दैवज्ञराज न्यौपाने : एक संस्मरण
मानिसको जन्मपछि मृत्यु निश्चित छ यो शाश्वत नियम हो । उसको भौतिक शरीर धरतीमा नभए पनि मानिसबाट सिर्जना गरिएका कृति, खोजमूलक ग्रन्थ, अन्वेषण एवं आविष्कारले उसलाई सधँै बँचाइराख्दछ । मानिसले आपूफलाई सधँै जीवित राख्न बाँचुञ्जेल केही न केही सिर्जना गरी राखेमा उसको जीवन सधैँ बाँचिरहन्छ, आउने पुस्ताले उसलाई सधैँ सम्झिन्छन् । मानवको जीवन पनि सुखदुःख दुबैको सङ्गम हो । धरतीमा मानवले जन्मेपछि सुखदुःख दुबै भोग्नु पर्दछ । मानिसको भौतिक शरीरमा पनि कसैलाई कुनै रोगले आक्रमण नगरी पुरा आयु व्यतित गर्ने मौका दिन्छ भने कसैलाई अनेकन रोगले आक्रमण गरी उसको शरीर कमजोर पार्दै त्यही रोगको सिकार बनी जीवनलीला समाप्त हुन्छ । विगत ६ वर्षदेखि पक्षाघात रोगबाट पीडित बनी त्यही रोगद्वारा आफ्नो भौतिक शरीर त्याग गर्नुपर्यो कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेले ।
दैवज्ञराज न्यौपानेको पैतृक थलो भोजपुर जिल्ला गोगनेको धाइपा थियो । उहाँ अग्लो शरीर, गोलो अनुहार, हँसमुख स्वभाव, उच्च शिर, कोमल हृदयको शालीन, सभ्य, सुसंस्कृत व्यक्तित्व हुनुहुन्थ्यो । साहित्यकार दैवज्ञराज न्यौपानेको साहित्यिक यात्रा वि..सं. २०१४ सालतिरबाट आरम्भ भयो । उहाँले गीत, कविता, बालसाहित्य, खण्डकाव्य, निबन्धको रचना गर्नुभयो । बालसाहित्यको फाँटमा त वहाँ अत्यन्तै पारखी हुनुहुन्थ्यो । नेपाली कविताको फाँटमा पनि निकै चर्चित कविका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँबाट सिर्जना गरिएका कवितामध्ये “किसान” कविता जुन शिक्षा मन्त्रालयले हाइस्कूलस्तरको कक्षा ८ को पाठ्यपुस्तकमा समावेश गरेको थियो । उक्त कविता किसान र वर्षाको तुलना गरी लेखिएको छ जो निकै चर्चित एवं सान्दर्भिक छ । उहाँबाट सिर्जना गरिएका अन्य कविताहरू विश्वविद्यालयको पाठ्यव्रफममा र केही कविताहरू राष्ट्रियस्तरमा नै चर्चित भएका छन् । उहाँलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको छन्दोवद्ध कविताको प्रभाव परेको थियो । यसर्थ दैवज्ञराज न्यौपानेका प्रायजसो सिर्जनाहरू छन्दोबद्ध रूपमा लेखिएका छन् ।
दैवज्ञराज न्यौपानेबाट सिर्जना गरिएका प्रमुख कृतिहरू हुन्– सिर्जनाको लहर र जोर मुरली (कविता र गीत सङ्ग्रह), तोते बोली, गाउँखाने कविता, सबै हाम्रा साथी र घामले ढोका खोल्यो (बाल कविता सङ्ग्रह), हुने बिरुवाको चिल्लो पात (जीवनी सङ्ग्रह), सम्झनाको धरातलबाट (खण्डकाव्य सङ्ग्रह), नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू लगायतका समालोचना प्रकाशित भइसकेका छन् । कविता, गीत, बाल साहित्य, निबन्ध, समालोचना एवं खण्डकाव्यमा समेत कलम चलाउनु भएका