स्मृतिका स्वर्णिम क्षण
प्रा.डा. श्रीरामप्रसाद उपाध्याय
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय जाँदा र आउँदा, बसमा चढ्दा र ओर्लँदा, नेपाली विभागमा जाँदा, बस्दा र बाहिर निस्कँदा जहिले पनि भेट भइरहने गोरा सधैं उज्याला, हँसिला व्यक्तिको रूपमा मैले प्राध्यापक दैवज्ञराज न्यौपानेलाई भेटेको हुँ । नेपाली विभागमा मात्र होइन त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसभरिमा त्यतिका आकर्षक र प्रशन्न मुद्राका व्यक्ति मैले आजसम्म देखेको छैन । अन्यथा नठानिएमा कीर्तिपुर क्याम्पसमा प्रायः चिन्ताग्रस्त अनुहार नै बढी देखिने गरिन्छ । त्यस्ता अनुहारलाई पनि उज्यालो बनाउने व्यक्तिको रूपमा मैले प्राध्यापक दैवज्ञराज न्यौपानेलाई पाउने गर्दथँे । मेरा अनुहारका चिन्तालाई उहाँको स्पर्शले धुमिल पारेको मैले अनुभव गरेको छु । एक पश्चिमी कविले एउटा बलिरहेको मैनबत्तीले अर्को नबलेको बत्तीलाई उज्यालो पार्दछ तर त्यो उज्यालो पार्ने बत्तीको उज्यालो कम हुँदैन भनी सुन्दर काव्यको रचना गरेका छन् । प्रसिद्ध भारतीय कवि राविन्द्रनाथ टैगोरले पनि आफ्ना अमरग्रन्थ गीताञ्जलीमा मैनबतीको महत्त्व देखाएका छन् । प्राध्यापक दैवज्ञराज न्यौपाने पनि त्यही मैनबत्ती हुनुहुन्थ्यो । जसको प्रवेशसँगै कीर्तिपुरको त्यो ऐतिहासिक, साँस्कृतिक र शैक्षिक काख उज्यालो बन्ने गर्दथ्यो । मानिस आपैफँ दुःखको कारण हो । उसको आफ्नै आचरणले उसलाई दुःखी र सुखी बनाउँछ भन्ने महामानव गौतम बुद्धको भनाइ हो । प्राध्यापक दैवज्ञराज न्यौपानेका आचरण र व्यवहारले गर्दा उहाँ सधँै सुखी हुनुहुन्थ्यो । हामी जानेर होस् वा नजानेर आफ्नो असफलताको दोष अरूका टाउँकामा फाल्ने गर्दछौं तर वहाँ आफ्ना सफलता र असफलताका भागिदार आपैँफ बन्नुहुन्थ्यो । उहाँका मुखबाट कसैप्रति लक्ष्यित अप्रिय शब्द चुहिँदैनथ्यो । प्रत्येक पटक भेट्दाको त्यही मुस्कान र सहृदयतासँगै लामै हिँडिन्थ्यो । उहाँसँग सँगै हिँड्नुभन्दा अघि नै उहाँको लेखनीबाट परिचित थिएँ । वहाँले पनि अरूको धेरै पढ्नु हुँदोरहेछ भन्ने मैले थाहा पाएको छु ।
सामाजिक अध्ययनको एकाइ प्रारम्भसँगै महान् व्यक्तिका अमरवाणी र कविताका अंश राखेकोमा वहाँ ज्यादै प्रशन्न हुनुहुन्थ्यो । म पनि उहाँका बालकविताका केही अंश विद्यालय स्तरका सामाजिक अध्ययनमा राख्न इच्छुक थिएँ । तर वहाँको अनुमतिबेगर त्यो गर्न सम्भव भएन । अनेकौं राष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित प्राध्यापक दैवज्ञराज न्यौपानेले बाल साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ । तोतेबोली, गाउँखाने कविता, बाल संसार, सबै हाम्रा साथी, घामले ढोका खोल्यो, पोल्टाका गीतहरू जस्ता