कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

स्नेहमूर्तिको सम्झनामा

हरिवंश शर्मा न्यौपाने

आजभन्दा लगभग सत्तरी वर्षपूर्व भोजपुर जिल्ला अन्तरगत गोगने नाउँको धराधाममा हामी दाजुभाइ छ महिनाको अन्तरालमा आ–आफ्नै मातापिताका सन्ततिका रूपमा प्रादुर्भाव भएका थियौं । ग्रामीण परिवेशमा आ–आप्फना मातापिताको न्यानो काखमा हुर्कँद,ै बढ्द,ै जातकर्म, अन्नप्राशन, क्षौरकर्म आदि विधि–विधान पार गर्दै ब्रतबन्ध कर्मको लागि योग्य वयमा पुगेछौं । फलस्वरूप २००८ साल फागुन महिनाको २३ गतेका दिन दैवज्ञ दाइको घर धाइपामा सप्ताह पुराण समापनको शुभदिनमा दाजुहरू दैवज्ञ र दुर्गा, भाइ देवमणि र मेरो समेत ब्रतबन्ध भएको थियो । सम्भवतः धार्मिक नियम–विनियममा बांधिने विधि–विधानलाई नै ब्रतबन्ध भनिएको हुनुपर्दछ । ब्रतबन्ध भएको वर्षमा हामी सवै नौदेखि एघार वर्ष समूहका थियौं । ब्रतबन्धमा हामीले आ–आप्फना पिता र गायत्री गुरुहरूबाट गायत्री मन्त्र श्रवण गरेका थियौं ।

त्यसपछिका केही वर्षसम्म हामी दाजु–भाइ लगायत सबै समवयस्कहरूले गोगनेको संस्कृत पाठशालामा आ–आप्फनो तह अनुसार अमरकोष, गणित र लघुकौमुदी आदिको प्रारम्भिक अध्ययन गरेका थियौं । समयको गतिशीलतासँगै कालान्तरमा आ–आप्फनो अध्ययन क्षमता, बौद्धिकता, सामर्थ्य, घरायसी परिस्थिति एवं आर्थिक क्षमता अनुसार म घरै बसँे भने दाइ दिङ्लाको षडानन्द संस्कृत पाठशालामा अध्ययन गर्न जानु भयो । जति दिन गाउँघरमा बसियो, चाहे खेतमा पानी लाउन जाँदा होस् वा पढ्न पाठशाला जाँदा होस् मेरा अग्रज दैवज्ञज्यूको मन्द मुस्कानयुक्त स्नेह मलाई प्राप्त भइ नै रहन्थ्यो ।

यसरी दाइ दिङ्ला र अन्य समवयस्की सहपाठीहरू पनि यत्र–तत्र गई सकेपछि मलाई पनि घरबाट अन्यत्र गई पढ्न मन लाग्थ्यो । तर परिस्थितिले साथ दिइरहेको थिएन । तसर्थ जीवनको विकल्प मरण भए जस्तै पढ्नका लागि घरबाट भाग्नु नै मेरो विकल्प थियो । मनमा अनेक तर्क–वितर्कहरू खेलिरहन्थे । यस्तैमा श्रावण महिनाको वर्षादमा म बारी खन्दै थिएँ, आमा कोदो रोप्दै हुनुहुन्थ्यो । मलाई अज्ञात गन्तव्यतिर भागी हिँड्ने विचार आयो र पानी खाने निहँुले बारीबाट घर आई एक दुईवटा किताब साथमा लिई कुलेलम ठोकँे । तर जाने गन्तव्य र खाने अन्नको टुो नभएकाले मानसिक अन्तरद्वन्द्वका बिच दिङ्लामा पढदै गर्नुभएका दाइको पाठशालामा जाने निर्णय गरँे र भागेका दिन भोजपुर बजारको भोटेपसलमा पुगी बास बसँे । भोलिपल्ट सदरमुकामको उत्तरपूर्वको बाटो हिँड्दै लेकाली गाईगोठबासीसँग उसिनेको आलु मागी खाँदै दाइ बस्नुभएको दिङ्ला छात्राबासमा पुगेपछि शम्भु दाइ र दैवज्ञ दाइले आश्चर्य मान्दै बडो स्नेहपूर्वक खानपान गराई राख्नुभयो । दुई दिन बसेपछि यहाँको परिस्थिति अहिले त्यति अनुकूल छैन, पछि म बोलाउँला अहिले जाऊ, बरु मलाई पनि दावाँसम्म जानु छ, त्यहाँसम्म सँगै जाऔं, बाटोमा डर पनि हुँदैन भनी मलाई साथमा लिई दावाँ र भोजपुर सदरमुकाम जाने दोबाटोसम्म ल्याइदिनुभयो र म सदरमुकाम हुँदै घर लागेँ र दाइ दावाँतिर लाग्नु भएको मेरो स्मृतिपटलमा अद्यावधिक छ ।

