कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञलाई सम्झिँदा

राष्ट्रकवि माधव घिमिरे

विष्णुराज कुसम

दैवज्ञका विषयमा लेख्ने भन्दा मेरा मनमा धेरै कुराहरू तँछाडमछाड गरेर आउँछन् । दैवज्ञसँग मेरो नौ–दस वर्षको उमेरदेखि नै संगत भएको हो । गोगने पाठशालामा हुँदा अध्ययन गर्दाका कुरा, कबड्डी खेल्दाका कुरा, मङ्गल चौथीमा बिठ्याइँ गरेका कुरा समेत म अहिले सम्झन पुगिरहेको छु ।

भोजपुर, गोगनेको धाइपा भन्ने गाउँका दैवज्ञ भोजपुरकै दावाँमा जन्मिएका हुन् भने मेरो जन्म नजिकै सिक्तेल खोलावारि दलगाउँमा भएको हो । यसैले हाम्रा बुवाहरूको पनि जानपहिचान र राम्रो सम्बन्ध थियो । यस कारण पनि हामीमा घनिष्टता थियो । मलाई दैवज्ञका घरमा जाँदा पितामाताको न्यानोपन प्राप्त हुन्थ्यो । हामी गोगनेमा हँुदा नजिकका गाउँ त सबै चाहारेकै हौं, समयसमयमा ट्याम्के फेदीतिर निगालो लिन पनि पुगेका हौं ।

गोगनेपछि हामी दिङ्ला पाठशालामा पुग्यौं । त्यहाँ पनि सँगै कबड्डी खेल्थ्यौँ । भञ्ज्याङ् र गाउँ चाहर्थ्यौ । अध्ययनमा पनि हामी कमजोर विद्यार्थीमा थिएनौं । शनिबारे हाट र सद्मी मेलामा पनि हामी सँगै हुन्थ्यौं । दैवज्ञसँग जोडिएका धेरै कुराहरू मेरो मानसपटलमा अझै ताजा छन् ।

त्यस समयमा उच्च शिक्षा हासिल गर्न धरानतिर अझ काठमाडौंमा नै आउनुपर्दथ्यो । भारततिर जाने हो भने बनारसमा बढी जान्थे । उहाँ दिङ्लाबाट दाङ हुँदै काठमाडौंँ आइपुगेपछि पुनः हामी काठमाडौंँमा सँगै भयौँ । उच्च शिक्षा हासिल गरेपछि हामी दुबै प्राध्यापनमा लाग्यौँ । म प्राध्यापनमा केही वर्ष बिताएर प्रशासन सेवामा गएँ भने दैवज्ञ प्राध्यापन कार्यमा नै पछिसम्म रहनुभयो ।

दैवज्ञ सुन्दर बनोटको शरीर भएको हँसिलो र सुसंस्कृत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा चाँडै नै मित्र बनाउने क्षमता र सहयोगी भावना थिया,े बोलीवचन सुमधुर थिया,े गला सुरिलो थियो । दैवज्ञले कसैलाई पनि अप्रिय कुरा गरेको मैले कहिल्यै सुनिन । उहाँका सम्पर्कमा आउने व्यक्ति उहाँसँग प्रभावित नभई रहन सक्दैनथे । सुमधुर गलाले छन्दोबद्ध लयमा कविता वाचन गर्दा सबै मन्त्रमुग्ध हुन्थे । उहाँको विशिष्ट काव्य प्रतिभा र प्रस्तुतिले उहाँ समाजमा प्रिय हुनुका साथै कवि तथा गीतकारका रूपमा स्थापित हुनुभयो ।

दैवज्ञ कवि, गीतकार हुनुका साथै कुशल प्राध्यापक पनि हुनुहुन्थ्यो । उहाँसँग अध्ययन गर्ने विद्यार्थीहरू दैवज्ञ गुरु भनेर श्रद्धाले सम्झन्छन् । मूलतः दैवज्ञ एउटा असल मानिस हुनुहुन्थ्यो । उहाँ पदका पछाडि कहिल्यै लाग्नु भएन, जुन जिम्मेवारी दियो, त्यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

समय र पेशाले पछिल्लो समयमा हामीलाई अलग धारमा पुर्‍याए पनि हाम्रो मित्रता र स्वभावमा कुनै परिवर्तन आएन । मैले साहित्य सृजनामा पछिल्लो समय त्यति समय नदिए पनि उहाँकै सान्निध्यले मेरो साहित्यानुराग भने छुटेन ।

दैवज्ञसँगको एउटा कार्यक्रम अझै पनि म सम्झन्छु । कुरो आजभन्दा १४/१५ वर्ष अगाडिको हो । सरकारी कामको सिलसिलामा म त्यसबेला धादिङ् जिल्लाको बेसी सहरमा कार्यरत थिएँ । त्यहाँ हामीले अदिकवि भानुभक्तको प्रतिमा स्थापना गर्‍यौँ । प्रतिमाको समुद्घाटन गर्न हामीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अनुरोध गर्‍यौँ र भानुभक्तसँग सम्बन्धित मुख्य संस्थाका प्रमुख र अन्य कविलाई समेत आमन्त्रण गरेका थियौं । त्यसै कार्यक्रममा दैवज्ञलाई पनि बोलाउने निधो भयो ।

संयोगले दैवज्ञ कुनै कार्यक्रमको सिलसिलामा झापा जानु भएको रहेछ । झापामा सम्पर्क गरी आमन्त्रण गर्दा उहाँले हाम्रो निम्तालाई स्वीकार गरी कार्यक्रममा भाग लिन आइपुग्नुभयो । कार्यक्रममा राष्ट्रकविका अतिरिक्त रमेश खकुरेल, कोषराज न्यौपाने, विष्णुप्रताप शाह आदि पनि सहभागी हुनुभयो ।

दैवज्ञ कार्यक्रमको अघिल्लो दिन नै आइपुग्नु भएकाले कार्यक्रमको अघिल्लो राति हामी सँगै रह्यौं । बाल्यकालका मिठा सम्झनाहरू सम्झियौँ, अल्लारेपनका लहडहरू सम्झियौ,ँ आफैँ हास्यौ,ँ जीवनका उतारचढावको समीक्षा गर्‍यौँ । भोलिपल्ट बिहान प्रातःकालीन हिँडाइ आखुको किनारमा गर्‍यौं । दैवज्ञले त्यति नै बेला धादिङ् बेँसी भन्ने कविता पनि लेख्नुभएको थियो । त्यो कविता प्रकाशित छ या छैन मलाई थाहा भएन । त्यो कार्यक्रम पूर्ण साहित्यिक वातावरणमा भएको थियो र त्यो दिन धादिङ् बेँसी साहित्यमय र अविस्मरणीय थियो ।

कार्यक्रमपश्चात् अरू अतिथिसँगै दैवज्ञ पनि बिदा हुनुभयो । काठमाडौँको त्रिचन्द्र कलेजको सभाकक्षमा दैवज्ञःपद्यध्वनिको प्रकाशनसँगै आरोग्यकामना गर्न आयोजित कार्यक्रमभन्दा अघि सम्भवतः यो कार्यक्रम नै दैवज्ञ स्वस्थ रहँदाको मेरो अन्तिम कार्यक्रम थियो ।

नभेम्बर, २, २०१२, ग्य्राण्ड र्‍यापिड्स्, मिसिगन, अमेरिका