भानिज दैवज्ञको सम्झनामा
कवि दैवज्ञराज न्यौपाने र मेरो यस्तो नाता हो– उहाँकी मावलीकी हजुरआमा मेरी आमाकी सानीमाकी छोरी हुनुहुन्छ । यता घरतर्पफ उहाँका मावलका हजुरबा चूडामणि पोख्रेल मेरा काका हुनुहुन्छ । कवि दैवज्ञका मामाहरू मनोहर र खिलनाथ मेरा दाजुहरू र नवराज मेरा भाइ हुन् । नवराज र म दौँतरी हुनाले केटाकेटीदेखिकै साथी हौँ । भान्जाहरू कुभिन्डे मावली आउँदा दैवज्ञ भान्जा पनि हाम्रा घरमा आउनुहुन्थ्यो । त्यसै बेलादेखि हामीमा ज्यादै नजिकबाट माया–प्रेम रहेको हो । पछि दाजु खिलनाथसँग बेलाबेलामा भेटघाट हुँदा भान्जा दैवज्ञराजसँग पनि सङ्गत गर्ने, भलाकुसारी गर्ने मौका मिलेको हो । हाम्रो घनिष्टताले गर्दा बसाइ नजिकै नभए पनि पूर्वतिर भान्जा आउँदा र म काठमाडौंतिर आउँदा भेटघाट नगरी जादैनथ्यौँ । ज्यादै मिलनसार मृदुभाषी भान्जालाई देख्दा र भेट हुँदा सारै गौरव लाग्थ्यो– हाम्रा भान्जाको व्यक्तित्व देखेर ।
उहाँले लेखेका किताबहरू भेट हुँदा मलाई दिनुहुन्थो । जतन गरी राखेर बेलाबेलामा अझै पनि पढ्ने गरेको छु । पछिल्लो समय २०६७ साल असारमा काठमाडौं जाँदा उपचारका लागि भान्जा दिल्लीतर्पफ जानुभएकाले भेट हुन सकेन । पछि भान्जासँग भेट गर्ने अनुकूलता नमिलेकाले प्यारा भान्जालाई सम्झेर नै चित्त बुझाउनुपर्यो । किन हो किन उहाँको त्यो उज्यालो अनुहारको सधैँ याद आइरहन्छ । उहाँ यतै कतै हुनुहुन्छ कि जस्तो लाग्छ ।
उहाँको स्वर्गारोहरणपछि निज निवासमा गई भान्जीनानी सुधालाई भेटेर आएँ । संयोगले म काठमाडौं गैरीगाउँको उहाँको घरमा पुग्दा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान बनाउनेबारे छलफल भइरहेको समयमा पुगेछु । साह्रै राम्रो विचार गरेर उहाँका सन्तान, भाइ–भतिजाहरूले सबै साहित्यकारहरूको मद्दतमा संस्था बनाउन लाग्नु भएको रहेछ । प्रतिष्ठानले स्मृतिग्रन्थ प्रकाशन गर्ने अठोट गरेको र मलाई पनि सम्झना भए लेख्ने अनुरोध गरेकाले यो सानो सम्झना कोरेको हुँ । प्रिय भान्जामा हार्दिक श्रद्धाञ्जलि ।
बलाहा, इनरूवा, सुनसरी
दैवज्ञराज न्यौपाने हाम्रा सामु छैनन् तर आँखामा हाल्दा पनि नबिझाउने उनको व्यवहार सबैका सामु ताजै छ ।