त्यसपछि केही वर्षसम्म म मेरो मावली भोटेछापमा बसी मामाहरूसँग अध्ययन गर्न थालँे र वि.सं. २०१६ साल फागुन महिनामा ठुलो मामा पुरुषोत्तम भट्टराईज्यूको अनुकम्पाले म अध्ययनका लागि बनारस पुगी त्यहाँ अध्ययन गर्न थालेँ । त्यसपछिको समयमा दाइ काठमाडौं वा अन्यत्र कहाँ पढ्नु भयो जानकारी नभइरहेको अवस्थामा दाइ अपर्झट स्थानेश्वर खतिवडाका साथ बनारस पुग्नु भएको थियो र सो समयमा बनारसको बुलानालामा दाजुभाइको युगल फोटो खिचाएका थियौं, दुर्भाग्यवश चिरस्मरणीय त्यो युगल फोटो कतै हराएकाले अहिले मसँग छैन । बनारस गएका बखत पनि छात्रजीवनका सुखदःुखका कुराहरू बडो स्नेहपूर्वक सुन्नुभयो र सहानुभूति राख्दै सम्भवतः काठमाडौं फर्कनु भयो । तत्कालीन पञ्चायत शासनविरुद्ध बोलेको भनी केही दिन भोजपुर कारागारमा बस्नु भएको कुरा मैले बनारसमै सुनेको थिएँ । तर पछिको भेटमा प्रसङ्ग नचलेकाले सोबारे विस्तृत रूपमा हाल उल्लेख गर्न सकिएन ।

म वि.सं.२०२५ साल वैशाखमा घर आएँ । सोही वर्षको भाद्र महिनादेखि दिल्पास्थित अन्नपूर्ण हाइस्कुलमा अध्यापन गराउन थालँे । यो क्रम २०२८ साल जेठसम्म जारी रह्यो । दाइ भने काठमाडौंमै अध्ययन, अध्यापनका साथै साहित्य सृजनामा क्रियाशील हुनुहुन्थ्यो । मैले अध्यापनकै बिच लोकसेवाबाट लिएको ना.सु. पदको लिखित तथा अन्तर्वार्ता समेत उत्तीर्ण गरेकाले सरकारी सेवामा नियुक्तिको लागि सिफारिस लिन काठमाडौं जानु पर्ने भयो र दिल्पाकै एकराज राई र म २०२८ आषाढ १ गते काठमाडौंका लागि प्रस्थान गर्‍यौँ र जोगवनीबाट रेल चढी भारतको बाटो हुँदै रक्सौलबाट वीरगञ्ज पुग्यौँ । असार ७ गते दिवा बस चढी बेलुका काठमाडौं पुगी सो रात एकराजजीकै साथीको डेरामा बास बसियो । भोलिपल्ट अपरिचित कान्तिपुर नगरीमा सोध्दै खोज्दै प्रदर्शनी मार्गको आसपासमा पर्ने दाइको डेरामा पुग्दा आप्फनै घरमा आइपुगेको जस्तो आनन्ददायक अनुभूति भयो ।

