बहुमुखी प्रतिभाका प्रतीक दैवज्ञराज न्यौपाने
यो लेखक नेपाली जनजीवनलाई गुन लगाएका व्यक्तित्वप्रति रमाएर चल्ने गरेको छ । त्यही सन्दर्भको सत्पात्र दैवज्ञराज न्यौपाने ! भौतिक जीवनरूपमा हामीसँग हुनुहुन्न तापनि उहाँले नेपाली भाषा, साहित्य, संस्कृति, संस्कारजस्ता सभ्यतायुक्त नेपाल र नेपाली जनसमाजलाई पुर्याउनुभएको सेवा र योगदानरूपी गुनमा हामीसँगै हुनुहुन्छ, जीवित हुनुहुन्छ – भविष्यदेखि भविष्यसम्म जीवितै रहनुहुन्छ – नेपाली जातीय प्रतिष्ठा र प्रेरणाको रूपमा, अमर कथाको रूपमा ।
उहाँमा रहेको विद्वता, विशिष्ठता, सिर्जनशीलता, भाषा–साहित्य, संरचना, पारिवारिक पृष्ठभूमि आदिप्रति विशिष्ट समालोचकहरू, समीक्षकहरूबाट मूल्याङ्कन भइरहेकै छ । यसतर्फ यसले दोहोर्याइरहनु आवश्यक ठान्दैन र मूल्याङ्कित नभएका पक्षतिर आफ्नो कलम अघि बढाउँछ –
देशभक्त दैवज्ञराज
२०६१ चैत्र १५ गते बिहान सातै बजे यो लेखक उहाँलाई भेट्न उहाँको निवास नयाँ बानेश्वरमा गयो किनकि, उहाँले यसलाई माया गर्नुहुन्थ्यो । उहाँबाट यसले विशेष गरी पूर्वीय सभ्यता, संस्कृति तथा नेपाली भाषा–साहित्यको फाँटमा केही न केही सुन्थ्यो, सिक्थ्यो । त्यसबेला र आजसम्मकै समय स्वार्थी तथा जनविरोधी अगुवाइले ढपक्कै ढाकेर देशलाई अँध्यारो पारेको समय छ । त्यस दिनको दुइबीचको कुराकानीको विषय देशभक्ति र समाजसेवा हुन गयो ः–
उहाँले भावनामै आए जस्तो स्तरमा उठेर भन्नुभयो– देशभक्तिबारे कम सोचिन्छ, कम विश्लेषण गरिन्छ, कम लेखिन्छ, वास्तवमा देशभक्ति बिनाको जीवन त न व्यक्तिको, न समाजको, न राष्ट्रको हुन्छ । देशभक्ति बिनाको जीवन खस्रो जीवन हो, मसिनो होइन । देशभक्ति नै नभएपछि समाजमा कमजोरी र नैराश्य बढ्न थाल्छ । माया, प्रेम, सद्भावजस्ता मानवीय गुण पक्ष ह्रास हुन्छ । अनि हत्या, अपराध, अनैतिकता बढ्छ, राष्ट्रपक्षीय स्वाभिमान र स्वभाव घट्छ । यसो भएर देशभक्तिबारे मनन, चिन्तन, लेखनलाई अगाडि बढाइरहौं ।
यस लेखकले उहाँप्रति भएको आदरभाव अरू बढेको अनुभूति गर्यो र भन्यो– “धन्यवाद, त्यसै गरौं ।” यसपछि उहाँका लेख–रचनाहरू पढ्ने क्रमका साथै दुइबीचको भेटघाट र आत्मीयता अरू बढेर गयो – सायद उहाँ र यो देशकै एउटा टुक्राका रूपमा देशकै प्रतीक हुनाले आपसी सम्बन्ध देशभक्तिकै भावना र व्यवहारका प्रतीकका रूपमा – स्वभावका रूपमा देशभक्ति नै थियो ।
आज पनि यो लेखक उहाँको सोंच, विचार, व्यवहार र भावना तथा लेखनमा आफ्नी मातृभूमि नेपाल– देश अभिव्यक्त भइरहेको देख्छ र यो देखाइमा उहाँको उपस्थिति पाउँछ, आफूलाई पुनर्ताजगी बनाउँदै मूल्याङ्कन गर्छ– उहाँ आफ्नो जन्मभूमि नेपाल आमाको सशक्त र विशिष्ठ देशभक्त सपूत बहुमुखी प्रतिभाका प्रतीक हुनुहुन्छ ।
समाजसेवी दैवज्ञराज
काठमाडौं नयाँ बानेश्वर – १०, हाल ३४ का युवाहरूले देउराली क्लब सञ्चालन गरेका थिए । अध्यक्ष, महासचिव लगायत धेरै युवाहरू संलग्न थिए । महासचिव वसन्त श्रेष्ठले कार्यक्रमहरू गर्दा यस लेखकलाई पनि निम्ता गर्थे । यो पनि त्यस निम्तालाई महत्त्व दिएर सहकारी प्रशिक्षण केन्द्र अगाडि रहेको क्लबको घरमा पुग्थ्यो । उहाँसँग भेट, भलाकुसली, लेखन तथा समाज सेवाका विषयमा सुन्ने, जान्ने र छलफल गर्ने मौका पाउँथ्यो । कार्यक्रमको सञ्चालन सन्दर्भमा उहाँमा समाजसेवाका दुवै पक्ष –
१) भौतिक विकास – वार्ड नं. १० (हाल १०, ३४ र ३५) भित्र व्यवस्थित सहरीकरण, बाटो, ढल, सार्वजनिक
