कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

गुरुलाई श्रद्धाञ्जलि

हरिप्रसाद भण्डारी

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो

आज दैवज्ञराज न्यौपानेज्यूको भौतिक शरीर हामीबीच छैन । हाम्रा सहस्र बिन्तीलाई वास्ता नगरी उहाँलाई हामीबाट छुटाउने नियति भोगेर हामी उहाँका सम्झनामा बाँचेका छौँ । यही सम्झनाको धरातलबाट गुरु दैवज्ञलाई शब्द श्रद्धा ।

आजभन्दा ३५ वर्षअघि सम्वत् २०३४/३५ को शैक्षिक सत्रमा प्रवीणता प्रमाणपत्र तहको अध्ययनका लागि म पाटन संयुक्त क्याम्पस, पाटन ढोकाको मानविकी सङ्कायमा भर्ना भएको थिएँ । यो मेरा लागि गुरु दैवज्ञराज न्यौपानेसित नाता गाँस्ने सुनौलो अवसर रहेछ । उक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख दैवज्ञराज न्यौपाने बिहानी सत्रको शैक्षिक प्रशासन हेर्ने गर्नुहुँदोरहेछ । यसका अतिरिक्त नेपाली विभागीय प्रमुखको जिम्मेवारी समेत उहाँले निर्वाह गर्नुभएको थियो । त्यही ताका ऐच्छिक नेपालीका कक्षामा मेरो उहाँसित पहिलो भेट भएको थियो । उक्त क्याम्पस अध्ययनका क्रममा श्री केदार न्यौपाने, टङ्कमणि नेपाल, पीताम्बर अधिकारी, राममणि रिसाल तथा रामप्रसाद दाहालजस्ता गुरुहरूसित मेरो सान्निध्य रह्यो । उहाँहरू आज पनि मेरा आदरणीय एवं प्रेरणापुञ्ज हुनुहुन्छ ।

कवि दैवज्ञराज न्यौपाने हाम्रा कक्षामा अध्यापनार्थ आउनुहुन्थ्यो । अग्लो शरीर, बाटुलो गोरो अनुहार विशेष कोमल, मिष्ठ र मृदुभाषी न्यौपाने उज्यालो, तेजिलो र फरासिलो देखिनुहुन्थ्यो । दुई वर्षे प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि पनि स्नातक तहको अध्ययनका लागि सोही क्याम्पस भर्ना भएँ । यस क्रममा गुरु दैवज्ञराज न्यौपानेको थप सान्निध्य पाएँ ! पाइरहेँ ।

वि.सं.२०३३ सालदेखि हालसम्म श्री रत्न राज्य माध्यमिक विद्यालयमा दिवासत्रमा म कार्यरत छु । समयको परिवर्तनसँगै सम्वत् २०३६ सालमा राजनीतिक परिवर्तनको लहर आयो । सम्वत् २०३७ सालदेखि निजी क्षेत्रमा समेत कलेजहरू स्थापना गर्ने प्रावधान बन्यो । सोही अनुसार पशुपति क्याम्पस, कन्या क्याम्पस लगायतका कलेजहरू त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर खुल्न थाले । एकप्रकार क्याम्पस खोल्ने होडबाजी नै चल्न थाल्यो । सम्वत् २०४२ सालतिर बानेश्वर र आसपासका बुद्धिजीवी एवं विश्वविद्यालयका प्राध्यापकहरूको सक्रियतामा बानेश्वरको श्री रत्नराज्य माध्यमिक विद्यालयको भवन लगायतका भौतिक सुविधा प्रयोग गरी बानेश्वर क्याम्पस स्थापना गर्ने निर्णय भयो । यसको नेतृत्व दैवज्ञराज न्यौपानेले लिनुभएको थियो । सम्वत् २०४७ सालमा पटकपटक बसेको बैठकले तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा उहाँका हातबाट गोपी रूपाखेती नाम गरेका विद्यार्थी भर्ना गरी विधिवत् बानेश्वर क्याम्पस स्थापना भयो । स्थापना कालदेखि नै श्री केदार न्यौपाने क्याम्पस प्रमुख हुनुहुन्थ्यो । श्री दैवज्ञराज न्यौपाने विभागीय प्रमुख हुनुहुन्थ्यो । म पनि प्रारम्भदेखि नै क्याम्पसको प्रशासनिक क्षेत्रमा कार्यरत छु ।

