पहिलो मान्छे : दैवज्ञराज न्यौपाने
यस संसारमा मान्छे जन्मन्छन्, जीवित अवस्थामा केही गर्छन् र अन्त्यमा मर्छन् । जन्मनु र मर्नु विधिको अकाट्य विधान हो । जीवित अवस्थामा कसैले आफ्नो स्वार्थ मात्र पूरा गर्छन् भने कसैले अरूका लागि पनि केही काम गर्छन्, त्यही कामले आपूफ पनि समाजमा परिचित हुन्छन् र मृत्युपछि पनि नाम रहन्छ । दैवज्ञराज न्यौपाने त्यो व्यक्तिको नाम हो, जसले आफ्ना बन्धु–बान्धव, नाता–गोता, इष्ट–मित्र, समाज र देशका लागि पनि केही गरौं भन्ने इच्छा राखेको थियो र त्यो इच्छाले पूर्णता पाएको छ ।
भोजपुर गोगनेका न्यौपाने वंशलाई नै चिनाउने, चम्काउने र गौरवान्वित बनाउने व्यक्तिका रूपमा दैवज्ञराज न्यौपानेलाई लिँदा न्याय नै गरेको ठहर्छ । कुनै बिरुवा राम्रो भएर फल दिनका लागि असल बिउ जसरी आवश्यक पर्दछ त्यसरी नै कुनै मानिस असल बन्न त्यसको पारिवारिक पृष्ठभूमि पनि राम्रो हुनुपर्दछ । बाजे छविलाल न्यौपाने वंशकै पहिला पण्डित हुनुहुन्थ्यो भने बाबु गणेशप्रसाद पनि बाबुकै पदचिह्न पैल्याउँदै प्रतिष्ठित पण्डित नै हुनुहुन्थ्यो । त्यति मात्र नभएर दाजु केशवानन्द पनि बाबु, बाजेजस्तै पण्डित भएर पुराण भन्ने पेसा नै गर्नुहुन्छ । गोगने धाइपाका तीनपुस्ते पण्डित घराना भनेर त्यस क्षेत्रमा सर्वत्र चर्चाकै विषय बनेको थियो । भोजपुर जिल्लाको दावाँ भन्ने गाउँमा घरबारी र खेतसमेत किनेर परिवार सहित बसोबास गरी तीनपुस्ताले नै व्यावसायिक पण्डित नै बनेर त्यस क्षेत्रमा ख्याति कमाउनु भएको थियो । बाबुआमा दावाँमा नै बसेको हुनाले नै दाजु दैवज्ञको जन्म गोगनेमा नभएर त्यही गाउँमा भएको थियो । अहिले केशवानन्दको वृद्धावस्था भएको र उहाँका छोरा लगायत छविलालका सन्तान कसैले पनि व्यासासनमा बस्ने व्यवसाय नगरेकाले अहिले दावाँमा छविलालका सन्तानको बसोबास छैन ।
दैवज्ञराज न्यौपानेको जन्म दावाँमा भए पनि बाल्यकाल गोगनेको धाइपामा नै बित्यो र घरमा अक्षरारम्भ गरी चण्डी, रुद्री आदि पढेर गोगनेस्थित विद्येश्वर पाठशालामा हाम्रा प्रातःस्मरणीय गुरु पं.जयदेव अधिकारीको चेलो बनेर औपचारिक शिक्षा आरम्भ गरेर दिङ्ला, दाङ हुँदै काठमाडौंमा आएर अध्ययन पूरा भएको हो । गोगनेका न्यौपानेमा सर्वप्रथम संस्कृतमा आचार्यसम्मको अध्ययन र नेपालीमा एम.ए. गर्ने सौभाग्य दैवज्ञलाई नै प्राप्त भएको हो । राजाको निरङ्कुशता विरुद्ध पहिले कदम चाल्ने काम पनि उहाँबाटै भएको हो । काठमाडौं पढ्दै गर्दा नै बिदामा घर गएको समयमा स्थानेश्वर खतिवडा र उहाँ भएर राजाका फोटामा आगो लगाउने साहसिक काम भएको थियो । प्रजातान्त्रिक विचार भएकाले निरङ्कुशताको विरुद्ध त्यो एउटा साङ्केतिक क्रान्ति थियो । त्यसै अभियोगमा उहाँहरू दुवैजनाले करिव ३ महिना जति (७५ दिन) भोजपुर जेलमा राजनैतिक बन्दी जीवन बिताउनु परेको थियो । त्यसपछि हाम्रो पुस्ताका धेरै युवकहरू भित्रभित्रै प्रजातान्त्रिक आन्दोलनमा सहभागी पनि बन्न थालेका थिए ।