भवन, मन्दिर आदिको निर्माण, संरक्षण, सम्भार ।
२) जनसमाज शिक्षादीक्षा, मानसिक उन्नति/प्रगति, भाषा–साहित्य, कला, सामाजिक, ऐतिहासिक सम्पदा
आदि क्षेत्रमा संरक्षण, उन्नति र प्रगति ।
यी सबै पक्षमा “कसरी स्याहार सम्भार गर्नुपर्छ, उन्नति र विकासका कार्यक्रम कसरी अगाडि बढाउनु/बढ्नुपर्छ ?” भन्ने पक्षहरू उहाँलाई योजनाबद्ध शैलीमा जानकारी थियो । उहाँले आफ्ना विचार र कार्यक्रमहरू जनसमाजलाई समेट्ने, मानसिक रूपमा उचालेर हिँडाइ अगाडि बढाउने आदितर्फ प्रभावकारी स्तरमा प्रस्तुत गर्नुहुन्थ्यो । यसै भएर देउराली क्लबका पदाधिकारी तथा जनसमाजले उहाँको व्यक्तित्वलाई आदरभावले हेर्थ्यो र सम्मानपूर्वक हरेक कार्यक्रममा सम्मिलित गराएर अगाडि बढ्थ्यो । उहाँ यस्तो जनसमाजको आदर र व्यवहारलाई सहर्ष स्वीकार गर्दै समाजसेवामा जुटिरहनुहुन्थ्यो र स्तरीय योगदान पुर्याउनुभएको थियो ।
सुसंस्कृत सभ्य व्यक्तित्व – दैवज्ञराज
दैवज्ञराज न्यौपाने शारीरिक रूपमा आकर्षक, गोरो र सुन्दर व्यक्तित्व हुनुहुन्थ्यो । व्यक्ति–व्यक्ति, समूह–समूह, जात–जाति, क्षेत्र–वर्ग, सानो–ठुलो रूप रङ्गको सबैमा भिजेको, तुरुन्त भिज्ने सहज, सरल र सभ्य व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा उचनीच भेदभाव थिएन । कसैप्रति घृणा, द्वेष र प्रतिद्वन्द्विता पनि थिएन । उहाँबाट उचित सल्लाह र सहयोग, दिग्दर्शन सबैलाई उपलब्ध थियो । यस अर्थमा दैवज्ञ नामको अर्थ लाग्ने जस्तै गरी उहाँ सामाजिक, मानवीय व्यवहार, समाजप्रति सम्मान, प्रेम, सद्भावना, शुभकामना आदि पक्ष र यीबाट प्राणीमात्रमा सद्व्यवहारमा प्रयोग गर्ने कर्तव्य तथा परिणामका विषयमा उहाँलाई पूर्ण जानकारी थियो र साँच्चिकै दैवज्ञ हुनुहुन्थ्यो ।
यी सबै गुण र व्यवहार सुसंस्कृत न्यौपाने वंश परम्परा र पृष्ठभूमि प्रेरणाका रूपमा जन्मजात गुणका स्तरमा आएका हुन् र उहाँको गहन मेहनत, अध्ययन, मनन, चिन्तन, लेखन, बोलनबाट विकसित हुँदै सशक्त सुसंस्कृत र सभ्य गुणवान् व्यक्तित्वको रूपमा दैवज्ञराज न्यौपानेको विकास भएको पाइन्छ । उल्लिखित गुणहरूका पुञ्जका रूपमा दैवज्ञराज न्यौपाने आध्यात्मिक तथा भौतिक मानवीय जीवन जगत्मा परम आदरणीय हुनुभएको थियो र साँच्चिकै दैवज्ञ नै हुनुहुन्थ्यो ।
मूल्याङ्कन
यिनबाट स्पष्ट हुन्छ – दैवज्ञराज न्यौपाने सही देशभक्त हुनुहुन्थ्यो – देश बोल्ने र लेख्ने सही सर्जक हुनुहुन्थ्यो । समाजसेवाको सही जानकारी राख्ने जनसेवी व्यक्तित्व हुनुहुन्थ्यो । सबैका लागि आँखामा हालेर पनि नबिझाउने प्रियवर सुसंस्कृत, सभ्य र सबैको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका लेख, रचना, बहस, देशभक्तिका लागि, भाषा साहित्य, जनसमाज सेवाका लागि थिए ।
दैवज्ञराज न्यौपाने उच्चस्तरीय व्यक्तित्व तथा गुण भएका बहुमुखी प्रतिभाका प्रतीक हुनुहुन्थ्यो । नेपाल मातृभूमि, नेपाली जनसमाजलाई सेवा गुन लगाएको हुनाले उहाँ नेपाल र नेपाली जनसमाजका आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो/ हुनुहुन्छ । यिनै गुणरूपी यशमा उहाँ अहिले/भोलि र भोलिका अनन्त भोलिसम्म नेपाल र नेपालीका साथमा सँगै उपस्थित हुनुहुन्छ । अमरताका साथ नेपाली जीवनलाई देशभक्तिका लागि भाषा–साहित्य, जनसमाज, नेपालीको सुसंस्कृति, सभ्यता जस्ता जातीय चिनारीको सेवामा अग्रसर भइरहन/अगाडि बढिरहन प्रेरित र दिग्दर्शन गरिरहनुहुन्छ/गरिरहनुहुनेछ ।