स कथाशेषतां यात
१७ डिसेम्बर २०११ का दिन सबेरै कम्प्युटर खोलेँ । अरू थोक पत्ता लगाउन मैले जानेको थिइन । समाचार पत्रहरू पढ्न चाहिने प्रक्रिया मात्रै छोराछोरीसँग सिकेको थिएँ । सधैँझैँ त्यस दिन समाचार पढ्ने सन्दर्भमा नेपालका समाचारपत्र हेर्न थालेँ । पहिले नै आँखा परे नेपाली साहित्य जगत्का स्वनामधन्य कवि दैवज्ञराज न्यौपानेको निधनको खवरमा । दैवज्ञराजजी त्रिभुवन विश्वविद्यालयका कुशल प्राध्यापक हुनुका अतिरिक्त अग्रणी साहित्यिक व्यक्तित्व पनि हुनुहुन्थ्यो ।
दैवज्ञजीसँग मेरो सम्बन्धको चर्चा कताबाट सुरु गरौँ – मलाई अप्ठ्यारो परेको छ । साह्रै नजिक हुँदा पनि सबै घटना सामान्यजस्ता भइसकेका हुन्छन्– आफ्ना आँखा आपैँफले देख्न नसकेको जस्तो । मेरो बाल्यकाल नभनौं– विद्यार्थी जीवनको मध्यकाल अर्थात् हाईस्कुलको पढाइ सकेर महाविद्यालयमा भर्ना हुने बेलादेखि हाम्रो भेटाघाटा भएको हो । मेरो पढाइ कम, नेतागिरी ज्यादा भएको बेला थियो त्यो । त्यतिबेला साथीहरूको भनाइ मान्ने हो भने म निकै चर्चित विद्यार्थी नेता भइसकेको थिएँ रे । काठमाडौंदेखि बाहिरी जिल्लाबाट काठमाडौँं आउने साथीहरूलाई आफ्नो पक्षमा पार्न केन्द्रमा बसेका नेताहरू भरमग्दुर प्रयत्न गर्थे । त्यसमध्येको म पनि थिएँ । हामी तीनधारा संस्कृत छात्रावासमा भर्ना भइसकेका थियौं । पूर्व ४ नं. भोजपुर गोगनेका न्यौपाने दाङको छात्र भएर तीनधारा संस्कृत छात्रावासमा आए भन्दा मलाई अनौठो लाग्यो । त्यतिखेर दाङ देउखुरी मेरा लागि उल्टो लाग्थ्यो । वि.सं. २०१३ सालतिर संस्कृत छात्रसङ्घको सम्मेलनमा सहभागी हुन म त्यहाँ पुगेको थिएँ र त्यही सम्मेलनपछि म संस्कृत छात्रसङ्घको सचिव भएको थिएँ । त्यहाँ पुगेर माखुर (सिगरेट, तमाखु), गट्ठी (साथी), घुइया (पिँडालु) जस्ता केही शब्द लिएर आएको थिएँ । ओखलढुङ्गे मेरा लागि त्यस बेला यातायातको सुविधा नभएको दाङ कताकताको कुनो थियो । मभन्दा पनि धेरै पूर्व भोजपुर गोगनेका दैवज्ञ न्यौपाने दाङतिरबाट संस्कृत छात्रावासमा आइसकेकाले उहाँसँग मेरो घनिष्ठता भइसकेको थियो । हामी त्यतिबेला यौटै कोठामा बस्थ्यौंँ । विष्णु कुसमसँग दैवज्ञजीको बालकै कालदेखिको घनिष्ठता रहेछ र उहाँहरूका बीचको घनिष्ठताले मसँग पनि घनिष्ठता बन्न पुग्यो । दैवज्ञजीसँग भेट भएका दिनदेखि जीवनपर्यन्त एकनासको घनिष्ठता रह्यो । कहिल्यै तलमाथि पर्न गएन । हाम्रा प्रजातान्त्रिक विद्यार्थी समूहभित्र कहिले काहीं कार्य पद्धतिलाई लिएर केही साथीहरूका माझ अनमन हुन्थ्यो, त्यस जटिल क्षणमा पनि दैवज्ञजीले मलाई साथ दिनुभयो ।
