कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

भानुका उपासक : दैवज्ञराज न्यौपाने

प्रा.डा. व्रतराज आचार्य

१. विषय प्रवेश

दैवज्ञराज न्यौपाने (१९९९–२०६८) मेरा आदरणीय दाइ हुनुहुन्छ । म उहाँसँग दुई कारणले सान्निध्यमा रहेको छु । प्रथमतः २०३४ मा श्रीभद्र शर्माको अध्यक्षतामा भानु सेवा समितिको पुनर्गठन हुँदा दैवज्ञ दाइ गोष्ठी तथा कार्यक्रम उपसमितिको संयोजक र म अर्थ समितिको सह– संंयोजक रहेको थिएँ अनि अहिले म दैवज्ञ दाइले संरक्षण र संवर्द्धन गरेको भानु प्रतिष्ठानको अध्यक्ष पदमा कार्यरत छु । दोस्रो, म अध्यवसायका कारण पनि तिस वर्षभन्दा बढी दैवज्ञ दाइसँग सान्निध्यमा रहेको छु । त्यसैले दैवज्ञ दाइलाई सम्भँफदा मैले दुई भिन्न कोणबाट सम्झनु आवश्यक छ । दैवज्ञ दाइसँग मेरो सान्निध्यको अर्को पनि कारण छ । त्यो हो– समान वैचारिक दृष्टिकोण । तर दैवज्ञ दाइले जीवनको उत्तरार्द्धमा आफ्नो वैचारिक निष्ठालाई बाह्य सतहमा भन्दा अन्तस्तलमा छिपाउनु बढी सान्दर्भिक ठान्नुभएको हुँदा म त्यस कोणलाई धेरै कोट्याउनु उचित ठान्दिन ।

२. भानुका उपासक दैवज्ञ दाइ

दैवज्ञराज न्यौपाने जन्मले भानुभक्तभन्दा विपरीत भौगोलिक खण्डका व्यक्तित्व हुनुहुन्थ्यो । भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई राणाकालीन नेपालमा पश्चिम ३ नम्बर अन्तर्गत राखिएको थियो भने दैवज्ञ दाइको जन्मस्थल पूर्व ४ नं भोजपुर अन्तर्गत पर्दथ्यो । तर दैवज्ञराज न्यौपाने भाषा साहित्यको सेवामा जीवनभर समर्पित रहनुभयो अनि समकालीन नेपाली समाजमा भानुभक्तका योगदानलाई विस्तार गर्ने अभियानमा लामो समयसम्म सक्रिय रहनुभयो ।

दैवज्ञ दाइको आत्मस्वीकृति के पाइन्छ भने उहाँ २०२४ मा नेपाली शिक्षा परिषद्ले जनकपुरमा आयोजना गरेको भानुजयन्ती तथा विशिष्ट कवि सम्मेलनमा सहभागी हुन काठमाडौँबाट हबाइजहाज चढेर जनकपुर पुग्नुभएको थियो । त्यस बखत उहाँ जोसिलो विद्यार्थी हुनुहुन्थ्यो । त्यसपछि उहाँ शिक्षा परिषद्ले आयोजना गर्ने हरेक जयन्ती र सम्मेलनमा सहभागी हुन थाल्नुभएको थियो । दैवज्ञ दाइ भानु सेवा समितिले २०३१ मा चुँदी रम्घामा आयोजना गरेको भानु स्मृति भवनको उद्घाटन र बृहत् साहित्य सम्मेलनमा पनि विशिष्ट साहित्यकारका रूपमा सहभागी हुन पुग्नुभएको थियो ।

भानु सेवा समितिको गठन २०२६ मा भए पनि सुरुका वर्षमा यसले कुनै ठोस कार्य गर्न सकेको थिएन । २०३१ मा श्रीभद्र शर्माको अध्यक्षतामा पुनर्गठन भएपछि भने यसले भानु दर्शन नामक पत्रिका नियमित रूपमा प्रकाशन गर्ने कार्य प्रारम्भ गरी भानु जन्मस्थलको विकासका निम्ति चासो दिन थालेको थियो । २०३३ सालमा भानु स्मृति भवनको उद्घाटन त्यही चासोको परिणाम थियो । त्यस कार्यक्रममा प्रमुख अतिथि तत्कालीन शिक्षा राज्यमन्त्री हर्क गुरुङ हुनुहुन्थ्यो भने कवि माधव घिमिरे, धर्मराज थापा, भरतराज पन्त, वेन्जु शर्मा र दैवज्ञराज न्यौपाने सहितका थुप्रै कवि सहभागी हुनुभएको थियो । त्यस वर्ष चुँदी रम्घामा तिन दिने कार्यक्रमका साथ भव्य रूपमा भानुजयन्ती मनाइएको थियो ।

