कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मेरा राजनीतिका प्रथम गुरु : काका दैवज्ञ

परमेश न्यौपाने

कुरा २०२१ साल मंसिरतिरको हो । म गोगने विद्येश्वर संस्कृत पाठशालामा पढ्न छाडेर श्री राम आदर्श रात्रि हाईस्कूल भोजपुरमा अङ्ग्रेजी पढ्न थालेको थिएँ । भाइ कविराज पनि दिङ्ला पढ्न गएका थिए । त्यसबेला गोगने संस्कृत पाठशालामा काका शम्भु नेपालीले पढाउनुहुन्थ्यो । काका दैवज्ञ काठमाडौंबाट गोगने आउनु भएको थियो । धरानबाट थानेश्वर खतिवडा र भोजपुरमा पढ्ने अन्य बन्धुहरू पनि जम्मा भएका थियौँ । त्यसैबेला काका दैवज्ञको पहलमा जम्मा भएका हामीले नवजवान साहित्य सङ्घ भन्ने संस्था खोलेका थियौँ । मसमेत त्यसको सदस्य थिएँ । अध्यक्ष केदार न्यौपाने र कोषाध्यक्ष गोविन्द न्यौपाने रहनु भएको हुनुपर्छ । संस्थाको छाप (Stamp Pad) बनाउने व्रफममा बढी बिल बनाएको कारण धेरै विवाद भई त्यो बिल पास नगर्ने कुरा मिटिङमा भएकाले गोविन्द धेरै रिसाएका थिए ।

त्यसको एक दुई दिनपछि विद्येश्वर संस्कृत पाठशालामा हामी धेरै जम्मा भएका थियौँ । काका दैवज्ञ, थानेश्वरजी, काका शम्भु, कविराज र मसमेत थियौँ । विद्यालयमा टिफिन, जसलाई हाफ छुट्टी भनिन्थ्यो, को समय हुनुपर्छ, थानेश्वरजी हामीभन्दा सिनियर र चलाख हुनुहुन्थ्यो । हामी जम्मा भएको छेउमा राजा महेन्द्रको कागजको ठुलो फोटो झुन्ड्याइएको थियो । गपैफगफमा टेडेको आँखा पुफटाउनुपर्ने भन्दै गर्दा सलाईको काँटीले महेन्द्रको फोटोको नाकमा डढाउनु भयो । शिक्षक शम्भुकाका र हामी सबै हास्यौँ ।

काका दैवज्ञले छात्र सङ्घका अगाडिका कुराहरू सुनाउनु भयो । यसरी त्यो दिन बितेको थियो । पर्सिपल्ट म नुहाउन बिहानै रचनेको हिटी धारामा गएको थिएँ । आउँदा त घरमा पुलिस आएका रहेछन् । हजुरआमा निर्मलाले रुँदै भन्नुभयो– लौ पढ्न पठाएको छोरो जेल जाने काम पो गरेर आइछस् । म छक्क परेँ, केही गरेजस्तो नै लागेन । कसरी पुलिस आइपुगे मैले जवाफ दिन सकिन । मेरी दिदी बलदेवी र आमा पवित्रादेवीले एक शब्द केही नराम्रो भन्नु भएन, प्रहरीलाई भन्नुभयो– “हल्दार साहेव, यो केही जान्दैन, यसले अपराध पनि गरेको छैन, तपाईँको हाकिमलाई भनेर भोलि नै पठाइदिनू ल ।” प्रहरीले उहाँहरूलाई पहिले नै आश्वस्त गरिसकेको रहेछ । म र प्रहरीसमेत सँगै खाना खाएर घरबाट गोगनेको रमिते डाँडामा प्रहरीले मलाई लिएर आए । त्यहाँ दैवज्ञ, थानेश्वर, शम्भु, कविराजलाई पनि प्रहरीले लिएर आएका रहेछन् । ५ जना पुलिस र ५ जना हामी एकै ठाउँ भेला भयौँ । तत्कालीन प्रधानपञ्च काका पुरुषोत्तमले– यिनीहरूलाई म पठाउँदिन भन्नुभयो । तर काका दैवज्ञले त्यसो गर्नु हुँदैन, जानुपर्छ भन्नुभयो । सिभिल ड्रेसका प्रहरीसँग पहिलो अराष्ट्रिय तत्त्वको बिल्ला भिरेर हामी बाटा लाग्यौँ । हाम्रो संरक्षणका निमित्त काका देवराज सँगै आउनु भयो । ३ घन्टाको बाटामा रमाइला कुराहरू भए । बडो गफी प्रहरी ध्रुव पोखरेलले हामी सबैलाई हँसाउँदै भन्थे– छिटो लगे तपाइंहरू सबैलाई दुःख हुन्छ ढिलो गए सहज हुन्छ । सायद नातेदार पर्थे होलान् ।