वि.सं. २०६८ साल पुष २ गते दैवज्ञको इहलीला समाप्त भयो । त्यतिबेला म संयुक्त राज्य अमेरिकाको साल्टलेक सिटीमा थिएँ । उहाँ ज्यँूदो छउञ्जेल हाम्राबीचमा तँ तँ चल्यो । देहान्तपछि उहाँ र दैवज्ञजी लेख्न थालेँ । उहाँ देवत्वमा पुग्नुभयो । म मानिसै छु । उहाँ स्वर्गीय हुनुभयो, म मर्त्यमै छु । दैवज्ञ र पीताम्बरका मैत्री, दोस्तानी र सुख दुःखका घटना मेरा जीवनीका रिमरिमे सम्झनामा लेखिनेछन् । वि.सं. २०१७ साल पुष १ गते १२ बजेदेखि नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था समाप्त पारियो । त्यस बखत प्रजातन्त्रवादी भएर बाँच्न सक्नु अत्यन्तै कष्टसाध्य अथवा तपःसाध्य थियो । त्यसबेला पनि विद्यार्थी जगत् प्रजातान्त्रिक धारमा अविचल थियो । जान अनजानमा भन्नुपर्यो मैले अगुवा हुनु परेको थियो । २ वर्ष ७ महिना लगातार कारावासपछि २०२० सालको एस.एल.सी. सप्लिमेन्ट्री परीक्षा दिन पाऊँ भनी निवेदन गरेँ । म २०२० भाद्र महिनाको अन्त्यतिर अनुनयविनयपछि मैले जेलबाट बाहिर निस्किन त पाएँ, तर उपत्यका नजरबन्दको रूपमा । त्यही बेलादेखि दैवज्ञजीसँग सम्पर्क भएको थियो ।
राजकीय संस्कृत महाविद्यालय (हालको संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ) मा सँगै पढ्न लाग्यौं । मलाई उपत्यकाबाट बाहिर जान नपाउने सरकारी आज्ञा यथावत् थियो । कुनै साथीहरूको बिहेको बरियाँतीमा जान पनि निषेधै थियो । एकपटक मेरा बालसखा श्रीराम पौडेल (पछि नेपाल सरकारको सचिव) को बिहेमा गएँ । तर त्यो बिहे उपत्यका बाहिर थिएन । सीतापाइला र नैकापको बीचजस्तो लाग्छ, त्यतैको कुनै गाउँ हो । त्यतिबेलाका काठमाडौंका मजिस्ट्रेट बलराम प्याकुर्यालले बयान लिए– नसोधी किन जन्ती गएको भनेर । अब आफ्ना साथीभाइको काँठतिर भएको बिहामा जान पनि म हच्किएँ । त्यसबेला मेरा साथी दैवज्ञजी र विष्णुराज कुसम, सुवेदीले साहस दिनुभयो । मेरा प्यारा साथी मधुसूदन रिसाल (सैंवु भैंसेपाटी, जो पछि नेपालको स्वनामधन्य विद्वान् प्राध्यापक हुनुभयो) का भाइ हुनाले घरायसी सम्बन्धले मेरापनि प्यारा भाइ भएका, भरतमणि रिसालको बिहेमा जानेकुरा भयो । त्यो पनि टाढा त थिएन, तापनि बिहा व्रतबन्ध आदि मानिसको ठुलो जमघट हुने ठाउँमा जान मलाई निषेध गरिएको हुनाले, जाने मन हुँदाहुँदै पनि नजाने पक्षमा पुगेँ । तर दैवज्ञजी लगायतका साथीहरूले मजिस्टे्रटको अफिसमा प्रतिनिधि मण्डलको रूपमा गएर अनुमति प्राप्त गराएर मलाई पनि भरतमणि भाइको बिहेमा लगे । यो कुरा जीवन रहेसम्म म कसरी भुल्न सक्छु र ?
