कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

घाम अस्तायो राप अस्ताएको छैन

रामबाबु सुवेदी

१. दैवज्ञराज न्यौपाने

दैवज्ञराज न्यौपाने सानो भोजपुर हो । उसको घर पहाड हो र थर काकतालीले राखिएका न्यौपाने, सुवेदी, भट्ट, पोख्रेल, खनाल, त्रिपाठी, दीक्षित, गिरीमध्ये न्यौपाने हो । ऊ कसैको पिता हो, कसैको खसम हो, कसैको भानिज हो, कसैको ज्वाइँ हो तर हामी सबैको कवि हो । कवि देशविशेषको मात्र हुँदैन संसारविशेषको हुन्छ तैपनि हामी उसलाई हाम्रो भन्छौँ । हाम्रो भन्नु स्वाभाविकै हो किनकि ऊ पहिले धाइपा गाउँको हो, गोगनेको हो, त्यसपछि नेपालको हो, त्यसपछि विश्वको हो । नढाँटिकन भन्दा ऊ ब्रह्माण्डको सानो कण हो, विश्वसाहित्यको सानो बुँद हो, सानो झिल्को हो, चमक हो ।

नेपाल कतै गाउँ र सहरको स्वरूपमा छ, कतै भुफप्रो र महलको स्वरूपमा छ । हिमाल, पहाड र तराईको मिश्रण हो नेपाल । दैवज्ञराज नितान्त गाउँले हो, सहर बन्ने प्रयास गर्‍यो तर सहर बन्न सकेन । उसको जीवन–वृत्त सहरमा घुमे पनि गाउँले नै बनेर घुम्यो । सरलता, सज्जनता र हार्दिकताको त्रिवेणी बनेर ऊ बगिरह्यो– बग्नु उसको नियति हो ।

मान्छे जन्मेर मात्र मान्छे हुँदैन । कर्मले र धर्मले मान्छे हुन्छ, मान्छे । दैवज्ञराज कर्मले पनि असल मान्छे हो, धर्मले पनि असल मान्छे हो । उसको परिचय ऊ आपैँफ हो, उसको जात, उसको पेसा, उसको पद आदि कुराहरू बाह्य पत्र मात्र हुन् । बेरोकटोक भन्न सकिन्छ कि दैवज्ञराज एउटा त्यो मान्छे हो जसका सुकर्महरू अनेक छन् । ऊ आफ्नै सुकर्ममा बाँचेको छ ।

२. पूर्व र पश्चिमको भेट

नेपालको भूगोलमा भोजपुर पूर्वमा छ, कास्की पश्चिममा छ । सर्वप्रथम दैवज्ञराजसँग मेरो भेट काठमाडौंमा भएको हो । तिथिमिति मलाई थाहा छैन, तर संवत्सर २०२१ हो । नेपालको शिक्षा काठमाडौंमा केन्द्रीकृत हुनु र दूरदराजतिर पातलो हुनुको परिणाम दैवज्ञ र म काठमाडौं पसेका हौँ । काठमाडौं टेक्दा हामी दुबै किशोर थियौँ, अल्लारे थियौँ । हामीमा लबालब गाउँको भोलाभालापन थियो । काठमाडौं हाम्रा लागि त्यस बखत अनौठाकै थियो । यससँग अनेकन रङ्गहरू थिए, तरङ्गहरू थिए, रूपहरू थिए तर हामीलाई केही थाहा थिएन । हामीलाई यति थाहा थियो कि हामी पढ्न आएका हौँ, पढ्नुपर्छ । पढ्नुपर्छको भोक यति तीव्र थियो कि हाम्रा लागि दिन र रात समान थिए । हामी एकसुरले काठमाडौंका सडक, छेँडा र गल्छेँडामा दगुर्‍यौँ । पढाइका विषय नेपाली, संस्कृत र अङ्ग्रेजी थिए ।

