दैवज्ञ मेरा गुरु
गौरी शङ्कर सम्झिएर सहसा माटो मुसार्दै हिडेँ
आँखाभित्र सजाउँदै सुसपना यो राजधानी छिरेँ
पत्रैपत्र नियाल्दथेँ सहरका भन्थेँ दियालो बनूँ
देखायौ जुन मार्ग हिँड्छु अहिले दैवज्ञ मेरा गुरु
देखेकी पनि छैन जन्मधरणी तिम्रो त्यही गोगने
टेकेकी पनि छैन रम्य धरती मान्छे सबै लोभिने
तिम्रा काव्य–कला म हेर्दछु यहाँ एकान्तमा लेख्दछु
देखायौ रसिलो छ मार्ग मनको दैवज्ञ मेरा गुरु
बल्छन् दीप जता प्रभा चहकिलो आँखा उतै कुद्दथे
अग्ला माथ हिमालका चहकिला आजै चुमूँ भन्दथे
हेर्थँे पूर्व प्रभा सधँै चहकिलो मीठा त्यहीँ छन् तरु
पाएँ जे जति सिक्न सीप र कला दैवज्ञ मेरा गुरु
बाबाको ममतासितै रुमलिई पीडा थियो आँतमा
गीताजी बरु कोर्नुपर्छ कविता भन्थ्यौ सधँै भेटमा
श्रद्धा अक्षरबाट आज गरुँला भन्दै गरेथेँ सुरु
मेरो कीर्ति छ भित्र दृष्टि रसिलो दैवज्ञ मेरा गुरु
यो बानेश्वरमा थियौँ सँगसँगै शिक्षा सँगै बाँड्दथ्यौँ
औँसी होस् कि त पूर्णिमा सँगसँगै साहित्यमा रम्दथ्यौँ
न्यौपाने कुलमा पुग्यौ सगरमै पुग्ला र खै को अरू ?
जागोस् भाव कवित्वको पनि भन्यौ दैवज्ञ मेरा गुरु
आशीर्वाद सजाउने रहरले सिक्थेँ सिकाएँ कति
सानो वृक्ष कवित्वको छ कलिलो यौटा जरा हौ गति
हान्यो खै निठुरी बनेर कसले ? छैनौ तिमी छन् अरू
सम्झे दुख्दछ भित्र चित्त तनको दैवज्ञ मेरा गुरु
भन्थ्यौ आज प्रभा प्रभात धमिलो क्यै हुन्छ क्यै हुन्छ झँै
हेर्थ्यौ आँसु र लेख्दथ्यौ नि कविता आकाश गुन्जाउँदै
बाटो भुल्नु हुँदैन सत्यतिरको यात्रा गरेथ्यौ सुरु
भन्थ्यौ सक्रिय भै छिटै अब उठौँ दैवज्ञ मेरा गुरु
आगो दन्दन दन्किए पनि यहाँ पानी बनी बर्सनू
हावा धेर चल्यो कतै यदि भने अग्लो पहाडै हुनू
काँडा मात्र उठाउने जन भए बाटो बदल्नू बरु
यस्तो ज्ञान दिलाउँथ्यौ समयमै दैवज्ञ मेरा गुरु
रोप्यौ पूफल हजार कीर्तिपुरमा बास्ना चल्यो हर्हर
माटामा ममता मिलाउन सक्यौ भाँडा बने सुन्दर
जाली, रक्तपिपासु, दुष्ट मतिका आएर लानू बरु
माटो, मर्म सजाउने कवि थियौ दैवज्ञ मेरा गुरु
मेरो माथ पवित्र, देह रसिलो गोडा दुवै उर्वर
भन्थ्यौ देश पवित्र विश्वभरमै नेपाल मेरो घर
भन्थ्यौ काव्यसुधा छ थोर अहिले बाँडेर खाउँफ बरु
श्रद्धा–फूल म अर्पँदै छु अहिले दैवज्ञ मेरा गुरु
बानेश्वर, काठमाडौं
२०६९ असार