कवि दैवज्ञ : मेरो सम्झना
म के लेखूँ ! लेख्न तम्सिएको छु, तर के लेखूँ ! उनका बारेमा लेख्न खोज्दैछु जो यस दुनियाँमा अब सशरीर छैनन् । कहिलेकाहीँ झस्किन्छु र मेरो मनले भन्छ – उनी त यहीँ छन् नि, हो यहीँ, यसै टोलमा, म जहाँ छु यसै गल्लीको उः त्यो कुनामा उनी कविता रचिरहेका होलान् र जोर मुरली खेलाइरहेका होलान्, अनि मीठो स्वरले गुनगुनाइरहेका होलान् । होइन होइन, यो त मेरो भ्रम हो । उनी यस लोकमा छैनन्, तर उनका सबै थोक यहीँ छन् । उनको आत्मा यहीँ छ, कोठाको एउटा कुनामा चिन्तनशील भएर बसिरहेको होला । उनको लेखनी यहीँ सेतो कागजको पाना कोर्दै होला र उनका पदचिन्ह यहीँ छन् कुचोले बढारेको छैन होला, उनको पदध्वनि पनि भर्याङका खुड्किलामा गुन्जिरहेको होला । उनको शिरको ढाका–टोपी त्यहीँ टेबुलमाथि उनलाई नै पर्खिएर बसिरहेको होला । उनका श्वासप्रश्वास त्यहीँ भित्रबाहिर गर्दै होलान् । त्यसैले मेरो मनले यसो चियाउन खोज्छ तर उनलाई देख्दैन । मनले आपैफँलाई सान्त्वना दिन्छ – आउलान् नि त कतै गएका होलान्, उनका यावत् चिज यहीँ छन्, उनी अवश्यै आउँछन्, नआउने त कुरै छैन, उनका सबै कुरा यहीँ छन्, मैले उनलाई कुर्नैपर्छ, एः उः आएका होइनन् ? आएजस्तै छ । मेरा मनका तरङ्गहरूले कहिलेकाहीँ उनलाई पछ्याइरहेको हुन्छ र मेरो मन भ्रमित हुन पुग्छ त्यस्तो एउटा व्यक्तिको सम्झनामा रुमलिँदा–रुमलिँदै । मेरो मनलाई यसरी प्लावित बनाउने व्यक्तित्व हुन् – कवि दैवज्ञराज न्यौपाने । साँच्चै हो उनको नश्वर शरीर अहिले यहाँ छैन र हाम्रा चर्मचक्षुले देख्न सक्तैनन् । उनी छन् केवल हाम्रो स्मृतिपटलमा र अनि उनका यशस्वी सृजनाहरूमा ।
दैवज्ञराज न्यौपानेले वि.सं. १९९९ साल मङ्सिर ३० गते पण्डित गणेशप्रसाद न्यौपाने तथा उमादेवी न्यौपानेका ज्येष्ठ पुत्ररत्नका रूपमा भोजपुर जिल्लाको एउटा गाउँमा जन्म लिएका थिए । पाँच वर्षकै उमेरमा यिनले आप्फनै घरपिँढीमा अक्षरारम्भ गरी आप्फना पितामह र पिताका काखमा बसी प्रारम्भिक शिक्षा ग्रहण गरेका थिए । वि.सं. २०१५ मा स्थानीय विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरी दिङ्लाको षडानन्द संस्कृत विद्यालयमा केही वर्ष पढेपछि अरू पढाइका लागि यिनी दाङ पुगे । त्यति बेलादेखि नै सृजनातर्पफ यिनको मन आकृष्ट भएको र तदनुरूप गीत, कविता आदि लेख्न यिनको रुचि बढ्दै गएको पाइन्छ । दाङमा बसेर पूर्वमध्यमा उत्तीर्ण गरेपछि वि.