दैवज्ञ गुरुको साहसी, निडर एवं स्वावलम्बी व्यक्तित्वबाट म अत्यन्त प्रभावित भएको छु । पञ्चकुमारी सामाजिक गुठी, बानेश्वरको सामाजिक कार्यमा उहाँको सक्रियता एवं क्रियाशीलताका कारण बानेश्वरवासीका बीच प्रिय कविका रूपमा चिरपरिचित रहनु भएको कुरा स्मरणीय छ । कविवर न्यौपाने बालसाहित्यकारका रूपमा समेत स्थापित हुनुहुन्छ । साना–साना बालबालिकाका प्रिय कवि न्यौपानेका गीति रचना, छन्दोबद्ध पुफटकर कविता एवं काव्यका नमुना नेपाली साहित्यका अमर निधि हुन् । आधुनिक नेपाली कविता साहित्यको समसामयिक धाराका सशक्त कवि न्यौपानेका साहित्यिक अभिव्यक्ति पाठकका लागि अत्यन्त ग्राह्य छन् । उहाँले कविता–काव्यका माध्यमबाट नयाँ बान्की दिएको पाइन्छ । प्राध्यापक न्यौपानेको कलमले कविता, काव्यबाहेक जीवनीलेखन, कथालेखन, निबन्धलेखनका अतिरिक्त भूमिका लेखन तथा समालोचनात्मक लेखनमा समेत ख्याति पाएको देखिन्छ ।

जीवनको लामो समय प्राध्यापन पेसामा संलग्न न्यौपाने साहित्यिक–सामाजिक कार्यको उन्नयनमा क्रियाशील हुनुहुन्थ्यो । विभिन्न साहित्यिक, सामाजिक संघसंस्थामा आबद्ध न्यौपाने समाजसेवा, साहित्य साधना तथा धार्मिक आस्थाका त्रिवेणी हुनुहुन्थ्यो । विश्वविद्यालयमा प्राध्यापन गर्दा गर्दै, साहित्य सिर्जनामा सक्रिय रहँदा रहँदै उहाँ गम्भीर पक्षाघातको सिकार हुन पुग्नुभयो । शरीर रोगले थलियो तर भावना थला परेन । बिरामी अवस्थामा पनि उहाँका रचनाहरू प्रकाशित भइरहे । यो महत्त्वपूर्ण उपलब्धि हो । नेपाली साहित्यका लेखनका लागि हात नचल्दा, बोल्नका लागि मुख नचल्दा, हिँड्नका लागि गोडा नचल्दा पनि उहाँमा सिर्जनशीलता जीवन्त रहनु हाम्रो सौभाग्य पनि हो । म यहाँ उहाँको एउटा पुरानो कविताको अंश स्मरण गर्न चाहन्छु ः–

तिमी बुद्ध बन्छौ तिमी राम बन्छौ
तिमी कृष्ण गान्धी कुनै नाम बन्छौ
कि लक्ष्मी हुनेछौ कि लिङ्कन हुनेछौ
जसै काम राम्रा तिमी क्यै लिनेछौ ।
(नानीहरूसित, तोतेबोली, २०३८)

यी कविता अंश बालबालिकाका लागि प्रेरणाप्रद छन् । वास्तवमा आजका बालक भोलिका सम्बाहक हुन् । उहाँका कवितामा राष्ट्रिय भावना पनि छताछुल्ल भएको छ । राष्ट्रवादी स्वर बोकेको एउटा कविता अंश हेरौँ ः–

मलाई स्वर्ग चाहिन्न बने नेपाल पुग्दछ
बिग्रिए घरका मान्छे मलाई दुःख लाग्दछ
त्यसैले भिन्नता छैन सबैमा मेल होस् सदा
अर्को जन्म भए पेफरि पाउँफ नेपाल सर्वदा ।

यस्ता राष्ट्रियता एवं सामाजिक सद्भावका अभियन्ता प्राध्यापक, साहित्यकार दैवज्ञराज न्यौपाने वन्दनीय हुनुहुन्छ । उहाँ मेरा अभिभावक हुनुहुन्थ्यो । आदरणीय अग्रज हुनुहुन्थ्यो, गौरवपूर्ण आदर्श हुनुहुन्थ्यो । उहाँसँगका अनेकौँ अनुभूति मेरा मन मस्तिष्कमा ताजा रहेका छन् र रहिरहने छन् । यस्ता आदरणीय गुरूप्रति लाखलाख वन्दना । लामो समयसम्म घरमा रोगले थला पर्नु भएका न्यौपानेज्यूको निजामती अस्पताल, मीनभवनमा दुःखद देहावसान भयो । उहाँको सम्झना हाम्रो मनमा रहिरहनेछ । गुरुलाई यिनै श्रद्धाका पुष्पाञ्जलि, शब्द श्रद्धाञ्जलि !

बानेश्वर क्याम्पस