दाजु दैवज्ञ र एउटा तितो सत्य...
हरे शिव गए हाम्रा दैवज्ञ परलोकमा
डुब्यो कवि जगत् विज्ञ कविको स्मृतिशोकमा !!
कवि, प्राध्यापक दैवज्ञराज न्यौपानेको इहलीला सकिएको समाचार पाउनेबित्तिकै उक्त पंक्तिहरू मानसमा जन्मिएका थिए । तत्काल ती पंक्तिहरू एस.एम.एस मार्फत गजलकार मित्र प्रा.सनतकुमार वस्ती, कवि प्रह्लाद पोख्रेल, समालोचक मित्र नारायण चालिसेलाई पठाई मनमा लागेको चोटको उकुसमुकुसलाई हलुङ्ग्याएँ । उताबाट वस्तीजीले प्रत्युत्तर एस.एम.एस. दिनुभो–
दैवज्ञ दैवका प्यारा गए त्यो दिव्य लोकमा
यो धराधामका हामी पर्यौँ गहन शोकमा
दैवज्ञको पर्यो शोक हामी अनाथमाथि नै
दैवले नै दया राखून् हर्ताकर्ता सबै तिनै झ्
यसअघि वस्तीजी र म उहाँकै निवास (भक्तपुर)मा जेठमा भेट भएका बेला दाजु महेश्वर न्यौपानेसँग भेट्ने सुयोग जुरेको थियो । दैवज्ञ दाजुको स्वास्थ्यबारे चर्चा हुँदा केही सुधार भएको समाचारले सन्तोष दिएको थियो तर २०६८ पुस २ का दिन त्यो सन्तोष शोकमा परिणत भयो ।
२०५१ माघदेखि २०५४ चैतसम्म काठमाडौँ बसाइका क्रममा दाजु दैवज्ञसित प्रसस्तै साहित्यिक जमघटहरूमा भेट्ने र उहाँका प्रस्तुतिहरूको साक्षी हुने अवसर जुट्यो । सुगठित शारीरिक सौन्दर्यभित्र बाँचेको कवित्व र हँसिलो अभिव्यक्तिकला अब स्मृतिको मात्र विषय भयो भन्ने सम्झँदा जीवनको नश्वरता र बहुमूल्यवत्ता एकैचोटि जागृत भएर आउँछन् । अझ दैवज्ञ दाजुको स्मृति आउने बित्तिकै एउटा घटना अविस्मरणीय छापको रूपमा रहेको छ मेरो मानसमा । श्रद्येय पाठकहरू समक्ष त्यही घटना राखेर श्रद्याञ्जली मन्तव्यको बिट मार्ने प्रयत्नमा छु ।
घटना २०५४ फागुन ८ गतेको हो । लेखक संघ, दाङले मलाई बम शङ्कर पुरस्कार लिन निम्तो गरेकाले म काठमाडौँबाट दाङ पुगेँ । पुरस्कार वितरण समारोहका अतिथिहरूमा दाजु दैवज्ञराज न्यौपानेसहित लेखिका शारदा शर्मा, साहित्यकार यज्ञनिधि दाहाल, कवि भूपाल राई, युवराज नयाँघरे, सुधा न्यौपाने आदिको राम्रै जमघट रहेछ राजधानीबाट दाङले निम्त्याएकाहरूको । साहित्यिक कार्यक्रम दिनभरि चल्यो । दाजु दैवज्ञ प्रमुख अतिथि बनाइनुभयो । ज्यादै रमाइलोसँग कार्यक्रम सम्पन्न भयो । अर्को दिन (०५४–११–०८) राजधानीका पाहुनाहरूलाई आयोजकले बिदा गर्यो । दाजु दैवज्ञ धर्मपत्नीसहित स्वास्थ्य मन्त्रालयको गाडी चढेर लुम्बिनी हुँदै जाने भनी निस्कनुभयो । मैले चाहिँ राजधानीबाट आएका अन्य पाहुनाहरूको गाडीमा यात्रा गर्ने सुयोग पाएँ । त्यस यात्राका अघोषित समूह