ढिलो पुर्‍याउने र त्यो दिन बयान नगराउने योजना अनुसार ६ बजेतिर हामीलाई प्रहरी कार्यालयमा उपस्थित गराए । त्यसबेला प्रहरीका इन्चार्ज देवराज काकाका चिनजानका व्यक्ति थिए, त्यसैले खानामा चिउरा तरकारी र सुत्न केही लुगाको जोहो उनैले गरिदिए । सिरानी पुगेन र तुरुङ्गको लगायौँ र रात बितायौँ । बिहान चियासम्म हामी पाँचै जनाले एकै ठाउँमा खायौँ । ८ बजेतिर इन्स्पेक्टर महेन्द्रबहादुर राई आए र हामीलाई बयान लिन सुरु गरी हामीलाई छुट्टाछुट्टै राख्न प्रहरीलाई निर्देशन दिए । त्यसपछि चारै जनासँग मेरो भेट हुन सकेन । त्यसबेला म १५ र कविराज १४ वर्षका मात्र थियौँ ।

मेरो नाम, उजुरीको अन्तिममा रहेछ, त्यसैले ढिला बयान दिने पालो परेकोले राति ८ बजेतिर मात्र पालो आयो । इन्स्पेक्टर आपैँफले बयान गराउँदै थिए । मलाई सोधेको पहिलो प्रश्न “राजाको फोटो किन डढाइस् ?” दोस्रो प्रश्न “नवजवान साहित्य सङ्घ किन खोलेको ?” बल्ल मैले अपराध थाहा पाएँ । त्यतिखेरसम्म मलाई किन लगेको भन्ने नै थाहा थिएन । दैवज्ञ र थानेश्वरसँग फोटो डढाएको र शासन व्यवस्थाको विरोध गर्न हामीलाई उक्साउने काम गरेको जस्ता प्रश्न सोधिए । मैले यी सबै कुरा ठाडै इन्कार गरिदिएँ । त्यसपछि काँडे छडीको ५ छडी लगातार पिटाई खाएँ । मैले कसैप्रति पनि अपराध गरेको भनी स्वीकार गरिन । त्यसैले उनले त्यो रात मलाई तुरुङ्गमा राख्न आदेश गरी इन्स्पेक्टर हिँडे । त्यो रात भोकै त्यै चिसो भुइँमा बिताएँ । प्रहरीका अनुसार दैवज्ञ र थानेश्वर जेल गए । शम्भु र कविराजलाई घनप्रसादको जिम्मा लगाएको छ भन्ने सुनाए । काका घनप्रसाद बोलवाला हवल्दार हुनुहुन्थ्यो । सायद उहाँले चाहेको भए हामीले यो दुःख नपाउन पनि सक्थ्यौँ । किन हो उहाँले मलाई त के गरेको भनेर सम्म सोध्न आउनु भएन । अहिलेसम्म अचम्म लागेको छ ।

