स्वनामधन्य साहित्यकार
राष्ट्रिय विभूति गौतम बुद्धको सर्वप्रथम जन्मजयन्ती शुभारम्भ गरेको नेपालको प्रसिद्ध भोजपुर जिल्लामा वि.सं. १९९९ मंसिर ३० गते जन्मिएका सादा जीवन तथा उच्च विचारका धनी दैवज्ञराज न्यौपाने नेपाली साहित्य जगत्का स्वनामधन्य साहित्यकार हुनुहन्छ ।
समाज र राष्ट्रमा आफ्नो बेग्लै पहिचान र परिचय बनाउने काव्यकार न्यौपाने समाजलाई हृदयमा राख्ने कवि हुन् । कर्मयोगी पिताका कर्मयोगी सुपुत्र राष्ट्रका होनहार प्रतिभा, दूर दृष्टिवान् चिन्तक, युगानुकूल पुरुष, आफ्ना प्रशस्त सुकार्यका कारण प्रकाशमान, प्रसिद्ध कवि दैवज्ञराज न्यौपानेका साहित्य रचनामा देशभक्ति, राष्ट्रभक्ति, धर्मसंस्कृति, परम्परा, संस्कार र मातृभूमिप्रतिको अगाध माया ममता छताछुल्ल पोखिएको पाउन सकिन्छ । जहाँ पुग्न सक्दैन रवि त्यहाँ पुग्छ कवि भने जस्तै हिमाल, पहाड र तराईमा बसोबास गर्ने एकसय अठार जातिका हकहित र अधिकारको सवालमा कलम उठाउनु भएको छ ।
दर्जनौँ संघसंस्थाबाट सम्मानित एवं पुरस्कृत तथा विभिन्न उच्चस्तरीय पदकहरूबाट विभूषित वरिष्ठ साहित्यकार न्यौपाने सिङ्गो नेपाली समाजको अत्यन्त चर्चित नाम हो । भानु प्रतिष्ठान, पञ्चकुमारी सामाजिक गुठी, हाम्रो नेपाल, श्री हनुमान आराधना मण्डल नेपाल, योगी नरहरिनाथ आध्यात्मिक परिषद् जस्ता संस्थामा पनि उहाँ क्रियाशील हुनुहुन्थ्यो ।
उहाँ सानै उमेरदेखि कविता रचना गर्ने, समाजिक धार्मिक कार्यमा सघाउने, गीत गाउने, नाचगानको कार्यक्रमलाई प्रोत्साहन गर्न रुचाउनु हुन्थ्यो । नेपाल अधिराज्यको पनि सबै जिल्लाको भ्रमण गर्नु भएका प्रा.न्यौपाने गरिब र धनीबीचको खाडल गहिरिँदै गएकोमा चिन्तित देखिनुहुन्थ्यो । उहाँले नेपाली धरातललाई राम्रोसँग बुझ्नु भएको थियो । उहाँसँग कलमीको चिनाजानी तीन दशकदेखिकै हो । उहाँ समाज र राष्ट्रमा अवमूल्यन हुदैँ गएको नैतिक मूल्य र मान्यताप्रति अत्यन्त चिन्तित हुनुहुन्थ्यो । उहाँ जुनसुकै विषयमा आयोजना भएका गोष्ठी, प्रवचन, सेमिनार तथा अन्तरक्रियामा आफ्नो राय सल्लाह र सुझाव दिन समर्थ र सक्षम हुनुहुन्थ्यो ।
कलमीले आयोजना गरेका धेरै सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा उहाँले प्रमुख अतिथि, विशेष अतिथि, वरिष्ठ अतिथि, अतिथि, संयोजक, आयोजक र सल्लाहकार लगायतको भूमिका निर्वाह गर्नु भएको छ । उहाँले सानो ठुलो व्यक्ति र संस्था भन्नु भएन, जो सुकैले निमन्त्रणा गरे पनि आफ्नो, मानो खाएर, बस, ट्याक्सी र पैदल हिँडेर सबैको मन जित्नु भएको छ । राष्ट्र र अन्तर्राष्ट्रको सुन्दर भविष्यको निम्ति आफ्ना कविता मार्फत उहाँले मार्गदर्शन गरिसक्नु भएको छ । धेरै क्षमता र क्रियाशीलताका उदाहरणीय व्यक्तित्व, साहित्य, समाजसेवा र हिन्दु धर्म संस्कृतिको क्षेत्रमा सुन्दर आभूषण, देशले पछिसम्म सम्झिरहने जीवन्त व्यक्तित्व प्रा.दैवज्ञराज न्यौपानेका बारेमा यो सानो लेखमा के नै वर्णन गर्न सकिन्छ !
नेपाली साहित्य जगतका नवीन विचारक र व्याख्याता, कलमवीर, शब्दका असल खेलाडी, कटिबद्ध समाजसेवी, सामाजिक गुठीका नायक, इतिहासविद् तथा संस्कृतिविद् प्रा.न्यौपाने आध्यात्मिक चेतनापुञ्ज नै हुनुहुन्थ्यो । लगनशीलता, गतिशीलता र कर्मनिष्ठताका उदाहरणीय व्यक्तित्वका रूपमा उहाँलाई समाजले लिने गरेको थियो । धर्म मानव जीवनको आधार हो, कविता समाजको ऐना हो, कविले सरकारलाई बाटो देखाउने हो, विकास निर्माण गर्ने कार्य दल र नेताको हो, साहित्यकारको होइन भन्नुहुन्थ्यो ।
तसर्थ सबैले धर्मको पालना गर्नु मनुष्यको कर्तव्य पनि हो । बढ्दो पश्चिमी जगतको धर्म, संस्कृति इतिहास र शिक्षाले नेपाली समाज लथालिङ्ग र भताभुङ्ग हुँदैछ । नेपाली शिक्षाक्षेत्र पुरै अंग्रेजीकरण भइसकेको अवस्था छ । स्कूल, क्याम्पस, शैक्षिक तथा व्यापारिक प्रतिष्ठानको नाम समेत अंग्रेजीबाट लेखिन थालेको छ । यस्ता विषयमा सुधार भएन र यसै गरी मौलिकता छोड्दै जाने हो भने भोलि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिकमा हमला गर्नेहरूले भानुभक्त आचार्य र मोतीराम भट्टको सालिकमा पनि आक्रमण गर्न सक्छन् भनी उहाँ भन्नुहुन्थ्यो ।
उहाँले कहिल्यै कुनै पनि नेताहरूलाई गाली गलौज गर्नु भएन । राष्ट्रहित विरुद्धका काम कार्वाहीको सधैँ खुलेर विरोध गर्दै आउनुभयो । उहाँको सुन्दर व्यक्तित्व र मिठो आवाजमा हुने प्रवचनमा दर्शक सधैँ आकर्षित हुन्थे । उहाँको स्वरमा एउटा राम्रो कला नै थियो । उहाँका सृजना, समाजसेवा, शिक्षासेवा र राष्ट्रचिन्तन अति नै स्तुत्य छन् । उहाँको साहित्यसेवाले आदिकवि भानुभक्तले निर्माण गरेको नेपाली भाषाको मूलबाटालाई अझ फराक पार्ने कार्य गरेको छ । अन्तमा उहाँको चिरशान्तिको कामनासाथ तेत्तिस कोटी देवीदेवताका प्रतीक श्री पशुपतिनाथसँग प्रार्थना गर्दै मेरो कलमलाई यही विश्राम दिन्छु ।