दाङको तुलसीपुरमा बृहद् आध्यात्मिक सम्मेलनको आयोजन गरियो । आयोजक “बृहद् आध्यात्मिक परिषद्” थियो तापनि पूर्णरूपले योगी नरहरि नाथजीकै सक्रियतामा भएको थियो भन्ने त्यतिखेरका सबै शिक्षित बुद्धिजीवीलाई थाहा थियो । त्यस सम्मेलनमा संस्कृत महाविद्यालयका छात्र–छात्राहरूले ठुलो सङ्ख्यामा सहभागी हुने अवसर पाए । त्यस सम्मेलनको उद्घाटन त्यतिखेरका राजा महेन्द्रले गर्ने कार्यक्रम थियो ।
मलाई त्यस्ता आध्यात्मिक होस् कि भौतिक, बृहत् होस् कि सूक्ष्म को कुनै मतलव थिएन । त्यसमा पनि राजाले उद्घाटन गर्ने कार्यक्रममा उपस्थित हुनु भनेको उसको सम्मान गर्नु हो । जसले निर्दोष जनता र जनताका प्रतिनिधिलाई जेलमा यातना दिएर निरङ्कुश ईश्वर भनिएर शासन गर्दैछ, त्यसलाई सम्मान गर्ने भन्ने कुरै आउँदैन भन्ने उग्र विचार लिएर बसेको थिएँ । दैवज्ञ र विष्णुराजले गजवको सल्लाह दिए । उपत्यकामा नजरबन्दी र औपचारिक भेलाहरूमा जान नपाउने सरकारी आदेशलाई हटाउने यो सुवर्ण अवसर हो, योगी नरहरि नाथजीसँग कुरा मिलाएर दाङमा हुने त्यस सम्मेलनमा जाने र आफ्ना साथीलाई भेट्ने । नेपाली साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित “शिलान्यास” नाटक प्रदर्शन गर्ने कार्यव्रफम पनि छ, त्यसमा पनि हामी खेल्छौंँ भनेर उहाँहरूले योगीजीसँग कुरो मिलाएर दाङ जान सक्ने वातावरण बनाउनुभयो र मलाई पनि “कन्भिन्स” गर्नुभयो । सम्मेलनको उद्देश्य अथवा विषयसँग मलाई कुनै मतलव थिएन । मलाई बाहिर जान पाउने भएँ भन्ने मात्र मतलव थियो । योगीजीले प्लेनबाट दाङ जाऊँ, मसँगै जान्छु भन्नुभयो । अब २९ जनाको डफ्फामा म पनि सामेल भएँ । दैवज्ञजी, विष्णुजी, खिलानाथ ढुङ्गेलजी, चिरञ्जीवी वाग्ले आदि शिलान्यास नाटकका पात्र बने । त्यसमा पहिलेदेखि नै अभ्यास गरेका हुनाले होला त्यो नाटक प्रदर्शनको खूव प्रशंसा भयो र सफल भयो । दैवज्ञजी द्रव्य शाह बन्नुभयो । चिरञ्जीवी वाग्लेको अभिनयको पनि पछिसम्म प्रशंसात्मक चर्चा हुँदै थियो । त्यस बृहद् आध्यात्मिक सम्मेलनमा सहभागी हामी २९ जना लगभग सबै जसो नेपाली काङ्ग्रेस अर्थात् प्रजातन्त्रवादी नै थियौं । म जेलबाट भर्खरै बाहिर निस्केको भए पनि सरकारको दृष्टि मउपर वक्र नै थियो । वास्तवमा हामीहरूको त्यस सम्मेलनको विषयसँग कुनै चासो नै थिएन । हाम्रो नकारात्मक दृष्टिकोण थियो । काङ्ग्रेसका विरोधीले ल्याएका प्रस्ताव जतिसुकै राम्रा भए पनि हामीले विरोध गर्थ्यौ ।