रेडियो नेपालमा पहिलो कविता वाचन गर्ने दैवज्ञराजले पहिलो पल्ट युवावर्ष मोती पुरस्कार पाउने सौभाग्यशाली न्यौपाने बन्ने अवसर पनि पाउनु भएको छ । पहिलो प्राध्यापक पनि गोगनेवासी न्यौपानेमा उहाँ नै हुनुहुन्छ । पुराना कविता लेख्ने न्यौपानेका पुराना कवि रामविनोद न्यौपाने भए पनि आधुनिक नेपाली साहित्यका विभिन्न विधा समेटेर धेरै कृतिहरू रचना गरी कवि दैवज्ञराज न्यौपाने भनी परिचित पहिलो कवि पनि उहाँ नै हुनुहुन्छ ।
यसरी कवि दैवज्ञराज न्यौपानेले धेरै कुरामा पहिलो हुने सौभाग्य प्राप्त गर्नुभएको छ भने भाग्यले नै भनौं उहाँकी कान्छी श्रीमती सुधा न्यौपाने पनि न्यौपाने (गोगने) का बुहारीमा सर्वप्रथम दुई विषयमा एम.ए. उत्तीर्ण गरी निजामती सेवामा प्रथम उपसचिव बन्नु भएको छ । त्यति मात्र नभएर दैवज्ञराजकी पहिलेकी धर्मपत्नी रीता न्यौपाने समेत पहिलो अधिकृत हुनुहुन्थ्यो भने उहाँकै कोखबाट जन्म लिएका छोरा उज्ज्वल न्यौपानेले पनि जापानबाट विद्यावारिधि उपाधि लिएर हाम्रो खानदानमा प्रथम स्थान लिएको छ । यसरी बाजे छविलालदेखि नै प्रथम स्थान लिने अवसर पाएको यो परिवारलाई चौथो पुस्तामा रहेका उज्ज्वल न्यौपानेले पनि विदेशबाट विद्यावारिधि गरी कीर्तिमानी परिवार बनाएका छन् भने दैवज्ञराजकै सहोदर भाइ केदार न्यौपानेले स्वदेशबाट विद्यावारिधि गरी भर्खरै यस परिवारमा अर्को कीर्तिमान थपेका छन् । उहाँकै कान्छा भाइ महेश्वर न्यौपाने नै अरूलाई उछिनेर अर्को प्राध्यापक बन्नुले यस परिवारमा राम्रो शैक्षिक उन्नति भएको प्रमाणित हुन्छ ।
दैवज्ञराज न्यौपानेको बाहिरी व्यक्तित्व पनि ज्यादै आकर्षक थियो । चिटिक्क मिलाएर कपडा लगाएका, अग्लो कद, ठुलो निधार र सुन्दर मुहार भएका दैवज्ञराज न्यौपाने बाटामा लमक–लमक हिँड्दा सर्वसाधारण बटुवाहरू टक्क आफ्नो गति रोकेर उहाँतर्पफ हेर्दथे र अनुमान गर्दथे— यो मानिस ठुलो खानदानी अथवा ठुलो ओहोदाको हुनुपर्दछ । बाहिरी रूप जति सुन्दर थियो भित्री मन पनि ज्यादै निर्मल, सहयोगी र ममतामय थियो । उहाँमा आफन्त भनेपछि हुरुक्क हुने, गाउँमा गएपछि थोरै समयको बसाइ भए पनि सबै घरमा गएर भेट–घाट गर्ने, सरल, मसिनो र मीठो स्वरमा भलाकुसारी गर्ने जस्ता राम्रा गुण थिए । हाम्रो वंशमा काठमाडौंमा डेरा