न्यौपाने