बालकविता र शिशुगीत संग्रह लगायतका कालजयी बालगीत तथा कविताले बाल साहित्यको अभाव हुन दिएन । हुने बिरुवाको चिल्लो पात नामक जीवनी संग्रह पनि प्रकाशित छ । बाल साहित्यबाट वहाँका कृतिलाई हटाई दिने हो भने एउटा शून्यताबाहेक केही हुने छैन । बाल साहित्यतर्पफ थोरै कलम चल्ने गरेको अवस्थामा यस विधामा कलम चलाएर प्राध्यापक दैवज्ञराज न्यौपानेले बालबालिका मात्र होइन सम्पूर्ण नेपाली अभिभावकलाई ठुलो गुण लगाउनु भएको छ । वहाँलाई नेपाली बाल साहित्यका भीष्म पितामह भने हुन्छ ।
बाल साहित्य बाहेक प्राध्यापक दैवज्ञराज न्यौपानेका सिर्जनाको लहर गीति कविता संग्रह, जोर मुरली कविता संग्रह, गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन र नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू जस्ता समालोचना, नारदमुनि थुलुङ जस्ता स्मृति ग्रन्थ, नेपाली कविता भाग–२ (पाठ्यपुस्तक) भानु दर्शन जस्ता ग्रन्थका सहलेखन तथा सम्पादन गर्नु भएका कृतिबाट वहाँ नेपाली साहित्यिक विधामा कहिल्यै बिर्सन नसकिने पात्रको रूपमा रहिरहनु हुनेछ ।
त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा आउनुअघि प्राध्यापक दैवज्ञराज न्यौपानेसँग सानोठिमीस्थित दूरशिक्षा कार्यालयमा साक्षात्कार हुने गर्दथ्यो । त्यसबखत वहाँ नेपाल टेलिभिजनको उद्घोषिका रमा सिंहका पिता बीबी सिंहसँगै बालगीतको रेकर्ड गर्दै रहेको भेटेको थिएँ । बीबी सिंहलाई मैले लट्ठी टेकेर बिरामी अवस्थामा हिँड्दै गरेको देखेको थिएँ । पछि मैले वीर अस्पतालमा पनि अचेत अवस्थामा देखेको थिएँ । तर त्यसै दिन मैले प्राध्यापक दैवज्ञराज न्यौपानेलाई स्वस्थ र सुन्दर देखेको थिएँ । तर नियतिले समयको अन्तरालमा दुवैलाई चुँडेर लग्यो । दुवै बालगीत र साहित्यका शिखर पुरुषहरूलाई हार्दिक श्रद्धाञ्जली र अभिवादन छ ।
एडमन्ड हिलारीको हिमालय ट्रस्ट सोलुखुम्बुले नेपाली प्रशिक्षकको नाम माग्दा मैले दुई जनाको नाम दिएको थिएँ । पहिलो प्राध्यापक दैवज्ञराज न्यौपाने र दोस्रो प्राध्यापक महेश्वर न्यौपानेको नाम थियो । यिनीहरूले दोस्रो नामलाई सहज ठानेर उपयोग गरेको कुरा थाहा पाएँ । यसरी नेपाली भाषा र साहित्यको कुरा गर्दा वहाँ मेरो पहिलो प्राथमिकतामा पर्नुहुन्थ्यो ।
जन्मेपछि सबै मर्नुपर्छ । असल कर्म गर्ने व्यक्ति कहिले मर्दैनन् । पेफरि यस्ता अमर व्यक्तिहरू थोरै मात्र जन्मन्छन् । यिनी कुनै वर्ग, समुदाय, सिद्धान्त वा जातजातिका हुँदैनन् । यिनी सम्पूर्ण मानव जातिका धरोहर बन्दछन् । म व्यक्तिगत रूपमा प्राध्यापक दैवज्ञराज न्यौपानेलाई सदा आदरपूर्ण सम्मानभाव व्यक्त गर्ने गर्दथँे । मेरो उमेर त्यसै खेर गएको मैले अनुभव गरेको छु । भावी पुस्ताले मलाई सम्झने मसँग