कवि दैवज्ञ : वक्ता र उद्घोषकका रूपमा
जतिखेर हामीले बसोवास गरेका थियौँ, त्यसबखत एक काँठको गाउँ जस्तो थियो– बानेश्वर । अहिलेको जस्तो पूर्ण सहरीकरण भइसकेको थिएन । दूरीको दृष्टिकोणले टाढै भएपनि हामी केही साहित्यकारहरूको बीच मेल थियो, घर जोडिएका छिमेकी जस्ता । मध्यबानेश्वरमा हामी केही साहित्यकारहरू बस्छौँ । जति छौँ हामी बीच मित्रभाव कायम छ । त्यसमध्ये सबैसँग मिल्ने, सबैका घर आँगन टेक्ने र सबैसँग सम व्यवहार राख्ने एक साहित्यकार थिए– दैवज्ञराज न्यौपाने । कसैले बोलाए पनि नबोलाए पनि घरदैलोमा देख्ने बित्तिकै हिँडिरहेको पाइला रोकेर शिष्टाचार आदानप्रदान गर्नु र सञ्चो सुविधाका ज्ञान लिनु उनको स्वभाव नै भएको हुँदा उनी मेरो जङ्गम निवासमा धेरै पटक भित्रिएका छन् । हामीबीच भेट भएपछि साहित्यिक छलफल मात्र हुने होइन, सानो वा ठुलो एउटा चुटुक्क कविता पनि सुनाउने उनको आदत थियो । यसबाट उनीसँग मेरो मित्रताको गाँठो कसिँदै गयो ।
डा.वासुदेव त्रिपाठीको घरनजिकै उनको घर थियो तर पनि दैनिक जस्तो पूर्वतर्पफको परशु प्रधान, शैलेन्द्र साकार र ध्रुव सापकोटा साथै मेरो वासस्थान भएको क्षेत्रतर्पफ पनि आउने गर्दथे । त्यसै कारणले उनीसँग दैनिक जस्तो नै भेट भइरहन्थ्यो । हामी साहित्यकारमा दुईजनालाई नाउँले नपुकारी “कविजी” भनेर सम्बोधन गर्ने गर्थ्यौ । ती हुन् एक दैवज्ञराज न्यौपाने र अर्का हुन् शैलेन्द्र साकार ।
अहिले कवि दैवज्ञराज न्यौपाने सशरीर हामीबीच छैनन् तर उनको मधुर बोली, शिष्ट व्यवहार र सृजना भने हामीबीच वरपर घुमेर नै बसेका छन् त्यसैले हामीबाट टाढा भएको महसुस भएको छैन । मृत्यु शाश्वत हो जीवनका लागि, तर त्यही जीवनले निर्माण गरेको व्यक्तित्व भने अमर रहन्छ । जो व्यक्ति जीवनकालमा आपूफ जन्मेको समाज, मुलुक र राज्यलाई केही दिन्छ त्यसको मृत्यु हुँदैन । मैले त्यस्ता द्रष्टा तथा स्रष्टाहरूलाई स्वर्गीय भनेर लेख्ने र भन्ने गरेको छैन ।
कविजी सबैसँग भद्र तथा असल व्यवहार गर्दथे । उनी सबैका लागि मिलनसार मित्र देखिन्थे । उनमा सानो ठुलोको विभेद देखिदैनथ्यो । प्रायः मेरो घरको अगाडिबाट हिँड्ने कविजीलाई पञ्चकुमारीस्थित घरमा बसुन्जेल दैनिक जसो देख्ने गरेको थिएँ । त्यस्तो अवसरमा ज्वारीकोटको खल्तीबाट नयाँ रचना पुफत्त झिकेर सुनाउन भ्याएकै छन् । उनले कागजमा लेखिएको रचना सुनाए भने त्यो रचना एक हप्ताभित्रकै ताजा रचना हो भन्ने सहज अनुमान हुन्छ । कारण कवि न्यौपानेको प्रायः सबैजसो कविता कण्ठमा नै रहने हुँदा लेखोट नहेरीकन नै लयबद्ध कविता सुनाउने उनको आदत थियो । धेरै कविताहरू उनका मधुरस्वरमा मैले श्रवण गरेको छु ।
काभ्रे जिल्लाको उग्रतारा मा.वि.को जनगालका युवाहरूद्वारा सञ्चालित “सयपत्री युवा क्लब” ले २०५७ सालको “सयपत्री राष्ट्रिय सम्मान” कवि दैवज्ञराज न्यौपाने र मलाई दिने घोषणा गरेपछि सम्मान ग्रहण गर्न जनगाल जाँदा हामी दुई भाइ सँगै गएका थियौँ । जनगालको युवा क्लवमा त्यहाँका स्थानीय कृष्णकुमार के.सी., मोहन विष्ट र राजेन्द्र श्रेष्ठ जस्ता जल्दाबल्दा युवकहरूको नेतृत्व थियो र आजसम्म त्यही नेतृत्व सक्रिय छ । तत्कालीन “सयपत्री युवा क्लव” नै आजको सयपत्री प्रतिष्ठानका रूपमा स्थापित छ । सम्मान कार्यक्रमको प्रमुख अतिथिका रूपमा राष्ट्रकवि माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो भने साहित्यकार हरि मञ्जुश्रीको सक्रियतामा सम्मान कार्यव्रफम सञ्चालन भएको थियो । स्थानीय स्कुलको सभाकक्षमा भएको कार्यक्रममा जिल्लाभरिका धेरै साहित्यकार, बुद्धिजीवी र स्थानीय शिक्षकहरू उपस्थित थिए । मलाई सम्झना छ मैले धन्यवादका क्रममा सानो आफ्नो मन्तव्य सँगै कविता पनि सुनाएको थिएँ ।
कविजी गद्यभन्दा पद्य रचनामा बढी समर्पित थिए भने म पद्यभन्दा गद्य रचनामा बढी अलमलिन रुचाउथेँ । विधागत रूपमा हामी फरक किसिमबाट प्रस्तुत भए पनि हाम्रो मित्रतामा कुनै भिन्नता थिएन । धेरै ओटा कार्यक्रममा मेरो अनुरोधमा “उद्घोषक” का रूपमा सभाहरूमा कविजी प्रस्तुत भएका थिए । यसबाट यो सिद्ध हुन्छ कि कविता वाचन मात्र होइन, सभालाई आकर्षक रूपमा कायम गर्दै सभा सञ्चालन गराउने प्रविधि पनि कवि न्यौपानेमा थियो । कवि हुन सजिलो होला तर एउटा सफल उद्घोषक हुन गाह्रो हुन्छ । उनी कवि मात्र होइन प्रखर वक्ता थिए, व्याख्याता थिए र सफल उद्घोषक थिए । करिब करिब मेरा समवयस्क दौँतरी अब जङ्गम निवासमा आएर कविता सुनाउँदैनन्, मसित दैनिक भेट पनि अब सम्´नामा मात्र हुन्छ । यस सन्दर्भमा यिनै शब्दपुष्पåारा कवि दैवज्ञराज न्यौपानमा श्रद्धाञ्जली चढाउँछु ।