कवि दैवज्ञ : मेरो स्मृतिमा
सिसाझैँ टल्किने गरी पालिस गरिएको दुग्ध धवल सङ्गमरमरले निर्मित युनानेली देउताको झैँ पुष्ट, अग्लो, सुन्दर काया, हस्तिनी नक्षत्रमा आकाशलाई ढाक्ने कृष्ण मेघको टुक्राझैँ सानो, तर काँटछाँट मिलाइएको चिटिक्क कपाल, आर्य देवताका झैँ सुन्दर नेत्र, पाटल–पत्र जस्ता रक्ताभ ओठ र तिनबाट झरिरहने सुरभित स्मिति–पराग तथा हिमालयको उत्तुङ्गशृङ्ग फोडेर निर्झरित हुने कोमल छहराको छङछङ सङ्गीत जस्तै चिन्तनको कुनै अज्ञात शिखरबाट प्रवाहित अविरल वाग्धाराको सङ्गीत प्रवाह । कवि दैवज्ञलाई सम्झँदा केही यस्तैयस्तै चित्रहरू मानस पटलमा झल्मलाउन र चल्मलाउन थाल्छन् ।
यस पवित्र आत्माको पहिलो दर्शन मैले त्रिभुवन विश्वविद्यालयको एउटा सभाकक्षमा पाउने सौभाग्य पाएको थिएँ । साल यकिन छैन । सम्भवतः यो २०२६–०२७ सालतिरको कुरो हुनुपर्छ । कवि दैवज्ञराज न्यौपानेलाई मञ्चबाट कविता–वाचनका लागि आमन्त्रित गरियो । नाउँको घोषणा मात्रले लगभग तीन मिनेटसम्म जसरी तालीको आवाज सभाकक्षभित्र गुञ्जित–अनुगुञ्जित भइरह्यो, त्यो मेरा लागि सुखद आश्चर्य थियो । कविले एउटा कविता सस्वर वाचन गर्नुभयो । सान्द्र काननमा कोइलीले आत्मलीन भई कुहू–कुहू गरिरहेझैँ । कति सुमधुर कण्ठ !! सभाकक्ष स्तब्ध र अवाक् थियो । म विस्मय–विमुग्ध । नेपाली गीति, वार्णिक र वर्णमात्रिक छन्दका यस्ता कवि मैले त्यतिखेर कवि माधव घिमिरेबाहेक देखेकै थिइन । नेपाली साहित्यमा एउटा अर्को माधव घिमिरेको जन्म भएको खुसियाली मनभित्र भरिएर छचल्किन खोज्दै थियो । साथीहरूसित कुरा गरेँ । उनीहरूले समेत एक मतले सही थापे– हो, स्वच्छन्दतावादी सौन्दर्यवादी चेतनाका बिर्सिनै नसकिने प्रतिभाको नाउँ हो दैवज्ञ । मानवतावादी उदात्त चेतनाको नाउँ हो दैवज्ञ । रसवादी परम्पराका अमर कविको नाउँ हो दैवज्ञ ।
यिनीसित परिचय गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो, त्यतिखेर । तर, हुलमुलमा यो सम्भव भएन । २०२९ सालमा कीर्तिपुरमा एक जना तिमिल्सिनाज्यूले सामान्य परिचय गराउनु भएको थियो । तर धित मरेन । मन पुफकाएर कुरा गर्ने क्रम त चल्न थाल्यो– मैले नेपाली विषय पढाउन थालेपछि मात्र । गोष्ठीहरूमा, बैठकहरूमा भेट भइरहन्थ्यो । कुराकानी हुन्थ्यो– कहिले पाँच–दस मिनेट, कहिले एकाध घण्टा । लामा र छोटा अनगिन्ती भेटका संस्मरणहरू मस्तिष्कको अभिलेखालयभित्र सुरक्षित छन्– निजी सम्पदाका रूपमा, ती सार्वजनिक पनि हुन सक्लान् ।