यौटा गजबको उदाहरण छ– पूर्णप्रसाद ब्राह्मणले नेपाल मदिरा निषेध क्षेत्र घोषित होस् भन्ने प्रस्ताव ल्याउनुभयो । मैले विना विचारै त्यसको घोर विरोध गरेँ । दैवज्ञले मलाई एक्लै लगेर भन्नुभयो– यस प्रस्तावको समर्थन गर्नु राम्रो होइन र ? ममा त्यतिखेर राजा र राजाका मान्छेको कुरा प्रजातन्त्र र नेपाली काङ्ग्रेसलाई समाप्त पार्ने अभिप्रायले प्रेरित हुन्छ भन्ने मात्र लाग्थ्यो । पूर्णप्रसाद ब्राह्मणले मलाई एकान्तमा लगेर धेरै सम्झाउनुभयो । मैले एकोहोरो विरोध गरिरहेँ । उहाँले यो राजनीतिको कुरा होइन, देशको चरित्र बनाउने विषय हो भनेर ठुलो आग्रह गर्नुभयो । मेरा सबै साथीलाई यही कुरा भनेर सम्झाउनु भएछ । हाम्रो जमातमा यथार्थमा रक्सीविरोधी नै भावना थियो । संस्कृत छात्रावासका विद्यार्थीहरू त्यसमा पनि पूर्व पश्चिम पहाडका कुना काप्चाबाट पढ्न आएका सनातनी ब्राह्मणहरू त्यतिबेला रक्सी पिउने कल्पना पनि गर्न सकिंदैन थियो । कोही कोहीले पियक्कडको सङ्गतमा परेर पिएका भए अपवाद नै हुन्थ्यो । यस्तो अवस्था हुँदा हुँदै पनि पूर्णप्रसाद ब्राह्मणले ल्याएको हुनाले हामीले विरोध गर्यौं । त्यस बेला हामीले त्यस प्रस्तावको कस्तो प्रभाव पर्ला भन्ने सोचेर विरोध गरेका थिएनौं । सबैको मनमा रक्सी निषेधै गर्नुपर्छ भन्ने थियो । दैवज्ञजी पूर्णप्रसादजीको प्रस्तावमा समर्थन गर्नुपर्छ भन्नेमा निकै अड्नुभयो र मसँग तर्क र प्रमाण प्रस्तुत गर्न आग्रह गर्नुभयो । सबैजसो साथीहरूले पीताम्बरलाई सम्झाउनु पर्यो भनेछन्, ब्राह्मणजी एकोहोरो मलाई सम्झाउन लाग्नुभयो । म त्यसै विनाकारण उग्र विरोधी भएको थिएँ ।
हाम्रा देवी द्यौतालाई रक्सी चढाउनै पर्छ, भैरवलाई रक्सी, देवी अन्नपूर्णा र गुह्येश्वरीलाई रक्सी । राई, लिम्बू अन्य जातलाई मतवाली नै भनिन्छ । उनीहरूका पितृलाई रक्सी चढाउनुपर्छ र त्यो निषेध गर्दा समाजमा झैझगडा बढ्छ, इत्यादि केही मिल्दा र केही नमिल्दा एकोहोरो ढिपी मैले गरेँ र अन्तमा साथीहरूलाई सम्झाउन यो प्रस्ताव प्रजातन्त्रविरोधी प्रतिक्रियावादी र राजाको मान्छेले ल्याएको हुनाले विरोध गर्नैपर्छ भनेँ । अन्तमा दैवज्ञजी चिरञ्जीवीले नै मेरो भनाइलाई समर्थन गर्नुभयो । यो यौटा पनि बिर्सनै नसकिने घटना छ ।
अहिले जस्तो नेपालकै बाटो भएर नेपालगञ्ज, दाङ जान बाटो बनेको थिएन । हिन्दुस्थानको बाटो भएर जानुपर्थ्यो । हामी रेलबाट रुपैडिया पुग्यौं । दैवज्ञजीले मलाई एक क्षण पनि छोड्नुभएन । अरू धेरै साथीहरू चाहिँ उता गएका बेला निर्वासित जीवन बिताइरहेका राजनीतिक साथीहरूलाई भेट्ने पक्षमा थिए । म पनि बल्लबल्ल जेलबाट छुटेर बाहिर आउन पाएको मौकामा सकभर साथीहरूलाई भेट्न पाए हुन्थ्यो भन्ने ठान्थेँ । तर दैवज्ञजी त्यस पक्षमा हुनु भएन । किनभने योगी नरहरि नाथजीसँग विशेष कुराकानी गरेर दाङसम्म जाने वातावरण बनाएकाले मेरो भेट अरू राजनीतिक साथीसँग नहोस् भन्ने उहाँलाई लागेको थियो । त्यो उहाँको व्यावहारिक विचार थियो । कदाचित भेट भएको खण्डमा त्यसको परिणाम अर्कै खालको हुन जाने सम्भावना छँदै थियो । रुपैडिया स्टेशनमा एक जना साथी दानवहादुर श्रीवास्तवसँग अपर्झट भेट भयो । दैवज्ञजीले नचिनेको हुनाले को हो, के