कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

श्रद्धा पुष्पाञ्जलि

ठाकुर शर्मा

विद्वान्को क्षमतामा नै भेटिन्छन् भाव–सागर

सबै सुखी हुने कर्म व्यक्तिन्छन् नै मनोहर

भावनामा बगी हिँड्ने साधना–पूर्ण चिन्तन

मेटिँदैन कुनै केही, यही नै हो सनातन

जो जहाँ भो त्यहीँ रम्छ, जहाँ आए गए पनि

ब्रह्माण्ड सबकै साझा यसमा मिल्छ जीवनी

जन्म–मृत्यु स्वभावै हो, गर्छ जो पूर्ण साधना

त्यहाँ अडिन्छ संसार जहाँ स्वच्छन्द भावना

चित्र कोरिन्छ आस्थाको, मुस्कान हुन्छ चित्तमा

कुनै बाधा कतै हुन्न मुक्तिको भाव साथमा

कतै बालकमा रम्ने, कतै पूर्ण विचारमा

कतै प्रेमी बनी रम्ने झर्नाको स्वच्छ धारमा

अन्तर्ध्वनि सबै एक सत्यताको सुसाइमा

वर्षाझैँ बर्सियो भाका दैवज्ञ काव्य–रागमा

देशको ममताभित्र सूक्ष्म प्रकृति–दृष्टिमा

म देख्छु कविता–चित्र भित्र दैवज्ञ–सृष्टिमा

भावनामा छ सौन्दर्य कर्णप्रिय बने कतै

विश्वको सार भेट्टाई भित्रै प्रकृति छन् यतै

भौतिकी रूपमा मात्र इन्द्रेनी रूप भेट्दछु

आत्म–स्वरूपमा एक एकतामा समेट्दछु

धर्तीकै पूफल हुन् सारा, पुफल्छन्, झर्छन् बराबर

अगाडि को हुने भन्ने लीला हो यो चराचर

पूर्ण छन् सब नै वस्तु अपूर्ण त कहाँ छ र ?

पूर्णकै रूप हौँ सारा आफँैमा भव–सुन्दर

सिर्जना हुन्छ आफैँमा, कहाँ नासिन्छ सिर्जना

दैवज्ञ–सिर्जनाभित्र पाइन्छन् नव्य–साधना

संवेदना जहाँ हुन्छ, सौन्दर्य भाव–लोकमा

दैवज्ञ भावमा भेट्छु प्रकाशमय पुञ्जमा

अनन्त चित्तमा बस्ने आपूफलाई सजाउँछन्

छुटेर देह के हुन्छ मनभित्र रसाउँछन्

सबै सँगै छ पूर्णाङ्ग सधँै छ पूर्ण साथमा

पौरखी तनमा शान दैवज्ञ जन–माझमा

श्रद्धाको पूफलमालाले वन्दनीय सुधा छरी

दिलकै माझमा राखी आस्था राख्छु सधैंभरि

पूर्णकै रूप दैवज्ञ रमेको पूर्णतातिर

अन्तर्दृष्टि खुले मिल्छ, आस्थामा खुल्छ आखिर

चराको चिर्बिरीसाथ भित्र बादल पत्रमा

दैवज्ञ साधना ज्योति अन्तःकरणभित्रमा

शब्दमाला सजाएर प्रेमभाव जगाउँछु

कवि दैवज्ञमा श्रद्धा पुष्पाञ्जलि चढाउँछु

धुम्रवाराही, काठमाडौं

२०६९ आषाढ १९ गते मङ्गलवार, गुरुपूर्णिमा