सं. २०२० मा काठमाडौँ आई तीनधारा संस्कृत छात्रावासमा बसेर वाल्मीकि विद्यापीठमा अध्ययन गरी शास्त्रीपरीक्षा उत्तीर्ण गरेर आचार्यतहको अध्ययन गर्दागर्दै वि.सं. २०२६ मा यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम्.ए. उत्तीर्ण गरेका हुन् । यसरी उच्च शिक्षा प्राप्त गरेपछि यिनी प्राध्यापन सेवामा प्रवेश गरेका हुन् । नेपालीमा प्राध्यापन गर्ने र साहित्यतर्पफ किशोरावस्थादेखि नै अभिरुचि राख्ने भएकाले प्राध्यापनका साथसाथै साहित्यिक क्षेत्रमा यिनी साधनारत हुँदै गए र आप्फना सुमधुर कविताहरूका माध्यमबाट साहित्यिक क्षेत्रमा यिनी आप्फनो यशस्वी प्रतिष्ठा स्थापित गर्न सफल भए ।
यिनै दैवज्ञ हुन् जसको चित्र मेरा अगाडि छ । यिनले दैवलाई जाने कि जानेनन् त्यो त म भन्न सक्तिन तर दैवले चाहिँ यिनलाई चिनेनन् वा जानेनन् जस्तो लाग्छ मलाई, किनभने यिनका थुप्रै काम बाँकी थिए यहाँ गर्नुपर्ने, भन्नुपर्ने र लेख्नुपर्ने । जानेको भए दैवले यति चाँडै बोलाउनुपर्ने आवश्यकता थिएन । यिनै दैवज्ञका बारेमा केही व्यक्त गर्ने धृष्टता गर्दैछु तर अघि नै मैले भनिसकेँ म के लेखूँ ! यिनका बारेमा लेख्नुपर्ने धेरै छ तर म अभिव्यक्त गर्न सक्तिन । मैले उनलाई देख्दाको तस्विर मेरा अगाडि आइहाल्छ । मेरोभन्दा केही अग्लो शरीर, सुरिलो जिउ, गोरो वर्ण, हँसिलो अनुहार, राता–राता गाला भएको अत्यन्त आकर्षक व्यक्तित्व मेरो अगाडि ठिङ्ग उभिन्छ, अनि त म केही व्यक्त गर्नै सक्तिन । हो, यो कुरो साँच्चै हो, तर केही न केही उनका बारेमा लेख्नैपर्ने ठानेर नै मैले यो धृष्टता गरेको हुँ ।
काठमाडौँ नयाँ बानेश्वरको एउटै टोलमा उनको र मेरो पनि बसाइ थियो । प्रायशः दिनदिनै भेट हुन्थ्यो उनीसँग, म काठमाडौँमा भएका बखत । तिनताका म पनि सरकारी जागिरे थिएँ प्रशासन सेवातर्पफ । वि.सं. २०३७ सालदेखि २०४५ सम्म स्थानीय विकास अधिकारी भएर जिल्लातिर घुम्न थालेँ र त्यस अवधिमा म यदाकदा मात्र काठमाडौँमा आउँथेँ । काठमाडौँमा भएका बखत समय–समयमा उनको र मेरो रमाइलो भेटघाट हुन्थ्यो अनि हाम्रा बीच सौहार्द्रपूर्ण वातावरणमा कुराकानी हुन्थे । एउटा विद्वान् साहित्यकार र अत्यन्त मिलानसारका हिसाबले म उनलाई निकै आदर गर्थेँ अनि उनको ओजस्वी व्यक्तित्वप्रति म नतमस्तक हुन्थेँ । कहिलेकाहीँ धेरै दिनसम्म भेट भएन भने मलाई खल्लो लाग्थ्यो । उनका जीवनका पछिल्ला वर्षहरूमा मेरो र उनको बीचको भेटघाट पातलिँदै गयो, त्यसको कारण थियो उनको बसाइ नयाँ बानेश्वरबाट सिनामङ्गल, गैरीगाउँ सर्नु ।
