कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

जीवन, मृत्यु र दैवज्ञ

डा. नारायण चालिसे

शरीरलाई फाटेको टालोसँग दाँजेर श्रीकृष्णले जीवनको महत्त्व बताए कि मृत्युको स्वाभाविकतालाई सङ्केत गरे ? यस विषयमा विद्वान्हरूबाट भएका व्याख्याहरूले आ–आफ्नै महत्त्व देखाउलान् । नैनं छिन्दन्ति शस्त्राणिले सशरीर जीवनलाई भन्दा अशरीरी आत्माको उपासना गर्न भन्छ र यसरी शरीरको व्याख्या गरिएको छ जसको कुनै महत्त्व नै छैन । मलाई भने ऐले जीवनकै बारेमा बोलिरहन मन लागेको छ । मृत्यु भोगेर जीवन भोग्न आएकाहरू नभएको यो संसारमा मृत्युका कुरा गर्दा पनि जीवन जस्तै हुन सक्छ । जीवन लेख्न सजिलो कि मृत्यु लेख्न ? दुवै यक्ष प्रश्न हुन् । मृत्युपछि बुझिने महत्त्वको ज्ञान जीवनमा सम्भव छ ? मानिस मात्र भएर सोच्दा सम्भव छैन । हामी शरीरले मानिस र ज्ञानले अन्य भएर सोच्ने कुरालाई पर सार्दा अहिलेलाई जीवन नै पर्याप्त छ पढ्न र पढाउन भन्ने लाग्दछ । मृत्युबोध पनि जीवनको काम हो भने जीवनबोध पहिले कि मृत्युबोध ? हामी जीवन नै नबुझी जीवनका कुरा गर्नेहरूलाई मृत्युका कुरा असान्दर्भिक, भयावह, निराशावादी, अनावश्यक वा यस्तै केही लाग्न सक्छ ।

जीवनसँग सँगै लिएर हिँड्ने, जीवनको कुनै न कुनै मोडमा जम्का भेट हुने मृत्यु सायद जीवनका पछिपछि हिँड्ने सहयात्री हो । सबैभन्दा नजिक रहेर सबैभन्दा बढी शत्रुता सायद हामी मृत्युसँग नै गर्दछौँ । हामी हार्नै पर्ने शत्रुलाई सँगै लिएर सधैँ जित्ने महत्त्वाकाङ्क्षा पाल्दछौँ । यसो नहुने हो भने सायद सृष्टि चल्दैन । प्रारब्ध तिम्रो साथमा छ तर तिमी कर्मरहित बस्नै मिल्दैन भनेर अर्जुनलाई कृष्णले सुर्‍याइरहे । हामी कृष्णका अर्जुनहरू मरेको जीवन बोकेर हिँडिरहेछौँ । हामी सिसिफसको यात्रामा हिँडेका ढुङ्गो उचाल्दा–उचाल्दै समाप्त हुने र कसैले समाप्त गरिसकेको शरीरलाई निमित्त खोज्दै हिँडिरहेको हो र त्यो समय पर्खिरहेको हो भने जीवनलाई किन सिँगार्ने ? तर हामीलाई कृष्णले अर्को विकल्प पनि दिएनन् । अर्थात् हामी जन्मका कुराले भन्दा मृत्युका कुराले शासित छौं । हामी नमर्नका निम्ति बाँच्न चाहन्छौँ । हामीमा जीवनले होइन मृत्युले शासन गरिरहेको छ । त्यही नै मृत्युको सत्ता हो । त्यसो हो भने मृत्युलाई कलात्मक पारेर जाउँफ ।