डेरामा भाइहरू केदार, महेश्वर र भतिज कविराज न्यौपाने समेत बस्दा रहेछन् । मैले बुझेसम्म दुई जना भाइ पढाउने दायित्व पनि दाइकै थियो र त्यसबेला दाइ भक्तपुर क्याम्पसमा अध्यापन गराउनु हुन्थ्यो र सोबाट प्राप्त हुने आर्थिक स्रोतबाट सम्पूर्ण आवश्यकताहरूको परिपूर्ति र नवागन्तुकहरूको समेत उचित संरक्षण हुने गरेको मलाई अनुभूति हुँदाहुँदै पनि लोकसेवाले ना.सु. पदमा नियुक्तिको लागि सिफारिस नगरेसम्म दाइकै आश्रयमा बस्नु मेरो बाध्यता थियो किनभने म प्रथम पटक काठमाडौं गएकाले त्यो विशाल सहरमा अरू कसैलाई मैले चिनेको थिइनँ । चिनेका वा निकटस्थ भए पनि आश्रय लिन मेरो अन्तरात्माले अनुमति दिएन । तसर्थ दाइको आश्रयमा म करिब दुई महिनासम्म काठमाडौं बसँे र लोकसेवाले एकाउन्टेन्ट ना.सु. पदमा सिफारिस गरेपछि २०२८ साल श्रावण २४ गते दाइको स्नेह साथमै लिई वीरगञ्जतिर लागँे र २०२८ श्रावण २६ गते वसन्तपुर वन कार्यालय, पर्साको एकाउन्टेन्ट ना.सु. पदमा काम गर्न थालेँ ।

उल्लिखित गन्थन मैले किन गरेको भने म करिव दुई महिनासम्म काठमाडौं बस्दा दाइको खान्थँे र भाइहरूसँग शयन गर्दथँे । यसबाट दाइको ममाथि अति नै स्नेह वर्षा भइरहेको अनुभूति हुन्थ्यो । बसाइको क्रममा मलाई दाइले भक्तपुरको ऐतिहासिक दरवार, बनेपा, धुलिखेल, बालाजुको बाइसधाराका साथै पाटनको दरवार तथा कृष्ण मन्दिरको समेत अवलोकन गराउनु भएको थियो । एकदिन मलाई भन्नुभयो तँ नाथे सुब्बा हुने भन्छस् न एउटा कोट छ न एकजोर दौरा सुरुवाल र टोपी, हिँड् जाऊँ भनी नयाँ सडकमा गई कोट र दौरा सुरुवालको कपडा खरिद गरी असनको कुनै सुचिकारकोमा लगी कोट र दौरा सुरुवाल सिलाइदिनु भई प्रकट गर्नु भएको स्नेह म कदापि बिर्सन सक्तिन ।

मैले यौटा साधारण कर्मचारीको नाताले ३५ वर्षसम्म सरकारी सेवामा जीवनको केही अंश व्यतीत गरेँ भने दाइले आजीवन अध्यापनका साथै साहित्य सृजनाका अविरल धाराहरू प्रवाहित गरिरहनु भयो । म यदाकदा काठमाडौं गएका बखत अन्यत्र बास बसेको थाहा पाउनु भयो भने म यहाँ जीवित छँदाछँदै तँ अन्यत्र बास बस्ने भन्दै स्नेहयुक्त क्रोध व्यक्त गर्नुहुन्थ्यो । यसरी नै दाइकी अर्धानिी रीता भाउजू पनि सुब्बाजस्तो मानिस हाम्रो डेरा वा घरमा किन आउनु हुन्थ्यो त भनी स्नेहयुक्त व्यङ्ग्यवाणी प्रक्षेपण गर्नुहुन्थ्यो । आमासरिकी स्नेही रीता भाउजूको अल्पायुमै २०४८ साल फागुनमा निधन भएकाले वहाँको आत्मालाई मेरा स्मृतिका श्रद्धासुमनहरू अनन्तकालसम्म अर्पण भइरहून् ।