हामी दुवै राष्ट्रसेवक भए तापनि सेवा भने फरक थियो । म निजामती सेवामा थिएँ भने उनी शिक्षा सेवामा । त्यसैले उनको प्राध्यापन सेवा कस्तो थियो मलाई यकिन छैन । यसका अतिरिक्त अर्को सेवा भने हाम्रो एउटै थियो, त्यो थियो सामाजिक सेवा । कयौँ वर्षसम्म हामीले सामाजिक सेवाका क्षेत्रमा सहकर्मी भएर काम गर्यौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३४ अन्तर्गत नयाँ बानेश्वरमा पञ्चकुमारी सामाजिक गुठी र सामुदायिक विकास तथा सेवा समिति नामक सामाजिक संस्थाहरू थिए र अभैफ पनि छन् । ती दुवै संस्थामा कयौँ वर्षसम्म हामीले सँगै काम गर्यौँ । ती क्षणहरू इतिहासको गर्भमा विलीन भइसकेका छन्, तैपनि मेरा आँखाअगाडि अहिले पनि त्यस बखतका परिदृश्यहरू सलबलाइरहेका छन् । त्यस बखतको मीठो स्मृतिले मलाई विह्वल पारिरहेको हुन्छ । दैवज्ञ न्यौपानेको बहुमुखी प्रतिभाबाट म अत्यन्तै प्रभावित छु । साधारण नजरले हेर्दा उनमा तीनवटा प्रभावशाली व्यक्तित्व पाउँथेँ म । एउटा शैक्षिक व्यक्तित्व थियो भने अर्को साहित्यिक व्यक्तित्व अनि त्यसपछि सामाजिक व्यक्तित्व । आँखामा हाले पनि नबिझाउने व्यक्तिका रूपमा पाएँ मैले उनलाई ।
यी सरल, सहज र प्रतिभासम्पन्न व्यक्तिलाई गुमाउनु पर्दा म मात्रै होइन उनीसँग परिचित हामी सबै नै व्याकुल छौँ । यसको क्षतिपूर्ति त सम्भव छैन तापनि उनका सम्झनाका लहरहरू अविच्छिन्न रूपले प्रवाहित भइरहेका छन् । एउटा होनहार व्यक्तिको असामयिक देहावसान हुँदा कसको हृदय क्षतविक्षत हुँदैन र !
सामाजिक सेवामा अत्यन्त उत्साह र सक्रियताका साथ लागिपर्ने दैवज्ञ न्यौपानेको कविव्यक्तित्वका सम्बन्धमा मैले विवेचना गर्नु सायद दुःसाहस हुनेछ । त्यसैले म यति मात्र भन्न चाहन्छु कि उनका कविता अत्यन्त प्रिय मात्र होइनन् राष्ट्रप्रेम, प्रकृतिप्रेम र मानवीय सदाचारका सन्देशहरू प्रवाहित भएका अनुकरणीय, उदाहरणीय र विशिष्ट खालका पनि छन् । त्यति मात्र होइन उनका सृजनाहरू बोधगम्य पनि छन् । बालसाहित्य र समालोचनाका क्षेत्रमा उनको लेखनी दौडेको भए तापनि मूलभूत रूपमा कविताविधा नै उनको सशक्त साधनाभित्र पर्दछ । उनका कविताभित्रका मलाई अत्यधिक मन परेका केही पङ्क्तिहरूलाई तल उद्धृत गर्न चाहन्छु ः–
‘साँचो भन्न सकिन्न निर्भय भने के को प्रजातन्त्र भो !”
‘खै ! उस्तै छ कथा अभैफ पनि नयाँ ब्वाँसाहरू छल्दछन्”
‘मान्छे दैनिक सप्रियो कि अथवा गिर्दै गयो झन् तल”
‘हेर्दा लाग्दछ जालभेफल कटुता बढ्दैछ रातो दिन”
‘साँचो हुन्छ सदैव सत्य छ भने छोपेर छोपिन्छ के ?”
