कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

बालसाहित्य लेखन यात्राका पाथेभाइ : दैवज्ञराज न्यौपाने

देवीप्रसाद वनबासी

तेस्रो दशकको प्रारम्भतिरै हो मैले बालसाहित्य लेख्न थालेको । सर्वप्रथम मेरो बालकविता प्रार्थना गीत बालक
(२/१०माघ २०२३) मा प्रकाशित भएको थियो । संयोगै भन्नुपर्‍यो, बालकको त्यसै अंकमा “बालक” शीर्षकमा दैवज्ञराज न्यौपानेको बालकविता पनि छापिएको थियो । सर्वप्रथम “बालक” पत्रिका निस्केपछि नयाँसडकको पीपलबोटे चौताराको पत्रपत्रिका बेच्ने बुढाको खुला पसलमा देखापर्दथ्यो । आफ्नो रचना छापिएको देखियो भने बालमन्दिर/नक्साल गएर “बालक” एक प्रति लिएर आउँथंे म पनि ।

आफ्नो “प्रार्थनागीत” छापिएको देखेपछि “बालक” पत्रिका लिन बालमन्दिर नक्साल जान भनेर म कमलपोखरीतिर जाँदै थिएँ । संस्कृत छात्रावासका विद्यार्थीहरु कमलादी र कमलपोखरी बीचको कुइनेटामा भेट भए । दैवज्ञराज न्यौपाने त्यतिखेर संस्कृत छात्रावासमा बस्थे क्यारे । उनलाई मैले नवोदित कविका रूपमा टाढाबाट मात्रै चिनेको थिएँ । व्यक्तिगत चिनाजान भैसकेको थिएन । उनका हातमा त्यही “बालक” पत्रिका थियो । मलाई पनि उनले त्यस्तै त्यस्तै हिसाबले चिनेका हुँदा हुन् । त्यतिन्जेल मैले देवीप्रसाद रेग्मीका नाममा लेख्ने गर्थें । सर्वप्रथम “वनवासी” उपनाममा त्यसै पत्रिकामा छापिएको “प्रार्थना–गीत” मेरै हो भनेर उनले चिनेका रहेनछन् । बालक (३/३ असार २०२४) मा फेरि दैवज्ञराज न्यौपानेको “बर्षा आयो” (पृ.७) र मेरो “बालगीत” (पृ.१७) पनि सँगसँगै छापिएका थिए । त्यसपछि बालक (३/८ मङ्सिर २०२४) मा मेरो “बोपदेव” बालकथा छापिएको थियो भने जीवनी खण्डमा दैवज्ञराज न्यौपानेको “रणदुल्लभ शाह” प्रकाशित भएको थियो । तर त्यतिन्जेल वनवासी र दैवज्ञराज न्यौपानेको नाम र मान्छेका बीचमा सनाखत भैसकेको थिएन । बालक (३/११ फागुन २०२४) मा मेरो “हाम्रो राष्ट्रिय गायक गाइने” शीर्षकको लेख छापियो । त्यसमा झागल गुरूङ्ले गाइनेको भेष गरी पोखरा बजारमा गई परशुराम थापाको भाइलाई बैठ्याई (मारी) आएको प्रसंग उल्लेख भएको थियो । कुनै साहित्यिक गोष्ठीमा मैले कविता पढेको सुनेपछि मलाई चिनेर हात मिलाएका थिए दैवज्ञले मसँग, गाइने सम्बन्धी मेरो लेखोट उनलाई मन परेछ र त्यस बापत उनले मलाई बधाई पनि दिएका थिए ।