नायक हुनुभएको थियो– दाजु यज्ञनिधि दाहाल । यात्राका केही घण्टा गत दिनको कार्यक्रमको समीक्षामा खर्च भए । बिचबिचमा दाङभूमिका रहन–सहन संस्कृति, यहाँका नौला वनस्पति आदिबारे जिज्ञासा समीक्षा पनि भइरहन्थे । त्यस्ता सबै प्रसङ्गहरूमा घरिघरि दिदी शारदा शर्माको अभिभावकीय टिप्पणी बाहेक प्रायः दाहाल दाजुकै अनुल्लङ्घ्य वर्चस्व रहेको हुन्थ्यो ।
जब यात्राले दाङ जिल्ला नाघ्यो गत दिनकै कार्यक्रमको समीक्षाको एउटा कोणबाट दाजु दैवज्ञको चर्चा आरम्भ भयो । चर्चा उहाँको पूर्वपृष्ठबाट आरम्भ भएको थियो । सर्पले सर्पको खुट्टा देख्छ भन्ने उखान त्यहीँ सार्थक भएको अनुभव भएको थियो मलाई । पूरै यात्रा अवधिभर नै दैवज्ञसित नजोडिएको कुनै प्रसङ्ग रहेन र कुनै प्रसङ्गमा उहाँप्रति अलिकति पनि श्रद्या, सम्मान वा सकारात्मक दृष्टि कतै देखिएन । एउटा व्यक्तिको पिठ्यूँपछाडि यतिसम्म निन्दा र आलोचना गर्ने बौद्यिक समाजको पहिलोपल्ट फेला परेको थिएँ म । दाजु दैवज्ञको पूर्वपृष्ठ र आन्तरिक प्रसङ्गहरूबाट अपरिचित म त्यस यात्राको मूढ साक्षीजस्तो मात्रै हुनु परेकोमा भित्रभित्रै पापबोधले सल्केको थिएँ । अझ दाङ्गको त्यस कार्यक्रमको समाचार रेडियो नेपालको साहित्य संसारबाट प्रसारण हँुदा दैवज्ञजीको नामै उल्लेख नगरी कार्यक्रममा एकजना प्रमुख अतिथि पनि थिए भनेको सुन्दा कसैप्रति कसैको मनभित्र भरिएको विषले मानिसलाई कहाँसम्म आग्रही बनाउँदो रहेछ भन्ने कुराले मानव सभ्यताप्रति नै मभित्र ज्वलन्त प्रश्न जन्मिएको थियो ।
दाजु दैवज्ञको प्रसङ्ग आउनासाथ मभित्र त्यो यात्रा सजीव भएर आउँथ्यो । उक्त प्रसङ्ग अहिलेसम्म मेरो मनभित्र सुरक्षित थियो । आज निर्भीक भएर ओकलेको छु । सम्बन्धित महानुभावहरू त यसबाट अवश्य रुष्ट हुनुहुनेछ तर अबदेखि कसैले कसैप्रति यो हदसम्मको निन्दाचर्चा गर्दा यो पाठले अवश्य तिनलाई झस्काउनेछ भन्ने मैले आशा लिएको छु । साथै ती पात्रमध्ये कुनै एकजनाको कलम यस स्मृतिग्रन्थमा कविको प्रशंसामा चलेको पढ्न र हेर्नसमेत आतुर भएर पर्खिएको छु ।
मृत्यु सबै अहंकारका हात्तीहरूभन्दा बलिष्ठ छ । आफ्ना कविकर्मले बाँचेकाहरूलाई कर्मयोगको शिक्षा दिने दाजु दैवज्ञप्रति मेरो हार्दिक शब्दश्रद्या सुमन !!
नेपाल संस्कृत विश्वविद्यालय, दाङ
जोडा पन्छी मधुमिलनका सृष्टि-साफल्यबोट
हुन्छन् केही परपर जसै पर्न आई बिछोड
त्यस्तै हाम्रो समय छ यहाँ पर्ख त्यो भेटलाई
भन्ने मेरो खबर लगिद्यौ कल्पँदी बैँसलाई
दैवज्ञराज न्यौपाने