हो थाहै पाउनु भएन । मैले ५–७ मिनेट राजनीतिक वातावरण, आफ्नो हालत आदिका बारेमा कुरा गरेँ । दानबहादुरजीले पनि भन्नुभयो “म सबै साथीहरूलाई सन्देश पुर्याउँछु । दाङ जान हिँड्नु भएको हो भने, यहाँ साथीहरूलाई भेटेर नेपाल पस्न तपाईँलाई खतरा नै छ । मैले कुरा गरेको मान्छे नेपाली काङ्ग्रेसको निर्वासित नेता हो भन्ने दैवज्ञजीलाई थाहै भएन । त्यसपछि हामी नेपालगन्ज पुग्यौं ।
नेपालगन्ज भेरी अञ्चलमा पर्ने हुनाले भेरी अञ्चलाधीश काठमाडौंँ नगरपालिकाका पूर्व अध्यक्ष कृष्णमान श्रेष्ठले यौटा टाटा लहरीको बन्दोबस्त गरिदिए । हामी सबै त्यही लहरीमा अट्यौं । म र दैवज्ञजी अगाडिको सिटमा बस्यौंँ । तर त्यो थोत्रो ट्रक अलिकति चल्दै पेफरि बन्द हुँदै गर्थ्यो । नेपालगन्जबाट दाङतिर लाग्दा लगभग सबै जङ्गलै जङ्गल थियो । पिउने पानी कतै थिएन । चर्को घाम लागेको थियो । पछाडि बस्ने साथीहरूलाई लागेको थियो–अगाडि बस्नेलाई आनन्द भयो होला । तर हामीलाई त्यो अगाडिको उग्र तातो खपिनसक्नु थियो । तैपनि केही भनेनौं । मुख सुकेर उत्पात च्यापच्याप भो । गाडी बिग्रियो । त्यही ठाउँमा अग्लाअग्ला अमलाका रुख देखिए । ती रुखमा माथिमाथि अमलाका दाना देखिए । दैवज्ञजीले ती रुखमा चढेर अमला टिप्नु भो । टिप्न नसक्ने ठाउँको अमला अनेक झटाराले हानेर झार्नुभयो र हामीलाई खुवाउनुभयो । त्यही अमलाको भरमा निकै रात परेपछि “कुस्मा वा कुसुमा” ठाउँमा पुग्यौं । तर भोकले लखतरान के भन्नु खै ? अब ट्रक चल्दै नचल्ने हालतमा पुगेर बन्द भो । राती मान्छे उठाएर खाना पकाउन लगाइयो । मलाई सम्झना भएन– त्यो कसैको घर थियो वा होटेल । टेलिफोनको सुविधा त्यति बेला थिएन । दाङतिर जाने त्यहीँ (कुस्मा) को मान्छेलाई खबर पठायाँैं । हामी कुस्मामा रोकिएका छौं । हामीलाई ल्याउने ट्रक कामै नलाग्ने भएर बिग्रियो, तुरुन्तै सवारी पठाइदिए मात्रै आउन सक्छौं– इत्यादि । दाङ राप्ती अञ्चलमा पर्ने हुनाले र अञ्चल सदरमुकाम समेत हुनाले अञ्चलाधीशलाई खबर पुगेछ । अञ्चलाधीश सत्यनारायण झा थिए । उनले यौटा रसियन जीप पठाए । त्यसै जीपमा २८,२९ जना अट्यौं । कसरी अट्यौं, वर्णन गर्न गाह्रो छ । एक थरीका काखमा अर्को थरी र त्यसमाथि पनि अर्का थरी खाँदिएर जाँदा यौटा ठाडो उकालो, सायद देउखुरीबाट माथितिर निस्कने उकालो हो कि ? जीपले तान्न सकेन र पछिल्तिर गुड्न थाल्यो । एकदमै पछिल्तिर झरिसकेको जीप कुन सत्यले हो, अड्यो र हामी भीषण दुर्घटनाबाट बच्यौं । म संयोगले दैवज्ञकै काखमा परेको रहेछु (कसैले कसैलाई देख्ने र कोसँग छु भन्नेसमेत थाहा नहुने खालको अवस्था र त्यसमा पनि मृत्युको मुखमा परिसकेर पनि जीवन रहँदा नर्भस प्रायः भएको हुँदा पनि) । दैवज्ञले लौ... लौ... लौ... गरेको र विष्णुले गयो–गयो–गयो भनेको अहिले भर्खरै जस्तो लागिरहेछ । यस यात्राको क्रममा गोरखपुरदेखि काशी, जगदम्बा धर्मशालाको बसाइ र गङ्गास्नान, तुलसीघाटमा पुगेर आफ्नी सहपाठी साथी अपराजितासँग भेट इत्यादि कहानी पछि बिस्तारपूर्वक लेख्ने प्रयत्न गरौंला, तर यस टिपोटमा केही संस्मरण, जो दैवज्ञजी र मेराबीचका छन्, मात्रै उल्लेख गर्दैछु ।
