कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कविवर दैवज्ञराज न्यौपाने : एक संस्मरण

डा. हरिभक्त नेउपाने

कविवर दैवज्ञराज न्यौपानेसँग मेरो पहिलो भेट वि.सं.२०२४ सालमा धरान, सुनसरी, कोशी अञ्चलमा भएको हो । रूप, आकृति र कविताको मीठो बोलीले दैवज्ञप्रति साहित्यिक बन्धु आकर्षित हुन्थे । न्यौपाने बन्धु समाजसँग उनको निकै गहिरो सम्पर्क थियो । नाम संस्मरण हुँदा दैवज्ञ त ज्योतिषशास्त्रविद् पो रहेछन् भन्ने मलाई झझल्को भइ नै रहन्थ्यो । नेपाली साहित्यमा एम.ए.उत्तीर्ण भई शैक्षिक योग्यता प्राप्त गरेकाले दैवज्ञजीले प्राध्यापन पेसा नै अपनाउनुभएको थियो । कौण्डिन्य गोत्रबन्धु र न्यौपाने वंशबन्धु हुनाले मेरो उनीसँग निकटतम नाता जोडिनु स्वाभाविक नै थियो । महेन्द्र क्याम्पस धरानमा प्राध्यापन पेशामा संलग्न रहँदा पिण्डेश्वर संस्कृत महाविद्यालयमा आयोजित गोष्ठीमा कविता कामिनीका कमनीय कान्त दैवज्ञराजसँग साहित्यिक नाता पनि गाँसिएकाले म निकै प्रभावित भएँ । उनको कथन अनुसार– साहित्य शाश्वत सत्यका लागि लेखिनुपर्छ । साहित्यकारले समाज, राष्ट्र र विश्वलाई केही योगदान दिन सकेछ भने त्यसको मूल्याङ्कन समाजसेवी प्राज्ञहरूबाट कालान्तरमा अवश्य हुनेछ भन्ने सद्भाव दैवज्ञको रहेको तथ्य प्रकाशमा आएको भेटिन्छ । केवल आत्मप्रशंसा गर्ने प्रवृत्तिलाई उनी पटक्क रुचाउँदैनथे । उनले त्रिभुवन विश्वविद्यालयमा निरन्तर प्राध्यापन गर्ने क्रममा प्राध्यापक भई आफ्नो वर्चस्व कायम गर्दै आएका हुन् ।

उनको मौलिक कृति “सिर्जनाको लहर” ले स्रष्टा व्यक्तित्वलाई प्रथम सोपानमा चढायो भने दोस्रो “जोर मुरली” कविता सङ्ग्रहले भावनाको भण्डारलाई प्रस्पुफटन गरायो । अर्को “तोतेबोली” शीर्षक कृतिले बालबालिकाको शिशु संसारलाई मुग्ध गराएको अनुभव हुन्छ । साहित्य दर्पणलाई झल्काउँदै दैवज्ञजीले गीत, समालोचना, कविता, निबन्ध आदि विभिन्न साहित्य विधामा सामयिक योगदान दिएकाले उनी रसिक मर्मज्ञ कविका रूपमा चर्चित छन् । पुरस्कृत व्यक्तित्वको रूपमा दैवज्ञराज न्यौपानले वि.सं. २०४२ मा पहिलो राष्ट्रिय युवावर्ष मोती पुरस्कार पाएका थिए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा तीनपटक पुरस्कृत भएको संस्मरण उल्लेखनीय छ । मूल्याङ्कनकै क्रममा पाँचओटा सुवर्णपदक पनि दैवज्ञजीले प्राप्त गरेका हुन् । उनले पाटन संयुक्त क्याम्पस, ललितपुरमा क्याम्पस प्रमुख भएर प्रशासनको सम्पूर्ण कार्यभार लिई आफ्नो कार्यकालको अवधिसम्म परिचालन गरेको पनि जानकारी पाइन्छ ।

दैवज्ञजीको सिर्जनाशक्ति जीवन्त थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको पापिनी आमा कवितामा सिर्जनाशक्तिलाई ढुङ्गामा प्रस्पुफटन गराएको भेटिएजस्तै दैवज्ञ न्यौपानेले पनि नेपाली ढुङ्गा र नेपाली माटोलाई नेपाली भूमिमा नेपालीलाई चिनाएका छन् ।

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल

सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल

भनेर जसरी माधवप्रसाद घिमिरेले सिर्जना शक्तिलाई अमर र सक्षम शक्ति भनेका छन् । कुनै अङ्ग्रेज कविले पनि त्यसरी नै कवित्व सिर्जनाशक्तिलाई अमर बनाएका छन् ः–

Things will destroy, we will die,

But concept of poetic felling will never die.

