कवि दैवज्ञराज न्यौपानेको स्मृतिमा
वि.सं. २०१४ सालतिरको कुरा हो । खोटाङ जिल्लाको कुभिन्डे गाउँमा विद्यालय स्थापना भएको रहेछ । सबै ठाउँमा विद्यालय नहुँदा दाजु भरतमणि भट्टराई र म दुवै जना पढ्नका लागि कुभिन्डे गएका थियौँ । गुरु पं.पुण्यप्रसाद भट्टराई पढाउनुहुन्थ्यो । हामी कौमुदी, रघुवंश, अमरकोष, हितोपदेश पढ्दथ्यौँ । त्यस वखत एक दिन दैवज्ञराज न्यौपाने मावल कुभिन्डे जानुभएको रहेछ । चिनजान गर्यौँ, उहाँसँग हाम्रो सम्बन्ध दिदीको छोरीपट्टिको नाति दैवज्ञ र बहिनीको छोरापट्टिको नाति म पर्दो रहेछु ।
मेरा पिताजी पं.लक्ष्मीप्रसाद सुवेदीले वि.सं.१९८८ सालदेखि ४ वर्ष जति श्री षडानन्द संस्कृत पाठशाला दिङलामा पढ्नुभएको रहेछ । म सानु हुँदा कहिले काहीँ भन्नुहुन्थ्यो हामीलाई पढाउने कान्छा गुरुजी लक्ष्मीभक्त अधिकारी र अरू गुरुहरू पनि भन्नुहुन्थ्यो, आबाल ब्रह्मचारी षडानन्दज्यूले विद्यार्थी लक्ष्मीभक्त गुरुहरूलाई भनेका कुराहरू यस प्रकार रहेछन्– हेर झ् विद्यार्थीहरू हो जुन विद्यार्थीले यो मैले स्थापना गरेको विद्यालयमा एक महिना मात्रै भए पनि पढ्छ, रामधारा र आरुबोटे धारामा स्नान गरी सीताराम र कैलाशमा गएर कैलाशेश्वर शिवजीको सधैँ दर्शन गर्दछ भने त्यस्ता विद्यार्थीलाई दुःख दारिद्र्य कदापि हुने छैन । यो मेरो आशीर्वचन हो । गुरु यसरी पढाउनुहुन्थ्यो भनी पिताजीले भन्नुभएको हुँदा त्यतिबेलादेखि नै मेरा मनमा त्यो विद्यालयमा गएर पढ्न, हेर्न, देख्न र ती धाराहरूमा स्नान गर्न, मन्दिरमा दर्शन गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
सौभाग्यवश दुई चार वर्ष मात्र भए पनि त्यो विद्यालयमा गएर अध्ययन गर्न यथाशक्ति नियम आचार पालना गर्न पाउँदा मलाई पनि आवाल ब्रह्मचारीज्यूको आशीर्वाद प्राप्त भएको होला भन्ने विश्वास गर्दछु । मलाई त्यसपछि त्यस विद्यालयमा गएर पढ्ने इच्छा भयो । हामीहरू लावण्यराज भट्टराई, जयकुमार भट्टराई, नीरबहादुर श्रेष्ठ, राम भट्टराई, चण्डिका भट्टराई, वासुदेव भट्टराई, माधव भट्टराई, श्याम भट्टराई समेत भोजपुर दिङ्ला पाठशालामा पढ्न गएका थियौँ । दैवज्ञराज न्यौपाने पनि त्यहीँ हुनुहँुदो रहेछ पहिले नै परिचय भएकाले चिनजान गरिरहनु परेन । हामीलाई बस्नका लागि छात्रावासमा कोठाको व्यवस्था मिलाइ दिनुभयो ।