नै गरेर भए पनि परिवार सहित बस्ने पहिलो मान्छे दैवज्ञराज नै हुनुपर्दछ । त्यसैले डेरा पनि सबै आफन्तहरूको आश्रयस्थल नै हुन्थ्यो । अहिले काठमाडौंमा हामी गोगनेका न्यौपानेका घर करिव ६५/७० भै सकेका छन्, तर त्यसबेला आउने तीर्थयात्री हुन्, पढ्ने विद्यार्थी हुन्, बिरामी हुन् वा जागिर खोज्ने हुन् गोगने र त्यस क्षेत्रका नाता–गोताहरूले झोला बिसाउने पहिले डेरा र पछि घर दैवज्ञराजकै हो । त्यस घरमा परिवारले मात्र भात खाने कहिले काँही मात्र हुन्थ्यो । आफन्तप्रतिको माया ममता, अपनत्व र मीठो वचनले गर्दा त्यो घरले प्रायः धर्मशालाकै रूप लिन्थ्यो । पछि सहोदर भाइ केदार न्यौपानेले घर बनाएर बेग्लै बस्न थालेपछि त्यहाँ आउने मानिसको सङ्ख्यामा कमी हुँदै गयो भने यता केदार न्यौपानेको घरतर्पफ मानिस बढी आउन थाले । कारण, केदार न्यौपानेकी श्रीमती (सरिता भाउजू) गोगनेको घर परिवारमा धेरै वर्ष बसेर सबै बन्धुहरू र नाता–गोतासँग परिचित हुनुहुन्थ्यो । साथै आमा उमादेवी पनि सँगै रहनु थप कारण हो । त्यसकारण पछिल्लो समयमा केदार न्यौपानेकै घरले बढी मात्रामा पाहुनाहरूलाई स्वागत सत्कार गर्ने अवसर पाएको हो ।
दैवज्ञराज न्यौपानेमा कति माया, ममता र अपनत्वको भाव थियो भन्ने कुराको पुरानो सम्झना सुनाउनु पनि सान्दर्भिक नै होला । वि.सं.२०३९ नै हुनुपर्छ । त्यस समयमा म खोटाङ जिल्लाको भगवती मा.वि. खोटाङ बजारमा शिक्षक थिएँ र एउटा सानो घरबारी किनेर खोटाङ नजिकै बडका भन्ने गाउँमा सपरिवार बस्तथेँ । मेरा दुई छोरा र दुई छोरी थिए । जेठाको उमेर ७ वर्षको थियो भने काखकी कान्छी छोरी २ वर्षकी मात्र । त्यस वर्ष मेरा दाजु दैवज्ञराज न्यौपाने दसँैं मान्न घर (गोगने) जाने क्रममा छोरो भूषण न्यौपाने, भानिज भाइ गोविन्द नेपाल, भतिज हेमराज न्यौपाने, भरत भट्टराईसमेत कञ्चनपुर, फत्तेपुर, बेल्टार हुँदै बुवाँजोर घाटको उर्लँदो भेलमा डुङ्गाबाट पार तरी बुवाँ खोलाको बाढीले २ दिन रोकिएर किनाराका गाउँमा बस्तै ज्यादै कष्टसाथ मेरो घरमा बास बस्न आइपुग्नुभयो । गोगने जाँदा सबै सधैँ हिड्ने गरेको र सजिलो चाहिँ त्रिवेणीघाट हुँदै हतुवाको बाटो हो । तर मेरा दाजुको मप्रतिको माया र अपनत्वले गर्दा काशी जानु कुतीको बाटो नभनिकन घुमाउरो र असजिलो बाटो गएर मेरा घरमा बसी मेरो अवस्था थाहा पाउनु भएको थियो । त्यसरी भाइ, भतिजा, छोरोसमेत लिएर आउँदा मेरो खुसीको सीमा रहेन, केटाकेटीहरूलाई दसैँ आए जस्तै भयो, म भुइँमा न भाँडामा भनेजस्तै पुफरुक्क पुफर्कें । त्यसबेला भूषण करिव ९ वर्षको थियो । उसलाई मैले नाम सोध्दा “भूषण न्यौपाण्डे” भनेको