कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

भाइ दैवज्ञराजको सम्झनामा

पुरुषोत्तम न्यौपाने

भाइ दैवज्ञराज न्यौपाने वंशका उदारशील सुशिक्षित परिवारमा जन्मिएका एउटा होनहार व्यक्तित्व थिए । हुने बिरुवाका चिल्ला पात भनेजस्तै उनी सानै उमेरदेखि असल स्वभावका देखिँदा उनको रूप, गुण, शीलको सबैले प्रशंसा गर्दथे । उनका पितामह छविलाल पाध्या कहलिएका पण्डित हुनुहुन्थ्यो । पिताजी पं.गणेश पनि सज्जनमा नामुद आदरणीय व्यक्तित्व हुनुका साथै ज्योतिषशास्त्रविद् हुनुहुन्थ्यो । उहाँहरूको परिवार, कोही कसैसँग कस्तै परेपनि झैझगडा नगर्ने अतिशय मिलनसार, सहनशील, सदाशयतामा गनिएका बन्धुबान्धवहरूले मानिएको थियो । उहाँहरू बाजेका पालादेखि गोगनेको छुट्टै गाउँ धाइपा आर्जन गरी बसोबास गर्ने हुँदा हामी सबै उहाँहरूलाई धाइपाली भाइ भन्ने गर्दथ्यौँ । त्यो परिवारसँग आजसम्म कोही पनि चिढिएको सुन्नमा आएको छैन ।

हाम्रो परिवारमा उहाँहरूको ज्यादै घनिष्ठता थियो । हाम्रा बाबु दाजुहरूलाई पण्डित बाबुहरू अतिशय आदर र प्रेम गर्ने गर्नुहुन्थ्यो । हाम्रो परिवारबाट पनि उत्तिकै आदर र प्रेम गरिन्थ्यो । त्यसै प्रेमको फलस्वरूप मेरा दाज्यू चन्द्रविनोद, गोपाल र गणेश दुईलाई लघुकौमुदी पढाउने पहिला गुरु पनि पण्डित गणेश बाबु नै हुनुहुन्थ्यो । त्यसैले मलाई पनि रहरले गुरुकुलजस्तै आस्था लागेर भाइ दैवज्ञसँग खेलवाड गर्न जाने आउने गर्दा हाम्रो आत्मीय ऐक्यभाव बन्यो । तर मेरो अध्ययन चाहिँ त्यस समयमा अन्यत्र नै थियो । पहिले मैले दाजु पण्डित खगेश्वर न्यौपानेसँग लघुकौमुदी आरम्भ गरी केही समय उहाँसँग नै पठनपाठन गरी पछि गुरु पं.जयदेव अधिकारीसमक्ष स्थानीय गोगनेको विद्येश्वर संस्कृत पाठशालामा गएर गुरुका मुखारविन्दबाट समग्र मध्यकौमुदी समापन गरेको थिएँ । परिस्थितिवश नियतिले साथ नदिँदा त्यहाँभन्दा मेरो अध्ययन अघि बढ्न सकेन । पिताजीको २०१० सालमा स्वर्गवास भयो । दाजुहरू पनि छुट्टिनुभयो । म १८–१९ वर्षको कलिलो उमेरमा नै घर व्यवहारको बन्धनमा परेको हुँदा मैले उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपर्‍यो । भाइ दैवज्ञ चाहिँ आफ्नै घरमा पिताजीसँग लघुकौमुदी पढी पछि स्थानीय गोगनेको विद्येश्वर संस्कृत पाठशालामा गुरु जयदेवसँग पढ्न आउँदा मेरो अध्ययन टुटिसकेको थियो । तर पनि हामी ज्यादै प्रेममा आबद्ध भएका हुँदा आउने जाने पठन पाठनमा सोधपुछ र आदर प्रेम गर्ने प्रक्रिया निरन्तर थियो ।