भानु सेवा समितिलाई राष्ट्रिय स्तरको साहित्यिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले २०३४ मा पुनर्गठन गरिएको थियो । श्रीभद्र शर्माकै अध्यक्षतामा पुनर्गठन गरिएको उक्त समितिमा उपाध्यक्ष शिवराज आचार्य, महासचिव हरिहर भट्टराई, कोषाध्यक्ष सोमनाथ पौडेल आदि हुनुहुन्थ्यो भने सदस्यमा वासुदेव त्रिपाठी, चूडामणि बन्धु, दैवज्ञराज न्यौपाने, नरहरि आचार्य, व्रतराज आचार्य आदि हुनुहुन्थ्यो । त्यसपछि उक्त समितिले काठमाडौँमा प्रभातपेफरी र नगर परिक्रमाका साथ सार्वजनिक समारोहका रूपमा भानुजयन्ती मनाउनाका साथै विभिन्न जिल्लामा आयोजना हुने भानुजयन्तीमा साहित्यकारहरूलाई अतिथिका रूपमा पठाउने कार्य प्रारम्भ गरेको थियो । पुनर्गठित समितिले २०३९ मा चुँदी रम्घाको विकासका निम्ति गुरुयोजनाको प्रस्ताव तयार गरी सरकारलाई घच्घच्याउनाका साथै भानु स्मृति भवनको सुरक्षाका निम्ति कर्मचारीको दरबन्दी पनि स्वीकृत गराएको थियो ।

भानु सेवा समितिले विभिन्न जिल्लामा साहित्यकारहरू पठाउने क्रममा दैवज्ञराज न्यौपाने पटक पटक विभिन्न जिल्लामा जानु भएको हो । यस्ता कार्यमा संलग्न रहँदा उहाँले विभिन्न जिल्लामा साहित्यकारहरूका प्रतिमा स्थापना गर्ने र प्रभातफेरी प्रारम्भ गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुभएको थियो । एक लेखमा उहाँको आत्मस्वीकृति यस प्रकार पाइएको छ— भानु जयन्तीको अवसरमा राजधानी र देशका अन्य विभिन्न भागहरूमा काम गर्न पाएका अनुभवहरूमध्ये म र अच्युतरमण अधिकारी एवं विष्णुराज आत्रेय कपिलवस्तुको तौलिहवामा गई भवानी भिक्षुको प्रतिमा स्थापना गर्ने योजना बनाउँदा प्रतिमा स्थापना गर्न सकिएको र म र डा.तुलसी प्रसाद भट्टराई भानु सेवा समितिको प्रतिनिधि भई चितौन जाँदा भरतपुरमा भानुको प्रतिमा स्थापनाका लागि डा.तुलसी भट्टराई र मैले संयुक्त रूपमा शिलान्यास गर्न पाएको तथा विभिन्न ठाउँमा विद्यालयहरू, पुस्तकालयहरू र अन्य साँस्कृतिक संस्थाहरू भानुको नाममा राख्न पाएर हामी निकै उत्साहित भएका थियौँ ।

भानु सेवा समितिमा लामो समयसम्म सदस्यका रूपमा कार्य गरेपछि २०४९ मा समितिको पुनर्गठन हुँदा उहाँ अध्यक्ष चुनिनु भएको हो । उक्त समितिमा उपाध्यक्ष शिवराज लोहनी, महासचिव अर्जुनबहादुर अधिकारी र कोषध्यक्ष डी.पी.अर्याल हुनुहुन्थ्यो । भानु सेवा समिति २०५३ मा पुनर्गठन हुँदा पनि उहाँ नै अध्यक्ष चुनिनु भयो । यसपटक पुनर्गठित समितिको उपाध्यक्षमा मुकुन्दशरण उपाध्याय, सचिव डी.पी.अर्याल र कोषध्यक्ष श्रीप्रसाद न्यौपाने रहनुभएको थियो । भानु सेवा समितिलाई २०५९ मा भानु प्रतिष्ठान नामकरण गरिएको हो । यसरी संस्थाको नाम परिवर्तन गरी तदर्थ समिति गठन गर्दा दैवज्ञ दाइ अध्यक्ष, म उपाध्यक्ष र डी.पी.अर्याल महासचिव भएका थियौँ ।