वि.सं.२०३० सालतिरको कुरो हो । हामी बसमा कीर्तिपुरबाट काठमाडौं आउँदै थियौँ । मैले देखिनँ । उहाँले देख्नु भएछ– ओहो ! विमलजी, आजको सूर्य जीवनमा नयाँ ज्योति लिएर उदाएको छ । ... हामी सँगै परेछौँ, कस्तो मधुर संयोग ! उहाँ यस्ता काव्यात्मक शैलीमा कुरा गर्न माहिर हुनुहुन्थ्यो । एकछिन उहाँ आफ्नो आरामसाथ बस्न सकिने खाली सिट छाडेर त्यस किचाघानलाई छिचोल्दै मेरो छेउमा धक्का खाँदै उभिनुभयो, मात्र साहचर्य लोभले । अपरिचितलाई परिचित र परिचितलाई आत्मीय बनाउने सहज जादु उहाँको व्यक्तित्वमा थियो । परिचित व्यक्ति भेट्यो कि अन्तरङ्गताको मोहिनी–सूत्रले बाँधिहाल्ने । पछि मेरै छेउमा बस्नु भएका सभ्रान्त पुरुषको सहृदयताले मसँगै अटेसमटेस गरेर बस्नुभयो । अघिल्लो सिटमा केही छात्राहरू बसेका थिए र तीमध्ये एउटीको घुँगरिएको लहरदार केशराशि सीमा–स्तम्भझैँ रहेको उनको सिटको पछिल्लो भागलाई अतिक्रमित गरेर हाम्रा छेउछाउ उडेर आउने गर्थ्यो । अधर मुस्कुराए– सूर्यको पहिलो किरणको स्पर्शले कमलका पत्रपत्र खुलेझैँे । उहाँको कविहृदय जाग्रत भयो र उहाँले सृष्टिनियन्ताले सृष्टिचक्रलाई निरन्तरता दिन कामभावना सृजित गरेको, यो वासना अमर हो, सत्य, शिव र सुन्दर हो भन्ने विषयमा काव्यात्मक शैलीमा धाराप्रवाह बोल्न थाल्नुभयो । म मन्त्रमुग्ध भई सुन्दै थिएँ । शृङ्गारमा पनि कस्तो मर्यादा थियो । सामान्य वार्तालापमा पनि यसरी दर्शनलाई कविताको भाषामा अविरल इन्द्रावती बगेझैँ बगाउँदै जाने विलक्षण कवि–दार्शनिक दैवज्ञको अनुहार म ट्वाल्ल परी हेर्दै थिएँ । उहाँले स्वरचित उनीमा निम्तो कविताका केही पङ्क्ति सुनाउन थाल्नुभयो । सुनिरहूँ जस्तो लागे पनि मैले ओर्लनुपर्ने ठाउँ सुनधारा आइसकेको हुँदा बिदा लिनु पर्यो ।
२०३५ सालमा साझा प्रकाशनबाट सिर्जनाको लहर (गीति कविता सङग्रह) प्रकाशित भएको थियो । म कुनै काम परेर कीर्तिपुर शिक्षाशास्त्र संकायमा छिरेको थिएँ । बाहिर निस्कँदा जम्काभेट भयो । च्याप्प हात समातिहाल्नुभयो र हामी एकछिन त्यहीँ बगैँचामा घुम्यौँ । आत्मीयताको त्यो मिठास म कहिल्यै बिर्सिन्न । उहाँले अत्यन्त प्रपुफल्लित मुद्रामा त्यस किताबबाट केही अंश सुनाउनुभयो । मैले नेपालीमा केही नलेख्ने गरेकोमा गुनासो पोख्दै लेख्ने सल्लाह दिनुभयो । मैले आफ्नो दुर्बलता स्पष्ट स्वीकारेँ– “साहित्यलाई चाहिने भाषा मसित छैन । छन्दमा दखल फिटिक्कै छैन ।” उहाँले मेरो आलस्यले अनेक बहानालाई रक्षाकवचको रूपमा तेर्स्याएर ढुक्क भई निदाउने ठाउँ मेरो क्षमतालाई दिएको कुरा बुझी अकर्मण्यता छाडी जीवनको प्रत्येक क्षणलाई नवनव अर्थवत्ता प्रदान गरी सार्थक जीवन बाँच्ने प्रेरणा दिनुभयो । आफ्नो कुराकानीमा उहाँले “शाश्वत सत्य” र “शाश्वत मूल्य” जस्ता पदावलीको आवृत्ति पटक–पटक गर्नु भएको म अहिले पनि सम्झन्छु । मैले वेदमा प्रयुक्त शब्द “ऋत” को लामो व्याख्या गरेको सम्झन्छु । मैले सोधेँ– “दैवज्ञ सर ! तपाईंमा रहेको काव्य र दर्शनको यस्तो अद्भूत समन्वय कसरी सम्भव भयो ?” उहाँले हाँसेर जवाफ दिनु भएको थियो– “तपाईंलाई थाहा छैन म साहित्यमा साहित्यरत्न र एम.ए.मात्र होइन, दर्शनशास्त्रको आचार्यको विद्यार्थी पनि हुँ ।