भाइ दैवज्ञ गुरु जयदेव अधिकारीसमक्ष मध्यकौमुदी पढ्न आउँदाको समयमा सो पाठशाला सञ्चालक समितिको अध्यक्ष पदमा म थिएँ । त्यहाँ एउटा पुस्तकालय स्थापना गर्नेमा हामीले सोच बनायौँ । त्यसमा उत्सुकतापूर्वक साथ दिनेमा तत्कालीन विद्यार्थी राजेन्द्र विरही, हरि दाहाल, हिरण्यकुमार न्यौपाने–अमले, कविराज न्यौपाने, थानेश्वर खतिवडा आदि धेरै विद्यार्थीहरूको पनि सहयोग थियो । पुस्तकालयको नाम प्रकाश पुस्तकालय राखियो । मेरो अध्यक्षतामा गठन भएको कार्यसमितिमा भाइ दैवज्ञ सचिव र कोषाध्यक्षमा राजेन्द्र विरही र सदस्यहरूमा हिरण्यकुमार न्यौपाने, थानेश्वर खतिवडा, कविराज न्यौपानेसमेत गरी १३ जना भएको पुस्तकालय सञ्चालक समिति गठन गरी पुस्तकालयको स्थापना गरियो । पुस्तकालय सञ्चालनका लागि मेरा घरमा भएका बाबुबाजेका पालादेखि सङ्कलित धेरै अप्राप्य पुस्तकहरू पुस्तकालयमा समर्पण गरेको थिएँ । भाइ दैवज्ञले पनि धेरै महत्त्वपूर्ण पुस्तकहरू पुस्तकालयमा अर्पण गरेका थिए । अरू गाउँघरमा भएका पुस्तकहरू पनि सङ्कलित गरी भव्य रूपमा पुस्तकालय सञ्चालन गर्ने सोचमा हामी थियौँ । केही समय पश्चात् केही उल्क्याहा तत्त्वहरू को कसले हो पुस्तकालयको ढोका तोडी पुस्तकालयभित्र सुसज्जित महत्त्वपूर्ण पुस्तकहरू चोरी चोराई लगेछन् । धेरैजसो किताप शिवालयको जङ्गल परिसरमा फालिएका भेट्टाइए र गुरु जयदेवका घरमा लगेर राखियो । त्यस घटनाले हामी सबैलाई अत्यन्त मर्माहत तुल्यायो । पछि दैवज्ञ पनि त्यहाँको पढाइ सकी उच्च शिक्षा हासिल गर्न अन्यत्रै गए । म पनि राजनीतिक पार्टी वा विचारधारामा रङ्गिएर अन्यत्रै व्यस्त भएँ । त्यो पुस्तकालय सफल हुन सकेन, अधुरो नै रह्यो ।

त्यो गगनचुम्बी ट्याम्केको फेदीमा अवस्थित गोगने गाउँमा भाइ दैवज्ञसँगको अगाध माया र ममताले भरिएको बाल्य जीवन कालमा ती गोगने गाउँका रमाइला वन जङ्गल, भिर पाखा पखेरामा समय समयमा फल्ने ऐसेलु, काफल, जामुन, किम्बु, दुरा, काफल, ओखर टिपी खान जाने हौसलाको अभियानमा बडो आमोद प्रमोदका साथ क्रीडा गर्दै सहयात्रा गरेको भरपूर फलपूफल खाई, जुहारी खेल्दै लुकामारी गरेको, त्यसैगरी ती रमणीय डाँडा, देवाली डाँडा, मड्किने डाँडा, अमले डाँडा, खान्टाङ डाँडा, ट्याम्के, भोजपुरे डाँडा र खेतीजन्य सिरिसे, भुङ्राले, ओडारे, चौतारे, रातमाटे, काउले, बिरौटा बिसमुरे, नाग थान, पँधेरे, खान्टाङको बायु थान, भोजपुरे, लप्से, लपसीबोटे, रचने, भिर्नागी, भोर्नागी, गौचर, भदौरे, चाँचर,े सुर्के, काफलनागी, डाङ्डुगे, आरुबोटे, जौनागी, कात्तिके अनि गोगनेको मनोरम देवस्थल शिवालय मन्दिरको विद्येश्वर संस्कृत पाठशाला र धाइपाको देवस्थल (देवी थान), आदिको दृश्यावलोकन गर्दै तत् तत् अवस्थामा भविष्यमा के कस्तो आवश्यक पूर्वाधार बनाई भौतिक संरचना गर्न सकिन्छ जस्ता महत्त्वपूर्ण सोचले भरिएका विचारहरू राखी उनीसँग गरेको सहयात्राको त्यो क्षण कहिल्यै पनि बिर्सिनसक्ने हुँदा मेरो सम्झनामा त्यो झलझली आइरहन्छ ।