आफ्ना लेख रचना छापिएका बालक पत्रिकाका अङ्क मात्र मैले सङ्ग्रह गरेर राख्ने गरेको थिएँ । त्यसभन्दा अघिका बालकमा पनि दैवज्ञराज न्यौपानेका रचना छापिएका हुँदा हुन् । उनका लेख रचना छापिएका अङ्कमा मेरा लेख रचना नछापिएको पनि हुन सक्छ । त्यस्ता अङ्क मेरा सङ्ग्रहमा रहेनन् । यसरी बीचमा छुटफुट हुँदै जान्थ्यो । त्यस्तै लुकामारी हुँदाहुँदै बालक (कोपिला संयुक्त १०/११ माघ २०२६) मा उनको “सानो मने” भन्ने बाल कविता र मेरो “बलभन्दा बुद्धि ठुलो” भन्ने बालकथा सँगसँगै छापिएर आए । त्यतिखेर संस्कृत छात्रावासमा बस्दा रहेछन् जुम्लाका रत्नाकर देवकोटा पनि । उनले पनि मेरो कथा पढेछन् । मेरो कथा पढेपछि जुम्लीलाई अपमान गरेको भनेर क्रुद्ध भएर/बालमन्दिर नक्सालमै गएर विरोध जनाएछन् । उनले त्यतिखेर कर्णाली अंचल विद्यार्थी परिषद्का तर्फबाट “बेन्नु” पत्रिका निकाल्थे । बेन्नुको तेस्रो अंकमा (२०२५–२६) मेरो कथाको प्रतिवाद गर्दै उनले लेखेका थिएः– काठमाडौं तारेख लिन आएका जुम्लीको घटनाको आधारलाई लिएर देवीप्रसाद “वनवासी” जीले “बलभन्दा बुद्धि ठुलो” भन्ने कथा लेखेर छपाउनु भएको रहेछ । लेखकको कच्छा कुनै दिन पूर्णरूपले निक्लला । आफ्नो नाम कथाकारका रूपमा दर्ता गराउन खोज्नुभएको रहेछ । जुम्ला अब दन्त्यकथामा वर्णित पहाडी प्रदेशको भान हुनु अथवा जुम्लीलाई काल्पनिक संसारको मान्छेको कल्पना गर्ने बेला छैन । “बेन्नु” जगमगाउदै खडा भएको छ ।

त्यसपछि पनि कुनै साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिँदा “सबभन्दा मन नपर्ने नेपाली लेखकमध्ये एक” भनेर मलाई औँल्याएको कुरा कुनै मित्रबाट मैले जानकारी पाएँ । २०४० सालमा जुम्ला जाँदा र नेपाल बालसाहित्य समाजका विभिन्न भेलामा पनि उनीसँग बराबर भेटघाट हुँदै आएको हो । एकपटक उनी प्रज्ञा प्रतिष्ठानका सदस्य हुन पनि पुगे । मैले बधाई पत्र पनि पठाएँ । प्रज्ञाप्रतिष्ठानमै पनि भेट भएको हो ।तर उनीसँग कहिल्यै पनि हार्दिकताको अनुभूति हुन सकेन मेरो । अहिले उनी पनि दिवंगत भैसकेका हुनाले उनको आत्माको चिरशान्तिको कामना गर्छु ।

“बालक” पत्रिकाकी सम्पादिका थिइन्– श्रीमती पद्मा मल्ल, सहायक सम्पादक थिए– वासु रिमाल यात्री । बालकका मुख्य सम्पादकमा अरू जजसको नाम छापिए पनि वास्तवमा लेख रचनाको सम्पादन वासु रिमाल यात्रीले नै गर्ने गर्दथे । दैवज्ञराज न्यौपाने र मेरा लेखरचना छाप्ने पनि उनै थिए । उनले नै हामीलाई एक ठाउँमा जुटाई दिएका थिए । यसरी यतिखेर वासु रिमाल यात्रीको नाम पनि मेरा निम्ति स्मरणीय हुन पुगेको छ । त्यसैले यिनै शब्दद्वारा दिवंगत वासु रिमाल यात्री (१९९७–२०६६) प्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

दैवज्ञराज न्यौपाने उच्च शिक्षा हासिल गरेर नेपाली भाषा साहित्य पठन/पाठन/लेखन/ सम्पादन/प्रकाशनमा दत्तचित्त भएर निरन्तर संलग्न हुँदै रहे । म भने सरकारी भुस–कनिका केलाउने काममा संलग्न भएँ । साहित्य पठन/लेखनको काम फुर्सदको “कुटिलकोसा” मात्रै हुन गयो । तैपनि, निँद खोट्याएरै भए पनि फुटकर कविता/बालकथा/बालकविता/सानातिना लेख–लेखोट भने लेख्दै पत्रपत्रिकामा प्रकाशित गराउँदै आएँ । सरकारी जागिरे भएकाले खुलेर आफ्ना मनोभावना पोख्न/पस्कन सकिँन । चौथो दशकतिर दैवज्ञराज न्यौपाने नेपाल बालसंगठनको उही बालक पत्रिकाको सम्पादनमा सहभागी बन्न पुगेछन् । त्यतिखेर म पनि नयाँ बानेश्वरतिरै बस्ने गर्दथेँं । बाटामा भेट भयो । उनले ठाडठाडै भने – अहिले म बालकको सम्पादन कार्यमा सहभागी भएको छु । तपाईंका बालकथा मलाई चाहियो । मैले “सात आँखे” र “तमाखु बाजे” भन्ने दुइटा बालकथा पठाई दिएँ । दुवै छापिए पनि ।