२०४६ सालतिर हुनुपर्दछ, दाइ झापा आउनु भएको बखत केटा मैले त सुधा कोइरालासँग विवाह पो गरँे तँ के भन्छस् भनी मलाई सोध्नुभयो । मैले विवाहपूर्व सोध्नु भएको भए पो केही भन्थँे होला, अब केही भन्नुको कुनै अर्थ नै छैन भनी जवाफ दिएको थिएँ । पछि दाइले विवाहको औचित्य पुष्टि गर्नुभएको थियो । उक्त अवसरमा कुमार अवस्था, युवावस्था, विद्यार्थी अवस्था र अन्य धेरै भोगेका विषयमा अन्तर कुराकानी भएका थिए जसलाई म चिरस्मरणीय ठान्दछु ।

देशको जुनसुकै भागमा बसोबास गरिहेको स्थानमा गएका बखत प्रत्येक बन्धुबान्धवका घरघरमा जानु र आदरणीयप्रति नतमस्तक हुनु र आफू मुनिकालाई स्नेहवर्षा गर्नु दाइको विशेषता थियो, हाम्रो जस्तो मान्यजनलाई गुडमर्निङ् भन्दै हिँड्ने वहाँको स्वभाव थिएन ।

दाइको घर काठमाडौं नयाँ बानेश्वरमा २०६० सालको नववर्षका दिन गई बसेको थिएँ जो अन्तिमै बन्न पुग्यो । सोही वर्षको माघ महिनामा झापा आएका बखत तेरोमा भोलि बिहान आउँदैछु मकैको भात र मोही बन्दोवस्त गरी राख्नू भन्ने स्नेहयुक्त पूर्वआदेश अनुरूप भोलिपल्ट मेरो घरमा दहीमोहीसँग प्रशन्नतापूर्वक भोजन गर्नुभयो र फेरि अनुकूल समयमा झापा आएका बखत तिमीहरूको घर आउँला भनी बिदा लिई जानु भएको दाइलाई फेरि झापा आउने साइत जुरेन । करिव सात आठ वर्षसम्म मधुमेह र उच्च रक्तचाप आदि बिमारीहरूसँग लड्दै भिड्दै २०६८ साल पौष २ गतेका दिन हाम्रा कुलभूषण, मेरा परम स्नेही अग्रज दैवज्ञराजज्यूले स्नेही बन्धुबान्धवहरू, परममित्रहरू, स्वकीय सन्तति, आप्फनी स्नेहमयी अर्धानिी सुधा भाउजूलाई समेत छोडी स्वर्गारोहण गर्नुभएकाले उहाँको महान् आत्मालाई चिरशान्ति मिलोस् भन्ने कामनाका साथ श्रद्धासुमन अर्पण गर्दछु ।

धाइपा धर्तिमा तिम्रो प्रादुर्भाव भएपछि

बग्दथे हर्षका आँसु निर्मला सरितासरि

बढ्दै पढ्दै गयौं दाइ स्नेह छदैं सबैतिर

तर पारी गयौं दाइ सबैलाई यहाँ पिर

सुखःदुःख सबै बुभ्फथ्यौं भ्रातृत्व स्नेहका धनी

त्यही ठाउँ तिमी पुग्थ्यौ जहाँ बन्धु पुगे पनि

तिम्रो मेरो रहोस् स्नेह जन्मजन्मान्तरै भरि

हाम्रो भेट हओस् फेरि दया राखून् सधँै हरि

भद्रपुर नपा–६, झापा

मिति २०६९/३/१६

आषाढ शुक्ल हरिबोधनी एकादशी