हामी पठनपाठनमा सधैँ सँगै भयौं । हामीमध्ये विष्णुराज कुसम (सुवेदी) माथिल्लो कक्षाका हुन पुगे । विष्णु र म यौटै कक्षामा थियौं । तर २०१७ पुष १ गतेपछि लुक्तै, भाग्दै प्रजातन्त्रको पक्षमा पर्चा छर्दै र राजालाई कालो झन्डा देखाउने कार्यक्रम गर्दै गर्दा र जेल भर्दा म निकै तल परेँ । विष्णुजी लमजुङतिर कलेजमा गइराख्ता पनि हामी भर्खरै एम.ए. को कक्षामा भर्ना भएका थियौंँ । दैवज्ञजी र म अन्तसम्म सहपाठी नै भयौं एम.ए. पास गरेपछि दैवज्ञले भक्तपुर कलेजमा पढाउन थाल्नुभयो । म वीरगन्ज श्री ठाकुरराम कलेजमा पढाउन थालेँ । पछि मैले राजनीतिक कारणले पञ्चे सरकारको यातना धेरै भोग्नुपर्यो । वीरगन्जबाट चितवनको भरतपुर क्याम्पसमा पुगेँ । त्यहाँबाट पनि विविध घटनाले दैवज्ञजी पाटन क्याम्पसमा सरुवा भएपछि म उहाँले छोडेको ठाउँ भक्तपुरमा सरुवा भएँ । पछि वि.सं.२०३२ साल भाद्र १५ मा त्रि.वि.का लगभग ३० जना प्राध्यापकलाई जवर्जस्ती अवकाश दिइयो । त्यसमा म परेँ ।
यससम्बन्धी लामो वृत्तान्त पनि मेरो रिमरिमे सम्झनामा आउनेछ । नेपाल राजकीय संस्कृत महाविद्यालय, हालको वाल्मीकि विद्यापीठ पुतलीसडकमा थियो । त्यसबेला मलाई साथीहरूले निर्विरोध विद्यार्थी युनियनको अध्यक्ष बनाएका थिए । संस्कृत महाविद्यालयका लागि आफ्नै छुट्टै जमिन र भवन पाइयोस् भनेर मैले अनशन गरेको थिएँ । मेरो माग पूरा भयो र भृकुटी मण्डपमा ९ रोपनी जमिन प्राप्त भएको पत्र पाएपछि मेरो अनशन टुट्यो । त्यस उपलक्ष्यमा साधारणसभा भयो । यो खुशीको खबर सबैतिर पुग्यो । सभा सकिएपछि त्यसै हलमा दैवज्ञजीले केही साथीहरूले नाडीमा लाउने काँचका राता छिर्केमिर्के पुफटेका चुरा भेट्नु भएछ र अर्को कुन साथीले हो राता रिबन पाउनु भएछ । त्यसैलाई विषय बनाएर दैवज्ञजीले “हे बैनी हो रिबन चँुडिद्यौ स्यूर लाली गुराँस” भन्ने समस्या तयार पार्नुभयो र हामी धेरै जना को को थियौं, भन्न सक्तिन तर दैवज्ञजी र मैले त्यस समस्यालाई पूर्ति गर्यौं । त्यसपछि केही न केही लेखिरहने वानी भयो । सँगै बस्ने, सँगै खाने, सँगै पढ्ने र मन समेत मिल्ने साथीसँगका संस्मरण अनेकौं हुन्छन् । तर केही याद अविस्मरणीय नै हुन्छन् ।
