कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

जयतु संस्कृतम्‍ र कवि दैवज्ञ

डा. बद्री पोख्रेल

मान्छे चिन्न नाता जोरिनु पर्दैन । जिउ, डाल, शरीर राम्रो हुनु पनि पर्दैन । आफूलाई कुनै कुराले गुन लगाएको हुनु पनि पर्दैन । मान्छेभित्र भएको क्षमता, गुण र भावना नै पर्याप्त हुन्छ । यद्यपि कहिलेकाहीँ र कसैकसैले मान्छेका मीठा बोली र सहयोगी स्वभावको कारणले पनि मन जित्ने गरेका हुन्छन् । त्यसैलाई मन पर्ने कारण बनाएका हुन्छन् । तर त्यस किसिमको चिनाइलाई चिरस्थायी नमान्नेहरू धेरै भेटिन्छन् । मेरो दृष्टिमा, मेरो चिनाइमा र मेरो मूल्याङ्कनमा दैवज्ञराज न्यौपाने मेरो निमित्त नाता, गुन वा मीठो बोलीले चिनिएका होइनन्, उनका विचार र रचना नै मैले दैवज्ञलाई चिन्ने आधार थिए ।

राम्रो लाग्छ सधैं हरा प्रकृतिको एकान्तको निर्जन

गाई हेर्न भनी खुसी ह्दयले जान्थेँ म एक्लै वन

शोभा त्यै वनभित्र शान्त वनकी बस्थिन् अकेली परी

लाग्थ्यो रौस मलाइ त्यो सुनचरी छोपौं कि छौपौं सरि

शोभा (प्रकृतिकाव्य)

उल्लिखित रचना नै मैले दैवज्ञराज न्यौपानेलाई चिन्ने मूल आधार हो । म पनि यदाकदा कविता कोर्छु । वार्णिक छन्दका कविता मन पराउँछु, यसै क्रममा मैले विभिन्न छन्दहरूको प्रयोग गरेर लेखेको कविता संग्रह “मभित्र अर्कै छ” को पाण्डुलिपि कवि दैवज्ञलाई देखाउँछु । मुखामुख रूपमा कुराकानी गरेर मनभित्रका इच्छा, अकांक्षा र क्षमतालाई उद्घाटित गरेर आपसमा सच्चा चिनारी गर्ने आधार त्यै मेरो मभित्र अर्कै छ को पाण्डुलिपि थियो । कवि प्रह्लाद पोख्रेलले पनि मेरो पाण्डुलिपिमा बौद्धिक एवं कवितात्मक बनाउने ढङ्गले साहित्यिक मलम लगाइसक्नुभएको थियो ।

दैवज्ञराज न्यौपानेसँग वास्तवमा मेरो भौतिक सम्बन्ध जयतु संस्कृतम्सँगको आवद्धताले विकसित गरेको थियो । २००४ सालमा राणा शासकहरूसँग संस्कृत पढ्ने विद्यार्थीहरूले पनि इतिहास भूगोल जस्ता विषय पढ्न पाउनुपर्छ भन्ने माग राखेर गरिएको आन्दोलन थियो– जयतु संस्कृतम् । पछि यो आन्दोलन राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने दरिलो औजार बनेको थियो । आन्दोलन गरेबापत देशै निकाला, शिरमुण्डन लगायतका दण्ड समेत संस्कृत पढ्ने आन्दोलनकारी विद्यार्थीहरूले भोग्नु परेकाले आन्दोलनको अन्तरङ्ग आगोको ज्वाला राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने अभियानमा पनि भित्रभित्रै सल्किरहेको थियो । २००७ सालमा प्रजातन्त्र स्थापनाको निमित्त जयतु संस्कृतम्को योगदान अतुलनीय रहेको कुरा राजनीतिकर्मी एवं तत्कालीन संस्कृतका विद्यार्थी श्रीभद्र शर्मा बारम्बार भन्ने गर्नुहुन्थ्यो । २००७ सालपछि संस्कृत पढ्ने र अंग्रेजी पढ्नेका बीचमा नीतिगत दूरी मेटिँदै गएको र २०१७ सालदेखि राजनैतिक दलमाथि प्रतिबन्ध लागेका कारणले जयतु संस्कृतम् अभियान भुसको आगाको रूपमा अन्तर्मुखी ढंगले रह्यो, बहिर्मुखी हुन भने सकेन ।

हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वले नै आ–आफ्नो अस्तित्व राख्न पाउनुपर्छ । “स्व” को पहिचान दिन सक्नुपर्छ । एक अर्कामाथि थिचोमिचो हुनु हुँदैन । स्वतन्त्रता र समानताको आधारमा सबैले आ–आफ्नो अस्तित्वको उपयोग गर्न पाउनुपर्छ भन्ने आन्दोलनको नाम जयतु संस्कृतम् थियो । यसैले जयतु संस्कृतम् आन्दोलन कुनै भाषा, जात, वर्ग, लिङ्गको नारा होइन, बरु विश्व मानव–समुन्नति शान्ति र कल्याणको निमित्त एक भएर अघि बढौँ भन्ने आह्वानको र वसुधैव कुटुम्वकम् (Humanity in above all nations) को नारा थियो ।

पश्चिमी सभ्यताको प्रभावले नेपाली संस्कृति छिन्नभिन्न हुन थालेपछि संस्कृत वाङ्मयमा लेखिएका महत्त्वपूर्ण कुरा युरोप, अमेरिका हुँदै भारतवर्षमा प्रवेश हुन थाले तर कठिन र अव्यावहारिक भनेर ग्रन्थ पठनपाठन हुन छोड्दै आए । तन्त्र, आयुर्वेद, ज्योतिषजस्ता विषयहरू क्रमशः लुप्त हुन थाले । २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा लागेका, पचासको दशकको संस्कृत संस्कृतिको उपेक्षालाई देखेका र संस्कृत वाङ्मयभित्र रहेको अथाह ज्ञानसागरमा डुबुल्की मार्न सक्ने केही क्रियाशील व्यक्तित्वहरूले जयतु संस्कृतम्को मर्म र महत्त्वलाई आत्मसात् गर्दै २०५४ सालमा पचासौं स्वर्ण महोत्सव सम्पन्न गरे । २०५४ सालमा जयतु संस्कृतम्लाई एउटा जीवन्त संस्थाको रूपमा दर्ता गरेर संस्कृत संस्कृतिको रक्षा र सम्वर्धन गर्न थाले । त्यसै क्रममा एउटा संस्कृतप्रति श्रद्धा राख्ने नाताले जयतु संस्कृतम्को कार्यसमितिमा दैवज्ञराज न्यौपानेसँगै म पनि चुनिएको थिएँ । त्यस बेलादेखि दैवज्ञराज न्यौपानेलाई भौतिक रूपले समेत राम्रैसँग चिन्ने अवसर पाएँ । त्यो वेलादेखि म उहाँलाई “दाइ” भनेर आदर गर्दथेँ भने मैले पनि “भाइ” को न्यानो माया पाउन थालंँे । २०५४/५५ देखि यो क्रम २०६२/६३ सालसम्म रह्यो ।

संस्कृतलाई भिन्न दृष्टिबाट हेर्नुपर्छ । संस्कृत पढ्नेहरूले नै संस्कृतलाई बिगारिरहेका छन् । जसले संस्कृत पढे तर आफ्नो आजीविका भने संस्कृतेतर विषयबाट चलाउन सकिरहेका छन्, तिनले संस्कृतको मर्म र महत्त्व बढी बुझछन् र बुझाउन सक्तछन् भन्ने अवधारणा पनि झाङ्गिदै गयो । त्यसैले जयतु संस्कृतम् संस्थाको नेतृत्व श्रीभद्र शर्मा, हेमराज ज्ञवालीले गर्ने वातावरण बन्यो र दैवज्ञ दाइजस्ता व्यक्तिहरूको महत्त्व दिनानुदिन बढ्दै गयो । यो परिवेशको कारण पनि दैवज्ञराज न्यौपानेसँग मेरो सान्निध्य बढ्न थाल्यो । मेरो विवाह न्यौपाने थरकी केटीसँग भएको हुँदा कहिलेकहीँ दैवज्ञ दाइ मलाई “जुवाइँ साब” भनेर पनि ठट्टा गर्नुहुन्थ्यो ।