केही दिनपछि उहाँ बसेकै ठुलो बुर्जाकोठामा सँगै बस्यौँ । दैवज्ञजी सरल स्वभाव, मीठो बोली, साथै सहयोगी हुनुहुँदो रहेछ । उहाँले दैनिक कार्यक्रम बनाउनुभयो । जस्तो कि विहान सबेरै उठ्ने, स्नान गर्ने, जप गर्ने, अध्ययन गर्ने र पुफर्सदको समयमा कविता, निबन्ध र गीतहरू पनि लेख्ने, सुनाउने कहिले काहीँ विभिन्न किसिमका खेलहरू खेल्ने समय मिलाउनु भएको थियो । त्यतिबेलासम्म उक्त विद्यालयमा गुरु, शिष्यहरू सबैले आबाल ब्रह्मचारीले बनाउनु भएका प्राचीन नियमहरू पालना गर्नुपर्दथ्यो । जस्तैः नित्य बिहान–बेलुका एक सय आठ गायत्रीमन्त्र जप गर्नुपर्ने, भोजन बनाउँदा एक जनालाई एक ट्याङ्ग्रो (चारमुठी जति) मात्र भोजन पकाएर खान पाइने चलन थियो । त्यतिले केही दिन बानी पर्न ज्यादै मुस्किल भयो, पछि बानी पर्दै गयो, पछि त्यतिले अघाउन थाल्यौँ । पानी रामधारा र आरुबोटे धाराबाट माटाका गाग्रामा बोकेर ल्याउनु पर्ने, भाँडा आपैँफले माझनु पर्ने र विद्यालय हाताभित्र कुनै प्रकारका लागु पदार्थ, मांसाहार गर्न निषेध थियो । ती नियमहरू पालना गर्न नसकी कतिपय साथीहरू अन्यत्र नै पढ्न भनेर गए । हामीहरू चण्डिका, वासुदेव, रामचन्द्र, जयकुमार, माधव, श्याम भट्टराई र म समेत सँगै बस्यौँ ।
प्राचीन नियम अनुसार रहन र भोजन बनाउन कठिनाइ महसुस गरी एक दिन बेलुका सबै साथीहरू भेला भएर बैठक गर्यौँ । त्यसबेला संस्कृत छात्र सङ्घ २०१६ सालतिर खोलेका थियौँ । उक्त सङ्घको अध्यक्षमा दैवज्ञराज न्यौपाने, उपाध्यक्षमा चूडामणि दाहाल, सचिवमा म र अरू साथीहरू अरू अरू पदमा बसी समिति निर्माण गर्यौँ । ११ जनाको समिति बन्यो । बैठक बस्यौँ । केही दिनपछि हामी विद्यार्थीहरूले खेप्नु परेका विभिन्न कठिनाइहरूको सामना गर्नुपर्ने क्रममा मैले एउटा प्रस्ताव पेस गरेँ । कस्तो प्रस्ताव भने हामी विद्यार्थीहरूलाई भोजन बनाउनका लागि धेरै परिश्रम गर्नु परिरहेको छ, त्यसकारण व्यक्तिगत भोजन बनाउने काम नगरौँ । सल्लाह मिल्दछ भने आजकै बैठकमा निर्णय गरौँ र एक सामूहिक भोजनालयको व्यवस्था गरौँ । साथीहरूका बिचमा धेरै छलफल, तर्कवितर्कहरू भए । आखिरमा सर्वसम्मतिबाट सामूहिक भोजनालयको व्यवस्था गर्ने निर्णय गरियो । केही दिनपछि रामनवमीको दिन थियो । हामी सबैले यस्तो सल्लाह गर्यौँ कि यो पर्वमा यहाँ ठुलो बजार लाग्दछ, गुरुहरूसँग पनि सरसल्लाह गर्यौँ र विद्यार्थी सबैबाट निर्णय गरेको निर्णय पुस्तिकाका साथै चन्दा पुस्तिका समेत लिई बजारमा आएका सम्पूर्ण व्यापारीहरू, गन्यमान्यज्यूहरू सबैसँग अनुरोध गरी चन्दा सङ्कलन गरौँ भन्ने निर्णय बमोजिम गुरुहरू हरिप्रसाद काफ्ले, तीर्थराज न्यौपाने, भीमप्रसाद गौतम, एकराज अधिकारी, दुर्गाप्रसाद लम्साल, हरिहर चापागाईँ लगायत सबै गुरुहरूले साथ दिनुभयो । ३ दिनको मेलामा चन्दा सङ्कलन गर्दा सबैले खुसी भएर घटीमा एक रुपैयाँ र बढीमा एक सय रुपैयाँसम्म दिँदा जम्मा ७ हजार जति सङ्कलन भएछ ।
