दैवज्ञको खोजी
दैवज्ञ खोजूँ अब खै कहाँ छन्
कवित्वको शान निशानमा छन्
छन् गीतका झङ्कृत प्रीतमा छन्
जीवन्त स्रष्टा यस धाममा छन् ।
जो बालका कोमल कण्ठमा छन्
युवाहरूका मनकुञ्जमा छन्
छन् प्रौढका चिन्तनभित्र उस्तै
छन् कालजेता रचना दुरूस्तै ।
अशक्ततामा पनि दिव्यताना
शिल्पी रम्यो सुन्दर सिर्जनामा
साहित्य उस्तै छ, मिठास उस्तै
छन् गीतका झङ्कृत वेणु उस्तै ।
सधैँ सबैको मन तान्न सक्ने
शैली छ मीठो धुन छान्न सक्ने
उम्दो चिनारी प्रतिभा अपार
दैवज्ञको शिल्प सदा बहार ।
अनित्य चोला, अनि नित्य के छ ?
सत्कीर्तिको शाश्वत रूप जे छ
ती कीर्तिका निर्भफर छन्, जहाँ छन्
दैवज्ञ–मुस्कान त्यहीँ रहन्छन् ।
रावा, लामीडाँडा, खोटाङ