मैले दैवज्ञ सरलाई २०५० सालमा स्नातकोत्तर पढ्ने क्रममा चिनेको हुँ । उहाँ मेरा गुरु नेपाली साहित्यका स्वच्छन्दतावादी भावधाराका प्रसिद्ध कवि, बाल साहित्य स्रष्टा, समालोचक, विभिन्न ग्रन्थका सम्पादक, मेरो मनमा परेको विम्ब, लेखक र गुरु सबैलाई सँगै पाएर खुसी मात्र भइन उहाँको आकर्षक व्यक्तित्व र हाँसी–हाँसी, हँसाई–हँसाई पढाउने कलाले पनि प्रभावित भएँ । सुन्दर र आकर्षक भएर होला साथीहरूले हेन्डसम सर भन्थे, हामी पनि त्यही भन्थ्यौँ । मैले उहाँमा जीवन देखें, बाँच्ने कला देखेँ । सौन्दर्यको रूप देखेँ । यस्तै धेरै कुरा उहाँमा थिए । आ–आफ्नै कर्तव्य र उद्देश्यले प्रेरित हाम्रो जीवनको सम्बन्ध मिहिन र आत्मीय पार्नेतर्फ हाम्रा प्रयत्न त्यति भएनन् । जे–जति भए ती सामान्य थिए र मेरो निम्ति प्रेरणास्पद नै थिए । जीवनलाई बुझनु पर्छ भन्नेसम्म नबुझेको म र जीवनलाई बुझने क्रममा लाग्नु भएका सरका आ–आफ्नै गन्तव्य थिए । भविष्य खोज्दै कीर्तिपुरका कक्षा कोठाहरूमा भौँतारिरहेको म र इतिहास बनाएर कीर्तिपुरमा हामीलाई भविष्य वितरण गर्न पसेका गुरुशिष्यबीचको आदर्श सम्बन्ध नै त्यो बेलासम्मको हाम्रो नाता भएकाले दैवज्ञ सरको स्मृतिमा भोलि के लेखूँला ? भनेर कुनै स्मरणीय कुरा खोज्नेतर्फ मेरो प्रयत्न भएन । सम्भवतः त्यतिखेरसम्म मलाई स्मृतिमा केही लेख्नुपर्छ भन्ने चेतनाले छोएकै थिएन वा भनौँ जीवनपछि पनि जीवनका बारेमा लेख्नुपर्ने हुन्छ, अथवा जीवन रहन्न अनि जीवनका बारेमा कुरा मात्र रहन्छन् वा जीवनपछि अर्को स्मृतिको जीवन मात्र रहन्छ भन्ने सम्मको ज्ञानको ढोका उघारिएकै थिएन । अर्को शब्दमा त्यति आकर्षक व्यक्तित्वका धनी दैवज्ञराज न्यौपाने अबको पन्ध्र/बीस वर्षपछि यो संसारमा सशरीर रहने छैनन्, उनी स्वयम् इतिहास बन्नेछन् र मेरो हातबाट पनि उनको स्मृतिमा दुई शब्द लेखिने छन् भन्नेतर्फको विष्मयकारी ज्ञान ममा भएन । ती दिन त्यस्तै रहे —

जब २०५४ सालको फागुनमा आफ्नै परिश्रमले जन्माएको लेखक सङ्घ दाङ भन्ने साहित्यिक संस्थामा आफ्नै गुरु दैवज्ञलाई प्रमुख अतिथि बनाउने म लगायतका मित्रहरूको निम्तोलाई स्वीकारेर गुरु, गुरुआमासहित दाङ जानुभयो मेरो सम्बन्धको अर्को पाना तयार भयो । हाम्रो सम्बन्धको नवीकरण भयो । दुई दिने बृहत् साहित्यिक कार्यक्रममा उहाँ, डा. तुलसी भट्टराई, शारदा शर्मा, विनय रावल, युवराज नयाँघरे, भूपाल राईहरू केन्द्रका आकर्षण हुनुहुन्थ्यो भने हामी सक्रिय आयोजक थियौं । तर त्यतिखेर एक दिनको निम्ति म मार्गदर्शक गुरु र दैवज्ञ सर शिष्य भएर घोराही, बेलझुण्डी, विजौरी र तुलसीपुरसम्मको यात्रा गर्‍यौँ । उहाँले जनता महाविद्यालयमा उहिल्यै आपूफले पनि पढेको कुरा सम्झनु भयो । त्यतिखेरको दाङ र धेरै वर्षपछिको दाङको परिवर्तन सम्बन्धी धेरै कुराहरू भए । अतीततिर फर्केका उहाँका स्मृति रेखाहरूमा झल्किएको आफ्नोपनलाई भावुक आँखामा पढ्न सकिन्थ्यो । गुरुदक्षिणामा गुरुले बुढी औँला माग्नु भएन, मैले दिनु परेन । तर गुरु दक्षिणाको सस्यानो अंश त्यो दिन पूरा गरेँ भन्ने मलाई लागेको हो र लागेको हो आफ्नो गुरुलाई सबैसँग परिचय गराउँदा भित्रभित्रै गर्व र विजयबोध पनि । दैवज्ञ सरले मलाई नै त्यो दिनको एकदिने गाइडको रूपमा रोज्नुभएको थियो र त्यो रोजाइमा मप्रतिको स्नेह झल्किएको मैले अनुभव गरेको थिएँ ।