सो रुपैयाँबाट आवश्यक चाहिने गाग्री, खड्कँुला, डाडु, पुनिउँ र अन्य आवश्यक सामानहरू किनेर बाँकी रहेको रुपैयाँ संस्कृत छात्र सङ्घको कोषमा आम्दानी बाँध्ने काम गरियो । सामूहिक भोजनालयका लागि भान्से दुई जना विद्यार्थी, टहलुवा एकजना, भाँडा माझने दुई जना गरी जम्मा पाँच जना व्यक्तिहरू नियुक्त गरी काम लगाउन थालियो । उपर्युक्त पाँच जनालाई निःशुल्क खान दिने र केही पारिश्रमिक पनि दिने, विद्यार्थीहरूले एकदिनको एक मानाका दरले चामल उठाउने अनि दाल, तरकारी, नुन, भुटुन र मसला लगायतका लागि सबैबाट मासिक चार रुपैयाँका दरले पैसा उठाई सामान किनी भोजनालयको भण्डारमा राख्ने र समितिले सबै व्यवस्था गर्ने निर्णय भयो । सबै विद्यार्थीहरूलाई सुविधा भयो । हामी सबै खुसी भयौँ । खाना खाने बेलामा घन्टी बज्दथ्यो । सबै साथीहरू गएर भोजन गर्थ्यौँ । ज्यादै राम्रोसँग पठनपाठन गर्ने अवसर प्राप्त भयो, सबैले परिश्रम गर्नु परेन । त्यस बखत दैवज्ञराजजी पूर्वमध्यमा, द्वितीय वर्षमा पढ्नुहुन्थ्यो, म प्रथम वर्षमा पढ्दै थिएँ । २०१८ साल भाद्रमा मेरो भाइ गोपीकृष्ण सुवेदीको देहावसान भएछ । मलाई घरबाट लिन आए । बा–आमाका हामी दुई छोरा थियौँ । भाइ खसेपछि बा–आमा दुवै जना बेहोस जस्तो हुनुभयो । मैले उहाँहरूलाई छाडेर हिँड्न सकिन । मेरो पढाइ अधुरै रह्यो । पछि गएर उक्त विद्यालयबाट पूर्वमध्यमा पास गरी मध्यमा र शास्त्री बनारसबाट पूरा गरेँ । मेरो गाउँ लामीडाँडामा महेन्द्र मङ्गला रा.प्रा.स्कुल स्थापना भएको थियो । पढाउने शिक्षकको खाँचो हुँदा गाउँका प्रमुख पं.देवीप्रसाद भट्टराई, लीलाप्रसाद भट्टराई, रामप्रसाद भट्टराई, मुक्तिनाथ भट्टराई र अरू सबैले उक्त स्कुलमा बसी पढाइदिनुहोस् भन्दा हार्न नसकी सोही विद्यालयमा शिक्षक भएर काम गरेँ । पछि २०३१ सालमा जिल्लान्तर सरुवा गरी श्री शारदा मा.वि. (हाल उच्च मा.वि.)मा ३२ वर्ष जति अध्यापन गरी अहिले निवृत्त भएको छु ।
२०१९ सालमा गुरु तीर्थराज न्यौपाने र दैवज्ञराज मेरो घर लामीडाँडा खोटाङमा आउनुभयो । एक दिन बसाइ भयो । मैले मोटामोटी गाउँ घुमाएँ । पछि काठमाडौं बानेश्वर उहाँकै घरमा एक दिन दुर्गा दाहाल र म गएका थियौँ, भेट भयो, धेरै कुराकानीहरू भए । त्यसपछि काठमाडौं सिनामङ्गलमा पद्मप्रसाद पोखरेलको घरमा म भागवत पुराण वाचन गर्दै थिएँ । देखादेख भयो, बोलचाल हुन पाएन । कहिले काहीँ फोनबाट बोलचाल गरिन्थ्यो । त्यस्तो मृदुभाषी साथी आज यो मर्त्यमण्डलबाट बिदा भई वैकुण्ठ जानुभयो । यस दुःखद क्षणमा उहाँप्रति यिनै शब्दपुष्प चढाउँदै विश्राम लिन्छु ।
२०६९ भाद्र ११
इनरुवा–९, वलाहा, सुनसरी