मैले बुझेनबुझेका दैवज्ञराज
कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेको नाम मैले पहिलो पटक कहिले सुनेँ, उहाँलाई पहिलो पटक कहाँ देखेँ र भेटेँ, भन्न सक्तिनँ । कसैको नाम सुन्नु र देखभेट हुनु बालकृष्ण समको शब्दमा सायद “नियमित आकस्मिकता” हो । मानिसको भेट कहिले कहाँ कसरी कोसँग हुन्छ, टिपोट गरेर राख्ने चलन सामान्यतः हुँदैन पनि । अमुक मानिसको सम्मान र सम्झनामा मैले भविष्यमा केही लेख्नुपर्छ भन्ने पूर्वधारणा बनाएर कसैको नाम सुन्ने र देखभेट गर्ने पनि गरिंदैन । म पनि यस मान्यताको अपवाद हुन सकिनँ । यसलाई विशिष्ट सन्दर्भमा मेरो कमजोरी र सामान्य सन्दर्भमा मानवीय प्रवृत्ति भने पनि हुन्छ होला ।
पुर्ख्यौली थातथलो रावा लामिडाँडा (खोटाङ) मा सानो छँदा ठुलाबडाको मुखबाट म सुन्थेँ– खोटाङ जिल्लामा लामिडाँडाका भट्टराई, खार्पा–कुभिन्डेका पोख्रेल, मार्सेका रेग्मी, ओखलढुङ्गा जिल्लामा रामपुरका दाहाल, रुम्जाटारका गुरुङ, भोजपुर जिल्लामा गोगनेका न्यौपाने कहलिएका छन् । यो भनाइ कसले कहाँबाट कहिलेदेखि भन्न सुरु गर्यो, थाहा भएन । खानदानी भएकाले बिहेबारीका लागि उपयुक्त भन्ने अर्थमा त्यसो भनेको होला भन्ने लाग्छ । यसबाट मेरो बालबुद्धिमा एउटा छाप चाहिँ पर्यो– गोगनेका न्यौपाने कहलिएका रहेछन्, कारण जुनसुकै होस् । ममा परेको छाप बलियो हुनाको अर्को पक्ष पनि छ । हाम्रा घरकी हजुरआमा खालमध्ये कसैको पारिवारिक साइनो र सम्बन्ध गोगनेका न्यौपानेहरूसँग थियो । यस प्रसङ्गले पनि मैले सानैदेखि गोगने र त्यहाँका न्यौपानेको नाम सुनिसकेको थिएँ । पढाइका सिलसिलामा काठमाडौं आएपछि दैवज्ञराज न्यौपानेको नाउँ र उहाँको पैतृक थलो गोगने गाउँ सुनेपछि सानो छँदा सुनेको कुरो लगभग सत्य साबित भयो । अहिलेसम्म गोगने नपुगेको म आज पनि त्यहाँका न्यौपाने राम्रो काम गरेर कहलिएका छन् भन्ने विश्वासमा छु । अरूले जेसुकै सोचून् वा भनून्, सत्य के हो भने दैवज्ञराज न्यौपाने मेरो बाल्य कालदेखिको विश्वासलाई बलियो बनाइदिने व्यक्तिमध्ये एक हुनुभयो ।
दैवज्ञराज न्यौपानेलाई मैले पहिले कविका रूपमा चिनेको हुँ । विभिन्न स्थान, समय र उपलक्ष्यमा आयोजना गरिने कवि सम्मेलनहरूमा उहाँले सुनाएका कविता मलाई निकै प्रेरक र अनुकरणीय लाग्थे । प्रेरक यस अर्थमा– उहाँका कवितामा जीवनलाई आशावादी र गतिशील बनाउने सार र सन्देश पाइन्थ्यो । अनुकरणीय यस अर्थमा– उहाँका कविता कविताका लागि आवश्यक भाव र शिल्पसौन्दर्यजस्ता तत्त्वले परिपूर्ण हुन्थे र छन् पनि । उहाँमा कविव्यक्तित्वका रूपमा तीन गुणको समन्वय थियो– कविता, सुमधुर स्वर र आकर्षक वाचन शैली । यिनै गुणले हुनुपर्छ, उहाँका कविता सुन्न साहित्यकारहरू लालायित हुन्थे । म कविताको अलिअलि सुइँको पाएको साहित्यिक साक्षर पनि उहाँका कविता सुन्न यथासम्भव जाने गर्थें । पत्रिकामा छापिएका उहाँका कविता