कवि दैवज्ञराज : केही संस्मरण
अध्यक्ष, उदयानन्द स्मारक गुठी, काठमाडौँ
नेपाली साहित्यका कवि दैवज्ञराज न्यौपानेसँग प्रायः सबै साहित्यकार, कवि एवं लेखकहरू परिचित नै हुनुहुन्छ । उहाँले साहित्यिक क्षेत्र, सामाजिक क्षेत्र एवं शिक्षा क्षेत्रमा दिएको योगदान अतुलनीय छ । उहाँ वर्णमात्रिक छन्दमा लेख्ने कविको रूपमा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँका पिताजी पण्डित हुनुहुन्थ्यो र उहाँ पनि त्यही वातावरणमा हुर्कनु भयो । प्रायः त्यसताका संस्कृतमा नै अध्ययन गर्ने प्रचलन थियो, खास गरी ब्राह्मण परिवारमा । नेपाल अधिराज्यभरि त्यस समयमा नेपाली भाषाका किताब प्रचलनमा त्यति आइसकेका थिएनन् र अध्ययन हुँदैनथ्यो । संस्कृतका पुस्तक नै प्रायः गाउँघर, पहाडहरूमा पढ्नु पर्थ्यो । नेपालमा विश्वविद्यालयको स्थापना पश्चात् नेपाली भाषा संस्कृतिको विकास हुँदै गयो र नेपाली भाषाका पुस्तकहरू प्रकाशन हुँदै गए । विश्वविद्यालयमा एम.ए. नेपालीमा अध्ययन गर्ने मौका प्राप्त हुन गयो । त्यही क्रममा कवि दैवज्ञराज न्यौपानेले पनि नेपाली भाषामा एम.ए.को साथै साहित्यरत्न पनि गर्नु भयो । उक्त डिग्री हासिल गरेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत धेरै क्याम्पसहरूमा प्राध्यापन गर्ने अवसर पाउनु भयो र अन्तमा कीर्तिपुरमा प्राध्यापक भई काम गर्नु भयो ।
सानै उमेरदेखि साहित्यमा कलम चलाउन थाल्नुभएको हुँदा २०१४ सालदेखि नै उहाँ साहित्य सिर्जनामा लाग्नु भयो र विभिन्न पत्रपत्रिकाहरूमा आफ्ना कविताहरू प्रकाशित गर्ने कार्य प्रारम्भ गर्नु भयो । कलिलै उमेरदेखि उहाँ साहित्य क्षेत्रमा आफ्नो छाप छाड्न सफल हुनुभएको छ । उहाँ कवि, साहित्यकार मात्र नभई सफल समालोचकका रूपमा पनि परिचित हुनुहुन्छ । मलाई लाग्छ बाल साहित्यमा विशेष किसिमले कलम चलाउनु भएकाले खास गरी बालबालिकाका बीचमा उहाँका कृतिहरू प्रसिद्ध छन् । “तोते बोली”, “गाउँ खाने कविता”, “बाल संसार” जस्ता कृतिले बालबालिकाहरू माझ प्रख्यात हुनुहुन्छ । मेरो विचारमा उहाँ मूलतः बालमनोविज्ञानमा आधारित सरल भाषामा कविता रचना गर्न रुचाउनु हुन्थ्यो । बाल साहित्य मात्र नभै साहित्यका अन्य विधामा पनि त्यत्तिकै दखल थियो । उहाँ छन्दोबद्ध एवं सरल तरिकाबाट आफ्ना भावनाहरू व्यक्त गर्न सक्ने कविका रूपमा परिचित हुनुहुन्छ र मैले पनि सो कुरा महसुस गरेको छु । उहाँबाट रचना गरिएका विभिन्न साहित्यिक पुस्तक एवं साहित्यिक क्षेत्रमा उत्कृष्ट योगदानका साथै साहित्यिक संस्थाहरूमा अनवरत सेवा पुर्याएबापत विभिन्न समयमा विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित हुनुभएको पाउँछौं ।
व्यक्तिगत कुरा गर्दा कवि दैवज्ञराज न्यौपानेसँग मेरो परिचय २०४७ साल अघि थिएन । हामी एउटै पूर्वजका सन्तान तर आ–आफ्नो पेसामा संलग्न । म चिकित्सा क्षेत्रमा निर्देशक र दैवज्ञराज न्यौपाने प्राध्यापन कार्यमा विश्वविद्यालयमा कार्यरत । मेरा पिताजी रामेश्वरप्रसाद अर्ज्याल साहित्य र सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्व हुनाले र पिताजीसँग उहाँ अघिदेखि नै पूर्वजको नाताले पनि पूर्वपरिचित हुनाले काठमाडौंमा पिताजी आएपछि दैवज्ञराजजीसँग भेट भयो । मेरा पिताजीले आफ्ना रचना एवं कृतिहरू प्रकाशन गर्नेबारे घरमा नै बोलाउनु भयो । त्यही समयमा मसँग पनि परिचय भयो र हामी दाजु भाइको सम्बन्ध भएको अवगत भयो । मभन्दा कान्छो भएकाले मलाई दाइ भनेर नै सम्बोधन गर्नुहुन्थ्यो । एक दिन आफ्ना पूर्वज उदयानन्दबारे कुरा गर्दै जाँदा उहाँका