मैले बिर्सेको छैन । त्यहाँ मेरो सानो घर थियो, भोटेसँग किनेको । सुत्ने मानिस धेरै भयौं, खाट–पलङ, सिरक डस्ना पुग्ने त कुरै भएन, भुइँ पनि साँघुरै हुनेजस्तो थियो । तर राम्रो कुरा के हो भने, म बसेको ठाउँ निकै ब्याँसी नै भएकाले त्यसबेला जाडो थिएन । भोटेले नै बनाएको घर मैले किनेको थिएँ, त्यहाँ त्यसदिन लहरै भोटे सुताइ नै सुत्यौं । थाकेर आएकाले खानपिन गरेपछि सामान्य औपचारिकता बाहेक गफगाफ धेरै भएन । अर्को दिन बिहान भएपछि तातो चियाको चुस्की लिँदै घरायसी सुखदुःखका कुरा सुरु भए ।
असोज महिना भएकाले एकातिर घरकै नजिकै कुनै हरिया त कुनै पाकेका काँक्रा भुफन्डिएका थिए भने अर्कातिर हाँगा नै नुहाएर लटरम्म फलेका अनि पाकेर पहेँलपुर भएका अम्बकका बोटहरू बारीमा थिए । घरमा भैंसी पालेको थियो, भैंसीलाई खोले पकाउने भाँडामा टन्न पाकेका अम्बक देख्ता त्यो टोली छक्क पर्यो । अनि बारीतिर अम्बक देखाएपछि भूषण लगायत अम्बकका रुखमा चढेर इच्छानुसार खान थाले । दिउँसोका लागि खाजा र बोक्न सक्छौ भने घर लान पनि जति पनि पाउँछौ भन्ने उर्दी हामी दाजुभाइले जारी गर्यौं । सक्नेले झोलामा पनि बोकेर लगे भने नसक्नेले आफ्नै पेटमा मात्र बोके होलान् । त्यही अम्बक खाने, लाने प्रसङ्गसँगै हाम्रो पारिवारिक गफ सुरु भयो । छोराछोरीको नाम सोध्ने क्रममा छोराको नाम राजेश्वर र देवेश्वर अनि छोरीको नाम जमुना र समुना भनेर सुनाउँदा दाजुले अरू नाम कुनै संशोधन नगरी समुनाको नाम चाँहि सुमना भन्ने संशोधन प्रस्ताव पेस गर्दा हामीले सहर्ष स्वीकार गर्यौं र अहिलेसम्म पनि बोलाउने र कागजी पनि त्यही नाम चलेको छ । कान्छो छोराको नाम पछि परिवर्तन भएर अपार भयो भने जेठी छोरीको पछि मैले नै विद्यालयमा सन्तोषा लेखाएँ, तर बोलाउने घरायसी नाम “बाबा” भन्ने प्रचलित छ । जेठा छोराको नाम चाँहि कागजी राजेश्वर यथावतै छ भने घरायसी बोलचालमा राजेश मात्र भनेर प्रचलित छ ।
अब सम्झनाको अर्को प्रसङ्ग पनि कोट्याउन मन लाग्यो । २०५० सालमा मेरी श्रीमती सरस्वती न्यौपानेको काठमाडौंको वीर अस्पतालमा भारतबाट आएको चिकित्सक टोलीले मुटुको शल्यक्रिया गरेको थियो । त्यस बेलासम्म नेपालका डाक्टरले मुटुको शल्यक्रिया गर्दैनथे । शल्यक्रिया भएको दिन दाजुको नेतृत्वमा धेरै बन्धु र आफन्त भेला भएर भगवान्को नाम जप्दै बाहिर बसेका थियौं । एकदिनमा २ जनाको मात्र शल्यक्रिया हुन्थ्यो । आइतवारदेखि शल्यक्रिया गर्न सुरु गरेकामा मङ्गलवारसम्म हरेक दिन एकजना स्वर्गको अतिथि हुने गरेकाले हामीले भगवान्को नाम सम्झनुभन्दा अरू के गर्न सक्थ्यौं र ! तर हाम्रो भाग्य राम्रो रहेछ बिरामी भित्र लगेको करिव ६ घण्टापछि डाक्टर बाहिर आएर सबैभन्दा खाइलाग्दो ज्यान परेको देखेर होला दाजुलाई नै बोलाएर न्यौपानेजी अप्रेसन राम्रो भएको छ, पन्ध्र वर्षसम्म केही हुँदैन, चिन्ता लिनु पर्दैन भन्दा त्यहाँ भएका हामी सबै खुसीले गदगद भयौं ।