दिउँसो गोस्वारा र पुलिस अफिस गर्दै बिताइयो । राति भएपछि पेफरि हिजोकै प्रश्नसहित बयान सुरु गरियो प्रहरीमा । फोटोसँगै साहित्य सङ्घका कोषाध्यक्षको बिलको विषयसमेत उठाएपछि म अलिक झस्किएँ । किन काका घनप्रसादले मलाई भेट गर्नुभएन रहस्य नै रह्यो । पछि व्यारेकमा उजुरीकर्ताको नाम सुनेँ । त्यसबाट केही कुराहरू प्रस्ट भए । बयानका व्रफममा इन्स्पेक्टरले अलि बढी डर त्रास देखाए । मेरो डेरा र उनको क्वाटर नजिकै थियो । उनका प्रहरी पनि रात्रि हाईस्कूल पढ्ने र उनको क्वाटरमा जाने आउने हुँदा साधारण चिनचान थियो । त्यसैले उनको प्रश्नमा मैले अलिक अपेक्षित जवाफ दिइन । त्यसैले उनी मसँग साह्रै रिसाए । १, २ छडी लगाए र मलाई राति नै ब्यारेक पठाए । रात ब्यारेकमा बित्यो । बिहान ब्यारेकमा मकैको एउटा रोटी दिए । मलाई त्यो रोटी असाध्यै मीठो लाग्यो (सायद भोकले होला) । दिन बित्यो राति ब्यारेकमा बडाहाकिम आए । त्यहाँका ठुला हाकिमले ६, ७ जना अन्य थुनामा रहेका मानिसहरूलाई देखाएर के के कुरा गरे मैले बुझिन । त्यसपछि उनीहरूलाई पेफरि देखिन, सायद बेपत्ता बनाइए कि ? त्यसपछि बडाहाकिमले मलाई देखाएर भने “यो ओठ निचोर्दा दुध आउने बच्चालाई किन ल्याएको ?” त्यसपछि ब्यारेक प्रमुखले बडा हाकिमलाई ब्रिफिङ्ग गरे र राजा विरोधी अराष्ट्रिय तत्त्वमा लागेकाले ल्याएको भनी उजुरीकर्ताको नाम समेत सुनाए । त्यसपछि बडाहाकिमले मलाई नाम, गाउँ, काम सबै सोधे । मैले उनलाई गोगनेको न्यौपाने, रात्रि हाईस्कूलको विद्यार्थी भन्ने परिचय दिएँ । बडाहाकिमले ब्यारेकको हाकिमलाई भने– “यस्तो बच्चाले सत्ता पल्टाउन सक्छ ? यो जँुगाको रेखी नबसेको बच्चालाई यहाँ राख्नु हुन्न । म जाँदा लान्छु ।” मैले अब चाहिँ बाँचेको महसुस गरेँ । ती बडाहाकिम छिरिङ तेन्जिङ लामा थिए । भोलि वा पर्सिपल्ट उनी त्यहाँबाट सरुवा भएर हिँडे ।