महाकाव्यहरू अन्धकारमा रहेको र कविका रूपमा त्यति परिचित पनि नभएको कारण उहाँलाई अन्धकारबाट उज्यालोमा ल्याउनेबारे छलफल भयो । त्यसका लागि कवि उदयानन्दबारे संस्था गठन गर्ने र आर्थिक अनुदान खर्चले खडा गरी सञ्चालन गर्ने सुझाउ पिताजीले दिनुभयो । उक्त संस्थाको विधान एवं दर्ता प्रव्रिफया पूरा गरी गुठी स्थापना गर्न जिम्मेवारी पिताजीले कवि दैवज्ञराज न्यौपानेलाई दिनुभयो । यसरी रामेश्वर प्र. अर्ज्याल अध्यक्ष र कवि दैवज्ञराज न्यौपाने सचिव रहेको सात सदस्यीय समिति “उदयानन्द स्मारक गुठी” २०४७ दर्ता भयो । मुख्य उद्देश्य उत्कृष्ट साहित्यकारहरू, इतिहासविद् एवं अन्वेषकलाई पुरस्कार दिने थियो र सोही अनुसार व्यवस्था भयो । कोषाध्यक्षको रूपमा आर्थिक कारोवारको जिम्मेवारी मलाई नै सुम्पिनु भयो । संस्थापकले दिएको रकमको व्याजबाट र आफ्नो सन्ततिले जुटाएको रकमबाट कोषको स्थापना भयो र पुरस्कार दिने निधो भयो । उत्कृष्ट कृति र योगदान दिएका साहित्यकारहरूलाई पुरस्कार प्रत्येक वर्ष र दुई वर्षमा दिन साहित्यिक समितिबाट उपयुक्त पात्रको चयन हुँदै गयो । त्यसमा कवि दैवज्ञराज न्यौपाने संयोजक भई काम गर्नुभयो । एवं प्रकारले पुरस्कारको कार्य सचिव दैवज्ञराज न्यौपानेको सक्रियतामा सम्पन्न हुँदै गयो । पिताजीको स्वर्गारोहणपछि मलाई नै अध्यक्षताको जिम्मेवारी आयो । त्यसमा पनि मलाई दैवज्ञराज न्यौपानेज्यूबाट उक्त कार्यको जिम्मेवारी पूरा गर्न ठुलो मद्दत भयो । गुठीका कामलाई कसरी अगाडि बढाउने र कवि उदयानन्दलाई र उहाँका कृतिलाई उजागर गर्न के कसरी काम गर्नुपर्छ भन्नेबारे प्रोत्साहित गर्दै लानुभयो । आज कवि पं.उदयानन्द अर्ज्यालउपर रचित कविता संग्रह तथा महाकाव्य प्रकाशित भइसकेका छन् । हामी दुवैजनाको अथक प्रयासबाट आदिमहाकविको रूपमा पं.उदयानन्द अर्ज्याल परिचित हुनमा उहाँको त्यो योगदानको म सधँै संस्मरण गर्दछु । यस सन्दर्भमा इतिहासकार ज्ञानमणि नेपालको योगदान समेत विशेष स्मरणीय छ ।
पछि उहाँ बिरामी पर्नु भयो । धेरै नै अस्वस्थ हुनुभयो । अस्पतालमा उपचारको क्रममा धेरै दिनसम्म बस्नुभयो र बिरामी अलि राम्रो भएपछि घर आउनु भयो । त्यस्तो अवस्थामा पनि उहाँले उदयानन्द गुठीलाई सहयोग पुर्याउँदै आउनु भयो । जब धेरै अप्ठ्यारो भयो र बैठकमा समेत उपस्थित हुन सक्नु भएन अनि मात्र आफ्नो जिम्मेवारी अरूलाई दिएर सञ्चालनमा सहयोग पुर्याउँदै आउनु भयो ।
त्यति मात्र होइन उहाँले भानु प्रतिष्ठान लगायत अन्य साहित्यिक संस्थाहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । उहाँ त यस संसारबाट बिदा हुनुभयो । उहाँको रिक्तता हामी सबैले महसुस गरेका छौँ । उहाँको भौतिक शरीर यस संसारमा नभए तापनि उहाँले पुर्याउनु भएको साहित्यिक क्षेत्रको योगदान सधँै अमर रहन्छ । म व्यक्तिगत रूपमा पनि उहाँको सहयोग बिर्सन सक्तिन । एक भाइका रूपमा र कवि उदायानन्दलाई आदिमहाकविका रूपमा प्रतिष्ठापित गराउन र अन्य साहित्यिक क्षेत्रमा पनि उहाँको योगदान अविस्मरणीय रहने छ एक सफल कवि साहित्यकारका रूपमा । यिनै संस्मरणका साथ आफ्नो श्रद्धासुमनका दुई शब्द व्यक्त गर्दछु ।
चुच्चेपाटी, चावहिल
२०६९ साउन ७
यसरी राष्ट्रलाई युगौं–युगसम्म ऋणी तुल्याउने व्यक्तिको पनि कहिल्यै मृत्यु हुन्छ ? दैवज्ञराज न्यौपानेलाई अब हामी सशरीर देख्न नपाए पनि उहाँको अमूल्य योगदानका कारण राष्ट्रले सदा सर्वदा उहाँको यशोगान गाइरहने छ । त्यसैले दैवज्ञराज न्यौपानेको निधन भएको छैन, उहाँ सदा अजर–अमर र अविस्मरणीय भइरहनु भएको छ ।
नगेन्द्रराज रेग्मी