२०४५ सालमा नै खोटाङ बडकाबाट मोरङ जिल्लाको बबिया बिर्ता गा.वि.स. मा पर्ने बहुसङ्ख्यक पहाडिया बाहुन भएको गाउँ मङ्गबारेमा मेरो परिवारको बसाइसराइ भएको थियो । पाँच वर्षको निरन्तर प्रयासपछि २०५० सालमा मोरङकै पब्लिक मा.वि. रङ्गेलीमा मेरो पनि सरुवा भै सकेको थियो । त्यही वर्ष माघ–फागुनतिर दाजु दैवज्ञराज न्यौपाने श्रीमती सुधा न्यौपाने र कान्छो छोरो सौरभलाई साथमा लिएर मेरो घरमा पुग्नुभयो । प्रत्यक्ष आफ्नै आँखाले देखेर भेटेर बिरामीको अवस्था थाहा पाउन मन लागेर आएको भन्नुभयो । उहाँको त्यस्तो माया ममता, अपनत्व र अभिभावकीय भूमिकाको कुन शब्दले प्रशंसा गर्ने भन्ने नै मलाई थाहा छैन ।
हामी दम्पती समयसमयमा आइ नै रहन्थ्यौं । कहिले बिरामी भएर त कहिले लाखबत्ती बाल्न भन्दै आउँथ्यौं । हामी सरासर आएर केदार न्यौपानेकै घरमा झोला बिसाउँथ्यौं । त्यही केदार न्यौपानेको लज र सरिता न्यौपानेको होटलमा नै खाने बस्ने गर्थ्यौ । त्यहाँ बसे पनि हामी दैवज्ञ दाजुको घरमा दर्शन गर्न जान्थ्यौं र खान्थ्यौं पनि । तर कहिले त दाजु मुसुमुसु हाँस्तै आपैंफ आएर आज तिमीहरूलाई खाना खान लिएर आउनु भनेर रीताले मलाई पठाएको भन्दै हामीलाई लिएर जानुहुन्थ्यो र रीता भाउजूका हातले बनाएर सप्रेम दिएको भोजनले हामी सन्तुष्ट हुन्थ्यौं । रीता भाउजूको निधनपछि पनि छोरी अर्चनाले काकाकाकीलाई ल्याउनू भनेकी हुनाले म आएको जाऊँ भन्दै हामीलाई लिएर जानुहुन्थ्यो ।
वि.सं.२०६२ साल जेठ महिनामा मेरी कान्छी छोरी सुमनाको विवाह काठमाडौंमै आएर गर्र्यौं । पुरानो बानेश्वरको एउटा गेष्ट हाउसमा विवाह भएको थियो । हाम्रो परम्परा अनुसार अहिलेसम्म पनि माइतीहरूले बेउलाबेउलीको गोडा धोएर पानी शिरमा सेचन गरेपछि अचाउने चलन छ । दाजु दैवज्ञले हत्केलामा पानी लिएर हाँस्तै छोरीको अनुहार हेर्दै “खाऊँ कि नखाऊँ” भने जस्तो गर्नु भएको थियो, बाजाहरूको धुन र मानिसहरूको हल्लाखल्लाले गर्दा उहाँको त्यो मसिनो आवाज सुन्न सकिएन । त्यो भिडियो क्यामेराको सिडी मसँग सुरक्षित छ, दाजुको याद आउँदा अहिले पनि हेर्दैछु । विवाह सकेपछि हामी फर्केर मोरङतर्पफ गयौं । त्यसै सालको भदौमा दाजुलाई पक्षाघात रोग लागेछ । अर्को वर्ष आउँदा दाजुको शारीरिक अवस्था र अस्पष्ट बोली सुन्दा मन थामिसक्नु भएन । जुन बोली र हातले नेपालभर उहाँको नाम चलेको थियो अहिले हात नचल्ने, गोडा नटेकिने र बोली पनि नबुझिने अवस्थामा भेट्दा मन पनि कसरी थामियोस् ।