पछि उहाँका बालगीतहरू पनि इतस्ततः प्रकाशित भए । २०३८ सालमा तोतेबोली (बाल कविता सङ्ग्रह) को प्रकाशन पनि भयो । गाउँ खाने कविता र हुने बिरुवाका चिल्ला पात पनि प्रकाशित भए । रच्छौँ हामी सबै जुटेर बिपना नेपालको सुन्दर(२०३२) र प्रवासीको सम्झना (२०२१) कविताले चर्चा पाए, तर सबभन्दा बढी चर्चित भएको कृति ने.रा.प्र.प्र. बाट २०४६ सालमा प्रकाशित जोर मुरली हो ।
चर्चा नेपाली समालोचनाको चल्यो । मैले भनेँ– कविताको तरल भाषाभन्दा समालोचनाको ठोस भाषा र सूक्ष्म वैज्ञानिक विश्लेषणशीलतामा फरक भएको हुँदा प्राकृतिक कविहरू उच्च कोटिका समालोचक हुन सक्तैनन् । उहाँले यसलाई असत्य भन्नुभयो । आफ्नो विचारको पुष्टिका लागि उहाँले केही कवि–समालोचकका नाउँ प्रस्तुत गर्नु भयो, जस्तै डा.त्रिपाठी, कवि माधव घिमिरे । मैले इलियट र यिट्सका नाउँ थपेर यी उदाहरणलाई अपवादका रूपमा लिन अनुरोध गरेँ । २०५५–५६ सालतिर भेट हुँदा उहाँले आपूफले “गुणराज उपाध्यायका खण्डकाव्यहरूको विश्लेषण–मूल्याङ्कन”, “नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू” लेखेको सूचना दिनुभई ती ग्रन्थलाई पढ्न अनुरोध गर्नुभयो । तर पुस्तकहरू बजारबाट उपलब्ध गर्न नसकेको हुँदा आजसम्म पढ्न सकिएन । तर, उहाँले मेरो जडधारणाको विध्वंश गरी त्यहाँ नवधारणाको महल ठड्याइदिनु भएकोमा आनन्द लाग्यो । तैपनि, इन्द्रेणी रङ्गले चिरिच्याट्ट परेको कविता “नारीको सौन्दर्य वर्णन” मा परम चेतनाको उज्ज्वल वरदानसरि नारीको तन–मनमा व्याप्त मृदु सौन्दर्यको जुन मादक आसव मधुछन्द बन्धको प्यालाभित्र छचल्किएको छ, त्यो अविस्मरणीय छ ः–
बोल्छ तारुण्यको भाका बृद्धको छैन यो कुरा,
तैपनि कसले भन्छ सृष्टिको हुन्न आँकुरा
छ आनन्द सबैलाई उस्तै उत्साह छाउँछ
स्वस्थाङ्ग बैँस देखेर, जो पनि मुस्कुराउँछ ।
मूलतः शास्त्रीय संस्कृत छन्दमा कविता रच्न मन पराउने कवि प्रह्लाद पोख्रेल सहायक प्रमुख जिल्ला अधिकारी भएर जनकपुर आउनुभयो । उहाँसितको मेरो सम्बन्ध नितान्त वैयक्तिक र आत्मिक थियो, जसमा उहाँको उच्च प्रशासनिक ओहदालाई तगारो हाल्ने अनुमति हामीले कहिल्यै दिएनौँ । प्रह्लादजी जस्तो असल मान्छेसितको मेरो अन्तरङ्गता मेरो यस जीवनका महत्त्वपूर्ण उपलब्धिहरूमध्ये एक हो । मैले उहाँको व्यक्तित्वमा देवोपम पवित्रता र महानताको दर्शन गरेको छु । उहाँ मानवताको प्रतिमूर्ति हुनुहुन्छ । दाजु–भाइको यो नाता जुनी–जुनीको हो जस्तो लाग्छ । उहाँले आफ्ना स्वरचित सबै ग्रन्थ मलाई दिनुभयो । तीमध्ये एउटा थियो “खोटाङ डायरी” (प्रबन्ध काव्य) । यस काव्यमा उहाँले दैवज्ञ सरलाई “दाइ” भनेर सम्झेको पाएँ । अनि, कहिलेकाहीँ “दैवज्ञ सर” पनि हाम्रो