कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मेरा कथाहरूका पात्र : दैवज्ञ न्यौपाने

परशु प्रधान

मेरो शीर्षक पढेर तपाईँहरू छक्क पर्नु हुन्छ । किनभने बहुमुखी व्यक्तित्वका धनी, अत्यन्त प्रतिभाशाली, प्राध्यापक, नेपाली भाषाका अध्येता, सुप्रसिद्ध कवि र अझ न्यौपाने कुलका दीपक दैवज्ञ न्यौपाने कसरी परशु प्रधानका कथाहरूको पात्र हुन सक्छ ! तपाईँ यसरी सोच्नुहुन्छ । तर म अलि फरक किसिमले सोच्छु र जीवनलाई धेरै अर्थहरू दिन्छु । न्यौपानेका व्यक्तित्वका विविध पक्षहरूलाई, उहाँका धेरै विगतका घटना परिघटनाहरूलाई धेरै साथी–भाइले लेख्छन् — मलाई थाहा छ । तर मैले मानेका, आदर गरेका, सधैँ मित्रवत् सम्बन्ध रहेका दैवज्ञ न्यौपाने मेरा दुई कथाहरूका अनुभूति हुन् अथवा रचनागर्भ हुन् आज म खुलासा गर्न चाहन्छु ।

“यौटा क्रान्तिपुरुषको जन्म” शीर्षकमा मेरो कथा सङ्ग्रह साझा प्रकाशनबाट वि.सं.२०५० मा प्रकाशित भएको छ । त्यसमा यौटा क्रान्ति पुरुषको जन्म कोर्समा रहेकाले धेरै प्राध्यापक र विद्यार्थीहरूले पढाउँदै आउनु भएको छ । हुन सक्छ सो कथा स्वयं न्यौापनेजीले पनि पढाउनु भयो । तर उहाँलाई के थाहा – त्यस कथाको प्रेरणाको स्रोत नै आफैँ हुँ भन्ने कुरा ।

बीस कथाहरू र तिनको रचनागर्भ शीर्षकमा वि.सं.२०५७ मा वाणी प्रकाशन, विराटनगरबाट र वि.सं.२०६३ मा अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनबाट मेरा दुई संस्करण प्रकाशित भएका छन् । त्यसको रचनागर्भको एक खण्ड म यहाँ उल्लेख गर्छु ।

“मेरो मस्तिष्कमा कहीँ कतै निदाएको थियो – त्यो क्रान्तिपुरुष, त्यो स्वप्ननायक । अझ २०२१ सालतिर हाम्रा कवि र गीतकार दैवज्ञ न्यौपाने केही समय थुनामा परे । त्यसबेला उनी सायद काठमाडौँको महाविद्यालयमा पढ्थे र कुनै कामले आफ्नो घर भोजपुर, गोगने आएका थिए । पञ्चायतका अन्धभक्त र उनका शत्रुहरूलाई समय र मौका मिल्यो— दैवज्ञलाई पँफसाउने, थुनाउने र पतन गराउने । उनलाई सायद अ.त. (अराष्ट्रिय तत्त्व) को आरोप लागेको थियो र थुनामा राखिएको थियो । त्यसबेला म प्राइमरी स्कूलमा मास्टर थिएँ । उनलाई भेटेर केही पुस्तक दिएको थिएँ, सायद बिर्सिसकेका होलान् । मेरो त्यस कथाको एउटा पात्र दैवज्ञ न्यौपाने पनि हुन् । कथा लेख्ता त्यो पृष्ठभूमि मभित्र थियो, मेरो मानसिकतामा निदाएको त्यस घटनालाई केही अंशमा मैले बिउँझाएको थिएँ । तर मेरो यस रचनागर्भलाई उहाँले पढ्नु भएन अथवा पढेर पनि कहिल्यै चर्चा गर्नु भएन वा उहाँले आवश्यकता देख्नु भएन ।

मैले त्यस कथाको रचनागर्भको आखिरमा लेखेको रहेछु — “तर एउटा कुरामा म विश्वस्त छु, त्यो विश्वास के हो भने पञ्चायतको नराम्रो वा खराब पक्षको एउटा सानु फ्ल्यासब्याक भने यौटा क्रान्तिपुरुषको जन्म अवश्य हो । अब अर्को क्रान्तिपुरुष मैले लेख्नु पर्ने हो कि होइन ? मलाई थाहा छैन ।”

