कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

भोजपुरको मुरली

डा. शैलेन्दुप्रकाश नेपाल

छ भोजपुरको गाउँ पश्चिमी मध्य विन्दुमा

माछो आकारको जिल्ला मुख दक्षिण भङ्गिमा

कोदो, फापर जे जे छन् सबै हुन् जीवनी बुटी

बसेका छन् यहाँ मान्छे सुखस्वर्ग स्वयं लुटी

१

गोगने गाउँको वस्ती अति स्वच्छ मनोहर

पात गोगन दोबारी पानी टन्न भरे भर

पूर्वमा गोगने खोलो हिले खोलो छ पश्चिम

दुवै मिली धरा पार्छन् हराभरा र स्वर्णिम ।

२

शिक्षाको क्षेत्र हो दोस्रो दिङ्लापछि किराँतको

योगदान रह्यो धेरै त्यो न्यौपाने समाजको

जन्मिए कवि दैवज्ञ कीर्ति खुल्ने सुयोगको

जूनको ज्योतिमा खुल्दै बढ्दै गो तेज नेत्रको

३

उनकी कविता नाच्थिन् शास्त्रीय नृत्य रङ्गमा

लोकनाचसँगै खुल्थ्यो स्वच्छ प्राकृत ढङ्गमा

सुन्दरी कविता प्यारी गुण गौरवकी प्रभा

कविको लेखनी चम्की प्रेमपूर्ण हुने सभा

४

तोते बोली कतै बोल्छ बालसंसारमा रमी

गाउँखाने कथा हाल्ने कविता लहरी जमी

चिल्ला पातहरू छामी सुसेल्ने मुरली ध्वनि

हाम्रा साथी सबै बन्छन् स्वयं आफू बने गुणी

५

बालसाहित्यको ऊर्जा बाल्यभाव रसाउने

मुरली धुनमा रम्दै बाललीला सुसाउने

मिठो प्रकृतिमा जन्मी खेली हुर्की बिहानमा

रमेको एक स्रष्टाले सत्साहित्य मुहानमा

६

आफ्नो पौरख खर्चेर कीर्ति आर्जनमा जुटी

नेपाली मुटुको मर्म बनायो कविता बुटी

हजारौँ शिष्य छन् योग्य गुरु ऊ ज्ञानगौरव

विद्या प्रसारमा सिङ्गो जिन्दगानी समर्पित

७

अकस्मात् रोगले गाल्यो दैवको चाल भो खरो

परन्तु आत्मविश्वासी पाइला चालियो दह्रो

एक्कासि निभ्न गो बत्ती हावाले झयाप्प नै फुक्यो

पूर्णिमा रातको जून महान्धकारमा लुक्यो

८

दैवज्ञराजको काव्य सत्कीर्तिभित्र भेटियो

आँखा अगाडिको विम्ब आँखाकै सामु मेटियो

बाँकी अमरता स्वच्छ फूलको नित्य बासझैँ

नेपाली सभ्यतालाई चेतना दिन्छ रे सधैँ

९

पुरुषार्थी बनी चम्क्यो योग्य वाङ्मय सारथि

वाणी उपासना जस्तो अरू के छ र आरती ?

झर्दैन कीर्तिको रङ्ग अनन्तसम्म बस्छ रे

मर्दैन लोकको आस्था युगौँयुग रहन्छ रे

१०