कवि न्यौपानेज्यूप्रति श्रद्धासुमन
म साहित्यिक कार्यक्रममा जाँदा गोरो, राम्रो, बोली पनि त्यस्तै मिठो लायकका युवा देख्थँे, को होलान् भन्ने मनमा लाग्दथ्यो । पछि मात्र मैले चिने उहाँ साहित्यकार दैवज्ञराज न्यौपाने हुनुहुँदो रहेछ । पछि यस्तै कार्यक्रमहरूमा दोहोरो चिनाजानी भयो । नेपाली साहित्यको पद्यविधामा सफल कवि गीतकार श्री दैवज्ञराजका बारेमा उहाँको भाषाप्रेम र साहित्यका विषयमा मूल्याङ्कन गर्ने त मेरो क्षमता छैन । शास्त्रीय संस्कृत छन्दहरूकै शैलीमा सुन्दर कविताहरू लेख्ने बाल र गीति साहित्यमा पनि उत्तिकै प्रतिष्ठित मिठा सरल कवि हुन् भन्ने बुझेको छु । अरू गहिराइमा बुझने पढ्ने मेरो क्षमता नै छैन ।
संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा वर्ष घोषणा गर्यो । नेपालमा पनि युवा वर्ष १९८५ राष्ट्रिय समिति गठन भयो । सो समितिको अध्यक्षमा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र सदस्य सचिवमा कमल थापा थिए भने कोषाध्यक्षमा म मनोनीत भएको थिएँ । युवावर्ष भव्य रूपमा मनाउन विभिन्न २२ कार्यक्रमहरू निर्धारण भए । यसमध्ये एउटा राष्ट्रिय युवा सेवा कोषको स्थापना गर्ने तथा अर्को युवाका प्रेरणाका स्रोत राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृति र सम्मानमा युवावर्ष मोती पुरस्कारको स्थापना गर्ने कार्यक्रम थियो । सोही अनुसार २०४२ सालमा राष्ट्रिय युवा सेवा कोष स्थापना भई हालसम्म निरन्तर रूपमा साहित्य, संगीत र कला क्षेत्रमा लागेका उत्कृष्ट युवाहरूलाई युवावर्ष मोती पुरस्कार, नारायण गोपाल युवा संगीत पुरस्कार र अरनिको युवा कला पुरस्कार र अन्य पुरस्कारद्वारा उत्कृष्ट युवाहरूलाई सम्मान गर्ने, प्रोत्साहन गर्ने काम गर्दै सो कोषले रजत वर्ष मनाइसकेको छ ।
पहिलो पटक गरिमामय युवावर्ष मोती पुरस्कार छनोट गर्न कविवर माधवप्रसाद घिमिरेज्यूको अध्यक्षतामा युगकवि सिद्धिचरण श्रेष्ठ, श्री रमा शर्मा समेतको समिति गठन भयो । पुरस्कृत हुने व्यक्ति साहित्यिक सिर्जनामा संलग्न रही पुस्तकहरू प्रकाशन गरेका,े साहित्यको माध्यमबाट राष्ट्रियताको सम्बर्द्धन तथा सामाजिक चरित्र निर्माणमा प्रोत्साहन पुर्याइरहेको र नेपाली भाषा तथा साहित्य उत्थान र साहित्यकारहरूको सम्मान गर्ने कार्यमा संलग्न रहँदै आएको ४० वर्षभित्रका युवा साहित्यकार हुनुपर्ने व्यवस्था थियो । सो समितिले उपर्युक्त आधारमा युवाकवि श्री दैवज्ञराज न्यौपानेलाई छनौट गर्यो । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको विशेष समारोहमा सर्वप्रथम सो पुरस्कार युवाकवि दैवज्ञराज न्यौपानेलाई प्रदान गरियो । यसरी पहिलो पटक युवावर्ष मोती पुरस्कारबाट सम्मानित हुने कवि न्यौपानेज्यूप्रति मेरो अत्यन्तै श्रद्धा रह्यो । पछि उहाँको साहित्यिक योगदानलाई मध्यनजर राखेर उहाँलाई पनि युवावर्ष मोती पुरस्कार छनोट समितिमा राखियो । समितिमा उहाँको राम्रो योगदान रह्यो ।