भाइ दैवज्ञ र हाम्रा साझा पुर्खाको पुर्ख्यौली थलो पश्चिम नेपाल हो, तापनि नेपालको पूर्वी भाग भोजपुरको बोखिम बिर्तामा उदयमान कीर्ति स्थापित गरी न्यौपाने वंशमा सुप्रसिद्ध कहलिएका व्यक्तित्व नारायण पाध्याका सन्ततिमा महिपति पाध्या र त्रिलोलन पाध्या थिए । जेठा महिपतिका सन्ततिमा म र त्रिलोचनका सन्ततिमा दैवज्ञराज भएका हुन् । बोखिम बिर्तामा पूर्व प्रवेश गर्ने पुर्खाहरूमा गंगाधरका छोरा विशु पाध्या थिए । उनका बाबु वाजेहरूले महिपति सेन राजाका पालामा बिर्ता पाएको भन्ने प्राचीन अभिलेखहरूमा देखिन्छ । महिपति सेनको राज्यकाल कहिले थियो भन्ने प्रमाणमा इतिहास संशोधन मण्डलका धनबज्र बज्राचार्यद्वारा लिखित नेपाल परिचय नामक पुस्तकको लेख अनुसार १७४८ थियो भन्ने प्रमाणले पुष्टि गरेको छ । यिनीहरूले बोखिम बिर्तामा बस्दा सदावर्त चलाई बसेका धेरै पुराना अभिलेखहरू अभैफ पाइन्छन् । अहिले यसै कीर्तिबाट गोगनेका न्यौपानेहरूलाई सदावर्त चलाउनेका सन्तान भनेर चिनाइन्छ । यो सदावर्त चलाउनेमा नारायणका छोरा महिपति पाध्या र त्रिलोचन पाध्या त्यस समयमा कहलिएका मानिन्छन् । यिनीहरू ज्यादै उदार र मनस्वी, हितकारी एवं परोपकारी, दानशील थिए भनेर अघि अघिका पुराना कविहरूले कवितामा गुण गाथाको वर्णन गरेका धेरै श्लोकमध्ये मैले सुने जानेको एउटा श्लोक यस्तो छ ः–

न्यौपाने कुलमा अतीशय वडा पुर्खाजि नारान उनै
उन्का पुत्र महीपति र त्रिलोचन कम्ता थिएनन् कुनै ।

यो कविताका अन्य श्लोकहरूमा सदावर्त चलाएको सुकीर्तिको प्रशंसा गरिएको छ । ती जान्ने बुढा पुरानाहरू सबै मरिसकेका छन् । त्यो अठारौँ शताब्दीमा बाबुकै पालादेखि चलाइआएको सदावर्तको धारा अटूट कायम राखी समाज सेवामा समर्पित भै असहाय, असमर्थ, दुःखीहरूलाई राहतको व्यवस्था गरिदिने र आए गएका अभ्यागत अतिथि जो जति सुकैलाई पनि यथेष्ट खुवाउने पियाउने योगदानमा उदयमान कीर्ति स्थापित गरी सुप्रसिद्ध कहलिएका थिए । त्यस्तो जोखिमपूर्ण निस्वार्थ सेवाको परम्परा सदावर्त चलाउनेमा कोही नेपाली थिए भने त्यो यही वंशका पूर्वज न्यौपाने नै थिए भन्नेमा कुनै अत्युक्ति हुने छैन । यो दानशील उदारताको वर्णन एक अर्का सुप्रसिद्ध विद्वान् काव्यकार कवि पण्डितवर लक्ष्मीप्रसाद पोख्रेलले पनि आफ्नो कवितामा व्यक्त गर्नु भएको छ ः–