काठमाडौंको संस्कृत छात्रावासको एउटा कोठामा हामीले एक अर्कालाई सर्वप्रथम भेटेका थियौँ । पूर्वेली गाउँको एउटा किशोर र पश्चिमेली गाउँको एउटा किशोरको सामान्य भेट थियो त्यो । हाम्रा बोलीमा, लबजमा र प्रस्तुति कलामा केही भिन्नता अवश्य थिए तर पहाडिया चरा हुनुका नाताले एकले–अर्कालाई अज्ञातमै मन परायाँै । यसरी हाम्रो मित्रताको बीजारोपण भयो । बिउले बिरुवाको रूप लियो, बिरुवाले रुखको र रुखले पूफल र फलको ।

३. सङ्घर्ष र जीवन

काठमाडौंलाई थाहा छैन नेपाल बाहिर कति दुःख छ ! उकाली–ओरालीको मात्र त्यहाँ दुःख छैन, नयाँ चेतनाको पनि त्यहाँ दुःख छ । त्यहाँ जीवनका अत्यावश्यक चीजका अनगिन्ती खाँचा छन् । २०२१ सालतिरको नेपालको परिकल्पना गर्दा अहिले पनि हामी मर्माहत हुन्छौँ । दैवज्ञराज न्यौपाने नामको किशोर दुःखका गाउँबाट पुफत्त उप्रेफर आएको एउटा साहसी केटो थियो र रामबाबु सुवेदी पनि । काठमाडौंमा अनेकन पीडाहरू थिए, डेराको पीडा, भाडाको पीडा, बत्तीको पीडा । नयाँ पुस्तक, कापी र कलम किन्दाको दिन मन यति खुसी हुन्थ्यो कि त्यसलाई शब्दमा कहन गाह्रो छ । हो, दुःखको बेलाका खुसी पनि धारिला हुन्छन् र पीडा पनि धारिला हुन्छन् । घर टाढा हुनु, काठमाडौंमा खासै आफ्ना मान्छे नहुनु, घरिघरि पैसा सकिनु, घरबेटीले वचन लाउनु, पढ्दा पढ्दै झयाप्प बिजुली निभाइदिनु, घरिघरि डेरा सर्नुपर्ने बाध्यता आइलाग्नु, डेरा खोज्दा घरधनीका जवान छोरीहरू गराला बन्नु– हो यस्तैयस्तै पीडाका साभेफदार सहयात्री हुन् दैवज्ञराज न्यौपाने र रामबाबु सुवेदी ।

४. पहिलो सहयात्रा

कविवर माधव घिमिरे दैवज्ञराज र मेरो कवितायात्राका एक गुरु हुन् । हामी उनका चेला हौँ । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, आँधीकवि गोपालप्रसाद रिमाल, ललितकवि भूपी शेरचन आदि अग्रज कविहरूबाट निश्चित रूपमा हामी प्रभावित थियौँ तर पनि कविवर घिमिरेले हामीलाई बढी स्नेहले थुम्थुम्याए । उनी स्वयं गाउँले हुनु, सरलताको पारख गर्न बढी सिपालु हुनु र छन्दैछन्दमय हुनुले पनि गाउँले दुइटा साना र कलिला कवि प्रतिभालाई उनले माया गरे । कविता लेख्यो कि हामी कविजीका घरतिर दगुर्थ्यौँ । लैनचौरको कविको घर दैवज्ञको र मेरो छन्दसन्धानको पाठशाला थियो । त्यो पाठशालाबाट हामीले धेरै कुरा सिक्यौँ । कवि घिमिरेको ममतामयी छायामुनि थाहै नपाई दैवज्ञ र मेरो बीचको मित्रता बढी गाढा र घनीभूत हुनपुगेछ । थाहा पाएपछि हामी दुबै खुसी भयौँ । कवि घिमिरेले हामीलाई धेरै ठाउँमा सहयात्री बनाउनुभएको छ । उहाँसँग हामी काठमाडौँका साहित्यिक कार्यक्रममा धेरै पटक सहभागी भएका छौँ । चितौन, पोखराजस्ता ठाउँहरूमा हामी कविजीसँग गएका छौँ र कतिपय ठाउँमा कविता जाँचकी पनि भएका छौँ । प्रारम्भिक चरणहरूका कार्यक्रममा अक्सर जानु, कविता वाचन गर्नु, श्रोताको प्रतिक्रिया पढ्नु– परिष्कारको सुन्दर उपाय हो । कवि घिमिरेले हामीलाई यस्ता अवसरहरू धेरै दिनुभएको छ । कविताको क्षेत्रमा कतिपय मानिस दैवज्ञ र मलाई कविवर घिमिरेका चेला भन्छन्– चेला भन्नु साँचो हो ।