सारांशमा सारा सांसारिक वस्तुहरू नष्ट हुँदै जान्छन्, हामी समस्त प्राणीहरूले पनि पार्थिव चोला परित्याग गर्दै जानुपर्छ, तर कविहरूको प्राज्ञिक प्रतिभाबाट प्रस्पुफटन भएको दिव्य अनुभव कहिले नष्ट भएर बिलाउँदैन, अमर भएरै रहन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र कविवर दैवज्ञ न्यौपाने साहित्यिक क्षेत्रमा विशिष्ट व्यक्तित्व हुन्, उनीहरूको जीवनीप्रति पाठकहरूले विशेष चाख राखेको पाइन्छ । कविवर घिमिरेले सिर्जनाशक्तिलाई चिनाएर जसरी साहित्यिक बन्धुहरूलाई सक्षम कवि बनाए, ढुङ्गाका कापमा पनि पीपल उमारिदिए, त्यस्तै दैवज्ञजीले पनि नेपाली ढुङ्गा, नेपाली माटो र नेपाली भूमिलाई आफ्नी जननीका रूपमा चिनाएर “सत्यम् शिवम्, सुन्दरम्” को दिव्य पगरी गुताइदिएका छन् । यी सबै योगदानको कदर गरी साहित्यबन्धु तथा प्राज्ञिक व्यक्तिहरूले हार्दिक अभिनन्दन गरी दैवज्ञ न्यौपानेलाई सम्मानपूर्वक श्रद्धासुमनको माल्यार्पण गरे । यो एउटा ऐतिहासिक साहित्यको मार्मिक अभिनन्दनको दिव्य अमर सोपान भएको अनुभव हुन्छ ।

दुःखको कुरा पौष २ गते २०६८ मा कविवर दैवज्ञ न्यौपानेको देहावसान हुँदा म उपस्थित हुन सकिन, कारण हामी दम्पती त्यतिखेर औषधोपचारका निम्ति दक्षिण भारत आन्ध्रप्रदेश पुट्टपर्तीतर्पफ पुगेका थियौं । दुःख परेका बेला बन्धुबान्धवसँग एकत्रित भई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नपाउँदा मेरो अन्तरात्मामा विकराल कालले चोटिलो मार्मिक वाणको प्रहार गरी मलाई पनि थर्काइरहेको छ । हाल वंशबन्धु दैवज्ञ न्यौपानेको स्मृतिमा विभिन्न सहृदयी साहित्यिक बन्धुहरूको संयुक्त प्रयासबाट संस्मरण ग्रन्थ प्रकाशन गर्न लागेको सुन्दा मैले आफ्नो मन थाम्न सकिन, अविरल अश्रुधारा बगिरहेका छन् । शोकसन्तप्त समस्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै साहित्य तथा गोत्रवंशको मुक्तात्माले अनन्त शान्ति पाओस् भन्ने आत्मीय भावमञ्जरीका साथ आन्तरिक हृदयबाट श्रद्धाकुसुम अर्पण गर्दछु ।

अन्त्यमा न्यौपाने बन्धु दैवज्ञले रचना गरेको स्मरणीय र मननीय निम्नलिखित कविताले उनको राष्ट्रियता र नेपाल जन्मभूमिप्रतिको माया सदैव सबैका हृदयमा पग्लेर प्रेमाश्रु धाराका रूपमा बगि नै रहेका छन्, सदैव बगि नै रहून् ः–

नेपाली माटो मुछेर नेपाली ढुङ्गा कुँदेर
बनाउँछौ हामी नेपाली नेपाल साँच्चै सुन्दर
– दैवज्ञराज न्यौपाने

मर्नुभन्दा बाँच्नु निको– बाँच्ने दैवज्ञको जय

सदा जीवनसङ्घर्षी कवि दैवज्ञको जय

प्रा.डा. वासुदेव त्रिपाठी