त्यो कथा र त्यसको रचनागर्भ तपाइँ पढ्नुहुन्छ, म विश्वास गर्छु – म विश्वास गर्दिन । अर्को कथामा पनि म दैवज्ञको जीवनबाट प्रेरित छु । सो कथा धेरै नेपालीहरूको बाध्यता वा विवशता भए पनि, त्यसको प्रतिनिधिमध्ये एक दैवज्ञ नै हुन् । त्यस कथाको रचनागर्भमा मैले लेखेका केही वाक्यांश यहाँ उद्धृत गर्छु – “यस कथाको रचनागर्भ लेख्ता, लेख्न वस्ता तीन जना मेरा प्रिय साथीहरूसँग सर्वप्रथम मैले क्षमा याचना गर्नुपर्छ । ती नेपाली भाषा र साहित्यका विशिष्ट व्यक्तिहरू हुन्, जसको परिचय वा चर्चा मैले गरिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन । फेरि साहित्यका विविध विधासँग ती सम्बन्धित छन्, आफ्नो र आफ्नो क्षेत्रमा नाम कमाएका छन्, अझ प्रतिष्ठित छन् । मेरो यस कथाका नायकहरू तिनै हुन् । तिनको विसङ्गतिको अनुभूतिले मैले टेबलमाथिको त्यस आकाशवाणी लेखेको हुँ । यसैले तिनको श्री गणेश पूजाबिना मेरो मुक्ति सम्भव छैन भन्ने कुरामा म विश्वस्त छु । ती हुन् समकालीन कवि एवं गीतकार................(पुस्तकमा यो ठाउँ खाली छ र आज प्रष्ट भन्छु – त्यो ठाउँ हाम्रा कवि दैवज्ञ न्यौपाने हुन्) कथाकार एवं उपन्यासकार .......र समालोचक तथा कवि.......। ती खालीठाउँहरू पाठकले भर्नु होला ।”

तर ती पाठकहरूले यस खाली ठाउँलाई अहिलेसम्म भरेका छैनन् । मैले यौटा खाली नाम आज भर्ने साहस गरेँ । तर अन्य नामहरू आज पनि खाली नै राख्छु । यसमा भर्नुपर्ने नामहरू हाल पहिलेभन्दा बढी स्वनामधन्य भएका छन् र ती साठी वर्ष नाघिसकेका छन् । त्यस कथाको संक्षेपीकरण भने यस्तो छ — “एक दिन झोलामा सेलरोटी र तारेको आलु बोकेर त्यो मेरो नायक (Hero) तराईतिर झर्छ अथवा कठमाडौँ पुग्छ । मेरो नायक संघर्ष गर्दै पढ्छ । राम्रो डिग्री हासिल गर्छ र जागिर पनि खान्छ । जागिरसँगै सहरका थुप्रै गुलाफ र चमेलीहरूको चक्रव्यूहमा त्यो फस्छ । मेरो नायकलाई घरका आमाबाको धमिलो सम्झना आउँछ अनि गुराँस पनि छे, उसलाई पर्खिरहिछ्े, भन्ने कुरा उसले सपना जस्तै भुलिदिन्छ । अनि कुनै दिन आकाशवाणीलाई धुजा धुजा पारी मेरो नायकले च्यात्छ र रोइरहन्छ, खालि रोइरहन्छ ।”

यस कथाको थप कथा यस्तो छ । मोती निसानी र श्रीधर लोहनी जस्ता ख्यातिप्राप्त विद्वान्हरूको आँखामा यो सानु कथा परेछ । उहाँहरूले अंग्रेजी Adventures in English पुस्तकमा यस कथालाई The telegram on the Table शीर्षकमा राख्नु भएछ । जुन पुस्तक बी.ए.मा पढ्नु पर्छ भने सन् १९९६ पछि यो पुस्तक धेरै पटक छापिइसकेको छ, अर्थात् लाखौँ प्रति । तर नाम र प्रतिष्ठा पाए पनि यस कथाको पारिश्रमिकको नाममा मैले चुनदाम पाएको छैन ।

अर्को यौटा कथाको नायक र परिवार पनि दैवज्ञ न्यौपानेकै हो । त्यस कथाको शीर्षक जिन्दगी : दुःखान्त भाग हो, जुन कथा यौटा क्रान्तिपुरुषको जन्ममा सङ्कलित छ । यसको विस्तृत रचनागर्भ वा विवरण हाल लेख्तिन । तर म अनुरोध गर्छु — त्यो कथा यहाँहरूले एक पटक अवश्य पढ्नुहोस् । मलाई विश्वास छ, अविश्वास पनि छ ।

एक पटक प्रा.न्यौपानेका जायापिता डा.शिवप्रसाद पोख्रेलले आफ्ना ज्वाइँलाई काठमाडौँमा आवश्यक सहयोग मिल्छ भेट्नू भनी कुनै व्यक्तिलाई पठाउनु भएको रहेछ । पहाडबाट काठमाडौँमा आई नचिनेको र नदेखेको व्यक्तिलाई भेट्न कठिन हुने सम्झी ती व्यक्तिले मैले ज्वाइँलाई कसरी चिन्ने ? भनी सोद्धा प्रा.न्यौपानेका जायापिताले ज्वाइँको परिचय यसरी दिनुभएको थिायो रे झ् अग्लो, गोरो, अति राम्रो, मिलेको अनुहार भएको, मिठो बोल्ने र सहयोगी भावना भएको, देख्दै आर्कषक र सधैँ आँखामै राखूँजस्तो व्यक्ति नै मेरा ज्वाइँ हुनुहुन्छ । ल यसरी नै चिन्नू ।

प्रा.डा.गोविन्दप्रसाद आचार्य