उता शिक्षा मन्त्रालय अन्तरगतको प्राथमिक सामग्री एकाइ, पा.पा.नि.वि. केन्द्र हरिहर भवन, पुल्चोकले पाठ्येतर विविध बाल पुस्तकहरू प्रकाशन गर्न लागेको थियो । मैले पनि “चुभुरचुभुर” बालकथा सङ्ग्रह प्रकाशनार्थ दिएको थिएँ । २०४२ सालमा म स्वैच्छिक अवकाश लिएर घरमा आएँ । २०४२ सालमै सो बालकथा सङ्ग्रह “चुभुरचुभुर” छापिएछ पा.पा.नि.वि.के.बाट । त्यसै शृङ्खलामा दैवज्ञराज न्यौपानेजीको “गाउँखाने कविता” पनि उक्त केन्द्रले छापेको रहेछ ।

२०४४ साल साउन–भदौमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा शिक्षा मन्त्रालय, पा.पा.नि.विकास केन्द्रको समेत सहयोगमा नेपालमा पहिलो पटक बालपुस्तक लेखन कार्यशाला र बालसाहित्य सम्बन्धी विद्वान् विदुषी र विशेषज्ञहरू सम्मिलित गोष्ठी भएको थियो । त्यो कार्यक्रमका प्रमुख संयोजक प्राज्ञ डा.चूडामणि बन्धु थिए भने प्रमुख अतिथि थिइन् भारतीय बाल साहित्य विदुषी मनोरमा जाफा । दैवज्ञराज न्यौपाने र म पनि त्यस कार्यशाला र गोष्ठीमा सहभागी भएका थियौं । त्यतिखेर दैवज्ञराजजीले बोपदेव सम्बन्धी जीवनीपरक शिक्षाप्रद बालोपयोगी लेखोट तयार पारेका थिए । “हुने बिरुवाका चिल्ला पात” त्यतिखेरैको सोचाइको परिणाम हो । मैले पनि “बुद्धिमान् बिरालो” भन्ने बालकथा तयार गरेको थिएँ । त्यसको चित्रांकन गरेका थिए कलाकार रत्नदीप बज्राचार्यले । दैवज्ञराजजी लगायतका लेखकहरूले त्यतिखेर तयार गरेका बालसाहित्यका विविध पुस्तकहरू प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले पनि प्रकाशन गरेका थिए । तर म मोफसलतिर भएकाले त्यसबारे चासो लिएर भनसुन ताकेता गर्न असमर्थ भएँ । मेरो “बुद्धिमान् बिरालो”(द वाइज क्याट) भने कता हरायो पत्तै भएन । त्यही गोष्ठीको सर्वसम्मत निर्णय अनुसार डा.चूडामणि बन्धुको अध्यक्षतामा नेपाल बाल साहित्य समाज तदर्थ समिति गठन भएको हो ।

२०४४ सालको हिउँदमा मेरो “आकृति र अनुभूति” प्रकाशित भयो । दैवज्ञराजजीलाई पनि मैले उपहार स्वरूप दिएर आएँ । त्यसको पुस्तक समीक्षा लेखेर उनले साप्ताहिक विमर्श (२ पुस, २०४५) मा छपाए । वालिङ्मा पनि साप्ताहिक विमर्श आउने गर्थ्यो । मैले पनि दोहोर्‍याई तेहेर्‍याई पढें । त्यो पुस्तक समीक्षा अत्यन्त सन्तुलित ढंगबाट लेखिएको छ । शालीन तरिकाले त्यसमा मेरा लेखनका व्याकरणगत त्रुटि पनि औँल्याएका छन् उनले । त्यसले त्यसपछिको मेरो लेखनमा शब्द, वाक्य र हिज्जेमा पनि केही सचेतता ल्याएको अनुभूति भैरहेको छ मलाई । उनका त्यस्ता पुस्तक समीक्षा र विश्लेषणात्मक/विवेचनात्मक समालोचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा छरिएका छन् । त्यस्ता समीक्षा/समोलचनात्मक लेख–लेखोटहरू र सिर्जनात्मक निबन्धहरू प्नि उनले सँगालो तयार गरेर पुस्तक आकारमा ल्याउन प्रयत्न गरेनन् । अब त्यो काम पनि हुनुपर्छ । बाल कविता पनि धेरै पाठ्यपुस्तकमा छरिएका छन् । सँगालाहरूमा समावेश नगरिएका भए तिनको पनि एकीकृत सँगालो निकाल्नुपर्छ । यो मेरो सुझाउ हो ।