त्यसपछि युगनाथ शर्मा आएको जस्तो लाग्छ । राति उनी मलाई सँगै लिएर क्वाटर आए । क्वाटरमा जुँगे हवल्दार थिए । जुँगाबापत मासिक भत्ता समेत पाउँथे । उसँगै मलाई सुताउनू भनेर बडाहाकिम आपूफ तलामाथि सुत्न गए । तर उसले मलाई घोडाको चिसो काँठीमा राख्ने प्रयास गर्‍यो । मैले त्यहाँ बस्न मानिन । गोस्वाराको सुब्बा पुण्यप्रसादले मलाई फकाएर दैवज्ञ लगायतकालाई फसाउन फोटो डढाएका समेतका प्रश्न लिएर आए र मलाई त्यस्तो कागजमा सहीछाप गराउन जोड गरे । मैले नमानेपछि हल्ला भयो र माथिबाट बडाहाकिम तल झरे । मैले उनलाई नदेखेको भुफटो कुराको कागजमा सही गरौँ कि नगरौँ भनी प्रश्न गरेँ । उनले भने नदेखेको नजानेको कुरामा जबरजस्ती सही गर्नु पर्दैन । यो गोगनेको न्यौपाने हो । यसलाई नजिस्याउनू भने । यसलाई अहिले बयान नगराउनू भोलि बिहान गराउनू भने । त्यसपछि गोगने र न्यौपानेको महत्त्व मलाई थाहा भयो । आज पनि गोगनेको न्यौपाने भन्नमा गर्व छ । त्यसपछि जुँगे हवल्दारले मलाई सँगै सुताए र रात बित्यो । त्यो रात अति नै चिसो थियो, जाडो भयो । त्यसबेला टेलरिङको कपडा निस्केको थियो । त्यसैको कमिज र सेतो सुरुवाल मात्र लगाएकाले जाडाको सिमै भएन । बिहान ७ बजे सुब्बा पुण्यप्रसादले बयान सुरु गरे, पेफरि बयान उही कुराको थियो । मैले सही गर्न मानिन । ४, ५ पटक कागज च्यातेपछि बडाहाकिमले तुरुन्त त्यो केटालाई म समक्ष ले, म त्यो मिसिल हेर्छु भने । सुब्बाले यसले त बयानै गर्न मानेन, भनेका मात्र थिए । उल्टै एउटा पुफच्चे केटालाई २ घण्टासम्म वयान गराउन नसक्ने नालायक भनी मिसिल हातमा लिई तँ जा, बयान गराउनु पर्दैन भनेपछि उनी हिँडे । त्यसपछि बडाहाकिमले मलाई हातमा समाएर सम्झाए– राम्रो पढ, राजनीति गर्ने बेला हैन यो, पछि म जस्तो ठुलो अफिसर हुनू, गोगनेका न्यौपानेको इज्जत राख्नू भन्ने अर्ती दिँदै मलाई तलसम्म ल्याएर छाडिदिए । आज पनि मलाई छिरिङप्रति श्रद्धा र स्नेह लाग्छ । पछि झापामा उनी अञ्चलाधीश हुँदा मेरो भेट भयो । उनी पनि काङ्ग्रेस रहेछन्, पूर्व इतिहास सबै सुनाए । त्यसबेला मालेको २०२८ को हत्याकाण्डको समय थियो । त्यो हत्याकाण्डका बेला म त्यहीँ भएकाले लामाले सबै चिनाए, धेरै माया पनि गरे ।

७५ दिन बितेछ । काका दैवज्ञ र थानेश्वर छुट्नुभयो । म पनि भेट्न गएँ । तर उहाँलाई त्यति खुलेको पाइन । भोलिपल्ट उहाँले मिसिल पढेपछि मप्रतिको भ्रम हटेछ र मलाई बोलाएर धन्यवाद दिँदै भन्नुभयो– परमेश, तिमी राम्रो राजनीति गर्न सक्छौ, कुरा पनि बुझदा रहेछौ । यो मिसिल हाम्रा लागि अविस्मरणीय रहनेछ र मूल्याङ्कनको प्रमाण पनि हो । अराष्ट्रिय तत्त्व नं. २८७ हो जस्तो लाग्छ । त्यो नै उहाँसँगको मेरो राजनैतिक यात्राको सुरुवात थियो । उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो । २०२९/०३० साल तिर म झापा बसाइँ जाँदा झापा नभएर अन्तै जाँदा राजनीतिमा राम्रो हुन्थ्यो । गल्ती गर्‍यौ भन्नुभयो । मेरा अर्का गुरु नारदमुनि थुलुङ्ग र दिवानसिंह राईले पनि झापा नजान सुझाउनुभयो । मलाई माया गर्ने मेरा हृदयका आदरका पात्र तथा राजनीतिका प्रथम गुरु काका दैवज्ञप्रति नतमस्तक भएर श्रद्धा समर्पण गर्छु ।

चन्द्रगढी, झापा