दैवज्ञ दाइ अध्यक्ष छँदा भानु सेवा समिति (पछि भानु प्रतिष्ठान) ले भानुजयन्तीका अवसरमा प्रभातफेरी नगर परिक्रमा गर्ने कार्यलाई निरन्तरता दिएको थियो र भानु जयन्तीलाई साप्ताहिक कार्यक्रमका रूपमा विस्तार गर्न पनि निकै उत्साह देखाएको थियो । यस कार्यमा विभिन्न विद्यालयले खुला रूपमा सहयोग गरेका थिए । लिटिल एन्जेल्स स्कुल, जेम्स स्कुल, भानुभक्त मोमोरियल स्कुल, ग्यालेक्सी स्कुल, अन्नपूर्ण मा.वि.आदि धेरै विद्यालयले निरन्तर रूपमा भानु जयन्तीमा सहभागिता जनाउनु दैवज्ञ दाइको निःस्वार्थ सेवाको परिणाम थियो । यो परम्परा अहिलेसम्म पनि यथावत् छँदैछ ।

दैवज्ञ दाइ भानु सेवा समितिमा संलग्न रहेकै बखत भानु जन्मस्थल विकास समितिको गठन भएको हो । उक्त समितिले आदिकवि भानुभक्त चलचित्र निर्माण गर्दा उहाँले चलचित्रमा कलाकार भएर काशीको सभाको एक विद्वान् सदस्यको भूमिका अभिनय गर्नुभएको छ । त्यस्तै भानु जन्मस्थल विकास समितिको अध्यक्ष रवीन्द्र खनाल रहेका बखत दैवज्ञ दाइ पनि उक्त समितिको सदस्य मनोनीत हुनुभएको थियो ।

भानु प्रतिष्ठानको २०६१ मा सम्पन्न पहिलो अधिवेशनले श्रीभद्र शर्मालाई अध्यक्ष चयन गरेपछि त्यसको उपाध्यक्ष दैवज्ञ दाइ रहनु भएको थियो । २०६२ मा पक्षाघातले थलिएका कारण उहाँ २०६४ मा सम्पन्न अधिवेशनपछि प्रतिष्ठानको कार्य समितिमा रहन सक्नु भएन । तर साधारण सदस्यका रूपमा उहाँले प्रतिष्ठानलाई आजीवन सहयोग पुर्‍याइरहनु भयो । भानु प्रतिष्ठानले दैवज्ञ दाइलाई निरन्तर स्मरण गरिरहेको छ । यसै समितिको आयोजनामा दैवज्ञ दाइका केही कृतिको लोकार्पण गरिएको थियो भने समितिकै सक्रियतामा लिटिल एन्जेल्स स्कुलले उहाँलाई नगद उपहार सहित सम्मान गरेको थियो । २०६५—६६ मा बानेश्वर स्थित पञ्च कुमारी सामाजिक गुठीको अग्रसरतामा दैवज्ञ दाइको सार्वजनिक अभिनन्दन गर्ने कार्यमा पनि प्रतिष्ठानले संस्थागत संलग्नता देखाई कार्यक्रमको प्रमुख अतिथिका रूपमा महामहिम राष्ट्रपतिज्यूलाई आमन्त्रण गर्ने प्रक्रियामा प्रतिष्ठानले सहजीकरणको भूमिका सम्पन्न गरेको थियो । प्रतिष्ठानले दैवज्ञ दाइको असामयिक निधनमा सार्वजनिक श्रद्धाञ्जलि सभाको आयोजना पनि गरेको थियो ।

३. शिक्षासेवी दैवज्ञ दाइ

दैवज्ञ दाइ तिरबाट पढाउन थाल्नु भएको थियो । म २०३६ मा पाटन संयुक्त क्याम्पसमा सहायक प्राध्यापक नियुक्त हुँदा उहाँ सो कलेजमा मानविकी तथा सामाजिक शास्त्र सङ्कायतिरको सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँ क्याम्पस प्रमुख मङ्गलराज जोशीको निकै प्रियपात्र र विश्वस्त व्यक्ति पनि हुनुहुन्थ्यो । क्याम्पसको सम्पूर्ण प्रशासनिक जिम्मेवारी पनि उहाँको जिम्मामा थियो ।