२०४६ सालको हिउँदमा निर्दलीय पंचायती व्यवस्थाको विरुद्ध आन्दोलन भयो । निर्दलीय पंचायती व्यवस्था विघटन भयो । बहुदलीय हिन्दु संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थाको पुनःस्थापना भयो । मैले वी.पी.को निधन भएकै बेला २०३९ सालमै लेखिराखेको महामानव विश्वेश्वरप्रसाद कोइराला अर्थात् असल मान्छे २०४७ सालको हिउँदमा छपाएँ । २०४८ सालमा स्याङ्जाली निबन्ध सँगालो “मोतीनिबन्ध” सम्पादन गरेर छपाएँ । २०५० साल माघमा मेरा पुफटकर कविताहरूको सँगालो “बिस्कुन” निस्क्यो । बिस्कुन पनि मैले दैवज्ञराज न्यौपानेलाई उपहार स्वरूप दिएर छोडेँ । त्यसको पनि समीक्षा लेखेर उनले एकप्रति “बिस्कुन” सहित गोरखापत्रमा छपाउन भनेर गोरखापत्र संस्थानमा त्यतिखेर सम्पादक हो या अध्यक्ष बन्न पुगेका शिव अधिकारीलाई लगेर दिएछन् । ““पुस्तक नै पहिले यहाँ गोरखापत्रमा आउनुपर्छ । यसरी ल्याएको पुस्तक समीक्षा हामी छाप्दैनौं” भनेर उनले मिल्काइदिएछन् । त्यो कुरा दैवज्ञराजजीले नै मलाई भनेका थिए ।

२०४८ सालमा दैवज्ञराज न्यौपाने गोरखापत्र संस्थानको बाल प्रकाशन “मुना” को “सम्पादन परामर्शदाता” हुन पुगेछन् । मुनालाई सहयोग गर्नुपर्‍यो भने । मैले “थिरीथिरी” र “मेरो घरबारी” भन्ने दुइटा कविता दिएर छोडेँ । २०४८ जेठको अंकमा मेरो थिरीथिरीसँगै उनको “घिन्ताङ्घिन्ताङ् मादलु” पनि छापिएको थियो । “मेरो घरबारी” भने छापिँदै छापिएन ।

वर्षको एक दुई पटक काठमाडौं जाने क्रम अझै पनि टुटेको छैन मेरो । काठमाडौं गएका बखत दैवज्ञराज न्यौपानेलाई कहिले घरमै गएर भेट्थेँ, कहिले गोष्ठी समारोहहरूमा भेटघाट हुन्थ्यो । “सिरीखुरी” बालकथा छपाउन २०५४ सालको हिउँदमा काठमाडौं गएँ । त्यतिखेरसम्म मेरा हातखुट्टा पनि दह्रै थिए । त्यतिखेर मैले काठमाडौंका विभिन्न भेगमा गएर आफ्ना पूर्व परिचित लेखक/साहित्यकार मित्रहरूलाई यथास्थानमा भेटेर “सहज अभिव्यक्ति” संकलन गरेको थिएँ । दैवज्ञराजजीलाई पनि नयाँ बानेश्वरको घरमै गएर भेटेँ । मेरो आग्रहलाई उनले सहर्ष स्वीकार गरेर कवितामै आफ्नो सहज अभिव्यक्ति दिएका थिए ः–

वनवासी थियौ मित्र, घरबासी बनेपछि,

नबिर्से सपना ठानी हामीलाई कसै पनि ।

जिन्दगी हारको हैन, जितको अभियान हो,

सम्झना मनको मिठो सम्झनै त समीप हो ।

त्यसैले सम्झनु मित्र ! कतै टाढा बने पनि,

जिन्दगी सपनाभित्र सपना नबने पनि ।

२०५४/९/९

ती सहज अभिव्यक्तिलाई मैले सर्वप्रथम सिरीखुरी मा छपाएँ । हरेलो (२०६१) मा पनि पुनःमुद्रण गरेको छु । यो भयो मेरो बालसाहित्य लेखन यात्राको दैवज्ञराज न्यौपानेसँगको सहयात्रा ।

