त्यो कीर्तिपताकालाई मेरो सलाम !
“मैलो बन्ला सहज दुनियाँ किन्तु मैलो नठाने
बढ्दै जाने युग छ यसमा हार कैल्यै नमाने
साँची राखे रहर मनका सम्झनामा मलाई
भन्ने मेरो खबर लगिद्यौ कल्पँदी बैंसलाई”
कवि दैवज्ञराज न्यौपानेका यी उद्गारसँगै अभिवादन..” दाहाल यज्ञनिधि यसरी नै रेडियो नेपालको साहित्यिक कार्यक्रम सुरु गर्थे र कवि न्यौपानेको यो सन्देश दोहोर्याइरहन्थे । अनि, प्रत्येक पल्ट मभित्र एउटा कौतुहल जन्मन्थ्यो, “कवि दैवज्ञ कस्तो हुनुहोला ?
जिज्ञासा बढाउने अर्को कारण पनि थियो । हामीले तीनचार कक्षाका पाठ्यपुस्तकहरूमा कवि न्यौपानेरचित केही कविता पढ्नुपर्थ्यो । म साथीसंगातीहरूका अघि धाक लगाउँदै भन्थँे, यी कविता लेख्ने मान्छे को हुन्, थाहा छ ? हाम्रा भान्दाजु ।” यसो भनिरहँदा हेर्नलायकको हुन्थ्यो मेरो रवाफ । तर, मैले उहाँलाई देखेको, भेटेको थिइन । दुईचारपल्ट बुबासँग सोधेको थिएँ । उहाँ हौसिँदै आफ्ना भाञ्जाहरुको प्रगति, उपलब्धि सुनाउनुहुन्थ्यो । र, आफ्नी ठुल्दिदी, भोजपुर–गोगनेको न्यौपाने गाउँ, खोटाङ–कुभिन्डेको आफ्नो जन्मस्थान, न्यौपाने–पोख्रेलको पारिवारिक सम्बन्धबारे लम्बेतान बयान गर्नुहुन्थ्यो ।
पछि हाईस्कुल पढ्न दाजु प्रह्लाद पोख्रेलको आश्रयमा काठमाडौं आएपछि मात्रै भान्दाजुसँग प्रत्यक्ष भेट्ने संयोग जुर्यो । दैवज्ञ भान्दाजु मसिनो स्वरले के के सोधिरहनुभएको थियो । म धकाईधकाई अलिअलि बोलिरहेको थिएँ । एकैछिनमा उहाँ दौरासुरुवालमा ठाँटिएर निस्किनुभयो । भन्दै हुनुहुन्थ्यो, “आज चक्रपाणि चालिसेको स्मृतिसभा छ । भक्तपुरको कटुञ्जे जानु छ ।” पहिलो भेटमै उहाँको व्यक्तित्वबाट अत्यन्त प्रभावित भएको थिएँ म ।
भान्दाजु दैवज्ञराजसँगको भेटघाट र सामीप्य जतिजति बढ्दै गयो, कवि दैवज्ञराजको सम्मोहनले पनि उतिउति तान्दै लग्यो । काठमाडौं आएको वर्षदिनभित्रै मैले उहाँका प्रायः सबै पुस्तकाकार कृति पढ्न भ्याइसकेको थिएँ । भान्दाजुका केही चर्चित कविता र दाजु प्रह्लाद वसन्तपुर (तेह्रथुम) मा रहनुभएको बेला काठमाडौंँ आउन उत्प्रेरित गर्दै भान्दाजुले लेख्नुभएका पद्यात्मक पत्रहरू दाजुका पुराना डायरीमा भेटेपछि म भान्दाजुको कवि व्यक्तित्वसँग अझ लोभिएँ । प्रह्लाद दाजुलाई उच्चशिक्षाका लागि काठमाडौं ल्याउन दैवज्ञ भान्दाजुले निर्वाह गर्नुभएको अभिभावकीय भूमिकाबारे मैले यसअघि नै सुनिसकेको थिएँ ।
म नौ कक्षामा थिएँ । उपत्यकाव्यापी केही प्रतियोगिताहरूमा सहभागी र पुरस्कृत भइसकेको थिएँ । एउटा भेटमा दैवज्ञ भान्दाजुले सोध्नुभयो, “तँ निबन्ध लेख्छस् रे हो ? अहिलेसम्म के के लेखेको छस् भन् त !” मैले बेलिबिस्तार लगाएँ । उहाँले भन्नुभयो, “ल त्यसो भए लेखनाथ पौड्यालबारेको त्यो निबन्ध ल्याएर मलाई दे, छाप्नुपर्छ । ”“कविशिरोमणि लेखनाथ पौड्याल” शीर्षकको परिचयात्मक निबन्ध दैवज्ञ भान्दाजुद्वारा सम्पादित, बालमन्दिरद्वारा प्रकाशित बालक द्वैमासिकमा छापिएको दिन म असाध्यै फुर्किएको थिएँ ।
बालदिवसको सेरोफेरोमा बालमन्दिरले नै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा स्कुल (पद्मोदय मा वि, रामशाहपथ) को प्रतिनिधित्व गर्दै भाग लिन जाँदा निर्णायक समूहमा मैले दैवज्ञ भान्दाजुलाई देखेंँ । मेरो पालो आउनुअघि उहाँले सुटुक्क एउटा गुरुमन्त्र दिनुभयो– “नअक्मकिनू, विषयमा केन्द्रित भएर बोल्दै जानू अनि समयभित्रै टुङ्ग्याउनू ।” वक्तृत्वकलाको विषय पहिले नै थाहा थियो । पद्मोदयका नेपाली शिक्षक उपेन्द्र प्रेमीले धेरथोर “होमवर्क” गराइसक्नुभएको थियो । थुप्रै कुरा कन्ठै थिए । भान्दाजुको गुरुमन्त्रलाई मजैले पछ्याएछु क्यारे । प्रतियोिगितामा म प्रथम भएँ । दैवज्ञ भान्दाजुबाट पाएको उत्प्रेरणाको परोक्ष परिणाम थियो त्यो ।
