कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

सिर्जन : समाधि

तीर्थराज अधिकारी

प्रभात झर्दै जब पर्छ रात

अचेत बन्छन् सब आँत चेत

पारेर निद्रा गतिमा विराम

ऊ कस्छ जम्मै तनमा लगाम

बल्ने हजारौँ भर तार टुट्छन्

गलेर तारा नभ भार छुट्छन्

अस्ताउँदै झल्मल घाम नित्य

पढाउँछन् यो जगको अनित्य

हिमाल पग्ली जल छल्छलाए

बगेर वाष्पीकृत भै बिलाए

सुकेर झर्छन् तन पुष्पमाली

अनन्तमा शून्य छ एक खाली

यी प्वाँख गल्छन् बिचरा चराका

निवास हुन्नन् जल कन्दराका

भूगोल यो राप बढेर सारा

जरा बिनाका सब छन् किनारा

उन्यो उनायो कति शब्दमाला

स्रष्टा उसैको किन मौन चाला ?

छ दीपकै मुन्तिर अन्धकार

हुत्तिन्छ हाँसोतिर अश्रुधार

कस्तै थियो सिर्जनमा समाधि

हेर्दै थियो जीवन फूलमाथि

सङ्कष्ट आई शिरमा समायो

त्यो लेखनीको कर थर्थरायो

के खेल निर्देशकले अह्रायो

त्यै खेल खेल्ने वशमा भुलायो

रुने र हाँस्ने कति के छ भाग

पूरा जहाँ भो जग छुट्छ राग

यी शब्द गोड्दै उसले फुलायो

छरेर बास्ना मन यी भुलायो

झल्को छ झल्को सुरिलो गलाको

यी छन्द बोल्ने उसको कलाको

किसानका ओठ, गरा—गरामा

तोते र ताते मुटुका जरामा

हिमालदेखिन् तल फाँटसम्म

ऊ पाठ बन्दै लयमा छ टम्म

आए यहाँ जो पनि झर्नलाई

हो कर्म गर्ने सबको भलाइ

यतातिरै ऊ पद चम्चमायो

यो लोक माया उसले कमायो

गाएर गाना सुरिलो गलाले

लेख्थे अनेकौँ कविता कलाले

एक्कासि नै व्याधि बनेर आँधी

दैवज्ञको सिर्जन भो समाधि ।

सरस्वतीनगर काठमाडौँ, ६