पनि पढ्थेँ– बुभेफ पनि नबुभेफ पनि । धेरै मानिस यस्ता छन् जो धेरै कविका अनेकौं कविता पढेर पनि तिनको मूल मर्म र सन्देश ठम्याउन सक्तैनन् । तर दैवज्ञराजका कवितामा व्यञ्जित राष्ट्रप्रेम, मानवप्रेम, प्रकृतिप्रेम, सामाजिक–सांस्कृतिक आस्था, मूल्य र मान्यता, बौद्धिक एवं जागरणशील स्वर चाहिँ सचेत पाठकले ठम्याउन सक्छ । समग्रमा कवितालाई नबुझिने नबनाउनु उहाँको कवित्वको वैशिष्ट्य हो । उहाँका प्राप्त र प्रकाशित कविताले यही वैशिष्ट्यलाई सिद्ध गर्छन् ।
मैले जाने–बुभेफका दैवज्ञराजको व्यक्तित्वको दोस्रो पाटो प्राध्यापन क्षेत्र हो । म कीर्तिपुरको नेपाली केन्द्रीय विभागमा स्नातकोत्तर तहको विद्यार्थी हुँदा उहाँ आधुनिक नेपाली कविता पठाउनुहुन्थ्यो । पढ्दै पढाउँदै आउँदा कहिले काहीँ त लाग्छ– साहित्य भनेको गुरुले धेरै बोल्नुपर्ने र शिष्यले थोरै बुझने विषय पो हो कि ? त्यसमाथि नेपाली साहित्य र त्यसमा पनि कविता । इच्छुक वाग्मीहरूका लागि जति बोले पनि, व्याख्या गरे पनि लचकदार विषय । तर दैवज्ञराज न्यौपाने बोल्नैपर्ने विषयमा बोल्ने र नबोले पनि हुने विषयमा नबोल्ने प्राध्यापक हुनुहुन्थ्यो । कवितालाई वस्तुवादी बनेर पढाउन र बुझाउन सक्ने सामर्थ्य उहाँमा थियो । उहाँले करिब साढे दुई दशक पहिले पढाएको पत्र र विषयमा आपूफले गरेको टिपोटका पुराना केही पाना भेट्दा र पढ्दा पनि उहाँको कविता शिक्षणकला वस्तुगत, उपयोगी, आवश्यक र व्यावहारिक रहेछ भन्ने लाग्छ । आपैंफ कवि भएकाले पनि त्यो कला र क्षमता उहाँमा विकसित भयो होला भन्ने मेरो ठम्याइ छ ।
कविता शिक्षणका व्रफममा एकदिन उहाँले एउटा प्रसङ्ग सुनाउनुभयो । पाठ्यव्रफममा निर्धारित मोहन कोइरालाको कुनै एउटा प्रयोगवादी कविताका विषयमा छलफल गर्न उहाँ कोइरालालाई भेट्न जानुभएछ । छलफलका क्रममा कोइरालाले भनेछन्, “यो कविताका बारे मलाई नसोध्नुस्, तपाईंले जे बुझनुभयो, विद्यार्थीलाई त्यही भनिदिनुस् ।” यस प्रसङ्गबाट दुई ओटा तथ्य स्पष्ट भए– दैवज्ञराजको स्पष्टता र प्रयोगवादी कविताको अस्पष्टता । प्रयोगवादी कविताबारे धारणा बनाउन यसले मलाई सहयोग नै भयो । यसलाई मैले पढाइको एउटा अंश र अभ्यास ठानें ।
मेरो विचारमा दैवज्ञराज न्यौपाने शुद्ध जागिरे मानसिकताका मानिस हुनुहुन्नथ्यो । मानिसहरू जागिरलाई थालीमा राखेको दूध र जागिरेलाई त्यसको वरिपरि भन्किने भिँफगा भन्छन् । भिँफगाले दूध मात्र देखेर भन्किरहे भैँफ जागिरे पनि जागिरको मात्र वरिवरि भुफम्मिरहन्छ, अरू केही देख्दैन र गर्दैन भन्ने यस भनाइको आशय होला । दैवज्ञराजले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गरिरहेर पनि सामाजिक, सांस्कृतिक र साङ्गठनिक काम गर्नुभयो । भानुसेवा समिति र जयतु संस्कृतम्को नेतृत्व तहमा रहेर उहाँले काम गर्नुभयो । यी संस्थामा रहेर उहाँले नेपाली र संस्कृत भाषा, साहित्य र साहित्यकारको