दैवज्ञराज न्यौपानेलाई एउटा विशिष्ट व्यक्तित्वको रूपमा जति चिन्दै गएँ, त्यति म उहाँप्रति आदरभाव बढाउन थालें । उहाँको साहित्य सिर्जना र अध्यापकत्व एकै पटक सबैले देख्न सकिने क्षमता र पेशा थिए । उहाँको अर्को महत्त्वपूर्ण विशेषता बाल साहित्य रचना पनि थियो । बालक हुँदा स्कुलमा दैवज्ञराजका कविता पढ्नेहरू नै विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्दा उहाँकै समालोचनामा गहिरिन्छन् । पछि मैले पनि थाहा पाएँ २०२० सालमा अरुणोदय पत्रिकामा “उनीमा निम्तो” कविता लेखेर सर्वप्रथम साहित्य क्षेत्रमा सार्वजनिक भएका कवि न्यौपानेका सिर्जनाका लहरहरू (२०३५), तोतेबोली (२०३८), गाउँखाने कविता (२०४३), जोर मुरली (२०४६), बाल संसार (२०५३), सबै हाम्रा साथी (२०५६) जस्ता कविता संग्रहहरू प्रकाशित भएका छन् । यसै गरी हुने बिरुवाका चिल्ला पात (२०४५) भन्ने ऐतिहासिक जीवनी संग्रह, गुणराज उपाध्यायका खण्डकाव्यको मूल्याङ्कन (२०४९), नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू (२०५४) भन्ने समालोचनात्मक कृति पनि प्रकाशित भएका छन् ।

दैवज्ञराज न्यौपानेको पारिवारिक जीवन भने अलि तरल देखिन्छ । बहुमुखी प्रतिभाका रूपमा उनलाई हेर्न सकिने आधार भने उनका दैनन्दिनी क्रियाकलाप नै हुन् । नाटक लेख्ने, नाटक खेल्ने, गीत लेख्ने, गीत गाउने, कविता लेख्ने, वाचन गर्ने उनका विशेषता थिए । त्यस बाहेक खेलकुदमा रुचि राख्नु, भानु सेवा समितिको अध्यक्षका रूपमा काम गर्नु र जयतु संस्कृतम् जस्ता सामाजिक संस्थाहरूसँग आवद्ध भई समयसापेक्ष विचार पस्किनु न्यौपानेका थप गुण र विशेषता थिए ।

मान्छे जन्मिएपछि मर्नुपर्छ भन्ने शाश्वत सत्यबाट कोही विचलित हुन नसक्ने नियम अनुसार १९९९ साल मार्ग ३० गते भोजपुरबाट प्रारम्भ भएको जीवनलीला २०६८ पौष २ गते काठमाडौंमा समाप्त गरेर दैवज्ञराज न्यौपाने हाम्रो स्मृतिपटलमा सजिएका छन् । जीवन नै कविता हो भन्ने भावनात्मक सन्देश प्रवाहित गर्न सकेका दैवज्ञराज नेपाली साहित्यकाशमा अमर भएका छन् भने जयतु संस्कृतम् जस्तो संस्थाको लागि कहिल्यै नहराउने नक्षत्र बन्न सकेका छन् । हामी बाँचेकाले उनको मीठो बोलीको सम्झना र उनले रचेका कृतिबाट आनन्द लिएजस्तै उनलाई पनि मृत्युपश्चात् भोग गर्नु पर्ने स्वर्गीय र ईश्वरीय पद प्राप्त भै आनन्द मिलोस् भनी श्रद्धासुमन अर्पण गर्दछु ।

२०६९ साउन