कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ सरलाई सम्झँदै

विष्णुराज कुसम

प्रभा भट्टराई

मलाई स्वर्ग चाहिन्न बने नेपाल पुग्दछ
बिग्रिए घरका मान्छे मलाई दुःख लाग्दछ
त्यसैले भिन्नता हैन सबैमा मेल होस् सदा
अर्को जन्म भए पेफरी पाउँफ नेपाल सर्वदा ।
गरिमा, २०६४ वैशाख

पक्षाघातबाट गम्भीर रूपमा आक्रमित भइसकेपछि पनि सिर्जनाबाट पछि नहट्ने र नथाक्ने एक कलमयोद्धाको यो कविता पक्षाघातबाट आक्रान्त भइसकेको एक वर्षपछि रचना गरिएको हो । यो कविता गरिमामा पढेपछि म एकछिन झसङ्ग भएकी थिएँ । साँच्चै दैवज्ञ सरले अर्को जन्मको कुरा गर्न थाल्नु भो । उहाँलाई पूर्ण रूपमा स्वस्थ देख्न सकिएला भन्ने आशा कम हुँदाहुँदै पनि म दैवज्ञ सरलाई यही जन्ममा देखिरहन, भेटिरहन र उहाँका रचनाहरू पढिरहन चाहन्थेँ । पेफरि सोचेँ – यस्तो कुरा त जसले पनि लेखिरहन्छ नि ! तर दैवज्ञ सरले अर्को जन्मको कुरा यस जन्मदेखि वाक्क भएर लेखेको नभए हुन्थ्यो भन्ने मलाई लागिरह्यो ।

दैवज्ञ सर मेरा लागि एक प्रेरणास्रोत भएर रहनुभयो । भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, सम, सिद्धिचरण, माधव घिमिरेजस्ता स्रष्टाहरूको रचनासँगै मैले केटाकेटीमा दैवज्ञ न्यौपानेका रचनाहरू पनि पढेँ । मैले यी स्रष्टामध्ये कतिपयलाई चुँदी रम्घामा भानुजयन्तीका बेला भेट्थेँ । हामी रम्घाबासी केटाकेटीलाई भानुजयन्ती दसैँभन्दा कम थिएन । आफ्नो पाठ्यक्रममा समाविष्ट कविहरू हाम्रा आदर्श थिए । धेरै कविहरूलाई मैले चिन्ने मौका पाएँ र ती महान् स्रष्टाहरूले समेत मलाई एकछिनका निम्ति चिन्ने, तारिफ गर्ने र माया गर्ने वातावरण बन्दा म निकै खुसी हुन्थेँ । किनकि मेरो कविता सधैँ पुरस्कृत हुन्थ्यो र पुरस्कृत कविलाई प्रशंसा गर्नु अपरिहार्य जस्तै भैहाल्थ्यो । त्यही क्रममा मैले दैवज्ञ सरलाई पनि भेट्ने अवसर पाएँ, तर त्यस्तो चिनाजानी पछि बिस्तारै धमिलिँदै जाँदो हो तर मलाई चाहिँ रम्घा पुग्ने हरेक कवि उत्तिकै श्रद्धा र सम्मानपूर्वक अभैफ सम्झनामा रहिरहेका छन् । त्यो सपनाजस्तो, अचम्मलाग्दो क्षणिक भेटले मलाई अभैफ प्रेरणा दिइरहेको छ, सायद ती महान् व्यक्तित्वहरूमध्ये दैवज्ञ सर स्वतः एक हुनुहुन्छ ।