काठमाडौं जाने आउने क्रम जारी नै रहे पनि विगत तीनचार वर्षयता दैवज्ञराज न्यौपानेसँग भेटघाट/वार्तालाप हुन सकेन मेरो । उनका कतिपय पारिवारिक एवं व्यावहारिक कारणले होला । उनी नयाँ बानेश्वरबाट सरेर अन्यत्रै बस्न गएको थाहा पाएँ । उनी पक्षाघातबाट थलिएको पनि समाचार सुनेँ । म आफैँ पनि खुट्टा दुख्ने गरेकाले दौडधुप गर्न पनि नसक्ने भएँ । काठमाडौं गएका बखत पनि सीमित ठाउँमा मात्र मेरो आवतजावत हुन थाल्यो ।

गत असारमा काठमाडौं गएका बेला भाई दीनदयाल रेग्मीले पाटन संयुक्त क्याम्पसको अनुसन्धानमूलक नेपाली पत्रिका “संज्ञान” मलाई दिए । संज्ञानका प्रधान सम्पादक रहेछन् प्रा.केदार न्यौपाने । उनको नाम देख्नासाथ मलाई दैवज्ञराज न्यौपानेको झल्को लाग्यो । दैवज्ञराज न्यौपानेको निधन भएको समाचार सुन्नासाथ मैले केदार न्यौपानेलाई फोन गरेको थिएँ । तर टेलीफोन उठ्दै उठेन । समवेदना व्यक्त गर्नै पाइन मैले । त्यतिखेरैदेखि उनका बारेमा केही लेख्नुपर्छ भन्ने सोच त बनाएकै थिएँ । तर उनताकादेखि जान पहिचान/संगत हुँदाहुँदै पनि उनको जीवनी/व्यक्तित्व/कृतित्व सम्बन्धी तथ्य जानकारी थिएन । दीनदयाल रेग्मीकै सौजन्यबाट उनी सम्बन्धी केही तथ्य उपलब्ध भयो । साथै दैवज्ञराज न्यौपाने सम्बन्धी स्मृतिग्रन्थको पनि संयोजन हुँदै रहेको जानकारी पनि भयो । घरमा आएपछि पनि घरायसी झयाङ्ला झमेलाले गर्दा त्यसबारे सोच्नै पाएको थिइनँ । त्यस्तैमा साउनको अन्तिम हप्तामा उत्तराखण्ड केदारनाथ/बदरीनाथतिर गएँ । साउनको अन्त्यतिर घरमा फर्केपछि दैवज्ञराज न्यौपाने सम्बन्धी केही सामग्री छन् कि भनेर आफ्नो सङ्ग्रह खोतल्दै गएँ । सिङ्गो कृतिका नाममा दैवज्ञराज न्यौपानेजीको एउटा “गाउँखाने कविता” मात्र फेला पर्‍यो । पाठ्यक्रम विकास केन्द्र/सानोठिमी भक्तपुरले निकालेका अरू बाल पाठ्यसामग्री खोज्दै जाँदा बाल कविता सङ्ग्रह “बाललीला” (२०५७) र “बालमेला” (२०५८) पनि फेला परे । तिनमा पहिलोमा तीनोटा र दोस्रोमा चारोटा दैवज्ञराज न्यौपानेका बाल कविता छापिएका रहेछन् । सर्सरी पढ्दै गएँ ।

कसैका बारेमा केही लेख्दा सकेसम्म आफ्नो लेखोट जानकारीमूलक होस् भन्ने मेरो अभिप्राय हुन्छ । दीनदयाल रेग्मीबाट प्राप्त विवरणिका अनुसार दैवज्ञराज न्यौपानेका बाह्रवटा कृतिहरू प्रकाशित भैसकेका देखिए । तर मैले भने फुटकर रचना बाहेक कुनै पनि सिङ्गो कृति पढ्न पाएको रहेनछु । उनी मोती पुरस्कार लगायत कयौं संघसंस्थाबाट सम्मानित एवं पुरस्कृत भैसकेको पनि देखिन आयो । उनी स्वयं नै कयौं साहित्यिक/सांस्कृतिक/सामाजिक संघसंस्थामा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि जानकारी पाइयो । अत्यन्त सौम्य, भद्र, शान्त, सुशील, मिष्टभाषी दैवज्ञराज न्यौपाने प्रायः हँसमुख नै देखिन्थे । विशुद्ध नेपाली कद र पोतका उनी नेपाली राष्ट्रिय पोशाकमा सजिँदा नेपाली शिल्प सौन्दर्यका प्रतिमूर्ति जस्तै लाग्थे ।