मेरो सेवा अवधि १८ महिना बाँकी हुँदै स्वैच्छिक अवकाश लिएर २०६५ साल असारमा यहीँ स्थायी बसोबास गर्ने गरी हामी काठमाडौं आयौं । बानेश्वर घर छाडेर दाजु गैरीगाउँको घरमा बस्नु भएको थियो भने हामी पनि तीनकुने कान्तिपुर पब्लिकेसनकै छेउमा डेरा लिएर बसेका थियौं । गैरीगाउँबाट तीनकुने नजिकै पर्ने हुनाले दाजु लौरो टेकेर भाउजूका साथमा कहिले बिहान त कहिले बेलुकीपख हाम्रो डेरामा आउनु हुन्थ्यो र के छ ? तिमीहरू सञ्चै छौ ? भन्नुहुन्थ्यो । विशेष मेरी श्रीमती सरस्वतीलाई तिमीलाई अहिले कस्तो छ ? भनरे सोध्नु हुन्थ्यो र दूध, विस्कुट केही चिज दिएमा प्रेमपूर्वक खानुहुन्थ्यो । हामी उहाँलाई भेट्न जाँदा पनि देख्नेबित्तिकै के छ ? सञ्चै छ ? भन्दै बस भन्नुहुन्थ्यो र आपूफ पनि उठेर गफ गर्न खोज्नुहुन्थ्यो । पुराना कुराहरू, केही समय ठट्टाहरू गर्दै हामीलाई केही प्रश्न गर्नुहुन्थ्यो, तर बोली राम्ररी नबुझदा हामी दोहोरो गफ गर्न प्रायः सक्दैनथ्यौं । पहिलेको त्यस्तो मीठो बोली, सभ्य ख्यालठट्टा, पुराना पारिवारिक कुरा र उहाँसँग भएका घटनाहरूले दिमाग रुमलिन्छन्, तर उहाँको बोली राम्ररी बुझन नसक्दा मन थाम्नै नसक्ने अवस्था धेरै पटक मलाई आएको छ ।
नेपालका मेचीदेखि महाकालीसम्मका सबै साक्षर मानिस दैवज्ञको नामसँग परिचित छन् । विद्यालय पढ्ने भाइबहिनीहरूले त किसान कविता कक्षा ८ मा पढ्नै पर्ने हुँदा सबैले उहाँलाई ससम्मान सम्झन्छन् । धेरै नै बालसाहित्य रचना गरेकाले बालबालिकाले त आपैंफसँग खेल्ने साथीजस्तो मानेका हुन सक्दछन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं छन्दोवादी काव्य रचना गर्ने प्रसिद्ध कविसमेत भएकाले दैवज्ञराज न्यौपाने यो नाम नसुन्ने मान्छे नेपालमा थोरै होलान् । यस्ता असल र सबैका साझा मान्छेको रूपमा स्थापित उहाँलाई निर्दयी कालले २०६८ पौष २ गतेका दिन हामी सबैबाट असमयमै खोसेर लग्यो । उहाँको नश्वर पाञ्चभौतिक शरीर यस संसारमा नभए पनि जीवित अवस्थामा गरेका असल कार्यहरू, विभिन्न साहित्यिक रचनाहरू, स्वजनहरूप्रति देखाएको माया ममता आदिले सदैव नेपालीहरूमाझ उहाँ अविस्मरणीय व्यक्तिका रूपमा रहनु हुनेछ ।
२०६९ भदौ
हाल : नरेफाँट, काठमाडौँ
दैवज्ञराज नितान्त गाउँले हो, सहर बन्ने प्रयास गर्यो तर सहर बन्न सकेन । उसको जीवन–वृत्त सहरमा घुमे पनि गाउँले नै बनेर घुम्यो – सरलता, सज्जनता र हार्दिकताको त्रिवेणी बनेर।
– रामबाबु सुवेदी