काठमाडौंमा आइ.ए.पढ्ने सिलसिलामा मैले धेरै साहित्यकारहरूको सामीप्य पाएँ, प्रेरणा पाएँ । धेरैजसो कविगोष्ठीमा म विशेष निम्तो पाउँथेँ र मेरा छन्दोबद्ध कविताबाट छन्दमा लेख्ने छन्दप्रेमी कविहरू निकै खुसी भएको देख्थेँ । तिनमा दैवज्ञ सर पनि एक हुनुहुन्थ्यो । मलाई दैवज्ञ सर कविभन्दा पनि किन किन काकाजस्तो लाग्थ्यो । हाम्रो आचार्य परिवार (चुँदी रम्घाका आचार्यहरू) उहाँका निम्ति परिवारजस्तै थियो । काका नरहरिका मित्र भएकाले उहाँ काका नरहरि र दाजु व्रतराजमार्पफत मलाई भतिजीभैँफ स्नेह गर्नुहुन्थ्यो । मैले आफ्ना कवितामा विशेष गरी माधव घिमिरे, कृष्णप्रसाद पराजुली र दैवज्ञ न्यौपानेजस्ता कविहरूबाट प्रत्यक्ष आशीर्वाद पाइरहेकी छु भैँफ लाग्थ्यो । भेटघाटको अवसर अत्यन्त कम हुँदा पनि मलाई दैवज्ञ न्यौपाने र कोषराज न्यौपाने आफ्नै परिवारका भैँफ लाग्थ्यो । कहाँ पूर्वको गोगने, कहाँ पश्चिमको रम्घा ! मलाई उहाँहरू किन यस्तो आफ्नै गाउँले दाजुभाइभैँफ लाग्नुहुन्छ र उहाँहरूमा म अभिभावकत्वको अनुभव गर्छु ? मलाई नै थाहा थिएन ।

मैले कीर्तिपुरमा एम.ए.को कक्षामा दैवज्ञ सरलाई प्रत्यक्ष रूपमा गुरुका ठाउँमा पाएँ, उहाँ कवितामा त अप्रत्यक्ष गुरु पहिले नै हुनुहुन्थ्यो । उहाँ हामीलाई चौथो पत्रको आधुनिक नेपाली कविता पढाउनुहुन्थ्यो । मसिनो बोली र हँसिलो अनुहारका उहाँ कक्षामा उपस्थित हुँदा एक आदर्श गुरु लाग्नुहुन्थ्यो । तैपनि मेरो आफ्नै स्वभावले गर्दा म त्यति बोलचाल गर्दिनथेँ, पछाडि नै बस्थेँ । दोस्रो वर्षको परीक्षा दिँदा नदिँदै हाम्रो थेसिस (शोधपत्र) को धन्दा सुरु हुन्थ्यो । मैले देवकुमारी थापाको कथाकारिता भन्ने शीर्षक दर्ता गराएर धमाधम सामग्री सङ्कलन र प्रस्ताव लेखनसम्मको काम सिध्याएँ । तर दुर्भाग्यवश मेरो शीर्षक जुधेको र त्यसमा काम गर्न नमिल्ने सूचना पाएँ । मलाई फसाद पर्‍यो, मैले धेरै समय त्यस अध्ययनमा लगाइसकेकी थिएँ । अब नयाँ विषय खोजेर पेफरि काम गर्ने समय मसँग थिएन । जसरी पनि तीन–चार महिनाभित्र थेसिस बुझाइसक्नुपर्ने थियो, किनकि त्यतिबेलासम्म म आमा बन्नेवाला थिएँ । अनि के हो ! के हो ! म निराश हुँदै काका नरहरिसँग सल्लाह लिन गएँ । उहाँले एकछिन गम खाएर समाधान निकाल्नुभयो । “तिमीलाई थेसिस नै किन लेख्नु पर्‍यो त ? सिर्जनात्मक लेखन बुझाइदेऊ न, पुराना कविताहरू जम्मा पारेर !” उहाँले गाइड (निर्देशक) पनि सुझाइदिनु भयो, “दैवज्ञ सरले तिमीलाई मद्दत गरिहाल्नुहुन्छ नि ।” नभन्दै दैवज्ञ सरले तीन महिनाभित्रै मेरो “सिर्जनात्मक लेखन” तयार पार्न मद्दत गर्नुभयो र संयोग यस्तो पर्‍यो, मैले आफ्नो काम पूर्ण गरेर सरकहाँ बुझाउन निस्केकै दिन अस्पताल भर्ना हुन पुगेँ र मेरा जीवनसाथी कलाकार सुरेन्द्रराज भट्टराई त्यो तयारी “सिर्जनात्मक लेखन” बुझाउन जानुभयो । यसरी दैवज्ञ सर मेरा गुरु मात्रै नभएर समस्या पार लगाइदिने हितैषी अभिभावक समेत हुनुभयो ।

