कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

झल्झली आँखामा

सुशीला धिताल

दाजु दैवज्ञराज न्यौपाने अग्लो, उज्यालो र गोरो वर्णको हुनुहुन्थ्यो । सानैदेखि उहाँ रमाइलो, हँसिलो र रसिलो स्वभावको हुनुहुन्थ्यो । वास्तवमा संघर्ष नगरी जीवनमा सफलता प्राप्त गर्न सकिँदैन भनी दाजुले भन्नुभएको कुरा आज पनि मेरो कानमा गुनगुनाउँछ । दाजुले पनि जीवनमा धेरै संघर्ष, दुःख गरेर उच्च सफलता प्राप्त गर्नुभयो । सानैदेखि बालक, युवा र वृद्ध सबैसँग मिल्ने दैवज्ञ दाजुको स्वभाव थियो । कसैको दुःख देख्न नसक्ने उहाँको स्वभाव थियो । उहाँ मेरा बुबा खिलनाथ पोख्रेलका ठुला भान्जा अर्थात् हाम्री ठुल्दिदी (ठुली पुफपू) उमादेवीका जेठा छोरा हुनुहुन्थ्यो । मामा–भान्जामा प्रेम, सद्भाव निकै घनिष्ठ थियो । मेरा बुबा र दाजु धेरै समयसम्म काठमाडौँमा एकसाथ पनि बस्नुभएको थियो । मेरा बुबा सरकारी कर्मचारी हुनुहुन्थ्यो । उहाँ जहाँ सरुवा भएर जाँदा पनि दाजु जहाँ पनि मामालाई भेट्न आउनुहुन्थ्यो । जब दाजु हामीकहाँ आउनुहुन्थ्यो तब विभिन्न प्रकारका मिठाई, चक्लेट, पुष्टकारी र फलपूफलहरू लिएर आउनुहुन्थ्यो । हामी सबैलाई दिनुहुन्थ्यो । हामी दाजु सधँै आइदिनु भए खानेकुराहरू खान पाइन्छ, दाजु आइराख्नुस् है भन्थ्यौं । घरकी जेठी छोरी हुनाले म सबै कुरा बुझने थिएँ तापनि उत्सुकताबस म बुबालाई सोध्थेँ— बुबा झ् हामी जहाँ भए पनि दाजु कसरी देखेर आउनु हुन्छ ?

दाजुहरू बिस्तारै काठमाडौं बस्न थाल्नुभयो । मलाई पनि बुबा–आमाले काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने पाँचमानेमा बिहे गरेर दिनुभयो । मलाई काठमाडौंमा मेरा दाजुहरूले असाध्यै माया, स्नेह दिनुहुन्छ । बुबा–आमाबाट टाढा भएर आउँदा पनि कहिल्यै टाढा भएको महसुस भएन किनकि मेरा दाजुहरू दैवज्ञराज न्यौपाने, केदार न्यौपाने, महेश्वर न्यौपाने, प्रह्लाद पोख्रेल र विश्वनाथ निरौला हुनुहुन्छ भने भाइ सुदर्शन न्यौपाने । उहाँहरूले मलाई कहिल्यै पनि आमा–बुबाको माया ममताबाट टाढा भएको अनुभव हुन दिनुभएन । माइत टाढा भएको कारणले म आज पनि चाडपर्वहरू दाजुहरूका साथ मनाउँदै आएकी छु । दाजुहरूबीच चाडपर्वहरू मनाउँदा मलाई पनि बाबु–आमाबीच मनाएको जस्तो लाग्छ । मेरा दाजुहरूले मलाई आपूफलाई भन्दा पनि धेरै माया गर्नुहुन्छ ।

यसरी समय बित्दै थियो । दैवज्ञ दाजुलाई अकस्मात् रोगले समात्यो । ठुला ठुला अस्पतालहरूमा विभिन्न उपचार गर्दा पनि दाजुलाई निको हुन सकेन । रोगले बिस्तारै–बिस्तारै गलाउँदै गएपछि दाजु ओछ्यान पर्नुभयो । एउटा कलाकारभित्र भएको प्रतिभा जस्तोसुकै अवस्थामा पनि मर्दैन भन्ने कुरा कवि दैवज्ञ दाजुबाट थाहा हुन्छ । उहाँ त्यस्तो अवस्थामा हुँदा पनि विभिन्न प्रकारका लेख र कविता रचना गरिरहनुहुन्थ्यो । उहाँ वरिष्ठ साहित्यकारको रूपमा हामीमाझ परिचित हुनुहुन्छ । बालकदेखि वृद्धसम्मलाई हुने कृतिहरू उहाँले रचना गर्नुभएको छ । विभिन्न कृतिहरू लेखेकाले विभिन्न मानपदवी, पदक र पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुभएको छ ।

यसरी समय निरन्तर चलिरहेको थियो । यस्तैमा २०६८ पौष २ गते बिहान मलाई घरमा भाइ सुदर्शनको जेठो छोरा सुमनको फोन आयो— दिदी झ् दैवज्ञ ठुला बाबालाई राती निकै गाह्रो भएर अस्पताल लगेको छ, उहाँको अवस्था गम्भीर छ, तपाईँ छिटो निजामती अस्पताल आउनू । म पनि हतार हतार गरेर मीनभवनमा रहेको सो अस्पतालमा पुगँे । त्यहाँ पुग्दा त अब दाजु हामीमाझ हुनुहुन्न भन्ने कुरा सुनेँ । अस्पतालमा हामी जति थियौँ, सबैका आँखामा सहस्र आँसुका धारा बगिरहेका थिए । म पनि छाँगाबाट खसेभैंफ भएँ । असाध्यै प्यारो गर्ने, मिजासिलो दाजुको भौतिक अनुपस्थितिले हामी सबैलाई स्तब्ध बनायो । उहाँका कृतिहरूले सधैँभरि दाजु हामीमाझ हुनुहुन्छ भन्ने लाग्छ । दाजुले हामीसँग बिताउनु भएका ती पलहरू आज पनि मेरा आँखामा झल्झली आइरहेका छन् ।

२०६९ साउन, बालाजु, पाँचमाने

काठमाडौँ