चर्चाको विषय हुन पुग्नुहुन्थ्यो । उहाँलाई मधुमेह र उच्च रक्तचापले पिरोलेकोमा हामी चिन्ता लिने गर्थ्यौँ । प्रह्लादजी यहाँबाट फर्किएर काठमाडौं जानु भएपछि एक दिन मैले फोनमा सोधेँ– “दैवज्ञ सरको के खबर छ ?” जवाफ आएको स्वरमा असीम वेदना थियो– “सर, उहाँलाई पक्षाघात भएको छ । अब ती सुकोमल हातले सम्भवतः कहिल्यै कविता कोर्ने छैनन् ।” म मर्माहत भएँ । तर विधिको विधान अगम्य र अकाट्य हुन्छ । त्यसको अगाडि कसैको केही चल्दैन । सम्झना आइरहन्थ्यो, कुरा भइरहन्थ्यो र हामी नियतिको यस क्रूर खेलमा आफ्नो विवशताको बोध गरी चित्त बुझाई रहन्थ्यौँ । सोच्थेँ, दैवज्ञले त दैवको गति जान्नु पर्थ्यो ? दैवज्ञ त भविष्यद्रष्टा पो हुन्छन् । उनले आपूफमाथि आउने यस दैवी सङ्कटको भेउ किन पाएनन् होला ? कत्राकत्रा र कस्ता सपनाहरू साँचेका थिए युवा वयमा दैवज्ञले । उनी त भन्थे– “साहित्यले शाश्वत सत्यको उद्घाटन गर्न सक्नु पर्दछ र शाश्वत जीवन–मूल्यको स्थापना गर्नुपर्दछ । सत्यम्, शिवम्, सुन्दरम्को अभिव्यक्तिले साहित्य र साहित्यकार दुबैलाई अमरत्व दिन्छ । म, विमलजी, आफ्ना शब्दहरूको संयोजनले संसारमा नयाँ आलोक उत्पन्न गर्न चाहन्छु– पोजेटिव र निगेटिव पोलको संयोगले बिजुली उत्पन्न भएझैँ । हाम्रो नेपाली साहित्यलाई विश्वको सर्वश्रेष्ठ साहित्यको रूपमा हेर्ने धोको छ मेरो । म मेरा शब्दशब्दमा सधैँभरि बाँच्न चाहन्छु । मेरा सपनाहरू बिपनाका शृङ्गार नबनेसम्म म यस संसारबाट बिदा हुन्न ।
तर एकदिन अकस्मात् टी.भी. खोल्दा मैले उहाँको चिता जलिरहेको देखेँ । टी.भी.ले भन्यो– “आज बिहान नेपाली साहित्यका चर्चित स्रष्टा दैवज्ञराज न्यौपानेको निधन भयो ।” केही बेरपछि मैले प्रह्लादजीलाई फोन गरेँ । शोकविह्वल स्वर सुनियो– “दैवज्ञ दाइ रहनु भएन । उहाँलाई आर्यघाटमा सेलाएर आयौँ ।” मैले दैवज्ञका शब्दहरू सम्झेँ– आफ्ना शब्दहरूको संयोजनले म संसारमा आलोक उत्पन्न गर्न चाहन्छु । मेरा सपनाहरू मेरा बिपनाका शृङ्गार नबनेसम्म म यस संसारबाट बिदा हुन्न... ।
नियतिको हातमा खेल्ने कस्ता लाचार खेलौना हौँ हामी ! दैवज्ञ सर हुनुहुन्न, तर उहाँले भन्नु भएजस्तै उहाँका शब्द–शब्दमा उहाँलाई खोज्ने कौतूहल के अब उहाँ नरहे पनि नेपालीमा बाँकी छ होला ? के उहाँका सपनाहरू बिपनामा रूपान्तरित हुन सके ? विधाताले उनीसित कति न्याय गरे ? के हामीले उहाँसित न्याय गर्न सकौँला ? यस्ता अनेक प्रश्नहरू अझैसम्म मानसमा चल्मलाउँछन् ।
२०६९ भदौ
जनकपुरधाम
आदिकवि भानुभक्तका उपासक र प्रचारक कवि दैवज्ञ भानुका सच्चा प्रशिष्य पनि हुनुहुन्थ्यो । मोतीराम, सूधपा, असीम र कमल दीक्षित सरह नै भानुको प्रतिष्ठावृद्धि र नेपाली साहित्यको श्रीवृद्धिमा दैवज्ञ दाइको योगदान रहेको छ ।
प्रा.डा. व्रतराज आचार्य