विश्वविद्यालयको पढाइ सकेपछि पनि उहाँसँग बारम्बार भेट हुन्थ्यो, कोकगोष्ठी (कोठे कविगोष्ठी) लगायतका कार्यक्रमहरूमा । उहाँ कविताको बारेमा सुझाउ दिनुहुन्थ्यो र विशेष केटाकेटीका बारे चाह मानेर सोध्नुहुन्थ्यो । सुधा म्याडम (दैवज्ञ सरकी जीवनसाथी) स्वयं कविता लेख्ने भएर पनि होला अझ रमाइलो हुन्थ्यो, भेट भइरहन्थ्यो । तर दैवज्ञ सर अचानक अस्वस्थ हुनुभएपछि भेटघाट कम भयो । भेट्दा भित्रैदेखि खुसी भएको म देख्थेँ । लर्बरिएको आवाजमै भए पनि उहाँले आपूफले चासो लिने गरेका विषयहरूमा सोध्न छोड्नुभएन । उहाँका छोरा उज्ज्वलको बिहेको दिन र राष्ट्रपतिबाट सम्मानित भएको दिन मैले उहाँको उज्यालो मुहारमा अझ अनगिन्ती उज्यालोपन थपिएको अनुभव गरेँ, तर उहाँको अस्वस्थताले तिनलाई राम्ररी प्रकट गर्न दिएन । म त्यतिखेर उहाँको विवशता देखेर अत्यन्त दुःखी भएकी थिएँ । पछि उहाँका पीडाहरू बढ्दै गएपछि अलिक असंलग्नता उहाँमा बढेछ भन्ने थाहा पाएँ र त्यति धेरै भेटघाट हुन छोडे पनि मनमनले उहाँको स्वास्थ्यलाभको कामना गर्दै बसेँ ।

आफ्नै दैनिकीका उल्झनहरूमा अल्झिरहेको बेला एकदिन एकाबिहानै कोषराज न्यौपानेको फोन आयो । दैवज्ञ काका जानुभयो ! हामी नागरिक अस्पताल बानेश्वरमा छौँ, सकेजति आवश्यक व्यक्तित्वहरूलाई खबर गरिदिनुस् है ! म स्तब्ध भएँ । यो खबर नौलो नभए पनि अप्रत्याशित अवश्य थियो । कुनै अनिष्ट खबरको आशङ्का गरेर छोराछोरी पनि बगलमा आइपुगे । दैवज्ञ सरसँग उनीहरूको पनि छुट्टै नाता थियो । उहाँको किसान कविता पाठ्यक्रममा थियो, त्यसबाहेक कयौँपटक भेट्दा माया र आशीर्वाद पाएका थिए । छोरालाई त दैवज्ञ सर अभैफ बढी माया गर्नुहुन्थ्यो । एक त त्यो मेरो सिर्जनात्मक लेखन सकिएकै दिनको अर्को नयाँ सिर्जना थियो, अर्को उहाँको कान्छो छोरो पनि ऊ जत्रै भएकाले कहिलेकाहीँ तुलना समेत गर्नुहुन्थ्यो । त्यसैले ऊ उहाँको अन्तिम दर्शनका निम्ति तयार भयो, तर म चाहिँ सकेजति खबर सम्प्रेषणमा लाग्दै एकछिनका निम्ति अस्पताल पुग्ने कुरै बिर्सिएँ । छोराको मोटरसाइकलको पछाडि बसेर नागरिक अस्पताल पुग्दा ठिक्क उहाँलाई राखिएको मोटरको पछिपछि पशुपति आर्यघाटसम्म पुग्यौँ । उहाँलाई अन्तिम पटक अभिवादन गरेपछि एक प्रकारको रिक्तता मनमा आयो । तर उहाँले पीडाबाट मुक्ति पाउनु भएको छ भन्ने सम्झँदा मन हलुको भयो । अब दैवज्ञ सरका बारेमा सम्झना मात्र छन्, उहाँका अमर कृति र प्रेरणा मात्रै छन्, तर सम्झनाहरू सुन्दर र प्रेरणादायक हुनसके भने व्यक्तिको अभावमै पनि प्रेरणा प्राप्त भइरहँदो रहेछ ।

ताहाचल, काठमाडौं