“दैवज्ञ भान्दाजु युवावर्ष मोती पुरस्कार पाउने प्रथम स्रष्टा बन्नुभयो रे”, “उहाँको समालोचना सम्बन्धी अर्को किताब निस्कियो रे”, “जीवनीसङ्ग्रह निस्कियो रे”, “अर्को कवितासङग्रह पनि बजारमा आयो रे” यस्ता समाचार आइरहन्थे, हामी गौरवान्वित हुन्थ्यौं । भेटघाट पनि बाक्लै भैरहन्थ्यो । जीवनमा आएका अनेक उतारचढाव, वियोगसंयोगहरूमा पनि उहाँको व्यक्तित्वमा धेरै उतारचढाव हामीले अनुभव गरेनौं । प्रत्येक भेटघाटमा उस्तै शालीनताका साथ उहाँ सरसल्लाह दिनुहुन्थ्यो । कुनै प्रसङ्गमा एकदिन उहाँले भन्नुभएको थियो, “अहिले पढेर मात्रै पुग्दैन बुझिस् ! आफ्नो विषयमा अलग्गै व्यक्तित्व बनाउनुपर्छ ।
भोजपुर–गोगनेको एउटा पण्डित परिवारबाट उदाएका दैवज्ञराज न्यौपानेसँग त्यस्तै व्यक्तित्व थियो – आदर्श र अनुकरणीय । उहाँको प्राध्यापकीय व्यक्तित्वबाट प्रभावित हुनेहरूको संख्या कत्ति हो कति ! लेखकीय–कवि व्यक्तित्व त उहाँको मूल पाटो नै भयो । उहाँले थुप्रै सिर्जनाका लहर उराल्नुभयो । काँडा हैन फूल वन, सिर्जनाको मूल बन भन्दै थुप्रैथुप्र्रै बालस्रष्टाहरूलाई साहित्य र सत्कर्ममा उत्प्रेरित गर्नुभयो ।
“जुन्किरी जस्तै जीवन चाली, हिँड्नुछ तिमीले बत्ती बाली” जस्ता उहाँका कवितांश गुन्गुनाउँदै साहित्यमा ताते गर्नेहरूमध्ये थुप्रै जना आज नेपाली साहित्यका उज्ज्वल नक्षत्र भएका छन् । सबैले अनुभव गरेको अर्को कुरा –पद्यकविता, गीत अनि बालकवितामा भान्दाजुको बेजोड बेग थियो । त्यस्तै गतिका साथ उहाँले जीवनका धेरै चुनौतीहरूलाई जित्नुभयो, पछार्नुभयो । तर, रोगले उहाँलाई गलायो । गएको वर्ष २०६८ जेठमा बुबा नवराज पोख्रेलको वार्षिक तिथिमा नेपाल गएको बेला भान्दाजुलाई भेट्दा लागेको थियो, उहाँले रोगलाई पनि जित्नुहुनेछ । त्यस्तै आत्मबल देखिन्थ्यो उहाँमा । उहाँले मलाई पढ्न लगाएर केही रचना सुन्नुभएको थियो । बिछ्यौनामा नयाँनयाँ किताब असरल्लै थिए । अपरेसनपछि आँखाले साथ दिन थालेकोमा उहाँ अत्यन्तै हर्षित हुनुहुन्थ्यो । किरमिर किरमिर अक्षरहरूमा उहाँ हरेक दिन केही न केही लेखिरहनुभएको थियो । तर, नियति आफ्नो वंशमा हुँदो रहेनछ । आत्मबल र रोगको लडाइँमा रोगले उहाँलाई जित्यो । हामीले त्यही सुन्यौ ।
अब “तोतेबोली” का मीठा लोलीहरू सुनाउने जिम्मा हामीजस्ता उहाँका अनुयायीहरूमा आएको छ । नयाँनयाँ बान्कीका मुरली घन्काउने स्रष्टाहरू त अरू पनि निस्केलान्, । तर, “जोर मुरली” को त्यो स्वर, त्यो मिठास, त्यो शिल्प, त्यो माधुर्य र त्यसका स्रष्टाको त्यो शालीन व्यक्तित्व अब भेटिँदैन । दैवज्ञ भान्दाजुको प्रेरणा र अभिभावकत्व पनि अब हाम्रा निम्ति सम्भव छैन । तर, उहाँको गाथा हामीसँगै छ । उहाँको कीर्ति त झन् सर्वत्र छ । भान्दाजुको त्यो कीर्तिपताकालाई मेरो सलाम !
मार्च, २०१२
हाल : डोभर, न्यू ह्याम्पसायर, अमेरिका
सम्पर्क : peshalp@gmail.com
अग्ला गोरा प्रतापी वदन दिल सफा भव्य व्यक्तित्वशाली
जल्दाबल्दा बनेका प्रणय वरणका भावधारा उराली
थोरै सान्निध्य पाए पनि तन मनमा सद्य उत्साह जाग्ने
यस्ता दैवज्ञजीको निधन विषयको छैन पत्यार लाग्ने
डा. दुर्गाप्रसाद अर्याल