बौद्धिक व्यक्तित्व : कवि दैवज्ञ
व्यावहारिक विज्ञान विषय अध्ययनको प्रत्यक्ष लाभ वा स्वाद नै तत्काल रोजगारी पाउनु हो भन्ने ठानेर मैले धरानमा त्यही विषय पढेँ । २०३४ जेठमा परीक्षाफल प्राप्त भएपछि काठमाडौं आई कवि दैवज्ञराज न्यौपानेको बबरमहलस्थित डेरामा झोला बिसाउन पुगेँ । नातामा उहाँ मेरा हजुबा भए पनि म उहाँलाई काका भनेर सम्बोधन गर्थे । उहाँको डेरा पूर्वतिरबाट आउने आफन्तहरूको साँच्चै आश्रयस्थल थियो । उहाँका डेरामा पाहुना नभएको समय बिरलै हुन्थ्यो । म काठमाडौं आइपुग्दा त्यहाँ काका कृष्ण न्यौपाने र दाइ प्रह्लाद पोख्रेल पनि हुनुहुन्थ्यो । काकाहरू दैवज्ञ र केदार पढाउन जानुहुन्थ्यो र घरमा भएका बखत पनि अध्ययन गरेरै बसिरहनु हुन्थ्यो । अर्चना भर्खरै जन्मिएकी हुनाले काकी रीतालाई भान्साको काममा हामी सघाउँथ्यौँ । तिनै जना (कृष्ण, प्रह्लाद र शुकदेव) एकै वयका भएकाले रोजगारीको विज्ञापनको सूचना हेर्नु, सहर घुम्नु र बिहान बेलुका केही सहयोग गर्दै घरायसी काममा संलग्न रहनु हाम्रो दैनिकी हुन्थ्यो । २०३४ साल असार १२ गतेको अन्तर्वार्ताबाट वनस्पति विभाग, शाही औषधि अनुसन्धानशालामा नियुक्ति पाई काम सुरु गरेपछि मात्र म भिन्नै डेरामा सरेँ । कृष्ण काका पनि जागिर पाएर विराटनगरतिर जानुभयो ।
दैवज्ञ काका र प्रह्लाद दाइकै सङ्गत र प्रेरणाले मैले पनि केही गीत र मुक्तकहरू लेखेर गोरखापत्रमा छपाएको थिएँ । पछि दैवज्ञ काका बालक पत्रिकाको प्रधान सम्पादक हुनुभएका बखत पटकपटक प्रेरित गर्नु भए अनुरूप केही लेखहरू लेखी उहाँलाई दिँदा बालकमा छपाइदिनु भएको थियो ।
समय बित्दै जाँदा २०५२ चैत्रमा मेरी मुमाको लोकान्तरणपछि बुबाले पटक पटक विवाह गर्ने इच्छा व्यक्त गर्नु हुँदा मैले सकारात्मक स्वीकृति नदिएको दैवज्ञ काकालाई थाहा भएछ । व्यावहारिक विषयमा, सामाजिक विषयहरूमा र कतिपय बौद्धिक विषयहरूमा काकासँग अन्तरङ्ग चर्चा चलिरहन्थे । बुबाले मसँग जाहेर गरेको इच्छा र मेरो अनिर्णित अवस्थाका बारे काकाले जिज्ञासा राख्नुभयो । मैले यथार्थ अवस्था बताएपछि बुबाले विवाह गर्न खोजेका भए राम्रो गरेछन्, बुढेसकालमा छोरा, बुहारीले जति नै स्याहारे पनि कमै हुन्छ, अन्तरङ्ग साथी भनेको छुट्टै हो, बुबालाई विवाह तिमी आपैंफले गराइदेऊ, कालान्तरमा राम्रो हुन्छ भन्नुभयो । मैले आशोच बारेको हरेक महिना मुमाको देहावसानस्थलमै पुगेर मासिक गर्ने सिलसिलामा एकजनाले बुबालाई केटी दिँदैछन् तर २ विघा जग्गा केटीका नाममा पास गरिदिनु पर्छ अरे भन्दा मैले दैवज्ञ काकाको कुरा, मेरी बहिनी भगवतीको कुरा र बुबाको तीव्र इच्छाको स्मरण गर्दै धन सम्पत्ति दिएर किनेका केटीले पाल्दैनन्, धन सम्पत्ति नदिई केटी दिन्छन् भने मेरो सहमति छ भनें । बुबाले तिनै केटीसँग विवाह गरेको केही पछि थाहा भयो ।
दुईजना मात्र हुँदा थुप्रै गम्भीर विषयहरूमा काकासँग वार्तालाप चलिरहन्थे । आवश्यक कुरा मात्र गर्ने, अरुचिकर विषय थाहा पाए पनि थाहा नपाए जस्तो गर्ने काका दैवज्ञ साँच्चै बौद्धिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । साहित्य साधना, अध्ययन अध्यापन र समाजसेवामा आपूफलाई समर्पित गरेर अत्यन्तै व्यस्त रहनुहुने दैवज्ञ काका ज्यादै व्यावहारिक हुनुहुन्थ्यो । मेरा जीवनका कठिनाइका समयमा निःस्वार्थ रूपमा प्रश्रय दिएर र अनेकौँ व्यावहारिक सल्लाह दिएर अभिभावकत्व ग्रहण गर्नुहुने मेरा आदरणीय अभिभावक एवं नेपाली साहित्यका अग्ला व्यक्तित्व कवि दैवज्ञराज न्यौपानेप्रति हार्दिक श्रद्धासुमन चढाउँछु ।
२०६९ साउन २६
कञ्चनपुर, सप्तरी
हाल : काठमाडौँ