शान्तिकामना (अर्धशतककाव्य)
‘थाहा हुन्न कसैलाई भावी जीवनको गति”
सम्झनाको धरातलबाट(पत्रकाव्य)
नेपाली धरती हाम्रो हेर्दै पनि रमाइलो”
‘नेता छैन भने राम्रो केही हुन्न कतै पनि”
‘उद्योगी पुरुषार्थीले परको पनि हेर्दछ”
‘वियोग वेदनाभित्र बन्छन् त्रसित जो पनि”
– चासो र चिन्तन (खण्डकाव्य)
‘यो हो संसार यस्तै छ छैन पूर्ण कतै पनि”
‘मसानभूमिमा हाम्रो अझ चल्दैछ जीवन”
‘आमा हुन् सिर्जनाशक्ति आमा गौरवकी धन”
‘यस्तै हो सृष्टिको चक्र जानु–आउनुका कुरा”
‘बारम्बार यहाँ यस्तै अर्को भूल कतै नहोस्”
‘अकालैमा कसैलाई मर्ने त्रास कतै नहोस्”
– ती रोइन् त्यसरी किन ? (खण्डकाव्य)
अकस्मात् वज्रपात भयो । उनी ओछ्यानमा परे । वि.सं. २०६२ मा पक्षाघातबाट पीडित भएर उनको जीवनयात्रामा ठुलो विघ्न पर्यो । विभिन्न व्यक्ति तथा संस्थाबाट उनको स्वास्थ्यलाभको कामना गरियो । औषधि–उपचारको राम्रो प्रबन्धका लागि भरमग्दुर प्रयास भयो । परिवारका सदस्यहरूले न भोक न निद्रा, अहोरात्र बिरामीको सेवाशुश्रूषामा खट्नुपर्दा किंकर्तव्यविमूढ भएर रहनुपर्यो । उनको स्वास्थ्यलाभका निम्ति कवि–साहित्यकारहरूले आप्फ–आप्फनो वेदना पोखे, शुभकामना व्यक्त गरे र दीर्घायुको कामना समेत गरे । यसै सन्दर्भमा कवि एवं साहित्यकार शरद्कुमार भट्टराईको “आरोग्यकामना” शीर्षक कविताको निम्नलिखित श्लोक मलाई अत्यन्त हृदयस्पर्शी लागेकाले त्यसलाई उद्धृत गर्न चाहन्छु ः–
‘हामी दिन्छौँ भर उठ तिमी हात हाम्रो समाऊ
सारा चिन्ता पर गर तिमी स्वस्थ भै झट्ट आऊ
तिम्रा राम्रा सरस कविता लौ न आऊ सुनाऊ
आऊ प्यारा तरुण कवि हे ! पूफलभैफँ मुस्कुराऊ ”
दैवज्ञ पद्यध्वनि
यसरी विविध क्षेत्रबाट आरोग्यकामना गर्दागर्दै र औषधोपचारका लागि अथक प्रयास हुँदाहुँदै पनि केही लागेन । आखिर : “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो” कविशिरोमणि लेखनाथको भनाइजस्तै भयो, काल टरेन । यसरी वि.सं. २०६८ पौष २ गते शनिवारका दिन एउटा अमूल्य निधिको अन्त्य भयो ।
अन्त्यमा कवि दैवज्ञराज न्यौपानेको आत्माको चिरशान्तिको कामना गर्दै श्लोकबद्ध रूपमा निम्नबमोजिमको मनोभाव व्यक्त गर्न चाहन्छु ः–
निर्विवेकी विधाताले लग्यो टप्प टिपीकन
शोकमग्न बनेका छौँ हामी विक्षिप्त भै मन
तिम्रा सुन्दर मीठा ती कविता सुन्न पाउँदा
लट्ठिने मन यो दुख्छ रसपान नपाउँदा
बाँच्ने छौ कवि दैवज्ञ ! युगौँयुग तिमी जहाँ
श्रद्धासुमन अर्पन्छौँ हामी विह्वल भै त्यहाँ