मलाई पाटन संयुम्त क्याम्पसमा नियुक्ति दिनु उहाँको साहसिक कार्य थियो किनभने म २०३५ मा नै त्रि.वि. अन्तर्गत पाल्पा क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फको दरबन्दीमा सहायक प्राध्यापक पदमा नियुक्त भएको थिएँ । तर मलाई त्यस बखत माथिको आदेशमा १० दिनमा नै सेवाबाट बर्खास्त गरिएको थियो । २०३५ मा सम्पन्न त्रि.वि.सभाको निर्वाचनमा उम्मेदवार भई राजकाज मुद्दामा तारेखमा रहेको आरोपमा मलाई सेवाबाट बर्खास्त गरिएको थियो । २०३५/०३६ को विद्यार्थी आन्दोलनले राजालाई जनमत सङ्ग्रह घोषणा गर्न बाध्य पारेपछि मुलुकमा राजनीतिक बन्देज खुकुलो हुँदै गएको समयको सदुपयोग गरी दैवज्ञ दाइले मलाई आफैँले बोलाएर उक्त क्याम्पसमा नियुक्ति दिनु भएको थियो । त्यस बखत मैले अरू क्याम्पसमा पनि नियुक्त पाउन सक्ने अवस्था थियो । तर दैवज्ञ दाइले तत्कालै मलाई पाटन क्याम्पसमा बोलाउनाको अभिप्राय पाटन संयुक्त क्याम्पस वामपन्थी राजनीतिको केन्द्र मात्र नबनोस् भन्ने पनि थियो । म लगायतका केही अरू प्राध्यापकहरू नियुक्त भएपछि नै पाटन संयुक्त क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापकहरूले आफ्नो हैसियत खुला रूपमा देखाउन सकेका थिए ।

दैवज्ञ दाइ पाटन संयुक्त क्याम्पसमा छँदाका केही रोचक संस्मरण अहिले पनि म सम्झन्छु । उहाँको शारीरिक व्यक्तित्व आकर्षक थियो । उहाँ दौरा सुरुवाल लगाउँदा होस् या सर्ट पाइन्ट र सफारी सुट लगाउँदा होस्, ढाकाको टोपी सधैँ लगाउनुहुन्थ्यो अनि कसैले उहाँलाई नमस्कार गर्‍यो भने दुबै हात जोडेर तत्कालै नमस्कार फर्काउनुहुन्थ्यो । त्यस बखत त्रि.वि.ले प्रायः सबै क्याम्पसका लागि एक एक ओटा मोटर साइकल दिएको थियो । पाटन संयुक्त क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख मङ्गलराज जोशी उमेरका कारण मोटर साइकल चढ्नु हुन्नथ्यो । अतः त्यो मोटर साइकल दैवज्ञ दाइ चढ्नुहुन्थ्यो । उहाँले लामो समय लगाएर मोटर साइकल सिकी चढ्न थाल्नुभएको थियो । एक पटक उहाँ मोटर साइकल चढेर क्याम्पस जाँदै हुनुहुन्थ्यो, क्याम्पसको ढोकैमा पुग्दा एक हुल विद्यार्थीले उहाँलाई सादर नमस्कार गरे । उहाँले पनि तत्कालै दुई हात जोडेर नमस्कार फर्काउनुभयो । फलतः गुड्दा गुड्दैको मोटर साइकल लड्यो । धन्न ठुलो दुर्घटना चाहिँ भएन । म कहिले काहीँ उहाँको मोटर साइकलमा बस्न भ्याउँथे । उहाँ मोटर साइकल चलाउँदै केही भन्दै गर्नुहुन्थ्यो । उहाँको बोली मसिनो थियो, बोलेका कुरा आधाभन्दा बढी बुझिन्नथ्यो । तर पनि अँ, अँ भनी जबाफ फर्काउनुपर्थ्यो । जरुरी कुरा गर्दा उहाँ मोटर साइकल रोकेर पनि जबाफ खोज्नुहुन्थो । त्यसबखत भने औधी गाह्रो पर्दथ्यो ।

