कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

प्रकृतिका वरदपुत्र : कवि दैवज्ञ

रुद्रनाथ शर्मा न्यौपाने

कवि दैवज्ञराज न्यौपानेले कविता र गीत रचना क्षेत्रमा विशिष्ट स्थान ओगट्नु भएको छ । उहाँका कविता तथा गीतहरू स्वतःस्फूर्त रूपमा कलकल बग्ने नदीझैँ बगेर नेपाली जनताको मानसिक पटल प्रवाहित पार्न सफल रहेको मेरो अनुभव छ । यथार्थपरक मानवीय भावनालाई सुन्दर ढङ्गले चित्रण गरिएको हुन्छ उहाँका कविता र गीत दुवै विधामा । यस अर्थमा कवि दैवज्ञराज न्यौपानेलाई प्रकृतिका वरद पुत्र कवि तथा उहाँका कवितालाई प्रकृतिका प्रतिनिधि भन्नु उपयुक्त हुन्छ ।

दैवज्ञ र मेरो बीचको सम्बन्ध झन्डै ४५ वर्षभन्दा पुरानो छ । यो कालखण्डलाई पनि ३ भागमा विभाजित गरेर सम्बन्धका तीन आयामहरू रहेको मैले पाएको छु । २०२२ सालमा म पुतली सडक नजिक एउटा पुरानो घरको कोठा भाडामा लिएर बस्थेँ । त्यसको १ वर्षपछि त्यही घरको अर्को अलि ठुलो कोठामा २/३ जना ब्राह्मण पुत्रहरू पनि आएर बस्न थाले । यिनीहरू रातोपिरो अनुहार गरेका हर्दम छन्दोबद्ध कविता वाचन गरिरहने व्यक्तित्वहरू थिए । धेरै दिनसम्म यी को हुन् के गर्छन् मलाई थाहा भएन । आक्कल भुफक्कल भेटघाट चाहिँ हुन्थ्यो तर हामी परस्परमा बोलचाल र चिनाजानी गर्दैनथ्यौँ ।

त्रिपुरेश्वरस्थित त्रि.वि.को सभाकक्षमा एकपल्ट तत्कालीन विद्यार्थी पुण्यप्रसाद सुवेदी समेतको आयोजनामा कवि सम्मेलन आयोजना गरिएको र म पनि निमन्त्रित थिएँ । त्यस कवि सम्मेलनमा एउटा छन्दोबद्ध कविता सुन्दर ढङ्गले वाचन गरेर सबैलाई मनमुग्ध गराए एक विद्यार्थीले । त्यतिखेर सबैतिरबाट स्याबास दैवज्ञ भनेर उद्घोष भएपछि पो मैले यकिन गरेँ, यी दैवज्ञ भनिने विद्यार्थी कवि त म बसेकै डेरामा बस्ने व्यक्ति पो रहेछन् । त्यसपछि पुण्यप्रसाद सुवेदीले नै चिनाजानी गराएपछि हाम्रो बोलचाल र चिनाजानी भयो कयाँै समय एउटै छानामुनि हामी दुवै बस्यौँ ।

समयको अन्तरालमा विद्यार्थी दैवज्ञराज न्यौपाने प्राध्यापक दैवज्ञराज न्यौपाने बन्नुभयो । यसै हैसियतमा उहाँ मेरो घर चैनपुरमा एस.एल.सी परीक्षाको केन्द्राध्यक्ष बनेर जानुभएछ । त्यहाँ मेरो परिवारसँग न्यौपानेको नाताले चिनाजानी गर्दा गर्दै कुनै जमानामा दैवज्ञ र रुद्रनाथ शर्मा एउटै छानामुनि बस्ने दाजु भाइ सरह रहेको कुरा खुल्न आएपछि मेरी माताज्यू पनि दैवज्ञप्रति प्रभावित हुनुभएछ । पछि काठमाडौँ फर्केर आई रुद्रनाथ दाइ र म दैवज्ञ भाइ भएँ भनेपछि मैले पनि त्यस कुरालाई समर्थन जनाएँ । पछि हामी सधैँका लागि दाजुभाइ भयौँ ।

दैवज्ञ कवि र गीतकार मात्र होइन उहाँ अनेकौँ प्रतिभा आफूमा समाहित गरेर यो राष्ट्र तथा आफ्नो समाजलाई नै प्रभावित पार्ने एक बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्थ्यो । न्यौपाने वंशका बारे दैवज्ञले ठुलो खोजतलास गरी न्यौपानेहरूको राष्ट्रिय स्तरको सम्पूर्ण अध्ययन गर्नु भएको छ । उहाँको यो ज्ञान र योगदानको न्यौपाने बन्धु समाज केन्द्रीय कार्यालयदेखि लिएर देशभरिका न्यौपानेहरूले हार्दिक प्र्रशंसा गरेका छन् ।

चैनपुरका न्यौपानेहरूको वंशावली निकाल्ने क्रममा म भाइ दैवज्ञकहाँ पुगेँ । उनले मैले चाहेको भन्दा ४ गुना बढी सूचनासाथ भूमिका लेखिदिएर मलाई ठुलो गुन लगाउनु भएको छ । भाइ दैवज्ञले लेख्नु भएको सो भूमिकाको एक अंश जस्ताको तस्तै यहाँ प्रस्तुत गर्दछु ः—

“२०२४/२५ सालतिर कता हो मैले रुद्रनाथ शर्मालाई भेटेको हुँ । अहिले त्यसको याद भएन । यतिसम्म भने अवश्य याद छ मैले जुन दिनदेखि उहाँलाई चिनँे त्यही बेलादेखि म उहाँको सरल व्यक्तित्व, साधारण रहनसहन र उच्च विचारदेखि प्रभावित हुँदै आएको छु । सधँै केही गरिरहने, सधैँका गतिशील भद्र व्यक्तित्वका धनी रुद्रनाथ शर्मा धेरैका प्रेरणास्रोत हुनुहुन्छ ।”

सकारात्मक सोचका धनी, सबैका प्रिय पात्र कवि एवं गीतकार दैवज्ञराज न्यौपाने विविध विधाका विशिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो जसले जीवनभर नेपाली जनताबाट प्रेम, सद्भाव र प्रशंसा पाई जीवन सार्थक बनाउनुका साथै युगौँ युगसम्म आफूलाई नेपाली आकाशका एक उज्ज्वल नक्षत्रका रूपमा चम्काइराख्न सफल र सक्षम हुनु भएको छ । प्रकृतिका वरद पुत्र कवि फेरि प्रकृतिमै समाहित हुनु भएको छ ।

२०६९ साउन, काठमाडौँ