उस समय त साँगापूर्वमा कोहि त्यस्तो
उदित हुन गएनन् धीर कौण्डिन्य जस्तो
महिपति र त्रिलोचन् एउटै दाजुभाइ
युगलसँग हुँदैको हो सदावर्त चाहिँ
छलकपट हुनाले हारियो न्याय पस्ता
कर हठसँग छोडे हाय बोखीम बिर्ता ।

त्यसरी कीर्ति स्थापित गरी बसोबास गरी आएको जग्गा द्रव्यभूमिहरूमा पोलाहाहरूले मुद्दा मामिला चलाई कार्वाही हुँदै जाँदा १८८२ सालमा अन्तिम निर्णय गराई आपूफलाई हराएको चोटमा त्यस ठाउँबाट आपूफ वञ्चित भएको महसुस गरी अघि नै आपूफले प्राप्त गरेका १८६६ सालको स्याबुङ बिर्ता, १८६९ मा नै प्राप्त गरेका वाना बिर्ता, १८७४ को दाँवा बिर्ता, १८७७ श्रावण सुदी ५ सिंह सक्रान्तिका दिन राजेन्द्र विव्रफम शाहबाट पाएको गोगने बिर्ताहरूको सम्झनामा आफ्नो बासउठ्ठा नभएको सम्झी मनलाई शान्त गराई चित्त बुझाई बस्न जाने क्रममा ती अन्यत्र भएका बिर्ता जग्गाभन्दा अहिले गोगने गाउँको बिर्ता जग्गामा जाने नै उपयुक्त ठानी १८८२ सालमा नै बोखीम बिर्तालाई चटक्क छाडी आफ्ना दाजु महिपति र निजका जेठा छोरा तुलसीराम पाध्या पनि स्वर्गवासी भैसकेका हुँदा तुलसीपुत्र टुहुरा नाति श्यामलाल, तारानाथ र जीवित भतिजाहरूलाई रोजाई आधा डाँडा फ्याक गरी अंश दिई यो वंशको विस्तार गराई आपूफ पनि स्वदेह त्यागी स्वर्गवासी भए । उनका छोरा बलभद्रको दुई विवाह भएको हुँदा कान्छी विवाहिता पत्नी मधेश सप्तरी वैरवा निवासी पण्डित उदयानन्द अर्यालकी सुपुत्री चन्द्रवदना हुँदा उनीबाट जन्मेका श्रीकान्त पाध्या हुन् र उनका पुत्र पं.छविलाल पाध्याबाट जन्मेका ज्येष्ठ पुत्र पं. गणेशप्रसाद, निजको पनि दुई विवाह भएको हुँदा कान्छीपट्टिका जेष्ठ पुत्रको रूपमा ९९ सालमा जन्मेका सुप्रसिद्ध वंश विभूतिहरूमा चिनिने साहित्यस्रष्टा दैवज्ञराज न्यौपाने भए । उनी विद्यार्थी जीवन कालदेखि नै साहित्यमा बढी अभिरुचि राख्ने साहित्यसेवी हँुदा फलस्वरूप साहित्यिक जगत्मा अमरत्व कायम गर्ने एउटा साहित्यकार बन्न पुगे ।