दैवज्ञ दाइका साथ म धेरै पटक मदन पुरस्कार गुठीमा छिरेको छु । त्यसबखत मदन पुरस्कार गुठीमा बासुदेव लुइँटेल हरदम रुजु रहनुहुन्थो । उहाँले त्यहाँ आउने धेरैलाई एउटा न एउटा नाम राख्नुहुन्थ्यो । उहाँले दैवज्ञ दाइलाई सेकेन पण्डित नाम राख्नुभएको थियो र मलाई सराद्धे बाहुन नाम राख्नुभएको थियो । दैवज्ञ दाइको नाम पाटन संयुक्त क्याम्पसको सहायक क्याम्पस प्रमुख भएका कारण रहेको थियो भने मेरो नाम प्रत्येक वर्ष भानुजयन्तीको निम्ता पुर्‍याउन जाने हुँदा रहेको थियो । उहाँले राखेका यस्ता नाम अरू पनि छन् । अच्युतरमण अधिकारीलाई उहाँ भँगेरे काङ्ग्रेस (त्यस बखत उहाँ दुब्लो र पातलो पनि हुनुहुन्थ्यो ।) भन्नु हुन्थ्यो भने कोषराज न्यौपानेलाई भुसतिघ्रे काङ्ग्रेस (मोटा तिघ्रा भएको) भन्नुहुन्थ्यो । लुइँटेल माडसाप त्यहाँ पुग्ने प्रायः सबैलाई कुनै न कुनै पुस्तक उपहार दिनुहुन्थ्यो ।

दैवज्ञ दाइ पाटन संयुक्त क्याम्पसमा छँदा नै बसोबासका कारण वासुदेव त्रिपाठीको निकट सम्पर्कमा हुनुहुन्थ्यो । त्यसै कारण २०४३ तिर उहाँ पाटन संयुक्त क्याम्पसबाट नेपाली केन्द्रीय विभागमा सरुवा हुनुभएको थियो । त्यसपछि केही समय सहकर्मीका रूपमा उहाँको र मेरो सङ्गत छुट्यो । २०५६ मा म पनि नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा नै गएपछि हामी पुनः सहकर्मी हुन पुग्यौँ ।

त्रि.वि.मा अहिले सेवा प्रवेश र पदोन्नति निकै चुनौतीपूर्ण छ । तर दैवज्ञ दाइको समयमा र मेरो समयसम्म पनि सेवा प्रवेश उति चुनौतीपूर्ण थिएन । पदोन्नति पनि त्यसबखत कमै चुनौतीपूर्ण थियो । तर दैवज्ञ दाइको प्राध्यापकमा पदोन्नति भने केही चुनौतीपूर्ण बन्न पुग्यो । उहाँले कविता लेखनमा आफूलाई बढी समर्पित गर्नुभयो अनि पदोन्नतिका यान्त्रिक ढाँचा पूरा गर्नेतिर त्यति ध्यान दिनुभएन । फलतः धेरै सहकर्मीहरू प्राध्यापक भइसक्ता पनि उहाँको पालो आएन । यसैले होला उहाँ र म एकैपल्ट प्राध्यापक भयौँ । वृत्ति विकासमा प्रत्यक्ष आघात पुग्दा पनि उहाँले खुला गुनासो गरेको मैले थाहा पाइन ।दैवज्ञ दाइ २०६२ मा पक्षाघातले थलिनुभयो । उहाँ उमेरका कारण सेवा निवृत्त नहुँदासम्म सेवामा बहाल हुनुहुन्थ्यो । उहाँलाई प्रायः जसो भाइ महेश्वर न्यौपानेले डोर्‍याउँदै विभागमा पुर्‍याउनुहुन्थ्यो । .

४. समापन

अहिले दैवज्ञ दाइको अवसान भएको एक वर्ष भयो । यस बिचमा उहाँले समाजलाई दिएको योगदानका बारेमा थोरबहुत चर्चा भएकै छ तर यति मात्र पर्याप्त छैन । जीवनीका अलग अलग पक्षमा विस्तृत खोजतलास गरी समग्र जीवनी र कृतित्वको विश्लेषण गरिनु आवश्यक छ । यसै गरी पूर्व प्रकाशित कृतिहरूको पुनः प्रकाशन र अप्रकाशित कृति प्रकाशनमा पनि उहाँको परिवार र नेपाली भाषा साहित्यका अध्येताहरूको ध्यान जानु आवश्यक देखिएको छ । आदिकवि भानुभक्तका उपासक र प्रचारक कवि दैवज्ञ भानुका सच्चा प्रशिष्य पनि हुनुहुन्थ्यो । मोतीराम, सूधपा, असीम र कमल दीक्षित सरह नै भानुको प्रतिष्ठावृद्धि र नेपाली साहित्यको श्रीवृद्धिमा दैवज्ञ दाइको योगदान रहेको छ । यस सन्दर्भमा म भानु प्रतिष्ठानको अध्यक्षको हैसियतले कृतज्ञतासाथ हार्दिक श्रद्धासुमन समर्पण गर्दछु र उहाँको अमर आत्माको चिरशान्तिको कामना गर्दछु ।