अमूल्य सेवा गर्नुभयो । आजभोलि देशका विभिन्न सङ्घ–संस्था आफ्नो उद्देश्यबाट पूर्णतः विचलित हुँदै राजनीतिक व्यक्ति र शक्तिका सिकार हुँदै गएको अप्रिय सत्य हाम्रा सामु छ । तर दैवज्ञराज न्यौपानेले जुनजुन सङ्घ–संस्थामा रहेर जहिलेसम्म नेतृत्व गर्नुभयो ती सङ्घ–संस्थामा त्यस बेलासम्म उद्देश्य र अभियान जीवित रहे । उहाँ राजनीतिक भागबन्डाभन्दा माथिका कर्मशील व्यक्ति हुनुहुन्थ्यो । उहाँ पनि जागिरे त हुनुहुन्थ्यो, तर जे जति काम गर्नुभया,े सेवा र सहयोगकै काम गर्नुभयो । उहाँ संस्थागत हितमै लाग्नुभयो । यो नेपालको बौद्धिक वर्गले गर्ने मूल्याङ्कन हो ।
दैवज्ञराज न्यौपानेलाई कडा रोग लाग्यो । बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा पनि उहाँले साहित्यको सेवा गरिरहनुभयो । उहाँप्रति सद्भाव र सहानुभूति राख्नेहरूका मनमा एउटा प्रश्न उठिरहन्छ– राज्यको पहलमा विदेशका सुविधा र विशेषज्ञ सम्पन्न अस्पतालमा लगेर उपचार गराउँदा उहाँ स्वस्थ हुनुहुन्थ्यो कि ? नेपालको विधा र वाङ्मयको विकासमा थप सेवा र योगदान प्राप्त हुन्थ्यो कि ? यो मनको कुरा मात्र भयो । राष्ट्र नै सङ्कटमा परेको र पारिएको बेलामा राष्ट्रका लागि काम गर्नेहरू पनि स्वतः सङ्कटमा पर्छन् र पारिन्छन् । यो राष्ट्र त्यही हो जहाँ कसैका लागि रातारात हवाई एम्बुलेन्सको सुविधासहित विदेशमा लगेर सरकारी खर्चमा उपचार गरिन्छ भने वाङ्मय विभूतिलाई चाहिँ राम्ररी उपचार नपाएर अकालमै मर्न बाध्य पारिन्छ । उहाँ पनि यही नियति देख्दै र भोग्दै यस संसारबाट बिदा हुनुभयो ।
अशक्त अवस्थामै उहाँको काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्मान र अभिनन्दन गरियो । व्यक्तिगत रूपमा म त्यस कार्यक्रममा उपस्थित हुन सकिनँ तापनि त्यहाँ उहाँप्रति श्रद्धा र सहानुभूति व्यक्त गर्ने मानिसको घुइँचो लागेको थियो । केही समयपछि बानेश्वरको रत्नराज्य उच्च मा.वि.मा आयोजित सम्मान र अभिनन्दन कार्यव्रफममा सहभागी भएँ । कार्यक्रम चलिरहँदा दैवज्ञराजको अनुहार र अवस्थाबारे अध्ययन पनि गर्दै गएँ ।
दैवज्ञराज न्यौपाने कविता लेख्ने–सुनाउने गर्नुहुन्थ्यो, भाषण गर्नुहुन्थ्यो र पढाउनुहुन्थ्यो । उहाँ बहिर्मुखी व्यक्ति जस्तो लाग्थ्यो । तर पनि उहाँलाई पहिलो पटक देखेपछि, भेटेपछि नै अहिले पनि अनुहार हेर्दा हरेक पटक केही भन्न र लेख्न खोजेर पनि रोकिनु भएको हो कि जस्तो मलाई लाग्थ्यो । भेटघाटमा समेत केही भनेर पनि केही भन्न बाँकी जस्तो । हरेक देखभेटमा मैले अनुभव गरेको त्यो अनुहार अहिले पनि मेरो मानसपटलमा अङ्कित छ । यो मेरो व्यक्तिगत दृष्टि, सोचाइ र अनुभूति हुन सक्छ । उहाँको स्मृति र सम्मानमा लेख्दै गरेका यी पङ्तिहरू सक्ने बेलासम्म पनि मलाई एउटा प्रश्नले छोडेको छैन– दैवज्ञराज न्यौपानेलाई अलिकति पनि बुझिएन कि ?
२०६९ असार
नेपाल संस्कृत विश्वविद्यालय