अचानक उहालाईँ पक्षाघातको रोगले सतायो । रोग लागे पनि उहाँको उज्यालो मुहार उज्यालो नै थियो । उहाँको योगदानको फलस्वरूप प्रा.डा.वासुदेव त्रिपाठी लगायत साहित्यकारहरूको समूहले उहाँको भव्य सम्मानको आयोजना गर्यो । सो सम्मान समारोहमा राष्ट्रिय युवा सेवा कोषले पनि सम्मान गर्ने मौका पायो । सम्माननीय राष्ट्रपति प्रमुख अतिथि रहेको उक्त सम्मान समारोहको रमाइलो वातावरण मेरो हृदयमा ताजै छ । तनहुँको मिर्लुङ्ग गा.वि.स. मा २०३३ सालमा गाउँसेवा कोष नामक संस्था स्थापना भएर तनहुँका ग्रामीण क्षेत्रमा सेवामूलक काम गरिरहेको थियो । यो कुरा कवि दैवज्ञराजले थाहा पाएर २०४० सालको गाउँसेवा स्मारिकामा छाप्न गाउँसेवा शीर्षकको ५ श्लोकको कविता लेखेर पठाउनु भएको थियो । त्यो कविता अत्यन्त मार्मिक थियो । गाउँसेवा कोष एउटा व्यक्तिले, एउटा व्यक्तिको सहयोगमा चलेको नभई धेरै श्रद्धालुहरूको परस्पर सहयोगमा सञ्चालन भएर असहायहरूलाई सक्दो सहयोग गर्ने श्रम, सिप, सदाचार स्वावलम्बनलाई प्रोत्साहन गर्ने, त्यस्ता विद्यार्थीहरूलाई पुरस्कार छात्रवृत्तिद्वारा प्रोत्साहन गर्ने, दुर्व्यसनलाई हतोत्साह गर्ने सामाजिक संस्था हो । त्यो उद्देश्य र मर्मलाई राम्रैसँग बुझदै लेख्नुभएको देख्दा कवि दैवज्ञराज न्यौपानेज्यूलाई अत्यन्त मर्मज्ञ कविका रूपमा मैले लिएको छु । उहाँले लेख्नु भएको पाँच श्लोकको कवितामध्ये एउटा श्लोक तल उद्धृत गरेको छु जसबाट गाउँसेवाको उद्देश्य प्रस्ट हुन्छ –ः
सहाय खोजेर सहाय दिन्छु,
र संघको सौरभ शक्ति दिन्छु
म दिन्छु निर्धाकन उठ्न टेवा
म गाउँको गौरव गाउँसेवा
साहित्यिक कार्यक्रम समेतमा उहाँसँग बराबर भेट भलाकुसारी हुन्थ्यो, एउटा लायक गोरो मिठो बोल्ने साहित्यकार न्यौपानेज्यूसँग भेट्दा किन हो किन अत्यन्त श्रद्धा जाग्थ्यो । उहाँको विषयमा एउटा स्मृतिग्रन्थ निकाल्न लागेको कुरा उहाँका भाइ कवि केदार न्यौपानेबाट र कवि प्रल्हाद पोखरेलबाट सुनेँ । कवि पोखरेलज्यूको कविता सुनिरहूँ जस्तो लाग्छ । यस्तै केदार न्यौपानेज्यूसँग पनि मेरो राम्रो परिचय छ, कुनै बेला उहाँसँग सामाजिक कार्यमा पनि सहयोग लिइयो । श्रद्धेय व्यक्तिहरूबाट स्मृतिग्रन्थ निकाल्ने खवर पाएँ । यस्ता श्रद्धाका पात्र दैवज्ञराजज्यूको स्मृति र सम्मानमा स्मृतिग्रन्थ प्रकाशन हुनु राम्रो कुरा हो । श्रद्धेय कवि दैवज्ञराजज्यूका बारेमा केही सम्झनाका दुई शव्द लेख्न लाग्दा पनि मनै उज्यालो भएको मैले अनुभव गरेको छु । यस्ता व्यक्तिको सम्झना र सम्मानमा हार्द्धिक श्रद्धासुमन अर्पण गर्दछु ।
तिमी बुद्ध बन्छौ तिमी राम बन्छौ
तिमी कृष्ण गान्धी कुनै नाम बन्छौ
कि ‘लक्ष्मी’ हुनेछौ कि ‘लिङ्कन’ हुनेछौ
जसै काम राम्रा तिमी क्यै लिनेछौ
दैवज्ञराज न्यौपाने
नानीहरूसित, तातेबोली, २०३८