दैवज्ञराज न्यौपाने नेपाली साहित्यको सिर्जनामा सिद्धहस्त कविका रूपमा परिचित हुनुहुन्छ जसले आफ्नो सम्पूर्ण समय साहित्यिक यात्रामा नै व्यतित गर्नुभयो । उहाँको साहित्यपछिको दोस्रो यात्रा प्राध्यापन हो । उहाँले त्रिभुवनविश्वविद्यालय अन्तर्गत भक्तपुर क्याम्पस हुँदै पाटन क्याम्पसको सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रमुख र नेपाली केन्द्रीय विभागको प्राध्यापक भई प्राध्यापन कार्य गर्नुभयो । उहाँ एक कुशल अनुशासित एवं कर्तव्यपरायण र आफ्नो विषयवस्तुमा दक्षता भएको प्राध्यापकका रूपमा चिनिनुहुन्छ ।
मेरो उहाँसँगको सम्बन्ध वि.सं. २०३९–४० सालतिर देखिको हो । उहाँ त्यसबेला बानेश्वरमा नै बस्नुहुन्थ्यो । मेरा दाजु (कथाकार, उपन्यासकार ध्रुव सापकोटा) को घर पनि बानेश्वरमा नै भएकोले उहाँहरूका बिच नजिकको सम्बन्ध थियो । उहाँ मेरो दाजुको घरमा आउनुहुन्थ्यो । त्यसबेला मैले दाजुको घरमा उहाँलाई भेट्न पाएँ । मेरो उहाँसँगको सम्बन्ध अर्को अर्थमा पनि रह्यो । जुनबेला म नेपालको पहिलो बाल अखबार कलिलो नामक पत्रिकाको व्यवस्थापक थिएँ भने डा.ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा (दाजु) सम्पादक हुनुहुन्थ्यो । उक्त अखबारमा बाल कविता छापिन्थे । बाल–बालिकाका लागि काम लाग्ने बाल कविता आवश्यक पर्ने भएकाले म उहाँसँग माग्थेँ । उहाँ दिन रुचाउनु हुन्थ्यो । कहिले काहीँ त घरैमा लगेर बाल कविता सुनाउनु हुन्थ्यो । म आनन्दले उहाँका कविता सुन्थेँ र ती कविता ल्याएर उक्त पत्रिकामा छाप्दथेँ । उहाँ बाल–बालिकाका लागि अत्यन्तै सरल भाषामा बुझने खालका छन्दोबद्ध र गीति कविता लेख्नुहुन्थ्यो ।
यसपछि मेरो उहाँसँगको सम्बन्ध बढ्दै गयो । वि.सं. २०४७ सालमा त्रि.वि. बाट सम्बन्धन लिई बानेश्वरको रत्नराज्य हाइस्कुलमा बानेश्वर क्याम्पस स्थापना भयो । उक्त क्याम्पसको क्याम्पस प्रमुखमा उहाँका भाइ केदार न्यौपाने हुनुहुन्थ्यो । केदार न्यौपाने सरल, असल व्यक्तित्व, गुणी र संस्कारप्रिय व्यक्ति हुनुहुन्छ । केदार न्यौपानेको विचारसँग मेरो विचार मिल्दथ्यो । तसर्थ म पनि त्यस क्याम्पसमा इतिहास विषय प्राध्यापन गर्न थालेँ । दैवज्ञराज न्यौपाने त्यहाँ नेपाली विषय पढाउनु हुन्थ्यो । दैवज्ञराज न्यौपाने ज्यादै अनुशासित, नियमित कक्षा लिने प्राध्यापक हुनुहुन्थ्यो । उहाँ कक्षा नलिने, होहल्ला गर्ने, अनुशासनहीन काम गर्ने विद्यार्थीलाई दण्ड दिनुपर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । यसैले उहाँले पढाउने कक्षा सधँै शान्त वातावरणमा सञ्चालन हुन्थ्यो । उहाँ सबै प्राध्यापकहरूलाई अनुशासित बनी नियमित कक्षा लिन आफ्नो विषयवस्तुमा दक्ष बन्न प्रेरित गर्नुहुन्थ्यो । उहाँलाई एक निस्वार्थी, हक्की, निर्लोभी, बोल्न नडराउने प्रशासकमा हुने गुण र क्षमता भएका निष्ठावान् प्राध्यापकको रूपमा चिनिन्थ्यो ।