बिहान आठ बजेदेखि बेलुकी छ बजेसम्म एउटै मोटर (त्यो सरकारी मोटर गुरुआमाको जागिर खाने स्वास्थ्य मन्त्रालयको थियो) मा गुरु, गुरुआमा सुधा र म मात्र थियौं । मैले जाने जति र बुझे जतिका दाङ, सल्यान, प्युठान आदि जिल्लाका केही विशिष्ट र ऐतिहासिक, सांस्कृतिक महत्त्वका ठाउँहरू, त्यहाँका जातजाति, भाषाभाषी, धर्म संस्कृति र विशेषतः साहित्यिक विशेषताका कुराहरू गर्दै बिताएको त्यो दिनका कुराहरू दैवज्ञ सर र मेरो सम्बन्धका अलिखित दस्तावेज भएर रहे । त्यो दिन संस्कृत विश्वविद्यालयका तात्कालिक उपकुलपति प्रा.माधवराज गौतम, शिक्षाध्यक्ष प्रा.डा.बाबुराम पोख्रेल र कुलसचिव प्रा.डा.भोजराज पन्तज्यूले गर्नुभएको स्वागत, विश्वविद्यालयको स्थापनापछिका सम्भावना र चुनौतीहरूका बारेका कुराहरू, दैवज्ञ सरको संस्कृत विश्वविद्यालयप्रतिको आत्मीय भावका कुरा अहिले पनि सम्झनामा छन् । त्यस्तै दैवज्ञ सरका तँतँ मम गर्ने मित्र भैरवप्रसाद मजगैयाँको निम्तोमा बिजौरी बाँसगढीमा बिहानको खाना खाएको कुरा मेरो स्मृतिमा ताजै छ । तर यी सबै कुराको पुनःस्मरण गराउन मेरा गुरु दैवज्ञ मसँग हुनुहुन्न । हुनुहुन्नको पीडा कष्टकर भयो । निर्माण गरिएका सम्बन्धका पर्खालहरू ढले, एउटा सन्नाटामा अर्थहरू खोज्ने व्यर्थ प्रयत्न मात्र बाँकी रह्यो । अर्जुनलाई जस्तै मलाई पनि कृष्णको विराट् रूप सबै मनपर्दो रहन सकेन । सृष्टिमा सुन्दर देखिएको कृष्णको रूप लयको अवस्था डरलाग्दो बनेर आयो । देवत्व चढेका कृष्णभन्दा मानवता चढेका कृष्ण राम्रा लागे । त्यसको केही वर्षपछि पक्षाघातले पीडित दैवज्ञ सरको कारुणिक अवस्था देखेपछि एउटा नमीठो पीडा अनुभव भयो र मैले त मनमनै भनेको हुँ — हे कृष्ण ! दिने हो भने सार सुहाउँदो जीवन देऊ; अन्यथा यस्तो कष्टकर जीवनबाट बरु मुक्ति देऊ । मेरी आमाको सोही अवस्थामा एकपटक मैले यसो भनेको थिएँ त्यसपछि सरको अवस्थामा मलाई त्यही पीडानुभूति भएको थियो ।

आज जातस्य हि धु्रवोर्मृत्यु ... भनेर होस् वा वासांसि जीर्णानि यथा विहाय ... भनेर होस् एउटा अर्को मृत्युलाई मैले स्वीकार गरेको छु । यो मृत्यु स्विकार्ने बाध्यता र जीवन भोग्ने आकाङ्क्षाको द्वन्द्वमा जीवन र मृत्यु सम्बन्धी दर्शनका खातहरूबाट उठाएर पढिएका एक दुईवटा पानाहरूले जीवन र मृत्युबोधको चेतना दिने भन्दा पनि अल्पकालिक सुखको मोह र वियोगको पीडामा छट्पटाउने अल्पज्ञानी बुद्धि मात्र दिँदा रहेछन् । मृत्युलाई सहज पार्ने ज्ञान र जीवनलाई तुच्छ ठान्ने गीताको महत्त्व ज्ञान जीवनका निम्ति हो कि मृत्युका निम्ति हो भन्ने ज्ञान अझै खुल्न सकेको छैन । जीवनका निम्ति मृत्यु र मृत्युका निम्ति जीवन आवश्यक छ भन्ने दार्शनिक ज्ञान भए पनि जीवनमा मृत्यु स्विकार्ने मन र मृत्युमा जीवन देख्ने आँखा पाउन नसक्दासम्म जीवन र मृत्युका सुखदुःखका कथा अनि तिनका स्मृतिमा छनोट गरिने शब्दहरू शक्तिशाली नभएर यस्तै कमजोर मात्र हुन्छन् कि भन्ने लाग्दछ । जीवन, मृत्यु र गुरु दैवज्ञ अब एकाकार भएको स्थितिमा मृत्यु र जीवन दुवै उस्तै हो त्यहाँ दैवज्ञ जीवन पनि हो र मृत्यु पनि हो; हामी बाँच्दा जीवन र मर्दा मृत्यु दुवै कलात्मक सत्य हुन् अनिवार्य, अपरिहार्य ..... ।

२०६९ असार

काठमाडौँ