भाइ दैवज्ञको स्थायी बसोबास काठमाडौंमा नै बनिसकेको थियो । म पनि कहिले काँही विराटनगरबाट काठमाडौं जाँदा भेटमा उनी मलाई अन्यत्र बस्न जान दिन मान्दैनथे । म एकपटक उनी स्वस्थ भएकै बेला नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको अधिवेशनमा गएको थिएँ । त्यसै समयमा उनलाई पक्षाघात भई टिचिङ अस्पतालमा उपचारार्थ लगेको समाचार भतिज अर्जुन न्यौपानेले सुनाए, म घरतर्पफ फर्कनेमा थिएँ । मैले त्यो समयमा उनीलाई भेट गर्न सकिन । त्यो मेरो अपसोचको विषय भयो । पछि उनी उपचारबाट घर ल्याइँदा स्वस्थ बन्न सकेनछन् । मलाई उनी बिरामी हुँदा भेट गर्न नसकेकोमा ठुलो पछुतो लागेको थियो । पछि पेफरि उनीलाई हेर्न भेट गर्न काठमाडौं गएको थिएँ । गैरीगाउँको घरमा पक्षाघातले पीडित रुग्णावस्थामा रहेको मैले देखेँ । हामी दुवैको भेटमा दुवैका आँखाबाट आँसुका बलिन्द्र धारा बहे । भावपूर्ण मुद्रामा हामी स्तम्भित भयौँ । कण्ठ अवरुद्ध भयो, परस्पर भित्री दिलमा गाँठो परेर बोलचाल हुन सकेन । दैवज्ञले मलाई देखेर अस्पष्ट रुलाइको वाणीमा व्यक्त गरेको भाषा मैले बुझन सकिन । श्रीमती सुधा त्यहाँ नजिकमा थिइन्, उनीले मलाई बुझाइदिइन् । उहाँ बोल्न सक्नुहुन्न भनेर । म त्यहाँ १–२ घण्टा जति दुःखेसो पोखेर बसेँ । बिदा हुने बेलामा भाइ दैवज्ञ धेरै पीर मानेर रोए । मैले धेरै सान्त्वना दिएँ । आखिर म पनि अधैर्य बनी बडो दुःखका साथ त्यहाँबाट बिदा मागेर घर फर्केँ । केही समय पछाडि भतिज कोषराज न्यौपानेले मलाई विराटनगर आउँदा दैवज्ञको बारेमा आरोग्यकामनामा कोक गोष्ठी गर्ने भएका छौँ । तपाईँले पनि कवितामा आरोग्य कामनामा केही भावपूर्ण अभिव्यक्ति दिनु पर्छ भनेको हुँदा मैले दिलचस्पीका साथ भाइ दैवज्ञलाई शुभकामना भनी ५–६ पद्य श्लोकमा गोगने गाउँमा भएको दैवज्ञसँगको प्रेमको यथार्थ चित्रण गरी लेखी पठाइदिएको थिएँ । त्यो प्रकाशित दैवज्ञ पद्यध्वनि नाम भएको कविता लेख भाइ दैवज्ञलाई सुनाइ दिएछन्, त्यो लेखको खुसीसाथ प्रशंसा भएको खबर मैले सुन्न पाएँ । मलाई पनि सन्तोष भयो । उनलाई नेपालका राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सम्मान गरेको प्रमाणपत्र र अन्य धेरै प्रमाणपत्र त्यसदिनको भेटमा श्रीमती सुधाले सबै देखाएकी थिइन् र पनि मेरो दिलमा त्यो भाइको कष्टसाध्य पीडाको अवस्थाले नै चिन्तित बनाएको थियो । तर आज मलाई हाम्रो वंशमा राष्ट्रिय छविमा कीर्ति स्थापित गर्ने व्यक्तित्व सम्भँफदा गौरवको अनुभूति हुन्छ । निर्दयी विधाताले हामीसँगबाट हाम्रा प्रियतम भाइ दैवज्ञलाई छुटाईदियो । हामीले जस्तोसुकै विपत्ति आइपरे पनि धैर्यशील बनी यो विधिको विडम्बनालाई स्विकार्न बाध्य हुनुपरेको छ ।

अब हाम्रा वंशका होनहार व्यक्तित्व भाइ दैवज्ञराज न्यौपानेको भौतिक शरीर आज हाम्रो साथमा छैन । उनले हामीलाई छोडेर धेरै माया ममता लगाएर परमपद प्राप्त गरिसकेका छन् । केवल उनले छाडेर गएका कृतिहरू मात्र यहाँ रहेका छन् । हामीले उनलाई केही पनि दिन सकेनौँ । अब हामीले दिने त्यस्ता अमूल्य वस्तु कोसेली पनि केही छैनन्, छन् भने हामीसँग भावपूर्ण श्रद्धाका शब्दसुमनका थुङ्गाहरू मात्र छन् । तसर्थ यिनै आस्था र विश्वासका साथ भाइ दैवज्ञराजको चिर सम्झनामा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनीसँग भएको अतीतको स्नेह सम्झनाको यो सानो स्मृति लेखलाई यहीँ विश्राम गर्न चाहन्छु । अस्तु ।

टंकी सिनवारी–२, विराटनगर