केही छैन । तर मेरा न्यौपाने बन्धु प्राध्यापक न्यौपानेलाई सम्झने अपार सम्पत्ति हामीसँग उपलब्ध छन् । तिनको स्याहार सम्भार गर्नु हाम्रो कर्तव्य हो । म सानो हुँदा मेरा पिताज्यू विचारी कृष्णप्रसाद उपाध्याय न्यौपाने आफ्ना कान्छा बुबा कवि रेवतीरमण न्यौपानेका हे गौरीसुत, हे गणपति नामको श्लोक पढेर बिहान बिउँझाउने गर्नुहुन्थ्यो । न्यौपाने बन्धुका कृतिले पनि त्यही रूप लिनेछ भनी विश्वास गर्दछु । गुरुपूर्णिमा २०६६, १९६ औं भानुजयन्ती र सम्मानीय राष्ट्रपति डा. रामवरण यादवबाट सम्मान प्राप्त गर्दा टेलिभिजनमा देखाइएको वहाँको शारीरिक अशक्तता कल्पना नै गर्न नसकिने अवस्थाको थियो । तैपनि अनुहारमा त्यही खुसी, आँट र विश्वास देखिन्थ्यो । सञ्चार माध्यमबाट वहाँ बितेको खबर थाहा पाएँ । मेरो दुःख अझै बढ्यो । एक बिहान मेरा भतिजा पुरुषोत्तम न्यौपानेले मलाई फोन गरेर दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले स्मृतिग्रन्थ निकाल्दै छ । तपाईँले पनि लेखिदिनुपर्यो, उहाँकी श्रीमती सुधाले भन्नुभएको भनेका थिए । मैले विष्णुप्रसाद न्यौपानेले न्यौपाने प्रतिभा, कला र साहित्य पुस्तकको विमोचन गर्दा वहाँका परिवारसँग भेट हुने विश्वास गरेको थिएँ । संयोगले म उहाँहरूकै छेउमा गएर बस्न पुगेछु । मैले त्यहाँ प्राध्यापक दैवज्ञराज न्यौपानेका स्मृतिका केही हरफ लेख्ने अनुमति मागँे । मेरा छेउमा बस्नु भएका केदार न्यौपाने, महेश्वर न्यौपाने र कोषराज न्यौपानेले इमेल र सम्पर्क टेलिफोन नम्बर दिएपछि मेरो काम सरल बन्यो ।
शिक्षा र बाल साहित्यको क्षेत्रमा यस्तो विशिष्ट योगदान पुर्याउनु भएका शिखर पुरुष प्राध्यापक दैवज्ञराज न्यौपानेको यति छिटै असामयिक निधन नभएको भए वहाँबाट नेपाली साहित्यले अझै नौला र उच्चस्तरीय ग्रन्थ पाउने थियो । आज वहाँका नाममा प्रतिष्ठान खोलिएको छ । यस प्रतिष्ठानले वहाँका कृतिहरूलाई विभिन्न भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय जगतमा पैफलाउने छ भन्ने आशा गर्दछु । यस प्रतिष्ठानले उहाँलाई मरणोपरान्त युनेस्को अन्तर्राष्ट्रिय पुरस्कार उपलब्ध गराउन प्रयास गर्नुपर्दछ ।
बेलायत जाने सबै पर्यटकहरू सेक्सपियर, बर्डस्वर्थ, शेली, किट्सजस्ता कविका वासस्थान जान खोज्दछन् । अंग्रेजहरूमा भाषिक एकताले गर्दा नै अंग्रेजी भाषा र साहित्य संसारभर पिँफजिएको छ । हामीले पनि हाम्रा कवि प्राध्यापक दैवज्ञराज न्यौपानेका निवास र नेपाली भाषालाई साहित्यिक तीर्थस्थल बनाउनु आवश्यक छ । हामीले पनि नेपाली भाषा र साहित्यप्रति सम्मान र एकता प्रदर्शन गर्नुपर्छ । वहाँसँगको सामीप्यको स्वर्णिम क्षण मेरा निम्ति प्रेरणादायक र गाढा छाप छाड्न समर्थ छ ।
२०६९ साउन
काठमाडौँ