त्यो दिव्य भव्याकृति !
सेतो उच्च हिमालतुल्य हँसिलो त्यो दिव्य भव्याकृति !
त्यस्तै स्वच्छ विचारबाट कविता सोचेर लेख्थे कृति
बोली खूब मिठासपूर्ण रसिलो सच्चा थियो भावना
गर्थे नित्य प्रसन्न चित्त रहँदै साहित्यको साधना
हाँसी सौम्य मुसुक्क दिव्य गुणको सद्भाव दर्साउँथे
प्यारा मानव मात्रको मन सधैँ आकृष्ट ती गर्दथे
न्यौपाने कुलदीप मात्र नभई सम्पूर्ण नेपालका
आस्थाका प्रियपात्र नै हुन गए साहित्य संसारका
आस्था भित्र अगाध जागृति थियो प्यारो प्रजातन्त्रमा
तानाशाह विरुद्ध जेल उनले भोगे कुनै कालमा
मीठा छन्द र गीत काव्य कविता लेख्थे समालोचना
त्यस्तै प्रोज्ज्वल गद्यमा गति थियो झन् बालसाहित्यमा
बोलीमा व्यवहारमा मधुरता आनन्ददायी थियो
पक्षाघात भएर देह थलिई आघात पार्दै गयो
त्यो लावण्य यथावतै तर हरे बोली चुँड्यो दैवले
त्यस्ता मोहक वाक्यका मधुरता एक्कासि अन्तै चले
बोली स्पष्ट थिएन हात सजिलै चल्दैनथे तापनि
लेख्ने कर्म सदा गरेर उनले बाँझो गरेनन् जिमी
घाती रोगसँगै निरन्तर लडी गर्दैरहे सिर्जना
भर्दै मानव निम्ति कर्मपथमा उत्साह उत्प्रेरणा
यी हाम्रा प्रिय काव्य–लेखक भनी गर्थे सबै सङ्गत
साझा सम्पतिरूपका कवि थिए दैवज्ञ पारङ्गत
नेपाली मुटुभित्रका ढुकढुकी ती कर्मयोगी नर
सच्चा काव्यविभूतिमा हृदयले श्रद्धाञ्जली सादर
२०६९ असार २६
बानेश्वर, काठमाडौँ