यतिन्जेल मैले दैवज्ञराज न्यौपानेका बालसाहित्य सम्बन्धी चर्चा गर्दै आएँ । एकातिर लेखोट लामो हुने चिन्ता छ भने अर्कातिर यति लामो भैकन पनि उनको समग्र साहित्यिक व्यक्तित्व र कृतित्वको एकसरो चिनारीसम्म पनि दिन नसक्दा मलाई त्यसै दिक्क पनि लागेको छ ।

दैवज्ञराज न्यौपानेका फुटकर कविता र गीतहरु विभिन्न पत्रपत्रिकाहरुमा पढ्दै र रेडियोबाट पनि सुन्दै आएको हुँ । उनका कविता र गीत पनि राष्ट्रियता / प्राकृतिक सौन्दर्य र नेपाली सामाजिक यथार्थता सम्मिश्रित अत्यन्त सुकोमल भावना र कारुणिक संवेदनाका अभिव्यक्ति जस्ता लाग्छन् मलाई । नेपाली छन्द कविता र गीतमा दैवज्ञराज न्यौपाने कवि माधव घिमिरेको गोरेटो पच्छ्याउदै हिँडेका जस्ता देखिन्छन् । उनले गद्य कविता पनि लेखेका छन् । बितेका पाँच दशकमा खास गरेर नेपाली कवितामा जे जस्ता बान्की र प्रयोगात्मक प्रस्तुति देखापरेका छन्, ती कुनैबाट पनि अप्रभावित तर आफ्नो सरल/सरस/सुमधुर स्वरमा रमाउदै मौलिक स्वरूपमा आफ्नो स्पष्ट पहिचान साथ आपूफलाई प्रस्तुत गर्दै आएका छन् । कविता फाँटमा पनि दैवज्ञराज न्यौपाने र यो देवीप्रसाद वनवासी एउटै विचार भावधारामा सँगसँगै दौडिरहेका तर अपरिचित सहयात्री/पाथेभाइ जस्ता देखिन्छन् ।

दैवज्ञराज न्यौपाने मेरा विगत पाँच दशकदेखिकै परिचित/आत्मीय मित्र/बालसाहित्य लेखन यात्राका सहभागी अर्थात् “पाथेभाइ” थिए भन्ने कुरा माथिका विवरणहरुबाट जानकारी भैसकेको छ । भोजपुरे न्यौपाने परिवारसँग स्याङ्जाली रेग्मी खलकको नेपाली भाषी उपाध्याय बाहुन हुनु बाहेक अर्को कुनै किसिमको नातो थिएन । राजधानी काठमाडौंमा मेरो संगत जानपहिचान हुन गयो । उनलाई अघि लगाएर उनका नाममा स्मृति आलेख लेख्नुपर्दा मलाई यतिखेर एउटा नरमाइलो अनुभूति भैरहेको छ ।

काठमाडौं प्रवास कालमा अर्का एकजना न्यौपाने बन्धुसँग पनि साहित्यिक माहोलमा चिनाजान हुन गएको थियो मेरो । विनम्र/मिष्टभाषी/सरल/सरस/भावना/कविता र अभिव्यक्तिमा समेत सुपरिचित केदार न्यौपाने दैवज्ञराज न्यौपानेका सहोदर भाइ रहेछन् भन्ने कुरा धेरै पछि मात्र थाहा पाएको हुँ । उनी पनि कविता साथसाथै गद्य विधामा पनि कलम चलेका व्यक्तित्व हुन् । अहिले उनी पाटन संयुक्त क्याम्पसमा नेपाली विभागका प्रमुख हुन पुगेको थाहा पाएँ । त्यस क्याम्पसको अनुसन्धानमूलक नेपाली पत्रिका संज्ञान पनि मेरो टेबुलमा आइपुगेको छ । अन्तमा, दैवज्ञराज न्यौपानेको आत्माको चिरशान्तिको कामना गर्दै उनका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

१ भदौ २०६९

निजात अड्डिका

अरमादी सङ्खरे डाँडा, स्याङ्जा