अन्याय नसहने र कसैले आपूफलाई दुःख दिएमा त्यसको तुरुन्तै प्रतिकार गर्नुपर्दछ भन्ने मान्यता उहाँमा थियो । यस सम्बन्धमा एक दृष्टान्त मैले देखेको छु– “एक दिन म साइकल लिएर माइतीघर हुँदै बानेश्वर आउँदै थिएँ । बबरमहलमा दैवज्ञराज न्यौपानेसँग भेटघाट भयो । म साइकलबाट ओर्लिएर उहाँसँगै हिँडेर आउँदै थिएँ । एकाएक एकजना पुलिसले हाँकेको साइकलले उहाँलाई हिर्कायो । उहाँले तुरुन्तै पुलिसलाई दुई चड्कन गालामा हिर्काउनु भयो । त्यो पुलिसले कुनै प्रतिकार गरेन । म निकै डराएँ । उहाँ डराउनु भएन र मलाई भन्नुभयो हेर बाबु, अन्याय सहनु हुन्न । यसले मलाई केही नगरी उल्टै साइकलले हिर्काउँछ भने किन छोड्ने ? यसरी आपूफले अन्याय नगर्ने, अरूले अन्याय गरेमा छाड्नु हुन्न भन्ने पाठ मैले उहाँबाट नै सिक्न सकेँ ।
उहाँ प्रातःकालीन भ्रमण गर्दै बानेश्वर क्याम्पसमा पढाउन आउनु हुन्थ्यो । म क्याम्पसको कार्यालयमा बसिरहेको हुन्थेँ । आउनासाथ मसँग खाली कापीको पाना माग्नुहुन्थ्यो र कविता लेख्नुहुन्थ्यो, अनि मलाई सुनाउनु हुन्थ्यो । उहाँमा तुरुन्तै कविता सिर्जना गर्न सक्ने क्षमता थियो । उहाँमा जस्तो ईश्वरीय गुण सबैमा हुन सक्दैन । दैवज्ञराज न्यौपानेसँगको सम्बन्ध मेरो करिब बाइस तेइस वर्षसम्म रह्यो । कहिल्यै पनि उहाँसँग नमिठो सम्बन्ध रहेन । तर एकदिन उहाँलाई पक्षाघात रोगले आक्रमण गरेछ । त्यसको भोलिपल्ट थाहा पाइयो । पछि उहाँको खुट्टा र मुखमा असर गर्यो । उक्त रोगले क्रमशः कमजोर बनाउँदै लग्यो । उहाँलाई नेपाल बाहिर भारतमा लगी उपचार गरियो तर उहाँको स्वास्थ्यमा कुनै सुधार भएन । अन्त्यमा वि.सं. २०६८ साल पुस २ गते ६९ वर्षको उमेरमा उहाँको देहावसान भयो । उहाँले नेपाली साहित्यमा सेवा गरेबापत विभिन्न साहित्यिक संस्थाले विभिन्न पुरस्कारले सम्मान गरेका थिए । खासगरी उहाँ युवावर्ष मोती पुरस्कार, छिन्नलता गीत पुरस्कार, भारती खरेल आख्यान पुरस्कार, गुणराज आख्यान पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको छ । साथै उहाँले विभिन्न साहित्यिक सङ्घ संस्था एवं नेपालका राष्ट्रपतिबाट समेत सम्मान प्राप्त गर्नुभएको छ । उहाँको भौतिक शरीर यस संसारमा नभए पनि उहाँका सिर्जनाले उहाँलाई सबैले सम्झिएका छन् । उहाँ बाँचिरहनु भएको छ । उहाँ अझ बाँचिरहनु भएको भए केही महत्वपूर्ण कृति नेपालीले प्राप्त गर्ने थिए । नेपाली साहित्यका उज्ज्वल ताराको निधनले मलाई द्रवित बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका शब्द अर्पण गर्दछु ।