५. छन्दका कविता

जीवन छन्दमय छ । संसार छन्दमय छ । ब्रह्माण्ड नै छन्दमय भएपछि कविता छन्दमय हुनु स्वाभाविकै हो । तर पनि छन्द भनेर “र” गण र “त” गण वरिपरि मात्र घुम्नुपर्छ भन्नु सत्य होइन । आँधीकवि गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजात आदिका रबरछन्दका कविताहरू अत्युत्तम छन् । हो, कवि दैवज्ञराज न्यौपाने र मैले छन्दमा कविता लेख्यौँ । मन्दाक्रान्ता, शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका जस्ता धेरै छन्द हामीले चलायौँ, खेलायौँ । तर पनि सत्य के हो भने जुनसुकै छन्दमा लेखिए तापनि “कविता” कविता हुनुपर्छ । कविताको मापन छन्द वा रबरछन्द भन्ने होइन, त्यसले प्रदान गर्ने कवितात्मकता नै हो ।

कवि दैवज्ञका कविता मधुर छन्, रसमय छन् र जीवनसापेक्ष छन् । तिनले देश, काल, परिस्थिति आत्मसात् गरेका छन् । कवितामा हाम्रा गाउँघरका लोलीबोली छन्, लयहरू छन् र तिनमा छ्यालब्याल रूपमा युगीन चेतना छन् । हो, मैले केही गद्य कविता अर्थात् रबरछन्दका कविता पनि लेखेको छु । कमिनी आमा कविता सङ्ग्रहमा ती कविताहरू प्रकाशित छन् । तर पनि दैवज्ञराज र मलाई धेरैजसो छन्दमा कविता लेख्ने कविहरू भनेर चिनिन्छ । तर मेरो परिभाषामा सबै कविता छन्दमा लेखिन्छन्, अछन्दमा कविता लेखिन्नन् । तपाईँ चाहे जसलाई जसरी चिन्नोस्, कविताको कसी अछन्द होइन र छन्द मात्र पनि होइन । कविताको कसी कविता नै हो । कवि दैवज्ञ कविताको कसीमा घोट्दाघोट्दा उम्दा सावित भइसकेको सुन्दर कवि हो ।

६. मुस्कानको माछापुच्छ्रे

कवि दैवज्ञको मुस्कान बिर्सिनसक्नु नै थियो । गोरो र झल्झलाउँदो अनुहार, चौडा निधार, त्यसैमाथि मनोहारी मुस्कान । मान्छे असल हो वा होइन, हामी मुस्कानले जाँच्न सक्छौँ । धेरैजसो सहरको मुस्कान पातलो हुन्छ र कसैकसैको कुटिल पनि हुन्छ । गाउँको खाँटी हुन्छ, सहज र स्वाभाविक हुन्छ । दैवज्ञ भनेको गाउँ हो । उसको मुस्कान भनेको गाउँको प्रतिनिधि मुस्कान हो । कतिपय मानिसका ओठ मात्र हाँस्छन् दिल हाँस्दैनन् । यस्ता हाँसाहरू कुटिल हाँसा हुन् । हामी दिल खोलेर हाँस्न सक्नुपर्छ । दैवज्ञमा यो क्षमता थियो, दिल खोलेर हाँस्न सक्ने क्षमता । उसका सुन्दर ओठबाट पुफस्केको मुस्कानलाई म पोखराको माछापुच्छ्रेसँग दाँज्छु । जस्तो माछापुच्छ्रेको मुस्कान त्यस्तै दैवज्ञको मुस्कान । यसैले म मेरो कवि मित्र दैवज्ञलाई मुस्कानको माछापुच्छ्रे भन्छु ।

