प्रेरणादायी व्यक्तित्व
सृष्टिको नियम अनुसार यस धर्तीमा जन्म लिएपछि सबैले एकदिन यो संसारलाई छाड्नु नै पर्दछ । यसमा कुनै सन्देह छैन । तर पनि यहाँ आउनेजाने क्रम निरन्तर रूपमा चलेकै छ । जब मानव धर्तीमा जन्मन्छ त्यसपछि उसको विकासको क्रम सुरु हुन्छ । शारीरिक, मानसिक, सांस्कारिक र शैक्षिक विकासबाट नै मानव पूर्ण रूपमा विकसित हुन्छ । विकास मानवबाट नै सुरुवात हुन्छ । चेतनशील र विकसित मानवले आफ्नो मात्र विकास गर्दछ जस्तै : सामाजिक आर्थिक शैक्षिक साँस्कृतिक, धार्मिक, साहित्यिक आदि कुराहरूका विकासको साथ–साथै उसको सद्भाव र माया पनि प्राप्त गर्दछ र मृत्युपर्यन्त जीवित हुन पुग्दछ । त्यसैले भनिएको होला कीर्तियस्य स जीवति ।
कर्मले नै मानिस महान् बन्दछ । त्यस्तै कर्मशील र महान् हुनुहुन्थ्यो बहु–प्रतिभाका धनी कवि, प्राध्यापक एवं सामाजसेवी दैवज्ञराज न्यौपाने । उहाँसँग मेरो २०५५ सालमा चिनजान भएको हो । उहाँ अत्यन्त, शालीन, भद,्र मिलनसार र सहयोगी व्यक्तित्व हुनुहुन्थ्यो । त्यस्तै भोजपुरका वरिष्ठ साहित्यकारहरू पूर्णप्रकाश नेपाल यात्री, परशु प्रधान, हरि मञ्जुश्री, शैलेन्द्र साकार, शैलेन्दुप्रकाश नेपाल आदि साहित्यकारहरूबाट पनि उहाँको आदर्श र निष्ठाको विषयमा चर्चा परिचर्चाहरू सुन्ने अवसर पनि मिलेको थियो । त्यसैले पनि मेरो मनमा उहाँप्रति श्रद्धाको भाव जागृत हुने गर्दथ्यो ।
उहाँ पनि बानेश्वरबासी हुनुभएको र मेरो पनि बानेश्वरमा नै बढी काम हुने भएकाले काठमाडौँमा आयोजना हुने सामाजिक र साहित्यिक कार्यक्रमहरूमा उहाँसँग भेटघाट भइरहने गर्दथ्यो । कुर्था सुरुवाल र ढाका टोपीमा उहाँको व्यक्तित्व आकर्षक र लोभलाग्दो देखिन्थ्यो । नरम र मिठो बोल्ने उहाँको बानी थियो । उहाँको जीवनको अधिकांश समय अध्ययन अध्यापन, साहित्य सेवा र समाज सेवाको क्षेत्रमा नै बित्यो । चाहे त्यो शिक्षण संस्थामा होस् वा साहित्यिक संस्थामा वा सामाजिक संघ संस्थामा होस् उहाँ निरन्तर रूपमा क्रियाशील रहँदै आउनु भएको थियो ।
उहाँमा आफूभन्दा साना व्यक्तिहरूलाई अत्यन्त माया गर्ने, हौसला एवं प्रेरणा प्रदान गर्ने स्वभाव थियो । यसको प्रत्यक्ष अनुभूति स्वयं मलाई पनि भएको छ । उहाँको प्रेरणाबाट मैले एउटा खण्डकाव्य लेखेको छु जुन काव्य अहिलेसम्म प्रकाशन गर्न सकिएको छैन त्यो हो मातृभूमि । उहाँबाट मैले साहित्य क्षेत्रमा धेरै प्रेरणा प्राप्त गरेको छु भने उहाँले मेरो पहिलो कविताकृति पन हराएको सूचना र दोस्रो खण्डकाव्य संग्रह सपना सुन्दरीमा महत्त्वपूर्ण सुझाउयुक्त भूमिका पनि लेखिदिनु भएको छ । उहाँका सरल र सुन्दर भाषामा लेखिएका साहित्यिक रचनाहरू विभिन्न पाठ्यक्रमहरूमा पनि समावेश भएका छन् । उहाँ विभिन्न साहित्यिक संघ संस्थाहरूबाट सम्मानित र पुरस्कृत पनि भैसक्नु भएको छ ।
जीवनको उत्तरार्धमा आइपुग्दा–नपुग्दा मधुमेह रोगले सताउन पुग्यो । जसको कारणले गर्दा उहाँलाई प्यारलाइसिस हुन पुग्यो । त्यस्तो हिँड्न नसक्ने, बोल्न नसक्ने बेलामा पनि उहाँले कसैलाई हार्न सक्नु भएन । सबैलाई सकेको सहयोग आशीर्वाद दिँदै आउनु भयो । अहिले उहाँ हाम्रो सामुन्ने हुनुहुन्न तर उहाँले पुर्याउनु भएका अविस्मरणीय योगदान र उहाँसँग भए गरिएका अन्तरङ्ग संझनाहरू अहिले र पछिसम्म पनि ताजै रहने छन् । विगत र वर्तमानले नै इतिहासको संरचना गर्दछ । अब उहाँका विगत र वर्तमानहरू इतिहासमा परिवर्तन भैसकेका छन् तर पनि उहाँ नेपाली भाषा र साहित्यको क्षेत्रमा अमर बन्नु भएको छ । उहाँको अभावमा नेपाली भाषा र साहित्यमा अपूरणीय क्षति पुगेको छ ।साहित्यकार एवं लेखकहरूले एउटा अभिभावक गुमाएका छन् भने मैले एउटा साहित्यप्रेमीको नाताले माया, हौसला र प्रेरणा गुमाएको छु ।