म न्युजिल्यान्ड गएर बसेको थिएँ । दैवज्ञजी र म दुवै साथी आदरणीय श्री श्रीभद्र शर्माको सक्रियतामा गठित “जयतु संस्कृतम्” संस्थामा सम्बद्ध भयौं । पहिलो ३ वर्ष सँगै काम पनि गर्याँैं । दोस्रो अवधिमा पनि हामी निर्वाचित भयौं । तर बीचैमा छोडेर म बाहिरिएँ । दैवज्ञजीले काम गरिरहनुभयो । तर दुर्भाग्यबस उहाँ बिरामी पर्नुभयो । शीघ्र स्वास्थ्यलाभको कामना गर्दै म विदेसिएँ । तर उहाँलाई रोगले च्याप्दै गएछ । उहाँका छोरीको र जेठा छोराको बिहे भइसकेको थियो र दुवै थरी अमेरिकामा व्यवस्थित थिए । यौटा छोरा अविवाहित जापानमा अध्ययनका साथै काममा लामै समयदेखि रहेका थिए । मेरी सालीकी छोरीसँग बिहा गर्ने कुरा चलेछ । मेरा साडुभाइ द्वारिकाप्रसाद भट्टराई पनि भोजपुर काफ्ले भन्ने ठाउँका सम्मान्य र कुलीन परिवारका अनि भोजपुर गोगनेकै दैवज्ञजी पनि भएकाले दैवज्ञजीका सुपुत्रलाई कान्छी छोरी बिहे गरिदिने कुरा चल्दै थियो । तर दैवज्ञजीले राशि, नक्षत्र, गण, नाडी आदिका केही नमिल्दा विषय छन् भनेर हच्कनु भएछ । मलाई मेरी सालीले न्युजिल्यान्डमै फोन गरेर यो कुरो बताइन् र म काठमाडौं आएँ र दैवज्ञसित वार्ता गरेँ । “तँ ठिक छ भन्छस् भने म मान्छु” भन्नुभयो । मैले एकदमै ठिक छ भनँे र बिहेका लागि उहाँले सहर्ष मान्नुभयो । मेरी सालीकी छोरी रूवी भट्टराईसँग दैवज्ञजीका सुपुत्र उज्ज्वल न्यौपानेको विवाह सम्पन्न भयो । त्यसपछि पनि हाम्राबीचको तँ तँको सम्बन्ध उस्तै रह्यो– स्वभावो मूर्ध्नि वर्तते ।
मैले आफ्ना पुत्र प्रियरञ्जनको विवाहका बेलामा सविता घिमिरेलाई आशीर्वाद र परिवारको परिचयका रूपमा आफ्ना जन्मभूमिको समेत संक्षिप्त परिचय भएको लघुकाव्य लेखेको थिएँ । त्यो बिरामी परेर बिछ्यौनामा सुतेका दैवज्ञलाई सुनाएँ । उठ्नै नसक्ने र पिसापसम्म त्यहीँ कोपरामा सुतेरै गर्नुपर्ने अवस्थाका दैवज्ञ जवर्जस्ती उठेर टोपी लगाउनुभयो । यस्तो लेख्ने, लेख्न सक्ने तैंले आफ्नो प्रतिभालाई हत्या गरिस् । अब हाम्रो जीवनको अवधि लामो छैन, जति हुन्छ लेख्, भनी सल्लाह दिनुभयो । त्यो लघुकाव्य मेरो पूफल र अक्षता कविता–सङ्ग्रहमा प्रकाशित छ । दैवज्ञले म यस कविताका बारेमा केही मन्तव्य वा सके भूमिका नै लेख्न चाहन्थेँ । आफ्नो हात चल्दैन, कसैले लेखेर मलाई सुनाए हस्ताक्षर गर्न नसके पनि अनुमोदन गर्ने थिएँ, भन्नुभयो । मैले पनि भाइ केदार न्यौपाने (प्राध्यापक त्रि.वि. र बानेश्वर क्याम्पसका संस्थापक प्राचार्य) लाई लेखाउँला भनेँ । परस्परको बेपुफर्सदीमै त्यसो हुन सकेन, मनको कुरा मनमै रह्यो ।
दैवज्ञजीले सम्झनाको धरातलबाट भन्ने काव्यमा साथीहरूको सम्झनामा केही कवितात्मक टिपोट गर्नु भएकै छ । मैले छोरा उज्ज्वल र छोरी रूवीको विहावार्ताको प्रसङ्ग केलाएँ । त्यसभन्दा प्रेमको सद्भावको, सौहार्दको, घनिष्ट मैत्रीको अर्को दृष्टान्त के खोज्नु र ? अब दैवज्ञ, जसलाई हामी प्यारपूर्वक देवकी भन्थ्यौ, को भौतिक देह यस धर्तीमा छैन । नेपाली साहित्य संसारमा उहाँ अमर हुनुहुन्छ । बालकले उहाँको बालसाहित्य पढिरहने छन् । कलाकारले जोर मुरली बजाउनेछन् । अन्तिम यात्रामा पनि म सामेल हुन पाइन । यही मलाई अपसोच छ ।