७. बालगीत र बालकविता

कवि दैवज्ञराज न्यौपानेका बालगीत र बालकविता ज्यादै राम्रा छन् । बूढानीलकण्ठ स्कुल, काठमाडौंमा मैले २७ वर्ष पढाएँ । पढाउने क्रममा मैले बालबालिकालाई मेरा बालकविता पनि पढाएँ र अन्य कविका बालकविता पनि पढाएँ । पढाउने सिलसिलामा विद्यार्थीहरूले दैवज्ञका बालगीत र बालकविता अत्यन्तै मन पराएको पाएँ । यसैबाट उत्साहित भएर मैले पाठ्यक्रम विकास केन्द्र, सानोठिमीका बालसन्दर्भ सामग्रीका रूपमा प्रकाशित भएका बाललीला, बालभेला र ताराबाजी लै लै को संयोजनमा सक्रिय भूमिका खेलेँ । कविवर माधव घिमिरे, कृष्णप्रसाद पराजुली, क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाल, दैवज्ञराज न्यौपाने, दुर्गालाल श्रेष्ठ, रामबाबु सुवेदी, प्रभा भट्टराई, रमेशचन्द्र घिमिरेका बालकविताका उक्त तीनोटा सङ्कलन निकै राम्रा छन् । सङ्कलनको क्रममा मैले त्यसबेला दैवज्ञलाई पटक–पटक भेटेँ, पटक–पटक छलफल गरेँ । स्रष्टाहरूले नयाँ र सुन्दर बालकविता, बालगीत लेखे, ती रचनाहरू कतिपय सङ्गीतबद्ध पनि भए र कतिपय विभिन्न सहयोगी पाठ्यपुस्तकमा पनि सामेल गरिए । आज पनि म के सम्झन्छु भने २०५७ देखि २०६० सालभित्रमा लेखिएका उक्त कविहरूका उक्त कविता वा गीत सिर्जना हुनुमा दैवज्ञराजको ठुलो भूमिका थियो ।

असल स्रष्टा आपूफ मात्र असल सिर्जना गर्दैन, आफ्ना सहकर्मीहरूलाई पनि असल सिर्जना गर्न उत्प्रेरित गर्छ । यसको ताजा उदाहरण “बाललीला”, “बालभेला” र “ताराबाजी लै लै” नै हुन् । यी तीनोटै कृतिमा दैवज्ञको प्रत्यक्ष र अप्रत्यक्ष दुवै खालको ठुलो सहयोग र संलग्नता छ । यसको साक्षी प्रत्यक्षतः उक्त कृतिहरू हुन् र अप्रत्यक्षतः म स्वयं हुँ । यहाँ मैले तीनोटा सङ्कलनको उल्लेख गरेर दैवज्ञले लेखेका केही बालगीत र बालकविताको उल्लेख गरँे । समष्टिमा कहँदा नेपाली बालकवितामा दैवज्ञको विशेष देन छ । उसले नेपाली बालबालिकालाई धेरै राम्रा रचना दिएको छ । ऊ तिनै रचनामा अमर छ ।

८. घाम अस्तायो राप अस्ताएको छैन

कवि दैवज्ञराज न्यौपाने आज हाम्रो बीचमा छैन । असमयमै हामीले उसलाई बिदा दिनुपर्‍यो । तर पनि सत्य के हो भने सूर्य मात्र अस्ताएको हो, राप अस्ताएको होइन । स्रष्टा सधैँ नै आफ्ना रचनामा बाँच्छ । दैवज्ञ पनि स्रष्टाको रूपमा सधैँ हाम्रो बीचमा अमर छ । त्यो अमर आत्मालाई मेरो सलाम झ्

२०६९ साउन २१
धापासी, काठमाडौं

काला केश शरीर हेर्न गठिलो आँखा भने खुल्दछ

राम्रो भन्नु नभन्नु चित्र मुखको के रूप यो खुल्दछ

बोकी अन्तरद्वन्द्व लाग्छ मनमा तस्वीर यो बस्छ झैँ

भित्री छन् न त देखिने सब कुरा के भन्नु के भन्नु खै ?

दैवज्ञराज न्यौपाने, तस्विर हेर्दा